आजका विद्यार्थी के सोच्दैछन्, के सिक्दैछन् ?

विद्यालयस्तरका बालबालिका सहभागी रहेको एउटा वक्तृत्वकला प्रतियोगिताको निर्णायकको भूमिका मैले निर्वाह गर्नुपर्ने थियो। शीर्षक थियो– ‘वर्तमान नेपाल’। आजका युवा-विद्यार्थीको मनमा नेपालका बारेमा के कस्ता तर्कना दौडिरहेका छन्, अझ् भनौं नेपालप्रतिको कस्तो भाष्य निर्माण भइरहेको छ भन्ने बुझनका लागि कार्यक्रम निकै उपयोगी थियो। विभिन्न विद्यालयबाट छानिएका अग्रणी विद्यार्थीको सहभागिता हुने भएकोले पनि कार्यक्रम मेरो निम्ति निकै महत्वपूर्ण थियो। 

१२ जना सहभागी रहेको सो कार्यक्रममा बोल्ने अधिकांश विद्यार्थीका कुरा सुनेपछि मेरो निराशाको बक्ररेखा उकालो लाग्यो। कम्तीमा; कक्षामा पढ्नमा अनि बोल्नमा राम्रा मानिएका विद्यार्थीहरूबाट देशप्रतिको धारणा सकारात्मक आउने मेरो अपेक्षा थियो। तर विद्यार्थीका दृष्टिकोण सुनिसकेपछि ‘के सोचे मैले के भयो अहिले’ भने जस्तै भयो।

देशमा ‘केही पनि छैन’ मात्रै होइन, अब ‘हुन पनि सक्दैन’ भन्ने खालको साझ मत थियो बाह्रै जना वक्ता विद्यार्थीको। ‘नेपाल भ्रष्टाचारको अखडा बनेको छ’, ‘नेपालका नेता सबैले भ्रष्टाचार मात्रै गर्दछन्’, ‘यहाँ दिनदिनै बालिकाहरू बलात्कृत भइरहेका छन्’, ‘नेपालको न्यायालयले सही निसाफ गरिरहेको छैन’, ‘युवाहरूलाई देशमा रोजगारी सृजना भएको छैन’, ‘सबैको एक मात्र विकल्प विदेश जानु हो’ र ‘यदि कोही विदेश गएको छैन भने त्यसले आफ्नो जीवनको मूल्य गुमाउने काम गरिरहेको छ’ जस्ता विचार उनीहरूले पेश गरेका थिए। 

यसरी वर्तमान नेपाललाई ती विद्यार्थीले अति निराशापूर्ण ढंगले चित्रण गरेका थिए। आशाको सानो त्यान्द्रो पनि उनीहरूको कथनमा थिएन। न त देशप्रतिको प्रेम नै। उनीहरूले देखेको एक मात्रै सकारात्मक कुरा- पुर्खाहरूप्रतिको गौरव थियो। सहभागी विद्यार्थीका विचार सुन्दा नेपालमा ‘केही पनि गतिलो छैन, अनि कोही पनि गतिलो छैन। नेपाल नछाड्ने मान्छे उनीहरूको नजरमा केही पनि गर्न नसक्ने मान्छे’ सावित भएको थियो । उनीहरू बोलिरहँदा हामी केही नेपालमै रमाउन चाहनेहरूलाई आफूमाथि व्यंग्य गरेको जस्तो भान भइरहेको थियो। 

विद्यालय तहको त्यो वक्तृत्वकला प्रतियोगिता एउटा सन्दर्भ मात्रै हो । आमसञ्चारमाध्यम या सामाजिक सञ्जाल होस् या गाउँ/ठाउँका मानिसहरू भेला हुने चियापसल र चौतारा- जहाँ पनि अहिले देशका बारेमा नकारात्मक भाष्य मात्रै सुन्न पाइन्छ। देशमा भएका महत्वपूर्ण सकारात्मक उपलब्धि र परिवर्तनलाई अवमूल्यन मात्रै होइन, महाप्रलय नै आउन थालेको जस्तो सोच सबैमा देख्न सकिन्छ। यसलाई, प्रतिवाद गर्नेभन्दा हो–मा–हो मिलाउने जमात पनि बाक्लिंदै गएको छ। 

आजका विद्यार्थीको काँधमा भोलिको देशले टेको पाउने हो। तर त्यही युवाहरूमा देशप्रतिको नकारात्मक भाष्य निर्माण हुनु कम डरलाग्दो कुरा होइन। हिजोका दिनमा देशका बारेमा यस्तै भाष्य निर्माण भएर आज विमानस्थलमा देश छाड्नेहरूको लर्को देख्न पाइन्छ। आज त्यो झ्नै प्रगाढ भएर जाँदा भोलि देश छाड्नेहरूको संख्या कति ठूलो होला भन्ने सहज आकलन गर्न सक्छौं। के हामीले यो देशबाट आशालाग्दा, ऊर्जावान् युवालाई विमुख बनाउनै खोजेको हो ? के हाम्रो देशमा सकारात्मक उपलब्धिहरू केही पनि नभएकै हो ?

आजका विद्यार्थीमा आखिर किन यस्तो भाष्य निर्माण भइरहेको छ ? उनीहरू देशप्रति यति धेरै नकारात्मक हुनुका जिम्मेवार पक्षहरू को-को हुन् अनि के-के हुन् ? आज हामीले यो कुरालाई गतिलोसँग मन्थन गरेर सार्थक निष्कर्ष निकाल्न सकेनौं भने देश अरू भयावह दिशातर्फ जान सक्छ। 

म आफू शिक्षक भएको र युवा विद्यार्थीसँग दैनिक छलफल हुने भएको हुँदा पनि मलाई उनीहरूको दृष्टिकोण र नकारात्मकता देखेर डर लाग्न थालेको छ । देश र शासनप्रतिको यो चरम नकारात्मकताले देशलाई संकटको भुमरीमा लैजाने निश्चित छ। आज हरेक विद्यार्थी या युवा आफ्नो शैक्षिक र आर्थिक अवस्था अनुसार संसारका विभिन्न देशको सपना देखिरहेको छ। ‘जीवनमा केही गर्नका लागि लक्ष्य निर्धारण गर’ भन्यो भने उनीहरूको लक्ष्य ‘विमान चढेर बाहिरी मुलुकतर्फ नै उडिरहेको हुन्छ।’ आजका विद्यार्थीमा यस्तो विचारको बीजारोपण गर्ने केही कारक तत्वहरू छन्, जसलाई हामीले गतिलोसँग पहिचान गरेर निराकरण गर्नु आवश्यक छ। 

सफलताको मानक
हामीकहाँ सफलताका मानक पनि क्रमशः बदलिंदै गएका छन्। जेनतेन आफ्नै ठाउँमा जीवनको मेलो सारेका युवालाई हाम्रा आँखाले ‘सफल’ मान्नै छाडेका छन्। आर्थिक सम्पन्नतासँग सफलताको गठजोड देखिन्छ। दुई छाक खाएर दुःख पर्दा साथ दिने परिवार, समाजसँग बस्नुलाई आजको चेतना या भाष्यले ‘सफल’ मान्न दिंदैन। परिणामतः नेपालकै गाउँ-ठाउँमा केही उत्पादक काम गरिरहेको मान्छे पनि बाध्य भएर विदेशिन पुगेको छ।

आफ्नै देश या समाजमा केही गर्छु भन्नेहरूलाई उत्प्रेरित गर्ने संस्कार क्रमशः कमजोर हुँदै गएको छ । कृषि विज्ञान पढेर खेती गरिरहेका मैले चिनेका केही भाइहरू दुई वर्ष पनि नहुँदै फार्म बन्द गरेर विदेश पुगे। उनीहरूको एउटै गुनासो थियो ‘जो आए पनि के त्यत्रो पढेर यस्तो खेतीमा अलमलिएको; विदेश जानुपर्दैन ? भनेर गरिराखेको कामप्रति हेय भाव देखाउँथे । एकातिर सुरुवात हुँदै गरेको व्यवसायबाट आशातित मुनाफा पनि थिएन अर्कातिर दिनहुँ यस्ता गुनासाहरू सुन्नु परेपछि विदेशिएको हुँ ।” यो अधिकांश युवाको दुःखद् भोगाइ हो। विदेश जानु, गाडी चढ्नु र घर किन्नु नै अहिले सफलताको मानक बन्दै गएको छ। खरिदार पास गरेको या आफैंले उद्यम सञ्चालन गरेको व्यक्ति भन्दा तल्लो बाटोबाट अमेरिका पुगेको व्यक्तिले सामाजिक सञ्जालमा धेरै बधाई पाएको देखिन्छ । यसले पनि हाम्रा बालबालिकामा देशप्रति गतिलो भाष्य निर्माण हुनसकेको छैन । सफलताको मानक भौतिक सुख–सुविधासँग मात्रै जोडियो भने कसरी यो देशको कर्मजीवी बन्ने सपना देख्छ युवाले ?

उच्च महत्वाकांक्षा
महाकवि लक्ष्मीप्रसाद देवकोटाले धेरै पहिला नै ‘उद्देश्य के लिन उडी छुनु चन्द्र एक’ भनेर व्यक्तिलाई महत्वाकांक्षी हुनुपर्दछ भन्ने सन्देश दिएका थिए । तर हामीकहाँ विना आधार महत्वाकांक्षा पाल्ने प्रवृत्ति हावी हुँदै गएको छ। आजका विद्यार्थीले शिक्षक, बाबुआमा र समाजको आकांक्षा पूरा गर्ने धुनमा आफ्ना सपना गुमाउँदै गएका छन्। उनीहरूले आफ्नो आँखाले सपना देख्न सकेको पाइँदैन। अरूका आँखाले देखेको सपना पूरा गर्नका लागि तिनले देश छोड्नुको विकल्प देखिंदैन। देशका सक्षम र सम्पन्न व्यक्तिहरूले पनि आफ्ना सन्तानलाई विदेशमै पठाउने गरेका उदाहरणका कारणले गर्दा पनि सामान्य अभिभावकहरूले सन्तानहरूलाई विदेश पठाउने आकांक्षा पाल्न थालेका हुन्। यसरी विदेश पठाउँदा प्रगति हुन्छ र जीवनको स्तरमा बदलाव आउँछ भन्ने मान्यताले वैधानिकता पाउँदै गएको छ । देशभित्रै केही गर्छु भन्नेका लागि केही न केही जोखिम उठाउन तत्पर हुनुपर्दछ। तर अभिभावकहरूको महŒवाकांक्षाका कारण बालबालिका देशमै जोखिम उठाउन न्यायपूर्ण मान्दैनन्।

नकारात्मकता हावी
नकारात्मक समाचारको प्रकृति नै त्यस्तै हुन्छ कि त्यो छिटो र बृहत् आयाममा फैलने गर्दछ । हामीकहाँ मैले के गर्ने ? मेरो जिम्मेवारी के भन्दा पनि देशलाई दोष लगाएर आफू पानीमाथिको ओभानो बन्ने परिपाटी व्याप्त छ। देशलाई ‘दोष’ लगाउँदा सबैको सामु साखुल्ले बन्न पाइने र आफ्नो कमजोरी पनि लुक्ने भएका कारण समाजमा नकारात्मकता हावी हुँदै गएको छ। सामाजिक सञ्जाल, सञ्चारमाध्यम, विभिन्न सभा-सम्मेलन लगायत ठाउँमा हुने अधिकांश विचार-विमर्शहरू नकारात्मकतातिर नै बढी केन्द्रित देखिन्छन्। यसले गर्दा बालबालिकाले पनि देश-समाजमा नकारात्मक कुराहरू नै धेरै छन् भन्ने सिक्छन्। विद्यार्थीको विचार निर्माण यही समाजको चौघेराबाट हुने भएकाले समाजमा नै नकारात्मकता हावी भएपछि कसरी विद्यार्थी मात्रै त्यसबाट अलग रहन सक्थे र !

सम्भावना देखाऊँ, सफलता पढाऊँ
हामीले हाम्रा युवा र भावी सन्ततिलाई देशका सम्भावना र सपना देखाउन सक्नुपर्छ। देशप्रतिको जिम्मेवारी बोध गराउन सक्नुपर्छ। नेपालमा या ‘आफ्नै ठाउँमा के के गर्न सकिन्छ’ भनेर उनीहरूलाई त्यहीं काम गर्न प्रेरित गरौं। अब गिलासमा रहेको आधा पानीलाई आधा भरिएको गिलास भनेर सिकाऊँ। त्यो ‘आधा तिमीले भर्नुपर्छ’ भनेर सिकाऊँ। नेपालमै राम्रो गरिरहेका मानिसका कथा पढाऊँ। जनताका लागि काम गरिरहेका असल राजनीतिज्ञका कामहरूको प्रशंसा गरौं। अपराधीहरूले सजाय पाएका घटनाहरू सुनाउँ। 

सबै कुरालाई एउटै डालोमा हालेर होइन गुणवत्ताको आधारमा सही र गलत छुट्याउँ। यो देशमा भ्रष्टाचार गर्ने मान्छे छन् भने जीवन सधैं सत् र सत्यको बाटोबाट अगाडि बढ्ने मान्छे पनि छन् भन्ने सुनाऊँ। सुधारेको देश चाहनेले आफैं सुधार्न अगाडि बढ्नुपर्दछ भन्ने सोच निर्माण गर्न प्रेरित गरौं। आफ्नै देशमा कर्म गर्नेहरूलाई सफलताको मानक बनाऊँ। देशप्रति आम नागरिकको जिम्मेवारी बोध गराऊँ। हाम्रा बालबालिका कस्तो हुने भन्ने कुरा हाम्रै व्यवहारमा भर पर्दछ। खासगरी सानैबाट उनीहरूलाई उद्यमशील बनाउनका लागि हामीले प्रेरित गरौं। युवाहरूलाई हामीले जागिर खोज्ने होइन रोजगारी सृजनाकर्ता बनाउनुपर्दछ। यसले युवाको भविष्य बन्छ, समाज बन्छ अनि देश बन्छ। सबै कुरा बन्यो भने हाम्रो भाष्य पनि सुधारिन्छ। अनि बालबालिकाहरूले नेपालको वर्तमानको वर्णन पनि सकारात्मक दृष्टिले गर्न थाल्छन्। 

(तुलसीपुर बहुप्राविधिक शिक्षालय, दाङ)

शिक्षक  मासिक, २०८१ जेठ अंकमा प्रकाशित। 

commercial commercial commercial commercial