तीन दिदीभाइ नै ‘अब्बल शिक्षक’

विद्यालयको गेटमा पुग्दानपुग्दै शिक्षक दीपा रानासँग बालबालिकाहरू झुम्मिन्छन्। यो क्रम विद्यालय छुट्टीको घण्टीसम्मै दोहोरिन्छ। फरक यति हुन्छ, आउँदा ‘नमस्ते मिस !’ त छुट्टीदा ‘बाइबाइ मिस !’

विद्यालय आउँदा र फर्किदा यसरी बालबालिकाले सम्बोधन गर्नुको एउटै कारण हो, दीपाको बालमैत्री व्यवहार। उनी कक्षा क्रियाकलापलाई सधैं रमाइलो बनाउँछिन्। बालबालिकाहरू रमाइ-रमाइ सिक्छन्।

त्रिवेणी आधारभूत विद्यालयमा प्राथमिक तहकी राहत शिक्षक राना २०६४ सालमा शिक्षण सेवामा प्रवेश गरेकी हुन् । दीपासँगै उनकी दिदी र भाइ पनि सामुदायिक विद्यालयमा शिक्षक छन् । उनीहरू रुपन्देही जिल्लाको सियारी गाउँपालिका, वडा-७, अमुवाका बासिन्दा हुन्।

दीपाका कान्छा भाइ सन्तोषकुमार राना सियारी गाउँपालिकाकै सिद्धार्थ माविमा विज्ञान शिक्षक छन्। उनी प्रधानाध्यापकको  जिम्मेवारीमा समेत छन् । २०६५ देखि शिक्षण पेशामा प्रवेश गरेका रानाले २०७१ को शिक्षक सेवा आयोगबाट मावि तहमा नाम निकालेका थिए।

विद्यालयबाट विदा हुँदै शिक्षक दीपा राना र बालबालिकाहरू ।

उनकी जेठी दिदी ज्योती राना पनि त्रिवेणी आधारभूत कै शिक्षक हुन्। उनी २०६६ सालमा बालविकास केन्द्रको शिक्षकको रूपमा शिक्षण पेशामा प्रवेश गरेकी थिइन्।

जेठी ज्योतिले कक्षा १२ उत्तीर्ण गरेकी छिन् भने माइली दीपा स्नातक तहमा पढ्दै पनि छन् । भाइ सन्तोषले बीएड, बीएसस्सी र एमबिएस उत्तीर्ण गरेका छन्।

सबै दिदीभाइले शिक्षण पेशा किन रोजे त ? तीनै जनाको जवाफ एउटै थियो– “पढाउन मजा लाग्ने भएर ।”

ज्योति रानाले आफूले पढाएका कुराबाट बालबालिकाले सिक्दा आत्मसन्तुष्टी मिल्ने गरेको सुनाइन् । आफूले बालविकास केन्द्रमा बालबालिकालाई पाठ पढाउने भन्दा पनि पठनपाठनका लागि तयार पार्ने तर्फको सिकाइ गर्ने गरेको उनी बताउँछिन् । बालविकास कक्षामा आफूले अभिनय, खेल र अभ्यास गर्ने विधिलाई बढी प्राथमिकता दिने गरेको उनको भनाइ छ ।

दीपा चाहिं शिक्षक बन्ने आफ्नो सानैदेखिको धोको भएको र त्यो धोको पूरा गर्न पाएकोमा परिवारकी कान्छी छोरी खुसी लागेको बताउछिन् । उनी भन्छिन, ‘कक्षा क्रियाकलापमा शैक्षिक सामग्री बढी भन्दा बढी प्रयोग गर्ने गरेकी छु ।’ त्यस्ता सामग्री उनी आफैं पनि बनाउँछिन् र विद्यार्थीबाट पनि संकलन गर्ने गर्छिन् ।

आफू पढ्दा विद्यालयमा सधैं प्रथम हुने गरेका सन्तोष राना ज्ञान बाड्न पाइने रहरले गर्दा शिक्षा सेवामा प्रवेश गरेको बताउँछन् । विज्ञान विषयमा बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न शिक्षकको सिकाउने शैलीम सुधार हुनुपर्ने उनको तर्क छ । विज्ञान पढाउँदा आफूले बालबालिकामामा कौतुहलता जगाउनमा जोड दिने गरेको उनी बताउँछन् । उनले कक्षा क्रियाकलापमा आइसीटीको प्रयोग गरी बालबालिकालाई श्रव्य-दृष्य सामग्री देखाउने र छलफल गर्ने गरेको बताए । प्रयोगात्मक शिक्षणसँगै हरेक हप्ता बालबालिकाको सिकाइ मापन गर्ने र सिकाइको स्तर अनुसारलाई सुधार गर्ने सुझाव र उपाय सिकाउने गरेको राना बताउँछन्।

कक्षा कोठामा स्मार्ट बोर्डको प्रयोग गरी पठनपाठन गर्दै शिक्षक सन्तोषकुमार राना ।

सियारी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस-२०७९ मा पालिकाका राम्रा शिक्षकहरूलाई प्रोत्साहित गर्ने क्रममा ज्योतिलाई उत्कृष्ट बालविकास शिक्षक र सन्तोलाई उत्कृष्ट प्रधानाध्यापकको रूपमा सम्मान गरेको छ।

त्रिवेणी आधारभूत विद्यालयका प्रधानाध्यापक मथुरा यादव राना दिदीबहिनी दीपा र ज्योतिको पठनपाठनशैली अरू शिक्षकका लागि समेत उदाहरणीय भएको बताउँछन् । “विषयवस्तुमा राम्रो तयारी गरी कक्षाकोठामा जाने र बालबालिकासँग नजिक भएर सिकाउने शैलीले बालबालिकामाझ उहाँहरू लोकप्रिय हुनुहन्छ,’ यादवले भने ।

सियारी गाउँपालिकाका शिक्षा प्रमुख सुधीर पौडेलले आम शिक्षकहरूकामाझ यी तीन दिदीभाइ फरक शिक्षकको रूपमा देखिएको प्रतिक्रिया दिए । ‘आशा लाग्दा युवा शिक्षकको रूपमा देखिएकाले नै उनीहरूलाई पालिकाले सम्मान गरेको’ पौडेलको कथन थियो । शिक्षण पेशालाई फगत जागिरभन्दा पनि सेवाको रूपमा लिने र रमाएर काममा होमिनु शिक्षा क्षेत्रका लागि समेत गौरवको विषय भएको पौडेलको थप भनाइ छ। 

 

commercial commercial commercial commercial