यो पृथ्वी कसको ?
कवि रमेश श्रेष्ठले माथिको कविता मार्फत गरेको सवाल-जवाफ जस्तै; यो प्रश्न निकै सरल तर उत्तर अथाह हुन सक्छ। म त्यही अथाहलाई थाहा बनाउन; सरल उत्तर खोज्न चाहन्छु। र, म भन्छु, ‘यो पृथ्वी मेरो हो। मेरो संसार हो। मेरो घर हो। मेरो न्यानो घर।’
म जन्मँदा आमाको अँगालो नै मेरो संसार थियो। आमाको कोख र काख नै मेरो न्यानो या सुरक्षित संसार भयो। बामे सर्न थालें, जमीनमा हिंड्न थालें- घर-परिवार, गाउँ-बस्ती पनि मेरो संसार भयो। घाम, पानी, जमीन, हावा-बतास र आकाश पनि मेरो संसार भयो। वरपरका फूल, बिरुवा, वनजंगल र पशुपक्षी पनि मेरै संसारभित्र अटाउन थाले। बढ्दै गएँ, हुर्कंदै गएँ। नदी-नाला-ताल-तलैया र पहाड-पर्वत पनि मेरै संसार बन्यो। देश-विदेश घुम्न गएँ। पानीजहाज, हवाईजहाजबाट हेरें, देखें ती बादल, समुद्र र सागर, विभिन्न देश र त्यहाँका विभिन्न मानिस मेरै संसारभित्र अटाएका रहेछन्।
हाम्रै मानिसहरूले अन्तरिक्षमा पुगेर; चन्द्रमामा टेकेर पृथ्वीलाई नियालेर हेर्दा नीलो रंगको गोलो पिण्ड देखेछन्ः नीलो स्फटिक वा सङ्गमर्मरको चहकिलो एउटा भकुण्डो जस्तो अन्तरिक्षको अन्धकारमा चम्किबसेको सुन्दर ग्रह ! पानीका सागर र समुद्रले ७१ प्रतिशत ढाकेको हुनाले नीलो वर्णमा अवतरित यस पिण्डका भूभाग भने खैरो खैरो (Brown) र हल्का रातो पनि नजर हुन्छ। त्यसलाई पातलो सेतो मलमली घुम्टोजस्तो प्रतीत हुने बादलु पछ्यौरीको दृश्य पनि अतिसुन्दर देखिन्छ। पृथ्वीको त्यो भूगोललाई फनफनी घुमेर हेर्दा त्यहाँ प्रकृतिको अनुपम रचनाको रूपमा हिमालय र मानवीय रचनाको रूपमा चीनको पर्खाल देखिने कुरा अन्तरिक्ष यात्रीहरू बताउँदछन्।
अन्तरिक्षको ग्रहगण तारामाझ् पृथ्वीभन्दा सुन्दर अरू कुनै ग्रह छैन। अरू कुनै ग्रहमा जीवन भेटिन्न। जीवन बाँच्ने यही ग्रह मात्र हो। विन्दुदेखि ब्रह्माण्डसम्म चहार्दा सबै प्राणीको एउटै मात्र प्यारो घर पृथ्वी। सबैले यहीं जन्मनुपर्छ, यहीं बाँच्नुपर्छ र यहीं मर्नुपर्छ। पुनर्जन्म हुन्छ/हुँदैन हामीलाई थाहा छैन। तर पञ्चतत्वमा हामी मिल्छौं, त्यहाँबाट अरूको जन्म हुन्छ। हामीले भोग्ने एउटै जीवन हो । हामीले बाँच्ने एउटै धर्ती हो। त्यसैले यही धर्ती हाम्रो हो, मेरो हो।
मेरो संसार मेरो पृथ्वी कस्तो छ ? पृथ्वीको स्वरूपमा ७ महादेश, ५ महासागरका साथमा वायुमण्डल र जीवमण्डल प्रत्यक्ष हुन्छ। सात महादेश हुन्: एशिया, अफ्रिका, अष्ट्रेलिया, एन्टार्टिका, उत्तर अमेरिका, दक्षिण अमेरिका र युरोप। किन हो कुन्नि युरोप बाहेक सबै महादेशको अंग्रेजी नामको प्रथम र अन्तिम अक्षर ए (A) नै कायम भएको छ! सबै महादेश भन्दा ठूलो महादेश हाम्रै एशिया छ। सबैभन्दा बढी जनसंख्या पनि यहीं छ। सबैभन्दा उच्च भूभाग, हिमालय पनि यहीं पर्छ र सर्वोच्च शिखर सगरमाथा त हाम्रै देशमा छ।
महासागर: सागर, महासागर र समुद्र अर्थात् पानीले हाम्रो पृथ्वीको ७१ प्रतिशत क्षेत्रफल ओगटेको छ। पृथ्वीभरिको पानीमध्ये ९७ प्रतिशत जलभण्डार त्यही हो। तर; हाम्रो जीवनलाई आवश्यक पिउने पानी त्यो हैन। हामीले आकाशबाटै झरेको पानी र पहाड-पर्वतमा जमेको हिउँको पानी वा भूमिगत पानी पिउनुपर्ने हुन्छ। विश्वका ५० प्रतिशत जनसंख्यालाई आवश्यक पानी पहाड-पर्वतबाट आपूर्ति हुन्छ। र, हाम्रो हिमालयले करीब ४ अर्ब १० करोड जनसंख्याको निम्ति पानीको आपूर्ति गर्दै आएको छ।
यस पृथ्वीका प्रमुख महासागरहरू एन्टार्टिक र आर्टिक ध्रुवीय क्षेत्रमा पर्दछन् भने अन्य तीन वटा- एट्लान्टिक, इण्डियन (हिन्द) र प्यासेफिक (प्रशान्त)ले पृथ्वीको मुख्य स्थान ओगटेका छन्।
हाम्रो एशियाली क्षेत्र तथा अफ्रिका र अष्ट्रेलियाको सेरोफेरोमा हिन्द महासागर पर्दछ। यो महासागर अरू महासागरहरू भन्दा न्यानो छ। यही महासागर हाम्रो मनसुनी वर्षाको जन्मस्थल हो।
सबभन्दा ठूलो प्रशान्त महासागर हो। यो पाँच वटा अर्थात् सबै महादेशले ओगट्ने भूखण्ड भन्दा ठूलो क्षेत्रफलमा फैलिएको छ र यसको गहिराइ पनि सबैभन्दा धेरै छ। गुवाम (Guam) टापूतिरको च्यालेन्जर डीप (Challanger deep) नाम क्षेत्रको गहिराइ ११ हजार ३३ मीटर नापिएको छ। यहाँ संसारकै सर्वोच्च शिखरयुक्त सगरमाथालाई डुबायो भने त्यो चुर्लम्म डुब्ने मात्र छैन, त्यहाँ दुई किलोमीटर भन्दा बढी (२,१८५ मी.) खाली आकाश अझै बाँकी रहनेछ।
दक्षिणी ध्रुवतिर फैलिएको एन्टार्टिका (Antartica) तथा उत्तरी ध्रुवतिर फैलिएको आर्टिक महासागर (Artic Ocean) हिमाच्छादित सागर हुन्। पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवको ध्रुवीय वातावरणलाई नै प्रतिबिम्बित गर्ने हुनाले हाम्रो हिमाली क्षेत्रलाई पनि ‘तेस्रो ध्रुव’ भन्ने उपनाम प्रदान भएको छ।
वायुमण्डल
यसप्रकार ७ महादेश र ५ महासागरले निर्मित यो पृथ्वीको भूमण्डल र जलमण्डलको डल्लोलाई चारैतिरबाट वायुमण्डलको ओढनीले ढाकेको छ । त्यो वायुमण्डल पृथ्वी सतहबाट १६०० किलोमीटर माथिको आकाशसम्म फैलिएको छ। त्यो भनेको सगरमाथाको भन्दा दोब्बर उचाइ हो। तर हामीलाई सगरमाथा चढ्नलाई नै कृत्रिम वायु (अक्सिजन) सिलिण्डरमा बोकेर लैजानुपर्छ। किनभने ९९ प्रतिशत अक्सिजन पृथ्वी सतहबाट ८ किलोमीटरको उचाइसम्म मात्रै बसेको हुन्छ। जति माथि पुग्यो उति हावा पातलो हुन्छ। त्यसैले हावाको चाप पनि थोरै हुन्छ। सबैभन्दा उचाइमा बाँच्ने प्राणीमा एक प्रकारको ब्याक्टेरिया (GeodermatophilÚs everesti) र त्यस्तै एक प्रकारको माकुरो पत्ता लागेको छ। बिरुवामा झयाउ (Lichem) मात्र छन्। सगरमाथा भन्दा उचाइमा उडेर पुग्ने खोया हाँस पनि त्यस्तै कीर्तिमानी प्राणी हुन्। त्यसैगरी समुद्रको गहिराइमा ८ हजार मीटर तलसम्म पनि जलचर (माछा) भेटिन्छन्। मारिया स्नेल फिस (Maria snail fish) गुवाममा (Guam) नजिकै पाइन्छ।
यसरी; समुद्र सतहदेखि ८ हजार मीटरमाथि आकाशतिर र ८ हजार मीटर पानीभित्र (पातालतिर) को जीवमण्डल समेत गरेर हाम्रो पृथ्वी मण्डलै मण्डलले बनेको छ; वायुमण्डल, भूमण्डल Lithosphere), जलमण्डल (Hydosphere) तथा जीवमण्डल (Biosphere)। अर्थात्, मैले ‘मेरो’ भनेको पृथ्वी ७ महादेश, ५ महासागर तथा ४ मण्डल (वायु, भू, जल, जीव) को संयुक्त स्वरूप हो।
जीवमण्डल
पृथ्वीको यस जीवमण्डलमा १७ लाख ५० हजार प्रजातिका जीवात्मा छन्: ज्यान भएका प्राणी र वनस्पति गरेर। तिनमा; कीरा फट्याङ्ग्राका ९ लाख ५० हजार प्रजाति बीज-बिरुवाका २ लाख ७० हजार प्रजाति माछा आदि जलचरका १९ हजार प्रजाति चराका ९ हजार प्रजाति स्तनधारी जीवका ४०० प्रजाति।
यी साढे १७ लाख जीवजातिमध्ये ४०० प्रजाति मात्र स्तनधारी प्राणी छन्। तीमध्ये मान्छे एक प्रजाति हो। त्यही एक प्रजातिको संख्या अहिले ८ अर्ब पुगेको छ। मान्छे प्रजातिको संख्या पहिले एक अर्ब पुग्न २० लाख वर्ष लागेको थियो। त्यो क्रम आकाशिंदै जाँदा अहिले प्रत्येक १० वर्षमा १ अर्ब जनसंख्या पृथ्वीमा थपिन्छ। २०२०/२०२५ सालतिर, भनौं करीब ६० वर्ष पहिले हामीले सुन्दै आएको नेपाली राष्ट्र गीत ‘करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल’ लाई अहिले तीन करोड बनाउनुपर्ने भइसक्यो। यस्तो लाग्छ, गैंडा मरे पनि मान्छे जन्मन्छ, गिद्ध मरे पनि मान्छे नै जन्मन्छ। मान्छे नपुगेको र मान्छेले नबिथोलेको कुनै जीवक्षेत्र(Biome) छैन। उष्ण प्रदेशदेखि ध्रुवीय क्षेत्रसम्मका वन, बुट्यान, घाँसे मैदान, मरुभूमि, सिमसार र समुद्रमा पनि हामी मान्छेहरू प्रकृतिलाई बिथोलेर विकृत बनाउँदैछौं। सन् २०१९ को एक विश्लेषण अनुसार यस पृथ्वीको सम्पूर्ण भूमण्डलमध्ये ७५ प्रतिशत भूखण्डको प्राकृतिक स्वरूप हामीले बिगारिसक्यौं। हाम्रो विकास र विलासका लागि नयाँ-नयाँ भूक्षेत्रको उपयोग भइरहेको छ। पृथ्वीको जलमण्डलको ६६ प्रतिशत मानवीय प्रयोजन तथा प्रदूषणले प्रभावित छ। जैविक विविधताका धनी मानिने सिमसारहरू ८५ प्रतिशत नष्ट नै भइसके।
मानिस (Homo sapiens) नामक एक प्रजातिले आफ्नो स्वार्थका लागि अरू प्राणीलाई बाँच्ने अवसरबाटै वञ्चित गर्दैछ। जैविक विविधतामा विशेष दख्खल राख्ने डेभिड एटेनवर (David Attenborough)ले अगाडि सारेको तथ्यांक अनुसार सन् १९५० देखिको कुरा गर्दा विगत ७० वर्षभित्र पृथ्वीतलका जीवजन्तुको संख्या घटेर आधाभन्दा कम भइसकेको छ।
विश्वभरका चराचुरुङ्गीको पिण्डभार (Mass) मा ७० प्रतिशत पिण्डभार पाल्तु पक्षीले ओगटेका छन्– हाँस, कुखुरा आदिले। वनजंगल र सिमसारका प्राकृतरूपका पक्षीपिण्ड ३० प्रतिशत मात्र बाँकी छन्।
स्तनधारी प्राणी पिण्डको ४ प्रतिशत मात्र प्राकृतरूपमा मौजुद छन्। बाँकी सबै, ९६ प्रतिशत मान्छेको जनसंख्या र मान्छेले पालेका पशुधन मात्र हुन्। प्रकृतिलाई दिने सेवा (Ecosystem services) मा यिनको भूमिका हुँदैन।
त्यसैले प्रश्न उठ्छ के यो पृथ्वी मान्छेकै मात्र पेवा हो ? र, यदि यस पृथ्वीमा मान्छे मान्छे मात्र भयौं भने के हामी बाँच्न सक्छौं ? न आकाशमा चरा, न पानीमा माछा; न जमीनमा पशुपक्षी, न वनजंगल ! मानिस विना पनि अरू जीव बाँच्न सक्छन्। तर पृथ्वीविना हामी कोही पनि बाँच्न सक्दैनौं। बाँच्ने सबैलाई आफ्नो प्राण प्यारो हुन्छ। बाँच्नको लागि सास फेर्नु छ, त्यो प्राणवायु कहाँबाट आउँछ ? खानु छ, त्यो अन्न-खाद्य पदार्थ कहाँबाट आउँछ ? रञ्जन र मनोरञ्जन चाहिन्छ, कहाँबाट आउँछ ?
त्यसैले, यहाँ बाँच्ने जति सबैको हो यो पृथ्वी । पृथ्वीभरिका मानिसले ‘यो पृथ्वी मेरो’ भन्नुपर्छ। सबै प्राणी र वनस्पतिले त भनेकै हुन्छ। मानेकै हुन्छ। पृथ्वी सहअस्तित्वको संसार हो। अहिले मानिसले मात्र त्यो कुरा बिर्सेको छ।
(नेपाल लिटरेचर फेस्टिभल, पोखरा २०७९ मा रमेश भुसालद्वारा सञ्चालित वार्तामा व्यक्त टिपोटमा आधारित)
शिक्षक मासिक, २०८० असार-साउन अंकमा प्रकाशित।