महानगरका विद्यालयको खरिददारी, जे हुन्छ मिलेमतोमै भइरहेछ !

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरूले खरिदका लागि कुनै प्रक्रिया शुरू नगर्दै विपद् व्यवस्थापन सम्बन्धी उद्धार सामग्री विद्यालयहरूमा पुगेको छ। महानगरका विभागहरूका आडमा आपूर्तिकर्ताहरूले विद्यालयमा सामग्री पुर्‍याएको देखिन्छ।

असारको अन्तिम साता ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयमा टिनको बाकस सहित अन्य सामग्री ल्याइयो। विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतम भन्छन्, “काठमाडौ महानगरपालिकाले पठाएको भनेर सामान ल्याए। विद्यालय बिदा भएकोले पालेलाई सामान बुझाएछन्। विद्यालय व्यवस्थापन समितिमा छलफल गरेर निर्णय भएपछि मात्र खरिद प्रक्रियामा जानुपर्नेमा कुनै प्रक्रिया नै शुरू भएको थिएन।”

पछि उनलाई फोन आयो। प्रअ गौतम भन्छन्, “शंकर खड्का भन्ने व्यक्तिले फोन गरेका थिए। मैले उनलाई सामान फिर्ता लानुस् भनें। किनकि खरिदका लागि हामीले प्रक्रिया नै शुरू गरेका थिएनौं। उनले  काठमाडौं महानगरपालिकालाई सोध्नुस् भने। त्यसपछि शिक्षा विभागमा सम्पर्क गर्दा त्यहाँबाट सामान नपठाइएको जवाफ आयो।”

पंचकन्या माध्यमिक विद्यालय, छाउनीमा पनि विद्यालय समयपछि सामान ल्याइयो। प्रधानाध्यापक रुपा मानन्धर भन्छिन्, “स्कूल समयपछि सामान ल्याइयो। सहायक प्रधानाध्यापकलाई काठमाडौं महानगरपालिकाले पठाएको भनेर सामान बुझाएछन्। पछि बिल छाडेर गए। भुक्तानी गरेको छैन। विद्यालय व्यवस्थापन समितिमा निर्णय हुन बाँकी छ।”

नन्दी माध्यमिक विद्यालय, नक्सालमा पनि असारको अन्तिम सातातिर विपद् व्यवस्थापन सम्बन्धी उद्धार सामग्री पुग्यो। सामान लिएर आउने व्यक्तिले काठमाडौं महानगरपालिकाबाट पठाइएको भने । प्रधानाध्यापक गीता काफ्लेले पनि शिक्षा विभागमा सम्पर्क गरिन्। त्यहाँबाट पठाइएको होइन भन्ने जवाफ पाएपछि उनले विद्यालयमा झारिसकिएको सामान फिर्ता पठाइन्।

केही समयअघि विपद् व्यवस्थापनका उद्धार सामग्री खरिद सम्झौता र विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुनु अनि त्यस लगत्तै विद्यालयमा काठमाडौं महानगरपालिकाले पठाएको भन्दै सामान पुग्दा कति विद्यालय झुक्किए।  

“काठमाडौ महानगरपालिकाले पठाएको भनेपछि झुक्किइयो। सामान राखियो। भुक्तानीको लागि फोन आएको थियो। डिस्ट्रिब्युटर हुँ भन्थ्यो। सामान फिर्ता लानुस् भनेका छौँ”, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, ढल्कुका प्रधानाध्यापक रविन थपलियाले भने।

काठमाडौं महानगरपालिका मात्र भनिएपछि प्रधानाध्यापकहरू अलमलमा परेका थिए। सम्बन्धित विभाग भएकाले कतिपय प्रधानाध्यापकहरूले शिक्षा विभागमा सम्पर्क गरेका थिए। एम.एस. सर्भिस, कुपन्डोल, ललितपुरका प्रोपाइटर शंकर खड्का काठमाडौं महानगरपालिकाको खरिद एकाइले भनेपछि विद्यालयमा सामान पुर्‍याइएको बताउँछन् । खड्का भन्छन्, “काठमाडौं महानगरपालिकाको खरिद एकाइले भनेर सामान पुर्‍याएको हो। यति यति यो यो सामान पुर्‍याउनु भनेर अर्डर पेपर दिएको थियो। कुन कुन विद्यालयलाई बुझाएको हो, बुझिलिएको कागज ल्याउनु भनेको छ। ६० वटा विद्यालयमा सामान पुर्‍याएका छौं ।”

महानगरको खरिद एकाइका निर्देशक डा. शिवराज अधिकारीसँग कुरा गर्दा “यस सम्बन्धमा मलाई थाहा छैन। शिक्षा विभागलाई सोध्नुस् न” उनले भने। शिक्षा विभागका शिक्षा अधिकारी सीताराम कोइराला भन्छन्, “सामान हामीले पठाएको होइन। विद्यालय आफैंले किन्ने भनेर हामीले विद्यालयको खातामा पैसा चाहिं पठाएका हौँ ।”

महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख देवेन्द्र प्रसाद पोखरेल भन्छन्, “विद्यालयले सामानको गुणस्तर हेरेर खरिदको निर्णय आफैं गर्ने हो। हामीले हस्तक्षेप गरेका छैनौं।”

तर अर्का सप्लायर राज एन्ड रिवाज, गोगंबुका प्रोपाइटर कुन्दन सिंहले भने विपद् उद्धार सम्बन्धी सामान आवश्यक परेको जानकारी शिक्षा विभाग र विपद् व्यवस्थापन विभागबाट पाएको र विद्यालयमा सामान पुर्‍याएको बताएका छन्।

आफूहरूले खरिद प्रक्रिया शुरू नगर्दै यी सामान विद्यालयमा पुग्नुमा कमिसनको खेल रहेको कतिपय प्रधानाध्यापकहरूको अनुमान छ। केही प्रधानाध्यापकले त यसलाई संगठित ठगी समेत भनेका छन्। उनीहरूको भनाइमा विद्यालयमा ल्याइएका ती सामानको मूल्य एक लाख पर्दैन।

काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग र महानगरपालिकाका सामुदायिक विद्यालयहरूबीच विपद् व्यवस्थापनका उद्धार सामग्री खरिद गर्ने सम्बन्धी सम्झौता २०८० असारको तेस्रो साता भएको थियो। महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयहरूलाई रु.१ लाखका दरले अनुदान दिइएको हो।

विद्यालयहरूले सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४, काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली २०७९ तथा अन्य प्रचलित कानून बमोजिम खर्च गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।

सम्झौतापत्रका साथै खरिद गर्नुपर्ने सामग्रीको विवरण पनि विद्यालयलाई उपलब्ध गराइएको थियो । विद्यालयहरूलाई उपलब्ध गराइएको उक्त विवरणमा उल्लेख भएका सामग्री नै सप्लायरहरूले विद्यालयमा पुर्‍याएका छन् तर खरिद प्रक्रिया शुरू नै नभई।

२०८०, असार २२ गते शुक्रबार शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको थियो। काठमाडौं महानगरपालिका शिक्षा विभागले असार १९ गते सबै सामुदायिक विद्यालयका प्रअलाई उपस्थितका लागि पत्राचार गरेको थियो।

विपद् व्यवस्थापन उद्धार सामग्री खरिदको यो बेथिती पहिलो होइन, यसअघि शिक्षक  मासिकको असार-साउन अंक (२०८०) मा काठमाडौं महानगरको विद्यालय अनुदान कार्यक्रमः ‘जे गर्छन्, विचौलियाले गर्छन्’ शीर्षकमा कसरी विद्यालय महानगरमा नपुगी स्वीकृत योजना हात पार्छन् भन्ने सम्बन्धमा समाचार प्रकाशित भएको थियो।

commercial commercial commercial commercial