शिक्षक मासिक शिक्षकको सारथि
२०५३ सालमा म शिक्षकको रूपमा शिक्षा क्षेत्रमा प्रवेश गरें। त्यसबेला अन्य क्षेत्रसँग सम्बन्धित सामग्रीहरू बजारमा प्रशस्त भेटिन्थे तर शिक्षा क्षेत्र र शिक्षकका लागि पठनीय सामग्रीको अभाव नै थियो। शिक्षक हुनका लागि अध्यापन अनुमतिपत्रको व्यवस्था थिएन र शैक्षणिक विधिको ज्ञानलाई पनि महत्व दिइएको थिएन। व्यवस्थापन, विज्ञान र मानविकी संकायमा पढेर शिक्षण पेशामा प्रवेश गरेकाहरूले विषयवस्तु मात्र जानेका हुन्थ्यौं; पाठ्यक्रम, मूल्याङ्कन र शैक्षणिक विधि सम्बन्धमा कुनै सीप र क्षमता थिएन। यसै क्रमले जेनतेन काम चलाउँदै र निर्वाह गर्दै शिक्षकहरू अगाडि बढिरहेका थिए।
वि.सं २०५२ को शिक्षा सेवा आयोगको नतिजा २०६० मा प्रकाशित भयो। तर त्यो नतिजाको विश्लेषण र त्यसको वैधता एवं विश्वसनीयताका विषयमा बहस गर्ने कुनै ‘प्लेटफर्म’ देशमा थिएन। २०६१ सालमा कार्यरत शिक्षकहरूका लागि आन्तरिक आयोग खुल्यो। त्यसबेला पनि शिक्षा सम्बन्धमा भरपर्दो सामग्री र तथ्याङ्कहरू सजिलै एकीकृत रूपमा प्राप्त गर्न सकिने अवस्था थिएन। २०६३ सालमा आयोगको नतिजा प्रकाशन पछि म शिक्षकको जागिरमा स्थायी त भएँ तर पछिसम्म पनि एउटा परिपक्व शिक्षक हुनसकिरहेको थिइनँ। कहीं कतै केही नपुग र अभाव खट्के जस्तो लागिरहेको थियो।
कुरा २०६४ को हो। म विद्यालयको कामको सिलसिलामा रूपन्देहीको सिद्धार्थनगरस्थित जिल्ला शिक्षा कार्यालयमा पुगेको थिएँ। त्यहाँ एक जना कर्मचारीले शिक्षक मासिक २०६४ माघ अङ्क पढेको देख्नासाथ मलाई ‘ढुङ्गा खोज्दा देवता मिले’झैं भयो। मैले तुरुन्त शिक्षक को ग्राहक बन्ने निधो गरें र दोस्रो अङ्कका लागि ढकाल स्टेसनरी, मुर्गियामा अनुरोध गरें। शिक्षक को फागुन अङ्क पनि समयमै प्रकाशित भयो। मैले एक प्रति विद्यालयका लागि पनि लिएँ। दोस्रो अङ्कमा शिक्षक ले पनि निरन्तरता पाउँदैन कि भन्ने डर र शंका सँगसँगै निरन्तर यो पत्रिका अगाडि बढिरहोस् भन्ने शुभेच्छाहरू पनि छापिएका देखिए। ‘संवाद नै समाधान’ भन्ने सम्पादकीय भएको लेखबाट शुरू भएको त्यो अङ्कको यात्रा मोहन मैनालीको ‘चलचित्र समीक्षा’मा गएर अन्त्य भएको थियो।
दोस्रो अङ्कको कभर स्टोरीले सामुदायिक विद्यालयको व्यवस्थापन समुदायमा हस्तान्तरणको सन्दर्भबारे राम्रो विश्लेषण गरेको थियो। त्यही विश्लेषणलाई हेरेर म कार्यरत विद्यालय, जनकल्याण माविलाई साविक दुधराक्षमा पहिलो पटक समुदायमा हस्तान्तरण गर्ने निर्णय गरेका थियौं। शिक्षक मासिक क्रमशः एउटा खोजी, समस्या एवं चुनौती पहिचान र समाधानको समेत महत्वपूर्ण स्रोत बन्न पुग्यो। यसका पुरानादेखि हालसम्मका अङ्कहरूको पुनरावलोकन गरेर आफ्नो अनुभव लेख्दा आज मलाई यस्तो आनन्द आएको छ- जसलाई शब्दमा वर्णन गर्न प्रायः असम्भव छ। शिक्षक पत्रिकाको नियमित स्तम्भ हेराइ र बुझाइ ले सोचलाई फराकिलो बनाउँदै सकारात्मक चिन्तनको विकास गराएको छ। शिक्षकलाई आत्मसमीक्षा गर्दै समस्यासँग जुध्न र आफ्नो पेशागत सक्षमताको विकास गर्न पनि यसले प्रेरणा प्रदान गरेको छ। शिक्षक को अध्ययनबाट मैले प्राप्त गरेका केही सीप र क्षमता यसप्रकार छन् :
- विद्यालय सुधारका ‘टिप्स’
- नैतिक मूल्य र मान्यताका आधारभूत शर्त
- सक्षम शिक्षक र प्रधानाध्यापक कसरी बन्ने भन्नेबारे असल अभ्यासहरू
- शिक्षा र राजनीतिको अन्तरसम्बन्ध
- शिक्षकका समस्या र समाधान गर्ने कला
- शैक्षिक गुणस्तर सुनिश्चित गर्ने उपाय
- विद्यालय र अभिभावक बीचको सम्बन्ध सुदृढ पार्ने कला
- उदार कक्षोन्नतिको अवधारणा
- शिक्षकका पेशागत विकासका अवसर र सीप ।
असोज २०६६ को अंकमा प्रकाशित डा. विद्यानाथ कोइरालाको ‘गुरु र शिक्षक’ सम्बन्धी आलेख मलाई निकै घत लागेको थियो। २०६९ असोज अङ्कको स्वस्थ शिक्षकः स्वस्थ कक्षा को आलेख पनि शिक्षकका लागि उपयोगी छ। चैत २०७० को हेराइ र बुझाइ स्तम्भमा लेखिएको वाक्य म अझै पनि सम्झन्छु:
दन्ताः वदन्ति जिह्वे त्वां दशायः किं करिष्यसि ।
एकमेव वचो वच्मि नूनं सर्वे पतिष्यथ ।।
(दाँतहरू जिब्रोलाई भन्छन्, ‘हे जिब्रो ! हामीले तिमीलाई टोकिदियौं भने तिमी के गर्छौ ?’ जिब्रोले भन्छ, ‘एउटा यस्तो वाक्य बोलिदिन्छु, तिमीहरू सबै एकैचोटि भुइँमा बजारिनेछौ।’)
मानिसको बोली वा वाणीले उसको संस्कारको परिचय दिन्छ अनि नराम्रो वचनको परिणाम दुःखद् हुन्छ भन्ने नैतिक शिक्षा यो श्लोकले दिन्छ। यसरी सिकाइ,उत्प्रेरणा, पेशागत विकास; समालोचनात्मक चिन्तन र व्यावहारिक सीप सिकाउने बहुआयामिक ज्ञानको भण्डार सावित भएको छ शिक्षक मासिक। २०७२ को माघ अङ्कमा एसएलसीमा ग्रेडिङ, २०७६ को असारमा प्रकाशित २०१७ सालदेखि हालसम्मको तलबमान सबै शिक्षकहरूका लागि जानकारीमूलक सामग्री बनेको थियो।
कोभिडको महामारीमा भरपर्दा जानकारीमूलक सामग्रीहरू प्राप्त गर्न कठिन थियो। त्यसै समयमा शिक्षक मासिक पनि प्रभावित हुनपुग्यो। तर त्यस समयमा शिक्षकका पुराना अङ्कहरू पढ्दै जाँदा पनि मज्जा आएको थियो। वि.सं २०६४ माघदेखि अहिलेसम्म शिक्षकका १५५ अङ्क प्रकाशित भएका छन्। कोभिड-१९ को महामारीपछि साढे तीन वर्ष विश्राम लिएको शिक्षक मासिक नयाँ उत्साह र कौतूहल साथ पुनः प्रकाशन भएकोमा पाठक वर्गमा पुन खुशी छाएको छ। २०८१ को वैशाख अङ्क र सोभित्रका विचार, बहस, खोज र आलेख पढ्दा म जस्ता पाठकहरू खुशीले गद्गद् भएका छौं। खोजमूलक र तथ्य सामग्री रहेको यथार्थ चित्रण ‘विद्यालय शिक्षाका अभ्यास’ भन्ने बारबर्दियाको स्थानीय तहको रिपोर्ट निकै सान्दर्भिक छ। साथै दिवा खाजाको तालिकामा अल्झ्एिका र अलमलमा परेकाहरूका लागि दिवा खाजाको रैथानीकरणले नयाँ अनुभव र शिक्षा प्रदान गरेको छ। पुस्तक पढ्न नखोज्ने र मोबाइलमा मात्रझुन्डिन खोज्नेहरूका लागि ‘पुस्तकमा पल्काउने काइदा’ भन्ने शीर्षकबाट अभिभावक र विद्यार्थीमा एउटा असल सोच र पुस्तक पढ्ने संस्कार र बानीमा परिवर्तन ल्याउन ठूलो सहयोग पुगेको छ।
हचुवाको भरमा विद्यालय ‘मर्ज’ गरेर फुर्सदमा पछुताउनेहरूका लागि शिक्षक को जेठ अङ्कले आँखाको पट्टी खोलिदिएको छ। विद्यालय आवश्यक छ र छैन भन्ने कुरा कसैको लहडमा र पूर्वाग्रहमा भन्दा वैज्ञानिक नक्शाङ्कन विधि अपनाएर कार्य गर्दा त्यसबाट दीर्घकालीन रूपमा सबैलाई फाइदा हुन्छ। यो अङ्कको ‘मर्ज भएका विद्यालय ब्युँताइँदै’ भन्ने शैक्षिक व्यवस्थापन सम्बन्धी स्थलगत रिपोर्टले चित्रण गरेको छ। विभिन्न जिल्लामा लिइएको कक्षा-८ को परीक्षा र यसको नतिजाको विश्लेषण ‘सक्रियता परीक्षामा होइन सिकाइमा देखाऊ’ भन्ने विश्लेषणले यथार्थपरक विषयवस्तु पस्किएको छ। यसले विद्यार्थीलाई ‘परीक्षामा फेल गराउनु गुणस्तर सुधार होइन; यसका लागि सिकाइ प्रभावकारी हुनुपर्दछ’ भन्ने सन्देश दिएको छ जुन हामी शिक्षक र अन्य सरोकारवालाको घैंटोमा घाम लगाउन सफल छ।
शिक्षकको साथी, शिक्षकको मार्गदर्शक, शिक्षकको सारथि बनेको छ शिक्षक मासिक। आज-भोलि धेरै मानिस इमेल/इन्टरनेटको सहयोगमा मोबाइलमा भुलेका छन्, तर यस्तो अवस्थामा पनि पढ्ने बानी र उपयुक्त वातावरण सृजना गर्न हामीलाई शिक्षक पत्रिकाले उत्पे्ररित गरेको छ। यसले हामी शिक्षकहरूलाई जागिर खान होइन साँच्चिकै शिक्षक हुन घचघच्याइरहेको छ। आज पनि म जब थकित हुन्छु तब शिक्षक पत्रिकाले भन्छ, ‘जाग, उठ’; जब म तनावमा हुन्छु यसले मलाई ‘चिन्ता चिता हो, जे हुन्छ भुल, वर्तमानमा रमाऊ’ भन्छ जब म रिसाउँछु यसले मलाई कर्तव्य बोध गराउँछ। त्यसैले शिक्षक एउटा विकास र सिकाइको मार्गदर्शक हो, असल कर्म र ज्ञानको खोजी हो; सृजना र रचनाको सारथि हो; कला, संस्कृति र विज्ञानको फ्युजन हो, मानव मूल्य र नैतिकताको पथप्रदर्शक हो। आलोचनात्मक सोचाइ र सकारात्मक निष्कर्षको पोषक हो।
(प्रअ, श्री जनकल्याण माध्यमिक विद्यालय सैनामैना-६, रूपन्देही)
शिक्षक मासिक, २०८१ असार अंकमा प्रकाशित।