अंग्रेजीको कमाइबाट नेपाली भाषाको सेवा

२०३७ सालपछि एसएलसी परीक्षामा बसेकाहरूमध्ये धेरैले गौतमको अंग्रेजी ग्रामर  पढेका अथवा पढ्ने मौका नपाएकाहरूले त्यो किताबको नाम सुनेका हुन्थे। त्यसो हुनाको मुख्य कारण– त्यो पुस्तकका लेखक/प्रकाशकले अपनाएको बिक्री र प्रचारको नवीन शैली थियो।

२०५४-५५ सालसम्म पनि नेपालको आम-सूचना र मनोरञ्जनको क्षेत्रमा रेडियो नेपालको वर्चस्व थियो। रेडियो नेपालको मिडियम वेभ र सर्ट वेभको प्रसारणको पहुँच त्यतिबेला लगभग देशव्यापी थियो र नेपाली श्रोतासँग मनोरञ्जन एवं सूचनाका अरू विकल्प थिएनन्। परिणामतः २०३७ सालपछि रेडियो नेपालमा बारम्बार घन्किने गौतमको ग्रामर  को आकर्षक विज्ञापन हरेक श्रोताको कानमा ठोक्किन पुग्थ्यो। त्यो विज्ञापनले अंग्रेजीलाई ‘फलामको च्यूरा’ सरह चपाउन विवश एसएलसीका विद्यार्थीको मनमस्तिष्क नै झ्ञ्कृत तुल्याइदिन्थ्यो । सक्नेले त किनिहाल्थे– अंग्रेजी विषय पास हुँदा एसएलसी नामको ‘वैतरणी’ पार हुने अपेक्षामा !

तर, अंग्रेजी भाषा-व्याकरणका यी ‘धुरन्धर–लेखक’ गौतम को हुन् ? यी कुन कलेज-विश्वविद्यालयका उत्पादन हुन् अनि तीसौं वर्षसम्म निरन्तर बिक्री भइरहने उनको ग्रामरको सफलताको रहस्य के हो ? यी र यस्ता थुप्रै जिज्ञासा वर्षौंदेखि यो पंक्तिकारको मनमा जस्तै अरूहरूका मन-मस्तिष्कमा पनि खेलेका थिए होलान् । तर, थाहा पाउने कसरी- गौतमको ग्रामर का लेखकको सक्कली परिचय ?

२०६५-६६ सालतिरबाट तोड्न थालिएको नेपाली भाषाको स्थापित परम्परा र मौलिकता रक्षा गर्ने अभियानका क्रममा चूडामणि गौतमसँग यो पंक्तिकारको उठबस शुरू भएको हो। तर त्यसपछि पनि गौतमको ग्रामर को सफलताको रहस्य थाहा पाउन बाँकी नै रह्यो । केही महीनाअघि हात परेको बाफरे जिन्दगानी ! पढेपछि मात्रै गौतम र उहाँको ग्रामर लेखनको पृष्ठभूमिसँगै लेखकको बहुआयामिक व्यक्तित्वसँग परिचित हुन पाइयो।

अत्यन्त सरल र सीधा भाषा-शैलीमा लेखिएको बाफरे जिन्दगानी ! ले सर्वप्रथम लेखकको थातथलो, पारिवारिक पृष्ठभूमि र त्यसको विरासतसँगै आजभन्दा ७०-७५ वर्षअघिको पूर्वी पहाडको सामाजिक, आर्थिक र प्रशासनिक अवस्थाको सटिक जानकारी दिन्छ। घरको मूल मान्छे परलोक भएपछि महिला-केटाकेटीलाई हेपेर, तमसुक गरी लिएको ऋण पनि आसामीले तिर्न नमान्दा नाबालकहरू मारमा परेकोले आसामीको रकम उठाइपाऊँ भनी राजा त्रिभुवनलाई सम्बोधन गरी हुलाकबाट पठाएको बिन्तीपत्रमाथि कारबाही गरी संक्रान्ति (तेह्रथुम) स्थित प्रहरीलाई यथार्थ बुझी तत्काल असूल-उपर गराइदिनू भनी सरकारको आदेश भएको प्रसंगले त्यतिबेलाको राज्य र शासनको चुस्तता एवं जिम्मेवारीबोधको जनाउ दिन्छ। त्यस्तै, २००७ सालको परिवर्तनको बेलामा पूर्वी पहाडमा मच्चिएको लुटपाट र अराजक अवस्थाको चित्रण- एक भुक्तभोगी–पीडितका नाताले लेखकले मन छुने गरी गरेका छन्। यसले २००७ सालको राजनीतिक परिवर्तनको बेला नेपाली समाजमा उत्पन्न अराजक अवस्थाको वास्तविक तस्वीर प्रस्तुत गर्छ।

बाफरे जिन्दगानी को धेरैलाई घतलाग्ने पाटो चाहिं गौतमको अंग्रेजी ग्रामर को उत्पत्ति र बिक्रीको सफलता नै हुनसक्छ। कलेज-अध्ययनका निम्ति विराटनगरमा बस्दादेखि नै निजी तवरमा ट्युसन पढाउँदै आएका लेखकमा, ‘भनेजस्तो अरू जागिर पाइएन भने यस (ट्युसन) बाटै गुजारा चलाउँछु’ भन्ने आत्मविश्वास र केही मात्रामा स्वाभिमान जागेको देखिन्छ । विराटनगरबाट जाँच दिने गरी बाहिरबाट आएका एसएलसीका विद्यार्थीलाई उनी ७ दिन जति अंग्रेजी ग्रामर पढाउँथे अनि जाँचका दिन अंग्रेजी प्रश्नपत्रको उत्तर कार्बन पेपर राखेर लेखिदिन्थे। परीक्षार्थीले त्यही उत्तर आफ्नो कापीमा सार्थे। यति गरेबापत उनलाई प्रति परीक्षार्थी रु.१००० का दरले पारिश्रमिक प्राप्त हुन्थ्यो। यसरी २०३६ सालको एसएलसीका बेला रु.२० हजार आर्जन भएको कुरा उनले पुस्तकमा उल्लेख गरेका छन्।

एसएलसीका अंग्रेजी प्रश्नपत्रको हल गर्ने काम गर्दागर्दै गौतमलाई अंग्रेजी व्याकरणको सरल गाइड (किताब) लेख्ने प्रेरणा मिलेको देखिन्छ । ग्रामरको किताब निस्किसकेपछि पनि एसएलसीका प्रश्नपत्र र तिनको उत्तर पुस्तकको नयाँ संस्करणमा समावेश गर्दै जाँदा किताब झन्-झन् उपयोगी र मोटो पनि हुँदैगयो। यस प्रसंगमा उनी लेख्छन्- “एसएलसी परीक्षा माघ २ गतेदेखि शुरू हुन्थ्यो। माघ ५-६ गतेसम्ममा अंग्रेजी विषयको प्रश्नपत्र हात परिसक्थ्यो। प्रश्नपत्र पाएकै रातदेखि म ग्रामरको संशोधन तथा परिवर्तनमा लागेर तीन दिनमा पूरा गर्थें। हातले लेखिएको सो सामग्री लिएर जेठ महीनासम्म बनारस पुगिसक्थें।” 

२०३७ सालदेखि २०८० साल बीचका ४२ वर्षमा गौतमको ‘हाइअर लेभल इङ्गलिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सिएशन’ बाह्र पटक संशोधन भएको र अहिलेसम्म लाखौं प्रति छापिएको लेखकको कथन छ । यो पुस्तकको सफलतालाई लेखकले आफ्नो जीवनकै सफलता ठानेका छन्। उनकै शब्दमा भन्दा “एउटै पुस्तकले मानिसको कायापलट गर्न सक्दोरहेछ। मेरो अल्प-जीवनचर्या चल्न सकेको यसैको देन हो।”

अंग्रेजी ग्रामरको सफलताले लेखक चूडामणि गौतमलाई यश र ऐश्वर्यसँगै नेपाली-भाषा र नेपाली समाजको सेवा गर्ने प्रेरणा पनि प्रदान गरेको देखिन्छ। आफूलाई ‘क्रान्तिकारी’ देखाउने मोहमा एकथरीले २०६५-६६ सालपछि नेपाली भाषाको व्याकरण र हिज्जेमा गरेको घातक हस्तक्षेपको प्रतिवादका सिलसिलामा नेपाली भाषाको श्रीवृद्धिका निम्ति अगाडि सरेका गौतम- त्यसपछिका दिनमा निरन्तर यसमै भिडिरहेका छन्। यस अवधिमा उनले नेपाली भाषाको उत्थान र उन्नतिमा ठोस योगदान गरेका छन्-थरीथरीका नेपाली शब्दकोश र वर्णविन्यासका किताब प्रकाशित गरेर। यस क्रममा, उनले तयार पारेको- ‘बृहत्तर नेपाली शब्दकोश’ ८७ हजार शब्द सहित नेपालकै बृहत्तर शब्दकोश बन्न पुगेको छ। नेपाली भाषा-व्याकरणको विकास र विस्तारमा सघाउने गौतमका नेपाली पुस्तकहरू अंग्रेजी ग्रामर झैं तात्तातै-हातहातै बिक्री भएको पाइँदैन; तर पनि उनी, अंग्रेजी ग्रामर बिक्रीबाट भएको आम्दानीको सहारामा मातृभाषाको सेवामा तल्लीन भेटिन्छन्।  

शिक्षक मासिक, २०८१ वैशाख अंकमा प्रकाशित ।

 

commercial commercial commercial commercial