पढाइ पढाइ पढाइ. . . शनिवार श्रमदान !
इलामको देउमाई नगरपालिका सिद्धिथुम्का पञ्चमीकी रोशनी बिहान ७ बज्दा नबज्दै कक्षाकोठामा भेटिन्छिन्। उनलाई न शनिवारले छुन्छ, न अरू कुनै विदाको दिनले नै। २०८१ वैशाखको पहिलो शनिवार, नजिकैका अन्य विद्यालयहरू बन्द थिए। तर, खान्द्रुङ माध्यमिक विद्यालयमा रोशनीसँगै पुनम खनाल, रेखा तामाङ, निशा खड्का, सरगम फियाक, अनुज राईहरू पनि स्कूल आइसकेका थिए । सिद्धिथुम्का पञ्चमी बजारमा रहेको उक्त विद्यालयमा बालबालिका बिहान ७ बजेदेखि साँझ् ७ः३० बजेसम्म बिताउँछन्।
“हामी बिहान ६ बजे नै विद्यालयमा आउँदा पनि सरहरू पढाउन तयार भइसक्नुभएको हुन्छ”, विद्यार्थी पुनम खनालले भनिन्। कञ्चन कट्टेलको घर इलाम नगरपालिका वडा-११, सोयाक हो। उनी खान्द्रुङ माविको होस्टलमा बसेर पढ्छिन्। यो विद्यालयको पढाइ राम्रो भएको थाहा पाएर विज्ञान समूहमा पढ्न आएका उनी जस्ता ११ जना छात्रावासमा बसेर पढ्छन्। छात्रावासमा नबस्ने विद्यार्थी पनि बिहानै विद्यालय पुग्छन्। कक्षा-९ देखि १२ को विज्ञान समूहको पढाइ बिहानैदेखि शुरू हुन्छ भने अरू कक्षा चाहिं अतिरिक्त कक्षा सञ्चालन हुने गर्छन्।
आवासीय शिक्षक
विज्ञान शिक्षक तथा सहायक प्रधानाध्यापक सुजन लिम्बू बिहानैदेखि विद्यार्थीका क्रियाकलाप नियाल्दै थिए। उनी सहित विज्ञान समूहका चारजना शिक्षक विद्यालयमै बस्छन्। अरुण राई, रेवती अर्याल, सम्झ्ना श्रेष्ठ र सुजन विद्यालयका आवासीय शिक्षक हुन्। यी शिक्षकले विद्यार्थीलाई जुनसुकै समयमा पनि सघाउने, बुझउने गर्छन्। विषय शिक्षकहरूले परिवारको सदस्य जस्तै गरी पढाउने गरेको कारण पनि सिकाइमा सहयोग पुगेको विद्यार्थीहरू बताउँछन्। यसरी बिहान ७ देखि साँझ् ७ः३० बजेसम्म पढाइए पनि त्यसनिम्ति विद्यार्थीबाट अतिरिक्त शुल्क लिने नगरेको प्रधानाध्यापक काजीमान एक्तेनले बताए।
कुनै समय यो विद्यालय निकै समस्यामा थियो। विद्यार्थी संख्या २०० जनाको हाराहारीमा झ्रेको थियो। विद्यालय व्यवस्थापन समितिको गठन, शिक्षक–कर्मचारीको बैठक लगायत नियमित गतिविधि चलाउन समेत समस्या हुँदै आएको थियो। तर अहिले आएर पालिकामा मात्र हैन प्रदेशकै राम्रो स्कूलमा गनिन थालेको छ। विद्यालयको सुविधा भौतिक संरचना, सरसफाइ, फूलबारी, बालबालिकाको लागि खेल्ने र रमाउने ठाउँ आदिको व्यवस्थापनले अहिले विद्यालयप्रतिको आकर्षण बढेको छ। ८ वर्ष पहिले विद्यालयको प्रधानाध्यापक बनेर काजीमान एक्तेन आएपछि विद्यालयले काँचुली फेर्न थालेको स्थानीय प्रह्लाद संग्रौला बताउँछन्।
शनिवार श्रमदान
काजीमान एक्तेन प्रअ भएर आएको साल २०७२ को तिहारमा देउसी खेलिएको रकमबाट रु.९ लाख संकलन भयो। त्यही रकमबाट विद्यालय सुधारको जग बस्यो। ‘प्रत्येक महिनाको दोस्रो शनिवार श्रमदान, सामुदायिक विकासमा खान्द्रुङ माविको अभियान’ यो विद्यालयको नारा हो। उक्त दिन शिक्षकहरू सहित समुदायका संघ-संस्थाका प्रतिनिधिहरू कहिले विद्यालयकै काम गरिरहेका भेटिन्छन्, कहिले गाउँको सामूहिक काम गरिरहेका हुन्छन् । गाउँको सरसफाइ, विद्यालयको रंगरोगन, सामुदायिक भवन निर्माण, विकास निर्माण, फूलबारी गोडमेल लगायत काममा विद्यालयले सामूहिक श्रमदानको अभ्यास गर्दै आएको छ। यस्ता अभियानले समुदाय र विद्यालयलाई जोड्ने काम गरेको प्रअ एक्तेनले बताए।
आज ‘विद्यालय समुदायको हो’ भन्ने भावना स्थापित भइसकेको छ र समुदायमा हुने हरेक विकास निर्माणको काममा खान्द्र्रुङ माविको उपस्थिति अनिवार्य छ। “राजनीतिले विद्यालय सक्यो भनिन्छ, तर हाम्रोमा त विद्यालयले राजनीति सक्यो” प्रअ एक्तेन खुशी हुँदै भन्छन्, “२०७२ फागुन ६ गतेदेखि हाम्रो विद्यालय कहिल्यै बन्द भएन ।” विद्यालय, शिक्षक र अभिभावक राजनीतिबाट मुक्त हुने वित्तिकै विद्यालय आफैं राम्रो हुने उनको कथन छ।
सामुदायिक विद्यालय बीच नै प्रतिस्पर्धी
खान्द्रुङ र जीतपुर माध्यमिक विद्यालय साढे ४ किलोमिटरको दूरीमा छन् । जीतपुरबाट भानुभक्त माध्यमिक विद्यालय ११ किलोमिटर टाढा पर्छ। यी विद्यालयहरू एकापसमा प्रतिस्पर्धी हुन्। भानुभक्त माविमा प्राविधिक धार (सिभिल इञ्जिनियरिङ) को पढाइ हुन्छ। यहाँ साधारण धारतर्फ पनि राम्रो पढाइ हुने गरेका कारण विद्यार्थीको आकर्षण देखिन्छ । जीतपुर माविमा प्राविधिक शिक्षा अन्तर्गत ‘भिजेटिए’ पढाइ हुन्छ भने कक्षा-९ देखि १२ मा ऐच्छिक कम्प्युटर विज्ञान पढाइ हुने गरेको छ। यसले विद्यार्थीलाई तानेको छ। खान्द्रुङ माविमा विज्ञान समूहमा अब्बल शिक्षक भएकै कारण विद्यार्थीको आकर्षण छ।
यी सबै विद्यालयले अंग्रेजी माध्यम सहित गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दा एक-अर्को बीचको सिकाइ उपलब्धि बढाउने काममा प्रतिस्पर्धी देखिन्छन्। नगरस्तरीय कक्षा-८ को परीक्षामा खान्द्रुङ प्रथम हुँदा भानुभक्त दोस्रो र जीतपुर तेस्रो हुन्छ। कहिले भानु प्रथम हुँदा खान्द्रुङ र जीतपुर दोस्रो, तेस्रो हुन्छन्। गत वर्ष पालिकाले कार्यसम्पादनको आधारमा माध्यमिकतर्फ भानुभक्त र खान्द्रुङ माविका प्रधानाध्यापकलाई उत्कृष्ट प्रअको रूपमा पुरस्कृत गरेको थियो। प्रदेश सरकारले जिल्लाकोे उत्कृष्ट विद्यालयको रूपमा भानुभक्तलाई दुई पटक र जीतपुर माविलाई एक पटक पुरस्कृत गरिसकेको छ। शिक्षा मन्त्रालयबाट शिक्षा दिवस २०८० को अवसरमा उनीहरूले राष्ट्रिय शिक्षा पुरस्कार पाएका थिए।
देउमाई नगरपालिकामा जम्मा ५० वटा सामुदायिक विद्यालय छन्। यी विद्यालयका आ-आफ्नै विशेषता छन् । केही विद्यालय तीन वर्षसम्म बन्द भएर पुनः सञ्चालनमा आएका छन् भने केहीले नमूना भएर पनि प्रगति गर्न सकेको देखिंदैन। एक अर्को विद्यालयको बीचमा प्रतिस्पर्धा हुन थालेपछि अहिले मुख्य तीन विद्यालयहरू जीतपुर मावि, खान्द्रुङ मावि र भानुभक्त मावि आपसमा प्रतिस्पर्धी मात्र हैनन्, आफूलाई नै राम्रो वा अब्बल विद्यालयका रूपमा स्थापित गराउने ध्याउन्नमा छन्। मंगलबारेमा रहेको भानुभक्त माध्यमिक विद्यालयमा ९४८ विद्यार्थी छन्। भानुभक्त माध्यमिक विद्यालयले दुई महीनाभन्दा बढी समय कक्षा–१० का विद्यार्थीलाई बिहानदेखि राति १० बजेसम्म पढाउँछ। अर्थात् सिकाइ सुधार्न नतिजा, विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न र अभिभावकलाई विश्वास दिलाउनको लागि यी विद्यालयहरू सक्रिय भएर लागेका छन्।
भानुभक्त माविका प्रधानाध्यापक वासुदेव कट्टेलले दुई महीनासम्म आफू विद्यालयमा नै बसेर विद्यार्थीको हेरचाह गरेको अनुभव सुनाए। भानु माविले अंग्रेजी, म्याथ, साइन्स लगायत अप्ठ्यारो लाग्ने विषयहरूको डबल पिरियड पढाउन बिहान ९ बजेदेखि नै कक्षा सञ्चालन गरेको छ। कक्षा-६ देखि १२ सम्म नै फरक-फरक सिफ्टमा छुट्टै कक्षा लिएर पढाउने गरिएको छ । प्रदेश सरकारले दिएको पुरस्कारको रकमबाट शिक्षकलाई प्रोत्साहनको रूपमा खाजा खर्च दिने गरिएको छ।
बन्द स्कूल फेरि खुले
खान्द्रुङ र भानुभक्त माध्यमिक विद्यालय मात्र हैन केही यहाँका अन्य आधारभूत विद्यालयले समेत विदाको दिन कक्षा चलाउँछन्। देउमाई नगरपालिका–३ हात्तीढुंगामा सिंहदेवी आधारभूत विद्यालयले पालिकाले तोकेको २६ दिनको सट्टा ९ दिन मात्र शैक्षिक विदा दियो । बाँकी दिन विद्यालय चलेको पालिकाको तथ्याङ्क छ। विद्यार्थीको संख्या नै कम भएर विद्यालय बन्द भएको तीन वर्षपछि अंग्रेजी माध्यमबाट पढाउन थालिएको छ । विद्यार्थीको आकर्षण बढाउन बालमैत्री कक्षा, अभिभावकसँग भेटघाट, अंग्रेजी माध्यम र विदाको दिन पनि शिक्षकले समय दिन थालेका छन्।
देउमाई नगरपालिकामा पहिले बन्द भएका तीनवटा आधारभूत विद्यालय पुनः सञ्चालनमा आएका छन्। विद्यार्थी भर्ना हुन नआएपछि सिंहदेवी, नेत्रज्योति र नमूना आवि बन्द भएका थिए। नमूना आवि २०७५ सालमा दुई जना मात्र विद्यार्थी भएपछि बन्द गराइयो, सिंहदेवी र नेत्रज्योति स्थानीय तहको गठन हुनुपूर्व नै बन्द भइसकेका थिए। नेत्र ज्योतिमा पढ्ने भानुभक्त माविमा जान्थे, सिंहदेवीबाट साङ्रुम्बा मावि र महेन्द्रोदय आधारभूत विद्यालयमा पढ्न पुगे। नमूनामा पढ्न गएका विद्यार्थीहरू नजिकै रहेको सरस्वती आवि, तपेवामा धाए । बालबालिकाले धेरै हिंड्नुपर्ने र हिंडाइको दुःखले गर्दा विद्यार्थी पढ्न नजाने हुन थालेपछि स्थानीयको सक्रियतामा विद्यालय पुनः सञ्चालन गर्नुपर्ने माग उठ्यो।
तीन वर्ष बन्द भएर बसेको नमूना आधारभूत विद्यालय गत वर्षदेखि पुनः सञ्चालनमा आएको छ। अरू दुईवटा विद्यालय पनि दुई वर्ष बन्द भएर स्थानीयको पहलमा फेरि सञ्चालनमा आएका छन् । यी विद्यालयबाट पहिले अन्यत्र पठाइएका कतिपय शिक्षकलाई पुनः फिर्ता ल्याइएको छ। पालिकाले यी विद्यालयको सिकाइको स्तर, भर्ना र विद्यार्थी संख्याको आधारमा केही विद्यालयको कक्षा घटाउने तयारी गरेको देउमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रूपेन्द्र न्यौपानेले बताए । कक्षा घटुवा गरिएका विद्यालयहरूका शिक्षकलाई तह वृद्धिमा परेका विद्यालयमा लगेर शिक्षकको व्यवस्थापन गर्ने तयारी रहेको उनले बताए।
देउमाई नपामा सबै विद्यालयको कक्षा–४ देखि ९ सम्मको वार्षिक परीक्षा पालिकाले लिंदै आएको छ। कक्षा-५, ८ र १० को स्तर मापन परीक्षा पनि पालिकाले लिने र रिजल्टको आधारमा सुधार गर्नुपर्ने पक्षलाई विद्यालयहरूले विद्यालयमै ‘क्लोज क्याम्प’ मार्फत अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने भएपछि विद्यालयहरूले बिहानैदेखि रातिसम्म पढाउन थालेको न्यौपानेले बताए।
देउमाई पालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारको लागि आफ्नो स्रोतबाट पनि बजेट छुट्याएको छ। यो नगरपालिकाले चालु आर्थिक वर्षमा रु.३ करोड ७२ लाख पालिकाको स्रोतबाट शिक्षाको गुणस्तर सुधारमा छुट्याइएको मेयर सूर्यप्रसाद पोखरेलले बताएका छन्। शिक्षामा छुट्याइएको बजेटको यो अङ्क इलाम जिल्लाकै अन्य पालिकाको भन्दा राम्रो भएको दाबी उनको छ।
टिफिन टाइममा पनि पृष्ठपोषण
धेरै विद्यालयले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन आफ्नै विभिन्न योजनाहरू बनाउने र त्यो कार्यान्वयन गराउँदै आएका छन्। धनकुटाको साँगुरीगढी गाउँपालिका-५, डाँडाबजारमा रहेको भानु माविले हरेक आवधिक परीक्षामा विद्यार्थीलाई दिउँसोको खाजाको समयमा पृष्ठपोषण कक्षा चलाउने गरेको छ।
विद्यार्थीले पढाइमा समय नदिने तथा सिकाइ–बुझइ कमजोर भएका विद्यार्थीलाई शिक्षकहरूले सहजीकरण गर्ने गरिएको विद्यालयका प्रअ यज्ञबहादुर लिम्बूले बताए। “सिकाइ कमजोर विद्यार्थीलाई टिफिन टाइममा पढाउन चार जना शिक्षक नै तोकिएका छन्”, उनले भने। खाजाको समयमा सिकाइ–सहजीकरण गर्ने शिक्षक छान्ने काम शिक्षकको संयुक्त बैठकमा नै गरिन्छ। सिकाइ सहजीकरण गर्ने शिक्षकले प्रति शिक्षक मासिक रु.५ हजार प्रोत्साहन रकम पाउँछन्।
शिक्षक मासिक, २०८१ जेठमा प्रकाशित।