गीता वृद्धलाई मात्रै होइन, बालबालिकालाई पनि !
हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण मानिने एउटा ग्रन्थ हो- भागवत गीता। गीताका १८ अध्याय र ७०० श्लोक विश्वका सयकडौं भाषामा अनुवाद भएका छन् र यसको अनेकौं किसिमले व्याख्या भएको छ। परापूर्वकालदेखि ठूलोमहत्वपूर्ण बोकेको यस कृतिलाई कतिले धार्मिक ग्रन्थका रूपमा चिन्छन् भने कतिले यसलाई एक दार्शनिक किताबको रूपमा पनि हेर्छन्। कतिका लागि भने गीता सांसारिक जीवनयापन गर्न सिकाउने एक मार्गनिर्देशक हो। महाभारत युद्ध शुरू हुनुअघि भगवान् श्रीकृष्ण र अर्जुन बीचको वार्तालापमा आधारित यो ग्रन्थका प्रशंसकहरू विश्वका कुना-कुनामा छन्। चाहे ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् या एप्पल कम्पनीका संस्थापक स्टिव जब्स या त परमाणु बमका आविष्कारक रबर्ट ओपेन्हैमर- सबैले गीताको खुलेर प्रशंसा गरेका छन्। नेपालका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई गीताका अध्येता र प्रशंसक थिए। विश्वमा आफ्नो नौलो छाप छोड्न सफल गीता ग्रन्थलाई धेरैले आफ्नो प्रेरणाको स्रोत भनेर उल्लेख गरेका छन्।
गीतालाई लिएर धेरै मानिसको एउटा सोचाइ छ– गीता भनेको वृद्ध अवस्थामा पुगेपछि अथवा अध्यात्मतिर लागेपछि पढ्ने किताब हो। तर भारतीय लेखक रूपा पाई यस्तो सोचाइ सही नभएको ठान्छिन्। त्यसै भएर उनले सन् २०१५ मा एउटा किताब निकालिन्– ‘गीता फर चिल्ड्रेन’ अर्थात् ‘बालबालिकाका लागि गीता’। गीताका हरेक अध्यायमा भएका गहन विषयहरूलाई सहज तरिकाले; बालबालिकाले बुझने गरी लेखिएको ‘गीता फर चिल्ड्रेन’ ले– यो ग्रन्थको अध्ययन अध्यात्ममा लागेकाहरूलाई मात्रै नभई सबैका लागि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छ भन्ने तथ्य स्पष्ट पार्न खोजेको छ।
यस किताबको सबैभन्दा रोचक पक्ष– यसको भाषागत सरलता हो । संस्कृतका श्लोकलाई यस किताबमा निकै सजिलोसँग बुझने गरी (अंग्रेजीमा) अनुवाद गरिएको छ। वेद, उपनिषद् तथा गीतामा उल्लेख भएका कतिपय आधारभूत शब्दहरू जस्तै– ‘आत्मा’, ‘ब्रह्म’, ‘धर्म’, ‘स्थूल शरीर’ जस्ता शब्दहरूलाई लेखकले निकै कुशलतापूर्वक अंग्रेजीमा अथ्र्याएकी छिन्। सरलता भाषामा मात्रै नभएर विषयवस्तुको व्याख्यामा पनि देखिन्छ। जीवन के हो ? यसमा आउने चुनौतीको कसरी सामना गर्न सकिन्छ ? आफ्नो कर्तव्यको पालना कसरी गर्ने ? मृत्युलाई कसरी बुझने ? जस्ता गहन र अमूर्त विषयहरूलाई पनि लेखक पाईले सरल ढंगबाट बुझएकी छन्। खासमा; यस किताबको आकर्षक पक्ष भनेकै गीतामा भएका गहन विषयहरूलाई सजिलो गरी बुझाउन सक्नु हो। उदाहरणको लागि ‘कर्म गर तर फलको चिन्ता नगर’ भन्ने गीताको निकै चर्चित भनाइलाई विद्यार्थीले कसरी बुझने भन्ने आम प्रश्नको उत्तर पाईले यसरी दिएकी छन्– ‘पढाइमा, परीक्षामा आफूले सक्दो मिहिनेत गर्ने तर आफूले सोचेजस्तो या अपेक्षा गरेको जति अंक आएन भनेर त्यसबाट हतोत्साहित नहुने; किनभने अंक कम आउँदैमा गरेको प्रयत्न पूरै खेर जाँदैन, जीवनमा काम लाग्छ’ भन्ने अर्थमा बुझनुपर्छ। दैनिक जीवनसँग मेल खाने यस्ता उदाहरणका कारण बालबालिकाहरूलाई यो किताब पढ्न सजिलो र रमाइलो हुने आशा गर्न सकिन्छ।
किताबको अर्को रोचक पक्ष, यसले दिने उत्प्रेरणा हो। किताबमा असल विद्यार्थीका साथसाथै बालबालिकाले असल छोरा÷छोरी, दाजु/भाइ/दिदी/बहिनी र एक असल नागरिक बन्न गर्नुपर्ने प्रयत्नका कुरालाई रोचक ढंगबाट उल्लेख गरिएको छ। असल आचरणको अभ्यास गर्ने, अरूलाई सधैं मद्दत गर्ने, अरूलाई नराम्रो हुने काम कहिले पनि गर्न नहुने कुरा किताबले पटक-पटक अवगत गराउँछ । आफूभन्दा फरक भाषा, धर्म र रंग भएका तथा भिन्न जात, जाति सबैलाई समान रूपमा हेर्नुपर्ने, सबैलाई उस्तै व्यवहार गर्नुपर्ने र कसैलाई पनि भेदभाव गर्न नहुने पाठ पाईले ‘गीता फर चिल्ड्रेन’ मा राम्ररी प्रस्तुत गरेकी छन् । विद्यालयमा खासै कुरा नगरिने यस्ता विषयहरू किताबको माध्यमबाट सिक्न पाउँदा बालबालिकालाई पनि रमाइलो र उपयोगी हुने अपेक्षा गर्न सकिन्छ। अझ् भन्ने हो भने आजकालको विभाजित समाजमा हुर्किएका बालबालिकालाई यस्तो खालको ज्ञान निकै सान्दर्भिक पनि हुनेछ । आशय स्पष्ट पार्ने क्रममा पाईले नेटफ्लिक्स् का चलचित्रदेखि आई-प्याड मा खेलिने गेमहरूसम्मको उदाहरण दिएकी छन्, जसले गर्दा विद्यालय-उमेर समूहका बालबालिकाको ध्यान पनि किताबमा केन्द्रित गर्न मद्दत गर्छ।
यो किताब सम्बन्धी एक अन्तर्वार्तामा लेखक पाईले भनेकी छन्– ‘हुन त यो किताब मैले बालबालिकाका लागि लेखेकी हुँ, तर मलाई सबैभन्दा खुशी लाग्ने कुरा के हो भने- बालबालिका सँगसँगै अभिभावकहरूले पनि यसलाई रुचाएका छन्।’ साँच्चै नै, आफ्नो लक्षित वर्गसँगै किताबले अरूलाई पनि त्यत्तिकै प्रभाव पार्न सकेको छ र यो यसको अर्को विशेषता हो।
एक पाठकको रूपमा गीताका विभिन्न संस्करण पहिल्यै पढिसकेको भए तापनि पाईकै किताबले मलाई गीताको सही अर्थ बुझन सघाएको हो। त्यसैले बालबालिका मात्रै नभएर यो किताबले अभिभावक र अरू पाठकहरूलाई पनि ‘आफूलाई चिन्ने मौका’ दिन्छ। त्यस्तो त किताब मात्रै हैन, किताबकी लेखक पाई आफैं पनि पाठकहरूका लागि एक प्रेरणाकी स्रोत हुन्। कम्प्युटर इञ्जिनियरिङको पढाइ पूरा गरेर केही समय त्यही क्षेत्रमा काम गरे तापनि उनको भित्री इच्छा लेखक बन्नु थियो । त्यसैले राम्रो कमाइ र इञ्जिनियरिङको सुरक्षित पेशा छोडेर उनी आफ्नो सानैदेखिको उद्देश्य- लेखक बन्नतिर लागिन्। आफ्नो जोश, भित्री इच्छा र आकांक्षालाई मर्न दिनुहुँदैन भन्ने कुराको ज्वलन्त प्रमाण दिन सफल पाईका हालसम्म २५ भन्दा धेरै किताब छापिइसकेका छन्।
किताबको सन्दर्भमा फर्किंदा; ‘गीता फर चिल्ड्रेन’ को महत्वपूर्ण र सान्दर्भिकता आजको दुनियाँमा अझै बढ्दै जाने देखिन्छ। आजका बालबालिका धेरै कुराले तनावमा छन्– चाहे आफ्नो पढाइले गर्दा होस्, चाहे आफ्नो साथीभाइसँगको सम्बन्धले गर्दा होस् अथवा भविष्यको चिन्ताले यस्तो तनाव भोगिरहेका बालबालिकालाई यो किताबले उचित उमेरमै शान्त, स्थिर र संयमित भई कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराको अवधारणासँगै निश्चित सीप समेत सिक्न मद्दत गर्छ। सबैभन्दा महत्वपूर्ण त यो किताबले मानिसले कसरी खुशी र सहज जीवनयापन गर्न सक्छन् भन्ने कुरा सिकाएको छ। सायद कुनै पनि किताबले दिनसक्ने सबैभन्दा ठूलो शिक्षा भनेकै यही नै हो।
(पुस्तक अध्ययनका सौखिन शर्मा विशेषतः राजनीतिक र सामाजिक अनुसन्धानमा विशेष दक्षता राख्छन्।)
शिक्षक मासिक, २०८० असार-साउन अंकमा प्रकाशित।