बन्द हुने बाटोमा १७५ वटा सामुदायिक क्याम्पस

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापना भएका देशभरका १७५ वटा निजी र सामुदायिक कलेज÷क्याम्पसले त्रिविसँगको शैक्षिक सम्बन्ध नवीकरण नगरेर स्थायी रूपमै बन्द हुने बाटो रोजेका छन् । २०५० र २०६० को दशकमा चलेको ‘कलेज खोल्ने लहर र रहर’मा स्थापना भएका यस्ता कलेजमध्ये अधिकांश शुरूदेखि आर्थिक संकटमा त थिए नै, पछिल्ला दिनमा पढ्ने विद्यार्थी पनि आउन छोडेपछि क्रमशः धराशायी हुँदै गएका छन् । अहिले युवाहरूको झुकाव पढ्नका लागि सकेसम्म विदेश र विदेश जाने नसक्नेहरू राजधानी या ठूलो शहर–बजारका सुविधा सम्पन्न कलेज तर्फ देखिन्छ । यसरी बन्द हुने स्थितिमा पुगेका अधिकांश क्याम्पस शैक्षिक आधार र खाँचो भन्दा पनि स्थानीय राजनीतिक स्वार्थ एवं देखासेखीका भरमा खोलिएका पाइन्छन् । त्रिभुवन विश्वविद्यालयले २०७९ को पुस र चैतमा सार्वजनिक सूचना निकालेर तोकिएको मिति भित्र नवीकरण नगरे सम्बन्धन खारेज हुने जनाउ दिएको थियो । अहिले तेस्रो पटक निकालिएको सूचनाका आधारमा ती क्याम्पसको सम्बन्धन स्वतः खारेजीमा पर्न लागको देखिन्छ ।
त्रिविले एक अर्को सूचना मार्फत २०८० अनुसार १५ गतेसम्म देशभरका ८८२ वटा सामुदायिक एवं निजी क्याम्पसले आफूसँगको सम्बन्धन नवीकरण गरेको जनाउ पनि दिएको छ । त्रिविले सम्बन्धन प्रदान गरेका ८८२ कलेज÷क्याम्पस बाहेक आफ्ना करीब एक दर्जन संकाय अन्तर्गत ६२ वटा आंगिक क्याम्पसहरू पनि सञ्चालन गर्ने गर्छ ।
पछिल्लो समयमा देशका प्रायः सवै शैक्षिक संस्थामा नियमित अध्ययन गर्ने विद्यार्थीको संख्या घटेको छ भने केही शहर–बजारका स्कूल–कलेजमा भने अत्यधिक विद्यार्थी ओइरिएको पाइन्छ ।