तयारी प्रश्नको परिणाम
शहरबाट केही टाढा, वनको छेउमा दुईवटा अलग-अलग विहारमा बालवटुकहरूलाई बौद्ध धर्म र दर्शन पढाइन्थ्यो। ती विहार भौतिक दूरीका हिसाबले जति भिन्न थिए; त्यहाँ दिइने शिक्षा-दीक्षा पनि केही फरक थियो।
दुवै आश्रमका वटुकहरू बिहान-बिहान नजिकको बजारमा तरकारी किन्न जाने गर्थे। यसै क्रममा एक पटक दुई जना वटुकको बाटोमा भेट भयो। एउटाले अर्को वटुकलाई प्रश्न गर्यो– ‘तिमी कहाँ जान लागेको ?’
त्यो बालकले जवाफ फर्कायो– ‘मेरा पाइला जता जान्छन्, त्यतै जान्छु।’
यो जवाफबाट प्रश्न गर्ने वटुक रनभुल्लमा पर्यो। के भन्नु न के भन्नु भयो। त्यसपछि थप केही कुरा नगरी आश्रम फर्कियो र सबै घटना आफ्ना शिक्षकलाई सुनायो। शिक्षकले उसलाई सल्लाह दिए– ‘भोलि पनि तिमीले त्यो केटोसँग आजकै प्रश्न सोध्नु । उसले पनि आजकै उत्तर दोहोर्याउँछ। त्यसपछि तिमीले थप प्रश्न गर्नु– ‘मानौं, तिम्रा खुट्टा नै छैनन् भने त्यतिबेला तिमी कहाँ जान्छौ ?’
भोलिपल्ट पनि उनीहरूको बाटोमा भेट भयो। पहिलो वटुकले गुरुले सिकाए अनुसार प्रश्न दोहोर्यायोः ‘तिमी कहाँ जान लागेको ?’ तर दोस्रो वटुकले हिजोभन्दा फरक जवाफ दियो- ‘हावा जता बहन्छ म त्यतै जान्छु।’
पहिलो बालक थप हैरान भयो। उसले गुरुले सिकाएको दोस्रो प्रश्न सोध्नै पाएन। ऊ फेरि आफ्ना शिक्षकसमक्ष पुग्यो। शिक्षकले अर्कोे दिन भेट हुँदा उसलाई ‘यदि हावा नै छैन भने ऊ कहाँ जान्छ रे ?’ भनेर सोध्नु भन्ने सिकाए।
तेस्रो दिन भेट हुनासाथ पहिलो वटुकले सोध्यो- ‘तिमी कहाँ जाँदैछौ ?’
दोस्रोले उत्तर फर्कायो- ‘म बजारमा तरकारी किन्न जान लागेको।’
पहिलो वटुक फेरि पनि हैरान भयो।
उसका गुरुले सिकाएका उपाय पनि एकपछि अर्को गर्दै व्यर्थ सावित भए। धेरै समयसम्म बालक किंकर्तव्यविमूढकै अवस्थामा रह्यो ।
पाठः बालबालिकालाई तयारी प्रश्न सोध्न र तिनका तयारी जवाफ सम्झन होइन, आफैं प्रश्न बनाउन तथा जवाफ सोच्न सिकाऊँ।
शिक्षक मासिक, २०८० माघ महीनामा प्रकाशित ।