कुन ब्वाँसाले जित्ला ?
एकजना बूढा-बा आफ्ना नातिनातिनालाई कथा सुनाउँदै थिए। कथा दुई वटा ब्वाँसाको झगडाका बारेमा थियो।
कथा सकिएपछि बूढा-बाले नातिनातिनालाई भने, “ती ब्वाँसाहरूकै जस्तो लडाइँ हाम्रो मनभित्र पनि चलिरहेको हुन्छ। मेरै मनभित्र पनि त्यस्तै छ। तिमीहरूको मनभित्र पनि। एउटा ब्वाँसो दुष्ट छ। त्यो रिसाहा छ, आरिसे छ, लोभी छ, छुच्चो छ, निराश छ, असन्तोकी छ, घमण्डी छ, अहङ्कारी छ। त्यसैले त्यो दुःखी छ, त्यसले गल्ती गर्न र पछुताउन बाहेक जानेकै छैन।”
नातिनातिनाले सोधे, “अर्को ब्वाँसो चाहिं कस्तो छ नि हजुरबा ?”
बूढा-बाले जवाफ दिए, “अर्को चाहिं रमाइलो छ, हँसिलो-रसिलो छ, शान्त छ, मायालु छ, दयालु छ, परोपकारी छ, दानी छ, उदार छ, सहयोगी छ। त्यसैले त्यो सुखी छ, त्यसले सकेसम्म गल्ती नै गर्दैन र आफूबाट गल्ती भइहाल्यो भने पनि त्यसलाई स्वीकार गर्छ, त्यसबाट सिक्छ।”
“अनि तीमध्ये कुन चाहिं ब्वाँसोले जित्छ हजुरबा ?” एउटी सानी नानीले सोधिन्।
बूढा-बाले भने, “तिमी हामीले जुन चाहिंलाई खानेकुरा दिएर बलियो बनाउँछौं त्यसैले जित्छ !”
कथन-सारः हामी सबैमा सद्गुण र दुर्गुणहरू हुन्छन्, सबै मानिसका मनमा असल र खराब विचारहरू हुन्छन्। तर, जित त्यही गुणको हुन्छ जसलाई हामीले प्रोत्साहित गर्छौं । राम्रो शिक्षा, राम्रा शिक्षक; राम्रो सङ्गत र उदारताले सद्गुण र सद्विचार बढाउँछ भने अज्ञान, घमण्ड र नराम्रो सङ्गतले दुर्गुण र कुविचार बढाउँछ।
शिक्षक मासिक, २०६६ कात्तिक अंकमा प्रकाशित।