विशेष शिक्षाका विशेष चुनौती !

समाजमा पूरै निस्वार्थ भावले कार्य गर्ने व्यक्तिहरू थोरै होलान। म पनि अपवाद रहन सकिनँ। १५ वर्ष लामो शिक्षण पेशाको क्रममा ‘घरपायक भनी’ पाँच वर्षअघि भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयमा सरुवा आएँ। शुरूका दिन यहाँ निकै दुःखदायी रहे। सांकेतिक भाषाको अज्ञानताले बहिरा बालबालिकालाई राम्ररी शिक्षण सहजीकरण गर्न नसक्दा आफू कर्तव्यहीन बने जस्तो लाग्थ्यो। सांकेतिक भाषा कसरी सिक्ने र बालबालिकालाई कसरी शिक्षण सहजीकरण गर्ने भन्ने हुटहुटी हुन थाल्यो। म सांकेतिक भाषाबाट शिक्षण गर्न सक्छु भनेर नै त्यहाँ सरुवा आएको हो। त्यसैले सांकेतिक भाषा सिक्नुको विकल्प छैन भनेर निष्कर्ष निकालें।

दिउँसो विद्यालयमा बालबालिकाहरूसँग नै सांकेतिक भाषा सिक्न थालें। बेलुका घरमा आएर सांकेतिक भाषाका सामग्री अध्ययन गर्ने, सांकेतिक भाषाका भिडियोहरू हेर्ने गरें। लगभग एक वर्ष जतिमा बालबालिकाहरूलाई सांकेतिक भाषामा शिक्षण सिकाइ सहजीकरण गर्न सक्ने भएँ। शैक्षिक सत्र २०७९ को अन्त्यमा शिक्षा तालिम केन्द्र इनरुवा, सुनसरीद्वारा सञ्चालित २१ दिने सांकेतिक भाषाको तालिममा सहभागी हुने अवसर पाएँ। उक्त तालिममा ३५०० शब्दलाई संकेतमा बुझने र बुझाउने काम भयो । त्यसपछि बल्ल थाहा पाएँ- सांकेतिक भाषाका शब्दहरू निश्चित मात्रामा रहेछन्। तिनै शब्दहरूसँग खेलेर बहिरा बालबालिकालाई शिक्षण गर्नुपर्ने रहेछ।

बहिरा बालबालिकाहरू पनि अन्य सामान्य बच्चा जस्तै हुन्छन्। फरक यति हो उनीहरू सुन्न र बोल्न सक्दैनन्। उनीहरू सजिलैसँग सांकेतिक भाषाको माध्यमबाट आफ्नो कुरा राख्न सक्छन्। मलाई लाग्छ यो ५ वर्षमा मैले धेरै कुरा बुझें, धेरै कुरा सिक्ने अवसर पाएँ। विद्यालयलाई घर जस्तै ठानें। घरपरिवार छोडेर आवासमा बस्ने उनीहरूसँग घुलमिल भई पारिवारिक वातावरण उपलब्ध गराउने कोशिश गरें। शुरू-शुरूमा पारिवारिक वातावरण, मायाममता उपलब्ध गराउन नसक्दा वा नजान्दा नयाँ बहिरा बालबालिकाहरूको रुवाइसँगै मैले पनि धेरै पटक मन रुवाएकी छु। 

अधिकांश अभिभावकहरू आज पनि आफ्ना बालबालिका बहिरा भएको स्वीकार गर्न चाहँदैनन्। यस सम्बन्धी मेरो र सहकर्मी मित्रहरूको छुट्टाछुट्टै भोगाइ छ । व्यक्तिगत कामको सिलसिलामा सरकारी कार्यालयमा पुग्दा त्यहाँ एकजना दिदीले भन्नुभयो, “हाम्रो छिमेकी घरमा ७ वर्षको छोरा छ। कान सुन्दैन, बोल्दैन तर बाठो छ। मैले भनेको चाहिं नभन्नु है फेरि !” म ती अभिभावकलाई भेट्न पुगें। तर अभिभावकले उल्टै नराम्रोसँग गाली गरेर पठाउनुभयो । यथार्थमा हाम्रा अभिभावकहरू आफ्ना बालबालिका अपाङ्गता भएको स्वीकार गर्न समाजसँग डराइरहेका छन्। यसले गर्दा सरकारबाट प्राप्त हुने सेवा-सुविधा लिन समेत उनीहरू छुटिरहेका छन्। 

बहिरा नागरिकहरूको मातृभाषा सांकेतिक भाषा हो । सांकेतिक भाषाबाट शिक्षा लिन पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । तर अभिभावकले सहज रूपमा यो तथ्य नबुझ्दििंदा धेरै बालबालिका सांकेतिक भाषाबाट शिक्षा लिन वञ्चित भएका छन्। भोजपुर जिल्लामा पहिचान भएका १० देखि १२ जना बहिरा बालबालिकाहरू विद्यालय बाहिर छन् । हामीले विद्यालयको तर्फबाट प्रत्येक स्थानीय तहमा पत्राचार गरेर तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला स्वास्थ्य स्वयम्सेविकासँग सम्पर्क बढाएर बहिरा बालबालिकाको पहिचान गरेका छौं। तर पनि केही बहिरा बालबालिकाहरूलाई विद्यालयमा ल्याउन सकेका छैनौं। त्यसनिम्ति स्थानीय तह र वडाबाट नै विशेष कदम चाल्नु पर्ने खाँचो देखिएको छ।
मेरो अनुभवमा सामान्य प्रकृतिका बालबालिका र बहिरा बालबालिकालाई शिक्षण सहजीकरण गर्ने काममा धेरै नै अन्तर छ। बहिरा बालबालिकालाई निश्चित शब्दहरूको संकेतको प्रयोग गरेर मात्रै शिक्षण गर्न सकिन्छ। तसर्थ, उनीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र जीवनोपयोगी सीप पनि सँगसँगै दिनु उपयुक्त हुने देखिन्छ। गत शैक्षिक सत्रदेखि हामीले विद्यालयमा कार्यान्वयन भएको पाठ्यक्रम भन्दा बाहिर रहेर प्रत्येक शुक्रबार सीपमूलक कार्य गर्ने गरेका छौं । त्यसबाट हाम्रा बालबालिकाले लाछा धागो, सिलामसाक्मा र कुचो तयार गर्न सक्ने भएका छन्। हामी शिक्षकले नै सिकाइरहेका छौं। लाछा धागो बालिकाहरू आफैंले तयार गरेर विद्यालयमा दैनिक प्रयोग गरिरहेका छन्। यसले बजार पाउने राम्रो सम्भावना छ। सिलामसाक्मा त बजारमा बिक्री समेत हुने गरेको छ। सिलामसाक्मा किराँत समुदायमा लगाउने गरिन्छ । यसले मृत्युको बाटो छेक्छ भन्ने विश्वास गरिन्छ। यस्तै अन्य विभिन्न सामग्री बनाउन सीपहरू सिकाउने योजना रहेको छ। यी कुरा भन्दा-सुन्दा सामान्य लाग्न सक्छ तर जीवनयापनमा आम्दानीको स्रोत चाहिं अवश्य हुन सक्छ। यसर्थ बहिरा विशेष विद्यालयमा एकजना सीप सम्बन्धी सहजीकरण गर्ने शिक्षक अनिवार्य रूपमा व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ।

हामी जस्ता विशेष प्रकृतिका विद्यालयमा शिक्षण गर्ने शिक्षकहरूलाई सांकेतिक भाषा सम्बन्धी शिक्षण विधि, तत्सम्बन्धी सामग्री निर्माण, मूल्याङ्कनका साधन र प्रयोग सम्बन्धी तालिम गोष्ठीहरू खासै हुने गरेका छैनन्। बहिरा विशेष विद्यालयमा विद्यालय तहको पाठ्यक्रम, पाठ्यपुस्तक नै कार्यान्वयन हुने भएकोले पाठ्य घण्टा अनुसार शिक्षण सिकाइ सहजीकरण गर्न नसकिरहेको अवस्था छ। नेपाल सरकार र सम्बन्धित निकायले बहिरामैत्री पाठ्यक्रम, पाठ्यपुस्तक र शैक्षिक सामग्रीहरू प्रकाशन गर्नु अपरिहार्य आवश्यकता भएको छ । विशेष प्रकृतिको शिक्षासँग प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जोडिने सरोकारवाला निकायहरू उदासीन हुनु, विशेष बालबालिकाहरूका लागि पहिचानको आधारमा निश्चित मार्गचित्र सहित रणनीति बन्न नसक्नु र अभिभावक चेतनाको कमिले गर्दा यस प्रकृतिका बालबालिकाले शिक्षा लिन र सरल एवं सहज रूपमा जीवनयापन गर्न सक्ने वातावरण बन्न नसक्नु आजको तितो यथार्थ हो । 

(प्रअ, भोजपुर बहिरा आवासीय आधारभूत विद्यालय, भोजपुर नपा-९ ।)

शिक्षक  मासिक, २०८१ जेठ अंकमा प्रकाशित । 

commercial commercial commercial commercial