विदेशिने मन !

७०-७५ उमेरकी महिला ओपीडीमा ल्याइएकी थिइन्। साथमा ज्वाइँ-छोरी थिए। उनी तीन छोरी र एक छोराकी आमा। पतिको केही वर्षअघि मृत्यु भएको रहेछ। शारीरिक रूपमा केही पनि रोग नभएकी ती आमामा केही महीनायता अलिकति सुस्तता, खानामा रुचि घट्दै गएको, एक्लै बस्न मन गर्ने, निद्रा नपर्ने, चाँडै थाक्ने, बिर्सने, झर्कोफर्को गर्ने जस्ता व्यवहार-परिवर्तनका लक्षण देखिन थालेछन्। जीउ दुख्ने, कब्जियत हुने, टाउको पोल्ने, चक्कर लाग्ने जस्ता समस्या पनि थपिएपछि छोरीले उनलाई हाम्रो अस्पतालको मेडिकल विभागमा ल्याएकी रहिछन्। त्यहाँ गरिएको रगत-मुटु-टाउको आदिको परीक्षण अनि सिटीस्क्यान-इण्डोस्कोपी जस्ता थप जाँच पछि तिनमा शारीरिक समस्या खासै केही नभएको भनेर हामीकहाँ अर्थात् अस्पतालको मनोचिकित्सा विभागमा पठाइएको रहेछ। 

हामीले उनीसँग विस्तृत कुराकानी गर्‍यौं। उनका सन्तानहरू मध्ये दुई छोरी स-परिवार विदेशमा रहेछन्। छोरा पनि दुई वर्षअघि नै अष्ट्रेलियामा बसोबास गर्न थालेका रहेछन्। छोराले आमालाई पनि उतै लैजान खोजेका रहेछन्, तर मानिनछिन्। अहिले यहाँ आफ्नो घर भाडामा दिएर कान्छी छोरीसँग बस्न लागेकी रहिछिन्। यिनै पारिवारिक परिस्थिति सँगसँगै ती आमामा उपरोक्त लक्षणहरू देखा पर्न थालेकाले हामीलाई उनको मानसिक समस्या आकलन गर्न त्यत्ति गाह्रो भएन।
...
१९ वर्षे केटो साथीको साथ लागेर निराश अनुहारमा हाम्रो ओपीडीमा आए। कुराकानी गर्दागर्दै उनी डाँको छोडेर रुन थाले। केही बेर उनलाई रुन दियौं हामीले। उनी अलि सम्हालिएपछि संवादलाई अगाडि बढायौं। विज्ञान विषय लिई ११ कक्षा उत्तीर्ण गरिसकेपछि १२ कक्षा पढ्दै गर्दा, उनले यूरोपमा उच्च शिक्षा अनि काम पनि गर्ने अभिलाषाका साथ साथीहरूसँग लागेर म्यानपावर कम्पनी मार्फत आप्रवासन प्रक्रिया अघि बढाएका रहेछन्। आमाबाबुलाई थाहापत्तो नदिई गरिएको उक्त कार्यमा उनको थुप्रै पैसा खर्च भएको रहेछ। कक्षा-१२ उत्तीर्ण हुनासाथ कुनै न कुनै स्क्याण्डेभियन मुलुकमा जान पाउने भनेर एजेन्सीबाट पक्कापक्की जस्तै आश्वासन पनि पाएका रहेछन् उनले। तर, भर्खरै प्रकाशित भएको १२ कक्षाको परीक्षा परिणाममा उनी उत्तीर्ण हुन सकेनछन्। उनी सँगसँगै विदेश जाने तयारीमा लागेका अरू साथीहरू भने उत्तीर्ण भएछन्। त्यसैले; परीक्षाफल सुन्नासाथ विह्वल भएर पासो लगाएर मर्ने तयारीमा लागेका ती युवकलाई साथीहरूले भेटेर सम्झाई-बुझाई गरी रातभर आफ्नै रोहबरमा राखी भोलिपल्ट हाम्रो विभागमा ल्याएका रहेछन्।
...
३५ वर्षकी एक महिला कीटनाशक औषधि खाएर आत्महत्या गर्ने प्रयास गरिरहेको अवस्थामा परिवारका सदस्यहरूले फेला पारेर हाम्रो अस्पतालको आकस्मिक वार्डमा भर्ना गरिएकी थिइन्। त्यहाँ उपचार गरेर उनमा शारीरिक खतराहरू नरहेको निक्र्योल गरिसकेपछि हामीकहाँ पठाए, अनि हामीले मनोचिकित्सा वार्डमा राखेर निदान एवं उपचार प्रक्रिया जारी राख्यौं। 

ती महिनासँग भएको छलफलबाट थाहा भयो– उनी दुई स-साना छोराछोरीकी आमा रहिछिन्। उनका पति केही वर्षअघिदेखि नै दुबईको एयरपोर्टमा सरसफाइको काम गर्दा रहेछन्। घटनाको अघिल्लो दिन मात्र उनका पतिको दुबईमा सडक दुर्घटनाका कारण मृत्यु भएको खबर आएको रहेछ। पतिको आकस्मिक वियोग सहन नसकेर उनले यत्ति ठूलो कदम उठाउन पुगेको हामीलाई अनुमान गर्न गाह्रो भएन।
...
उपरोक्त तीन प्रतिनिधि घटनाले नेपालमा प्रकोपका रूपमा बढ्दै गएको विदेश प्रवासनप्रतिको मोह एवं विवशतापूर्ण रूपमा नै सही, विदेशी शिक्षा अनि रोजगारीतर्फ फैलिरहेको आकर्षणलाई उजागर गर्छन्। यो प्रकोपबाट सम्बन्धित व्यक्तिहरू मात्र नभई तिनका परिवारजनमा समेत गम्भीर मानसिक असर परिरहेको बुझन कठिन पर्दैन। 

विदेश प्रवासनको मामलामा अन्तर्राष्ट्रियस्तरमा कार्य गर्ने एउटा संस्थाले केही वर्ष अगाडि प्रकाशित गरेको विज्ञप्तिमा ‘नेपाल- विश्वभरमै आप्रवासीहरू उत्पादन गर्ने प्रमुख देशहरूमध्ये एक हुनसक्ने’ भनेर औंल्याइएको थियो। दुई वर्ष अघिको एक अध्ययनले त ६ महिनाको अवधिमा करीब ८५ हजार विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट बनाएको आँकडा देखाएको थियो। दैनिक करीब २००० युवाहरूले नेपाल छोड्ने गरेको अर्को तथ्यांक पनि हालसालै प्रकाशित भएको छ । यो हिसाबले वार्षिक ६-७ लाख युवा, किशोर-किशोरीहरू विदेश प्रवासनमा गइरहेको अनुमान गर्न सकिन्छ। 

कक्षा-१२ वा सोभन्दा माथिको परीक्षा उत्तीर्ण गरेका अधिकांश अथवा ७५ प्रतिशतसम्म युवाहरू विदेश जाने धुनमा पाइन्छन्। हाम्रा मेडिकल विद्यार्थीहरू नै यूएसएमएलई, प्लाब आदि अमेरिका, बेलायत जस्ता मुलुकहरूको लाइसेन्सिङ्ग, दक्षता परीक्षाका लागि रिकमेन्डेशन लेटर  बनाउन हामीकहाँ धाउने गर्दछन्। ती परीक्षामा सफल हुँदा उनीहरूले हामीकहाँ आएर मिठाई समेत बाँड्ने गर्दछन्। यसरी विदेशतिर लाग्न लालायित यस्ता प्रवृत्तिहरूसँग बारम्बार साक्षात्कार भइरहँदा यदाकदा आफ्नै मनमा समेत ‘म किन विदेश नगएको होला ?’ भन्ने प्रश्न उठ्ने गर्दछ। देशमा कुनै परिवार छैन होला, जहाँ यो वा त्यो प्रयोजनका निम्ति विदेश जाने अथवा विदेश गएकाहरूको चर्चा नभएको होस् !

नेपालीहरूको विदेश आप्रवासन दर वार्षिक रूपमा नै उकालो लागिरहेको देखिन्छ। सन् २०२० मा प्रति १ हजार जनसंख्यामा २.९ जना रहेको यो तथ्यांक, २०२१ मा ३.६ जना, २०२२ मा ४.३ जना अनि २०२३ मा ५.०७ जना पुगेको पाइन्छ। अभिलेख नभएका अझै  कति होलान् ? 

प्रवासलाई प्रोत्साहित गर्ने पक्षहरू
१. पढेलेखेका,अझ भनौं ठूला डिग्री हासिल गरेका, अनि प्राविधिक क्षेत्रमा लागेका व्यक्तिहरू यो देशमा तिनका लागि एकदमै थोरै अवसर भएको बताउँदछन्। यसो हेर्दा तिनका कुरा सही जस्तो पनि लाग्दछ। ‘राम्रा भन्दा हाम्रा मान्छे’ ले अवसर पाउने पद्धति मौलाएको स्थितिमा राजनैतिक पहुँच नभएका योग्य व्यक्तिहरू ‘अवसरको खोजी’मा दशतिर दौडधूप गर्न विवश भएको हामीले अनुभव गरिरहेको विषय नै हो। अचेल, पहिले जस्तो सरकारी छात्रवृत्तिका त्यत्ति धेरै अवसर पनि भेटिन्नन्। डाक्टर, इञ्जिनियर बन्न कडा मिहिनेत सँगसँगै ठूलै आर्थिक लगानी परेको हुन्छ। आफ्नो मिहिनेत एवं लगानीको उचित प्रतिफल मुलुकमा आउने वातावरण नै नभएपछि एउटा व्यक्तिसामु ठूलो जोखिम मोलेर भए पनि विदेश पलायन हुनुको विकल्प रहँदैन।

२. यसमा आर्थिक-सामाजिक विषय पनि जोडिएर आउने गर्दछन्। उति नै समय काम गर्दा हुने कमाइ देशभित्रको भन्दा विदेशको दुगुना-चौगुना बढी हुने परिस्थिति छ भने विदेश जान कोही किन लालायित नहोओस् ? आफ्नो लगानी उठ्ने मात्र नभई आफ्नो जीवनस्तर, छोराछोरीको शिक्षादीक्षा, अनि परिवारको जीविकोपार्जनमा समेत गुणस्तरीय परिवर्तन आउने अवस्थामा विदेशिएकाहरू त्यहीं बस्ने अनि स्वदेशै नफर्कने परिस्थिति निर्माण हुनु व्यावहारिक तवरमा सामान्य नै हो जस्तो लाग्दछ।
३. लामो समयदेखिको राजनैतिक अस्तव्यस्तता एवं अन्योलपूर्ण अवस्था अझै पनि कायम नै छ। प्रतिभा पलायनलाई रोक्ने, योग्य व्यक्तिहरूलाई स्वदेशमा नै उचित अवसर दिने, अनि कृषि-व्यापार-वाणिज्य जस्ता मुलुकलाई दीर्घकालीन लाभ पुर्‍याउने क्षेत्रहरूप्रति प्रदर्शित उदासीनता र सुस्तताले गर्दा हाम्रो देश ‘बसौं-बसौं, यतै फर्कौं-फर्कौं’ जस्तो बन्न नसकेको मात्रै होइन, धेरैलाई ‘बस्नै मन नलाग्ने’ बन्दै गएको एउटा यथार्थ हो।
४. सरकारी संयन्त्रमा उचित नियमनको अभाव अनि अपारदर्शी विधि-विधानका कारण नागरिकमा चरम नैराश्य छाएको अवस्था छ। उदाहरणका लागि; कर कार्यालय, मालपोत, यातायात जस्ता सार्वजनिक सरोकारका क्षेत्रमा चल्ने घुसखोरी, जनता अल्मल्याउने, तिनलाई अनावश्यक रूपमा दुःख दिने परिपाटीको अन्त्य नभएसम्म देश छोडेर विदेशिने प्रवृत्ति कदापि घट्न सक्ने लाग्दैन।
५. नेपालमा भरपर्दो शैक्षिक प्रणाली विकसित हुनसकेको छैन। यहाँ जत्तिकै मिहिनेत एवं खर्च गर्दा विदेशमा स्तरीय शैक्षिक योग्यता पाउन सकिने भएपछि अभिभावकहरू पनि आफ्ना सन्तानलाई अध्ययनका लागि विदेश पठाउन लालायित हुनु अस्वाभाविक हुँदैन। परिणामतः नेपाली विद्यार्थीहरू विदेश जाने प्रवृत्तिमा कमीको सट्टा झन् झन् बढोत्तरी भइरहेछ। यसै कारण त्रिभुवन विश्वविद्यालयमा भन्दा त्रिभुवन विमानस्थलमा बढी भीड लाग्ने गरेको छ। 
. सामाजिक सञ्जाल, प्रविधि अनि इन्टरनेटको व्यापक पहुँचका कारण विश्व नै एउटा गाउँ जस्तो भइसकेको छ। फेरि अध्ययन-शिक्षाका लागि देशदेशावर यात्रा गर्ने प्रवृत्ति हाम्रो संस्कृतिकै हिस्सा पनि हो। त्यसैले पढ्नका लागि विदेश जानेहरूलाई जबर्जस्ती रोक्नु मनासिव अनि न्यायसंगत पनि हुँदैन। तर तिनलाई विदेशमा नै स्थापित हुनुभन्दा स्वदेश फर्केर आफूले सिकेका ज्ञान-सीप प्रयोग गरी रोजगारी-व्यापार-व्यवसायमा उद्यत गराउनु भने आजको खाँचो हो।

अब के गर्ने त ?
पहिलो कुरा, वैज्ञानिक एवं विदेशमा समकक्षता प्राप्त हुने किसिमका शैक्षिक कार्यक्रमहरूको विकासमा ध्यान दिनुपर्दछ। शिक्षा सर्वसुलभ, सुपथ, अनि सीप-दक्षता अभिवृद्धि गराउने खालको हुनैपर्दछ। रोजगारीका नयाँ-नयाँ अवसरहरूको निर्माणको दिशामा कार्यक्रम अनि नीतिनियमहरू बन्नुपर्दछ। अरू देशको तुलनामा नेपालको करप्रणाली अत्यन्तै अव्यावहारिक छ। रोजगारमा रहेकाहरूले तिरेको करको परिमाण अनुसारको सेवा-सुविधा तिनले सरकारबाट कहिल्यै पाएका हुँदैनन्। अतः ती स्वदेशमा आफ्नो श्रमशक्ति लुटाउने, रगत–पसिना बगाउनेहरूको जीवनस्तर, तिनका छोराछोरीको शिक्षादीक्षा, परिवारजनको स्वास्थ्योपचार, अनि ती सबैको जीवनको गुणात्मकता बढाउन सरकारले प्रयास गर्नै पर्दछ ।
अब विदेशिएकालाई स्वदेश फर्कन प्रोत्साहित गर्ने खालका कार्यक्रमहरूको टड्कारो आवश्यकता भइसक्यो। फर्कन खोज्नेहरूलाई निरुत्साहित गर्ने हाम्रा कानून र परम्परामा सुधार गर्नु पनि अति आवश्यक छ। विदेशी भूमिमा आफ्नो पसिना-श्रम खर्च गरी धन कमाएर या त्यहाँबाट ज्ञान-सीप हासिल गरेर फर्कनेहरू, दुवै थरीलाई सार्वजनिक आह्वान गर्न सक्नुपर्दछः ‘जसमा जति जे छ लिएर आओ, नेपालकै काखविषे खन्याओ’ भन्ने एकजना कविका यी शब्दहरू नै आजका लागि महत्वपूर्ण मन्त्र हुन्, सबैमा चेतना भया। 


(मनोचिकित्सा विभाग, काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेल)

शिक्षक  मासिक, २०८१ साउन अंकमा प्रकाशित। 

commercial commercial commercial commercial