सरस्वती सारु : विद्यालय सुधारकी संवाहक

‘विद्यालयको सुधार ठूला पदका मान्छेले मात्रै गर्न सक्छन्; धेरै पैसा खन्याएर मात्रै विद्यालय सुधार हुन्छ’ भन्ने बुझाइ धेरैमा छ । आम नागरिकदेखि शिक्षाका नीतिनिर्माता; राजनैतिक नेतृत्व र समाजका अगुवाहरू समेत यस्तो बुझाइ भन्दा टाढा हुनसकेका छैनन् ।

तर कपिलवस्तुको एक विद्यालयको परिवर्तन र सुधार त्यहाँकी एक बालविकास कार्यकर्ता (महिला शिक्षक)ले सम्भव तुल्याएर देखाएकी छन् । उनको लगन र खटन अरू विद्यालयका लागि मात्र होइन शिक्षाका योजनाकार र शिक्षाका अभियन्ताहरूका लागि पनि प्रेरक उदाहरण बन्न सक्छ ।

सरस्वती सारु पदका हिसाबले सूर्योदय आधारभूत विद्यालयकी बालविकास कार्यकर्ता हुन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा–८, चप्परगाउँमा रहेको यो विद्यालयलाई विद्यार्थी संख्या कम भएको आधारमा नगरपालिकाले २०७४ सालमा अर्को विद्यालयमा समायोजन गर्ने तयारी गरेको थियो । त्यस समयमा यो विद्यालयमा जम्माजम्मी ४२ जना विद्यार्थी रहेकोमा चार वर्षपछि, अहिले त्यो संख्या बढेर १५६ पुगेको छ। यस्तो हुनुमा धेरै योगदान बालविकास शिक्षक सरस्वती सारुको रहेको पाइन्छ ।


बाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिमबहादुर जिसी पनि बालविकास शिक्षक सरस्वती सारुको प्रयासले सूर्योदय आधारभूत विद्यालयको मुहार परिवर्तन भएको ठान्छन् । बालबालिकाप्रतिको व्यवहार र सिकाइ सामग्रीको प्रयोगमा भएको उनको प्रयास अरूका लागि पनि सिक्न योग्य भएको जिसीको भनाइ छ।


सिकाइ सामग्री नै शिक्षकको सहयोगी

सरस्वती सारु आफू पूर्ण रूपले शिक्षक नभए पनि बालबालिकालाई सिकाइ सामग्रीको माध्यमबाट सिकाउनुपर्ने कुरामा स्पष्ट छन् । उनी आफ्नो अनुभव सुनाउँदै भन्छिन्, “कक्षाकोठामा रित्तो हात जाँदा राम्रोसँग सिकाउन सकिने रहेनछ, बोलेर मात्रै सिकाउन खोज्दा केटाकेटीको मन जित्न पनि गाह्रो पर्ने रहेछ । तर सामग्री भयो भने मन जित्न र सिकाउन सजिलो हुन्छ ।” उदाहरण दिंदै उनी भन्छिन्, “घरको बारेमा पढाउँदा घरको चित्रबाट बालबालिकालाई धेरै ज्ञान र सीप दिन सकिंदोरहेछ ।  खरको छाना भएको घर, टायलको छाना भएको घर र पक्की ढलान भएका थरी–थरीका घर बनाएर घरको चिनारी दिंदा धेरै उपयोगी र रमाइलो पनि हुने गर्छ ।” उनी अगाडि थप्छिन्, “मैले घरको चित्रबाट झ्याल, ढोका, छाना, भान्सा चिनाउने गरेकी छु । ती चित्रको खाली ठाउँमा बच्चाहरूलाई रंग भर्न लगाउँछु । फरक फरक झ्याल–ढोका र छानो भएका घर चिनाउन त्यस्तै घरका चित्र बनाउँछु र त्यसबाट चिनाउँछु । एउटै खालका घरहरू खोजेर जोडा मिलाउन लगाउँछु । घरको चित्र अक्षर चिनाउन समेत प्रयोग गर्ने गरेकी छु ।”

सारुले घरसँग सम्बन्धित गीत र कविता पनि रचना गरेकी छन् । गीत र कविताबाट बालबालिकालाई रमाइलो ढंगले सिकाउने गरेकी सरस्वती आफूले घरको चित्रमा रंग भर्ने, गीत सुनाउने आदि क्रियाकलाप गर्दा बालबालिका निकै खुशी भएर सिकाइमा सहभागी हुने गरेको बताउँछिन् ।

शिक्षक पेशा नै मेरो भगवान

कम तलबमा पनि बालविकासकी शिक्षक सरस्वतीले गरेको काम हरेक दृष्टिबाट प्रशंसनीय पाइन्छ । २०६६ सालमा बालविकास शिक्षकको रूपमा नियुक्ति पाउँदा उनको मासिक तलब रु.१८०० थियो । उनी दिउँसो २ बजेसम्म बालविकास केन्द्रको जिम्मेवारी पूरा गरेपछिको समय माथिल्लो कक्षामा पढाउदै आएकी छन् । अहिले पनि उनी २ बजेपछि कक्षा–३ सम्मका बालबालिकालाई अंग्रेजी विषय पढाउँछिन् । 

विद्यालयमा शिक्षक कम भएका कारण आफूले बालविकासका साथै अरू कक्षाको पनि जिम्मेवारी लिनुपरेको सरस्वतीको भनाइ छ । तर यसनिम्ति उनले थप पारिश्रमिक पाउँदिनन् । तैपनि उनी दुःखी छैनन् । “आफ्नै गाउँका बालबालिकालाई सिकाउन पाएकोमा झनै खुशी लागेको”, उनी बताउँछिन् । सारु भप्छिन्– “मेरो पेशा शिक्षण हो र मेरो भगवान भने पनि अथवा काम, शिक्षण पेशा नै हो । त्यसैले भगवानलाई खुशी बनाउन म बालबालिकालाई सिकाउन मिहिनेत गरिरहेकी छु ।” उनको मासिक पारिश्रमिक बढ्दै बढ्दै अहिले रु.१५ हजार पुगेको छ ।

यसरी बदलियो विद्यालय

सूर्योदय आधारभूत विद्यालयको पठन–पाठन र सार्वजनिक छवि सुधारमा बालविकास शिक्षक सरस्वती सारुको लगन, उत्साह र समर्पणको अत्यन्त ठूलो भूमिका रहेको स्थानीय जानकारहरू बताउँछन् । सो विद्यालयका वर्तमान प्रअ धर्मराज भट्टराई भन्छन्, “शिक्षण सामग्रीको निर्माण, प्रयोग, बालबालिकासँगको व्यवहार र अभिभावक परिचालनका कार्यमा सरस्वती सारुको योगदान उल्लेख्य छ । बालबालिकालाई खेलाउने, नचाउने र हँसाउन सक्ने सीप उहाँमा साह्रै राम्रो छ । हाम्रो विद्यालयलाई अर्कोमा समायोजन हुने अवस्थाबाट बचाउने काममा उहाँको भूमिकाले धेरै सहयोग पुर्‍याएको हो ।” 

प्रअ भट्टराईका अनुसार सरस्वती हरदमजसो बालबालिकाकै सिकाइमा सक्रिय रहन्छिन्; अनावश्यक काममा समय बिताउने बानी उनीमा छैन । विद्यालयको माथिल्लो कक्षाका लागि बालबालिकाको मूल स्रोत भनेको बाल विकास तह भएको र बालविकास कक्षाप्रति अभिभावकको आकर्षण बढाउन त्यसमा सुधार जरूरी हुन्छ। बाल कक्षामा भएको सुधारले नै आफ्नो विद्यालयलाई पुनः प्रगतिको बाटोमा लगाउन सम्भव भएको तथा बालविकास कक्षाकै कारण चार वर्षमा विद्यालयको विद्यार्थी संख्या चार गुणाले बढ्न सकेको प्रअ भट्टराईको कथन छ ।

बाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिमबहादुर जिसी पनि बालविकास शिक्षक सरस्वती सारुको प्रयासले सूर्योदय आधारभूत विद्यालयको मुहार परिवर्तन भएको ठान्छन् । बालबालिकाप्रतिको व्यवहार र सिकाइ सामग्रीको प्रयोगमा भएको उनको प्रयास अरूका लागि पनि सिक्न योग्य भएको जिसीको भनाइ छ। उनले सूर्योदय आधारभूत विद्यालयलाई समेत सिकाउन सक्ने गरी नमूना बनेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद सापकोटा पनि बालविकास शिक्षक सरस्वती सारुको सक्रियताको निकै प्रशंसा गर्छन् । साना बालबालिकाको रुचि अनुसारको व्यवहार गर्ने सीप सरस्वतीमा रहेको अध्यक्ष सापकोटाको अनुभव छ । बालबालिकाको सिंगान पुछिदिनेदेखि दिसापिसाब गराइदिनेसम्मका कार्य गर्दा उनले आफ्नै सन्तानलाई जस्तै व्यवहार देखाउने गरेको सापकोटाले सुनाए । बालविकास केन्द्रभन्दा माथिको कक्षाको पठनपाठनमा समेत सरस्वतीलाई बालबालिकाले निकै मन पराउने गरेको सापकोटा बताउँछन्। विद्यालयमा अभिभावकको मन फर्काउनमा सरस्वतीको भूमिका धेरै सहयोगी भएको पनि उनले बताए ।

पुरस्कार, प्रोत्साहन र अभिभावकको मायाः

सरस्वती सारुको कामको प्रशंसा गर्दै उनलाई सम्बद्ध नगरपालिकादेखि प्रदेश सरकारसम्मले विभिन्न पुरस्कार र सम्मान प्रदान गरेका छन् । उनलाई शिक्षा दिवस २०७६ को अवसरमा बाणगङ्गा नगरपालिकाले प्रमाणपत्र, दोसल्ला र करुवा प्रदान गरी सम्मान गरेको थियो । लुम्बिनी प्रदेशको सामाजिक विकास डिभिजन कार्यालय, कपिलवस्तुले पनि २०७८ मा प्रमाणपत्र र नगद रु.१० हजारसहित सम्मान गरेको थियो । २०७८ सालमा बाणगंगा नगरपालिकाले आयोजना गरेको नगरस्तरीय शैक्षिक प्रदर्शनीमा उत्कृष्ट शैक्षिक सामग्री निर्माण गरेबापत उनलाई प्रमाणपत्र र नगद रु.३७५० प्रदान गरिएको थियो ।

यस्ता पुरस्कार र सम्मानले आफूमा उत्साह थप्नुको साथै कामप्रति झनै जिम्मेवार बनाएको शिक्षक सारुले बताइन् । स्थानीय अभिभावकले दिने मायाले आफूलाई सबैभन्दा बढी प्रोत्साहित गर्ने गरेको सरस्वती बताउँछिन् । घर नजिकैको विद्यालयलाई भरोसायोग्य बनाई आफ्ना साना–साना नानीबाबुहरू पठाउन सकिने स्तरमा उकास्न सारुले निर्वाह गरेको भूमिकाका कारण उनलाई अभिभावकले पनि उत्तिकै माया गर्ने गरेको पाइन्छ ।

सबै तस्वीरः कृष्ण मल्ल 

(शिक्षक मासिक र स्टोरी किचनको सहकार्य)

commercial commercial commercial commercial