शिक्षकको नयाँ यात्रा
शिक्षक मासिक प्रकाशनको प्रारम्भिक ध्येय– नेपालको सार्वजनिक शिक्षामा सवाल उठाउने र छलफल गर्ने एउटा साझ मञ्चको भूमिका निर्वाह गर्ने रहेको थियो। १६ वर्षअघिको यो उद्देश्य अहिले पनि हामी उत्तिकै सान्दर्भिक पाउँछौं, त्यसैले त्यसप्रति पूर्ववत् प्रतिबद्ध छौं। कोभिड-१९ को प्रकोपसँगै अवरुद्ध हुन पुगेको शिक्षक को छापा संस्करण आज तीन वर्ष तीन महीनापछि पुनः प्रकाशित गर्नुको समष्टिगत उद्देश्य पनि पुरानै प्रतिबद्धता र अधुरा छोडिएका कार्यहरूलाई निरन्तरता प्रदान गर्नका लागि हो।
सार्वजनिक शिक्षाका विषयमा शिक्षक मासिकमा हामी शैक्षिक घटनाहरूको समाचार मात्रै लेख्दैनौं, त्यस सम्बन्धी प्रवृत्तिको गहन अवलोकन, अध्ययन, अनुसन्धान र विश्लेषण पनि गर्छौं; अनि शैक्षिक मुद्दामा बहस र छलफल मात्रै गर्दैनौं, सार्वजनिक शिक्षाका सरोकारवालाहरू (नीति–निर्माता, शिक्षक, अभिभावक र नागरिक समाज)लाई सूचित गर्ने; झक्झक्याउने र आवश्यक पर्दा विकल्प एवं समाधान पस्किएर तिनको मनोबल बढाउने काम पनि गर्छौं। सामाजिक हिसाबले उत्तरदायी पत्रकारिता गर्ने घोषित नीतिप्रति हामी हिजो जस्तै भोलिका दिनमा पनि दृढतापूर्वक उभिने छौं। बालबालिकाको शारीरिक, बौद्धिक र मानसिक स्वास्थ्यमा बल नपुर्याउने खालका वस्तु तथा सेवाको प्रवद्र्धन गरिने छैन।
झट्ट हेर्दा सतहमा नदेखिए पनि शिक्षक समुदाय र पालिकाहरू बीच विद्यमान द्वन्द्वले विद्यालयको सुव्यवस्था र बालबालिकाको सिकाइमा प्रत्यक्षतः असर पारिरहेको छ।
आर्थिक स्रोत जुट्न नसकेर ब्युँतिन ढिलो भएको शिक्षक मासिकको यो अंक नेपालको सार्वजनिक शिक्षामा सरोकार राख्ने सहृदयी मित्रहरूको हौसला र योगदानका कारण सम्भव भएको छ। ‘शिक्षक छापिनुपर्छ’ भनेर हामीलाई हौसला र नैतिक, आर्थिक साथ–सहयोग गर्नु हुने ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्थाका पदाधिकारी एवं शेयर सदस्य लगायत सबै महानुभावहरूप्रति हामी हार्दिक कृतज्ञता प्रकट गर्छौं। पत्रिकाको यसपछिको यात्रा आम पाठक, ग्राहक र शुभेच्छुकहरूबाट प्राप्त हुने साथ–समर्थनमा निर्भर गर्नेछ। पाठक–शुभेच्छुकहरूले पत्रिकाको ग्राहक बनेर; ग्राहक बनाएर तथा विज्ञापन र आर्थिक सर–सहयोग जुटाउन सघाएर पत्रिकाको निरन्तरतामा साथ दिन सक्नुहुनेछ।
समावेशिताको दृष्टिकोणबाट हेर्दा यो अंक एकप्रकारले प्रारूप अंक जस्तो भएको छ। सबै विधा, विषय र भूगोल समेटेर यसलाई प्रतिनिधिमूलक तुल्याउन सकेका छैनौं। खासगरी, स्रोतको अभाव र अनिश्चितताका बीचमा तयारी गर्नुपरेका कारण यसमा कैयौं कमी–कमजोरी रहेको तथ्यप्रति हामी सचेत छौं। यसको परिपूरण आगामी अंकहरू मार्फत हुने विश्वास दिलाउँछौं।
शिक्षाका मुद्दा
यस अंकमा हामीले, नेपालको घट्दो जन्मदर र बसाइँसराइका कारण विद्यालय–शिक्षाको परम्परागत संरचना र शिक्षण–सिकाइमा पर्न थालेको चाप र असरलाई आँकडा सहित स्पष्ट पार्ने प्रयास गरेका छौं। त्यसैगरी; विद्यालयका शिक्षक र स्थानीय सरकार (पालिका)हरू बीचको निरन्तरको अमूर्त द्वन्द्वलाई अर्को अहं शैक्षिक मुद्दाका रूपमा पेश गरेका छौं। झट्ट हेर्दा सतहमा नदेखिने तर शिक्षक समुदाय र पालिकाहरू बीच विद्यमान एकप्रकारको अविश्वास र असमझ्दारीले विद्यालयको सुव्यवस्था र बालबालिकाको सिकाइमा प्रत्यक्षतः असर पारिरहेको छ। त्यस्तै, एकातर्फ मातृभाषामा शिक्षा पाउने बालबालिकाको नैसर्गिक अधिकार अनि अर्कोतिर कक्षाकोठाको बहुमातृभाषी यथार्थका बीचमा विद्यालय एवं पालिकाहरूले कसरी सामञ्जस्य र सन्तुलन कायम गर्ने ? काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत नेवार भाषामा शुरू गरेको पठन–पाठनको अनुभव मार्फत यो मुद्दा उठाउने प्रयास गरिएको छ।
कोरोनाका कारण दुई वर्षसम्म शिक्षण–सिकाइ अवरुद्ध हुँदा बालबालिकाको सिकाइ र मानसिकतामा के कस्तो असर प¥यो भन्ने बारेमा शिक्षाकर्मी र क्रियाशील शिक्षकहरूका अनुभव एवं विश्लेषणले– विद्यालय तहको शिक्षा पछिल्ला दिनमा अत्यन्त दयनीय अवस्थाबाट गुज्रिरहेको देखाउँछ। धनगढी नगरपालिकाले लिएको २०७९ सालको कक्षा ८ को परीक्षामा नगर क्षेत्रका डेढ दर्जन सामुदायिक विद्यालयका शतप्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको घटना आफैंमा विस्मयकारी छ। यसले नेपालको विद्यालय तहको शिक्षा अत्यन्तै नाजुक अवस्थामा पुगिसकेको संकेत गर्छ। तर दुःखको कुरा, सबैलाई झ्स्काउने त्यस्तो दुरवस्थाको जिम्मेवारी कसैले वहन गरिरहेको छैन। यो विषयलाई पनि यस अंकमा प्राथमिकता साथ स्थान दिएका छौं।
विद्यालय र पालिकाहरूले पठन–पाठनको क्षेत्रमा शुरू गरेका राम्रा अभ्यास र प्रयासलाई आगामी अंकहरूमा पनि पहिले जस्तै महत्व प्रदान गर्नेछौं। यस अंकमा समेटिएको कन्या मन्दिर माविको एउटा सानो अभ्यास, देशका अन्य कतिपय सामुदायिक विद्यालयका लागि पनि अनुकरणीय हुनसक्छ। विद्यार्थीका विचार, अनुभव र सुझवलाई पनि यस अंकमा विशेष स्थान दिएका छौं।
समग्रमा, आम शिक्षक, अभिभावक, शिक्षाकर्मी र विद्यार्थीका कुरा नीति–निर्मातासम्म र नीति–निर्माण तहका कुरा आमसमुदायसम्म पुर्याउने र शिक्षक, अभिभावक एवं पालिका तहलाई आवश्यक र उपयोगी सामग्रीहरू पस्कने भूमिका निर्वाह गर्नमा हामीले आफूलाई समर्पित गरिनै रहनेछौं। यसमा तपाईंहरूले प्रतिक्रिया र सुझव दिएर साथ दिन सक्नुहुनेछ। धन्यवाद।