अन्तिम परीक्षा
झन्डै एक दशक लामो अध्ययन र प्रशिक्षणपश्चात् तीन जना प्रशिक्षार्थी आचार्य बहुश्रुतको आश्रमबाट बिदा हुँदैथिए। शिष्यलाई बिदा गर्नुअघि उनीहरूले सिकेको ज्ञान, सीप र व्यवहार कुशलताको परीक्षण गरी गुरुले हरेकलाई तिनको योग्यता र आवश्यकता अनुरूपको सल्लाह, सुझव र उपदेश दिनुपर्दथ्यो। यो आश्रमको पुरानो चलन थियो।
गुरु बहुश्रुतले तीनै जना शिष्यलाई अन्तिम परीक्षाको निम्ति भोलिपल्ट बिहानै आश्रममा आइपुग्न निर्देशन दिए। सबै शिष्यहरू आ-आफ्नो कुटीमा पसिसकेपछि बहुश्रुतले राति निस्किएर आश्रमतिर आउने सबै बाटो र गौडामा जताततै बयरका काँडा छरिदिए।
भोलिपल्ट बिहान सबैभन्दा पहिला आश्रममा पस्ने शिष्य लगभग रगताम्य थिए। उनको पैतालाभरि काँडा बिझेका थिए । छेउमा बसेर उनी रगत पुछ्न थाले। त्यसपछि आइपुगेका दोस्रो शिष्यलाई पनि केही ठाउँमा काँडाले घोचेको थियो। तर, होशियारी अपनाएर काँडालाई छल्न उनी निकै हदसम्म सफल भएका रहेछन्। तेस्रो शिष्य भने बाटोमा काँडा देखेपछि, त्यहीं रोकिए। उनले सबैभन्दा पहिले बाटोबाट ती काँडा हटाए अनि आफ्नो बाटो लागे। त्यसै भएर उनी केही ढिला आश्रम पुगे। उनका खुट्टा-पिंडुलामा अरूको जस्तो काँडा र रगत होइन, केही फोहोर र माटो थियो। उनी हात-खुट्टा धोएर गुरुछेउ आएर बसे।
यो सबै दृश्य नियालेर हेरिरहेका बहुश्रुतले तिनै तेस्रो शिष्यतिर हेर्दै परीक्षाको नतिजा यसरी सुनाए, “बाबु, तिमी अन्तिम परीक्षामा पास भयौ। ज्ञान भनेको त्यही हो, जुन व्यवहारमा आइपर्दा काम लाग्छ। ज्ञानलाई व्यावहारिक बनाउन तिमी सक्षम भएका छौ। तिमी जुन संसार या क्षेत्रमा रहन्छौ, तिमीलाई काँडाले घोच्ने छैनन् र तिमीले अरूलाई पनि काँडाबाट बचाउन सक्नेछौ।”
त्यसपछि पहिलो र दोस्रो शिष्यतिर फर्केर गुरुले भने, “तिमीहरूको पढाइ अझै अधुरो रहेछ। तिमीहरू मिहिनेत गर, म पनि थप प्रयास गर्छु। ढिलो–चाँडोको कुरा हो, तिमीहरू पनि सफल त हुनु नै छ। तथास्तु !”
शिक्षक मासिक, २०८१ जेठ अंकमा प्रकाशित ।