उदय माविको नयाँ अभ्यास

साधारणतया नेपालका सार्वजनिक विद्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म खुल्छन् । तर गुल्मीको चन्द्रकोट गाउँपालिकामा रहेको उदय मावि भने बिहान ९ बजे नै खुल्छ । सो विद्यालयले कक्षा शिक्षणका साथै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सिकाइ प्रभावकारी बनाउनका लागि विद्यालयको समयावधि बढाएको हो ।  विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद न्यौपानेका अनुसार विद्यालयको साधारण धारतर्फका कक्षा बिहान ९ः३० बजे र प्राविधिक धारतर्फका कक्षा ९ बजे देखि लाग्ने गर्छन्।

यहाँ साधारण धारतर्फका शिक्षक–विद्यार्थीका निम्ति बिहान ९ः३० बजे जनाउ घण्टी र ९ः४० मा प्रार्थना घण्टी लाग्छ, त्यस समयमा पिटी, प्रार्थना र विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने गरिएको छ । ९ः५५ मा पठनपाठनको पहिलो घण्टी लाग्छ । विद्यार्थीको दैनिक हाजिरी समेत लिनुपर्ने हुँदा पहिलो पिरियड ५० मिनेटको बनाइएको छ।

गत वर्षको भदौ महीनादेखि विद्यालय समय बिहान ९ र ९ः३० देखि ५ बजेसम्म बनाइएको विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार गैरे बताउँछन् । कक्षा क्रियाकलाप र अतिरिक्त क्रियाकलापको सिकाइ प्रभावकारी बनाउनका लागि विद्यालय समय आधा घण्टा थप गरिएको प्रअ गैरेको कथन छ । शुरू शुरूका केही महीना विद्यार्थीलाई मात्रै नभई शिक्षकलाई बानी लगाउन गाह्रो भएको भएपनि अहिले सरल रूपमै तोकिएको समयमा सबै उपस्थिति हुने गरेको उनले बताए । कक्षा-८ की कक्षा शिक्षक लक्ष्मी तिवारीले पनि विद्यालयको यो समय–विस्तारले कक्षा व्यवस्थापनमा सहयोग पुगेको बताइन् ।

८२८ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा बिहान र साँझ अतिरिक्त पृष्ठपोषण कक्षा पनि सञ्चालन हुने गरेका छन् । कक्षा-५ देखि माथिका कक्षालाई लक्षित गरी अंग्रेजी, गणित र विज्ञान विषयमा विशेष कक्षा सञ्चालन गर्ने गरिएको छ ।

एक शिक्षक एक ल्यापटप

शिक्षकलाई प्रविधिसँग नजिक ल्याउन र कक्षा क्रियाकलापमा प्रविधिसँग जोड्नका लागि विद्यालयले ‘एक शिक्षक एक ल्यापटप’को नीति अगाडि सारेको छ । शिक्षकले एक वर्षभित्र रकम चुक्ता गर्ने शर्तमा विद्यालयले ल्यापटपको लागि बजेट व्यवस्थापन गरेको हो । शुरूमा विद्यालयले ल्यापटप किनिदिने र उक्त ल्यापटपको रकम वर्ष दिनभित्र चार किस्तामा बिना व्याज शिक्षकले तिर्ने शर्त बनाइएको विद्यालयले जनाएको छ ।

ल्यापटप लिन चाहने शिक्षकलाई विद्यालयको आन्तरिक कोष परिचालन गरेर किन्ने व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिमलाल श्रेष्ठ बताउँछन् । समितिको निर्णयसँगै ११ जना शिक्षकले नयाँ ल्यापटप लिइसकेका छन्। त्यसको लागि विद्यालयले रु.८ लाख ८० हजार लगानी गरेको छ । विद्यालयका अनुसार अब १० जना बाहेक सबै शिक्षकसँग ल्यापटप छ।

चालु आर्थिक वर्षको साउन महीनाबाट एक शिक्षक एक ल्यापटपको व्यवस्था गरिएको हो ।

शिक्षकलाई ल्यापटप र प्रविधि सम्बन्धी सीप दिनका लागि विद्यालयले पाँच दिनको कम्प्युटर शिक्षा र प्रविधि प्रयोग सम्बन्धी अभ्यास तालिम पनि सञ्चालन गरिसकेको छ । विद्यार्थीका लागि अलगै कम्प्युटर ल्याबको व्यवस्थापन गरिसकेको छ ।

लोभलाग्दो गमला सौन्दर्य

उदय माविको अर्को राम्रो पक्ष भनेको गमला सौन्दर्य हो । विद्यालयको हाताभित्र प्रवेश गर्नासाथ गमलामा रहका फूलले स्वागत गरिरहेका हुन्छन् । तलागत रूपमा नै फलामको स्ट्याण्ड बनाएर गमला राखिएका छन् भने गमलामा थरिथरिका फूलका बिरूवा छन् ।

प्रधानाध्यापक कृष्ण कुमार गैरेले गमला बगैंचाको कार्यक्रम चार वर्ष अघिबाट शुरू भएको जानकारी दिए । गमला बगंैचाले विद्यालयको वातावरणको सौन्दर्यलाई नै परिवर्तन गरी रमणिय बनाएको बताए । विद्यालयमा कक्षा ९-१२ मा कृषि शिक्षाअन्तर्गत बाली विज्ञानको पठनपाठन हुने गरेको छ । ती विद्यार्थीहरूबाट प्राविधिक सहयोग हुने गरेको गैरेको भनाइ छ । उनका अनुसार गमला बगैंचाको विद्यार्थीबाट पालो गरेर गोडमेल र सिंचाई गर्ने गरिएको छ भने कर्मचारी र शिक्षकले पनि गमला बगैंचाको संरक्षणमा साथ दिने गरेका छन् । विद्यालयका गमला बगैंचामा सयपत्री, गुलाब, गोदावरी, लालुपाते लगायतका करिब तीन दर्जन फूलका विरूवाहरू छन् ।

विद्यार्थी, शिक्षक र कर्मचारी मिलेर गमला र विद्यालय प्राङ्गणमा रोपिएका फूलहरू हेरचाह गर्ने गरेका छन् । विद्यालयकी कक्षा–१० की विद्यार्थी सोनिया परियारले गमलाका फूलहरूलाई पालो गरेर गोडमेल र पानीदिने गरेको बताइन् । उनले फूलले विद्यालयमा रमाइलो वातावरण बनाउनुको साथै घरमापनि फूल रोप्ने सीप र शिक्षा दिएको बताइन् । अरूको विद्यालयजाँदा यस्तो देखेको छैन उनले भनिन्– ‘हाम्रो स्कुलमा त ग्राउण्ड र गमलामा फुलेका फूलसँग रमाउन पाइन्छ ।’  

commercial commercial commercial commercial