बालिका विद्यालयमा जेन्डरको निर्मिति

जेन्डर- सामाजिक निर्मिति हो । त्यसै भएर यसलाई सामाजिक-लिंग अर्थात् समाजले सिर्जना गरेको लिंग पनि भनिन्छ । हाम्रो समाजमा लैंगिक भेदभावका जरा ज्यादै गहिरा छन् । यस आलेखमा एउटा प्राथमिक विद्यालयको दिनचर्या सूक्ष्म रूपले अवलोकन गरेर सामाजिक लिंग-निर्माण (जेन्डर निर्मिति)का परिस्थितिहरूबारे प्रकाश पारिएको छ ।
हाम्रो समाजमा लैंगिक भेद र त्यसबाट उत्पन्न भेदभाव प्रायः सबै सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक प्रक्रियाहरूसँग गाँसिएका छन् । समस्याको जड महिला र पुरुष फरक हुनुमा होइन, पुरुषलाई महिलाभन्दा महत्वपूर्ण मान्नुमा निहित छ । महिलालाई पुरुषभन्दा कम आँक्ने र उनीहरूलाई कम सुविधा दिने चलन धेरै पुरानो हो । सामाजीकरणको व्यवस्थाले यस भेदभावपूर्ण प्रक्रियालाई निरन्तर पोषित गर्दै आएको छ । यस अन्तर्गत केटा र केटीहरूलाई परम्परागत सामाजका लागि तयार गरिन्छ र तिनलाई आफ्नो जेन्डर–भूमिका सिकाइन्छ ।
संविधानले महिला र पुरुषलाई समान स्थान दिएको भए पनि समाजमा महिलाको स्थिति अत्यन्त निम्न स्तरको छ । कानूनी दृष्टिले बराबरीको अधिकार तर सामाजिक धरातलमा तल्लो तहको व्यवहारले उनीहरूको सैद्धान्तिक अधिकार र सामाजिक यथार्थबीच ठूलो खाडल पैदा गरेको छ । यो खाडल पुर्ने सबैभन्दा उपयुक्त माध्यम शिक्षालाई मानिएको छ । त्यसैले सबै शैक्षिक योजना, नीति र सम्बन्धित कानूनहरूमा लैंगिक असमानता हटाउने भनिंदै आएको छ र यसका तरीका तथा प्रणालीहरू अघि सारिएका छन् । साथै, शिक्षालाई सामाजिक एवं पारिवारिक सन्दर्भमा महिलाको स्थिति सुधार्ने र उनीहरूका क्षमताको उपयोग गर्ने सशक्त माध्यम मानिएको छ ।
यही मेसोमा, विद्यालयहरूमा जेन्डर-निर्माणका कस्ता प्रक्रिया चलिरहेका छन् र त्यससँग सम्बन्धित कस्ता अनुभवको निर्माण भइरहेको छ भनेर हेर्नु महत्वपूर्ण हुन्छ । यस्ता अनुभव पितृसत्तात्मक समाजका रुढिगत नीतिहरूलाई चुनौती दिन समर्थ छन् अथवा तिनैलाई थप मलजल गर्न प्रवृत्त छन् ? यसका निम्ति यस आलेखमा एउटा महानगरको प्राथमिक विद्यालयका केही अवलोकन प्रस्तुत गरिएको छ, जसले विद्यालयका प्रक्रिया र शिक्षाको भूमिकालाई जेन्डरका दृष्टिले विवेचना गर्न आधार प्रदान गर्नेछन् ।
घुँडा र स्कर्ट
यो भारतको राजधानी नयाँ दिल्ली शहरको सीमावर्ती सरकारी प्राथमिक विद्यालय हो, जहाँ बिहान केटीहरू र दिउँसो केटाहरू मात्र पढ्छन् । हाम्रो अवलोकन बिहानको सत्रमा केन्द्रित छ, जहाँ सबै विद्यार्थी, शिक्षक र कर्मचारी महिला छन् । विद्यालयको यो सत्रमा पुरुषको प्रवेश यदाकदा कुनै छात्राको अभिभावक, बाबु, काका, दाजु, मामा अथवा हजूरबाका रूपमा मात्र हुन्छ । अँ, हरेक दिन दिउँसो एकपल्ट खाना (मिड्डे मील) ल्याउने गाडीसँग पनि एकजना पुरुष विद्यालयमा पस्छ । कहिलेकाहीं शिक्षा निरीक्षक अथवा कामविशेषले आएको अर्को कुनै विद्यालयको पुरुष शिक्षक पनि यहाँ पस्न सक्छ । यसबाहेक बिहानको सत्रमा पुरुषको प्रवेश पूरै वर्जित छ ।
तैपनि, यहाँका महिला शिक्षकको मनमा पुरुष र पुरुष समाजको आभास निरन्तर भइरहेको हुन्छ र उनीहरू त्यसै अनुरूप व्यवहार गर्छन् । उदाहरणका लागि, प्रार्थना–सभामा छात्राहरू जब भुइँमा पंक्ति मिलाएर बस्छन्, त्यसवेला शिक्षिकाहरूको ध्यान प्रार्थनामा भन्दा बढी छात्राहरू कसरी बसेका छन् भन्नेमा हुँदोरहेछ। छात्राहरू दुवै घुँडा मोडेर र एक–अर्कामा जोडेर अनि स्कर्ट घुँडासम्मै चपक्क टाँसेर-कसेर बसुन्, घुँडा फैलिएका र स्कर्ट खुकुलिएर घुँडाभन्दा माथि पुगेको नहोस् भन्ने तिनको जोड हुँदोरहेछ । केटीहरू सकेसम्म कम ठाउँमा, खुम्चिएर, नहल्लीकन बस्नुपर्ने हुँदोरहेछ । घुँडा फट्टाएर, स्कर्ट घुँडामा नकसीकन, घुँडाभन्दा माथिको भाग अथवा भित्री बस्त्र देखिने गरी कुनै छात्रा बसेका छन् भने तिनले प्रार्थना-सभामै शिक्षिकाहरूबाट चर्को स्वर र तुच्छ शब्दमा गाली पाउने रहेछन्, जस्तै- ‘लाज नभएकी’, ‘नकच्चरी’, ‘बुद्धि छैन’, ‘बस्न पनि आउँदैन’ आदि । सबैका आँखा त्यस्ता छात्रामाथि गड्दा रहेछन् र तिनीहरू टाउको निहुर्याएर, अपमानले खुम्चिएर हत्तपत्त ‘सही तरीकाले’ बस्ता रहेछन् । अर्थात्, विद्यालय परिसरमा पुरुषको अनुपस्थिति भए पनि तिनको दृष्टि र अपेक्षाको प्रतिनिधित्व तथा प्रवर्धन शिक्षिकाहरू मार्फत निरन्तर भइरहेको हुने रहेछ ।
बहिष्करणको प्रक्रिया
जसको मासिक धर्म चौथो अथवा पाँचौं कक्षामा हुँदै शुरू भइसकेको थियो, ती छात्राहरूको शरीरमा परिवर्तन झल्किन थालिसकेको थियो । एउटा निश्चित उमेर (१२–१३ वर्ष) भन्दा पहिले मासिक धर्म शुरू हुनुलाई शिक्षिकाहरू हीन दृष्टिले हेर्थे र यस्तो भाव ती छात्राहरूसम्म सम्प्रेषित पनि गर्थे; अप्रत्यक्ष तवरले । जस्तै, ‘यसको शर्ट टाइट हुन (कसिन) थालेछ’, ‘कपाल कस्तो नक्कले बनाउन थालेकी’ आदि । साथै, कुनै प्रतियोगिता अथवा कार्यक्रमका लागि छात्राहरूलाई बाहिर लैजानुपर्दा त्यस्ता अर्थात् शरीर परिपक्व हुन थालेकालाई चयन गरिंदैनथ्यो । उनीहरूलाई लैजाँदा ‘दुर्घटना हुन सक्छ’ अर्थात् त्यहाँ आएका केटाहरूले तिनलाई जिस्क्याउन सक्छन् भन्ने मानिन्थ्यो । त्यस्तो ‘दुर्घटना’ भएमा त्यसको जिम्मेवारी उनीहरूसँग गएका शिक्षिकामाथि आउँछ भन्ने ठानिन्थ्यो । यो सब झमेलाबाट बच्न त्यस्ता छात्राहरूलाई विद्यालयको कम्पाउण्डमै सीमित राखिन्थ्यो ।
विद्यालयकै सांस्कृतिक कार्यक्रमहरूमा पनि शरीर परिपक्व हुन थालेका छात्राहरूलाई नृत्य जस्ता कार्यक्रममा शामेल गरिंदैनथ्यो । त्यसको सट्टा उनीहरूलाई समूह–गान र अन्य त्यस्ता कार्यक्रममा शामेल गरिन्थ्यो, जसमा शरीर प्रदर्शन र सञ्चालनको आवश्यकता पर्दैैनथ्यो । यस्तो किन गरिन्थ्यो भने, विद्यालयका वरिष्ठ वा पाका शिक्षिकाहरू नृत्य गर्दा केटीका विकसित हुँदै गरेको अंग हल्लिनुलाई अश्लील ठान्थे, जुन कुरा तिनका भद्दा टिप्पणीमा प्रकट हुन्थ्यो । जस्तै, ‘यसको शरीर बढ्दैछ, नाच्ता उफ्रिई भने घिनलाग्दो देखिनेछ’, ‘नाच्ने पोशाक लगाउँदा त यो पूरै आइमाई देखिन्छे’ आदि ।
यस्तो खालको टिप्पणी भर्खर शरीर विकसित हुन थालेका छात्राहरूमाथि मात्र होइन, स्कूलमा भर्खरै पढाउन थालेका कम उमेरका महिला शिक्षकहरूमाथि पनि गरिन्थ्यो । जस्तै, ‘यसको कुर्ता कति टाइट (कसिएको) हो ?; शिक्षकलाई त खुकुलो लुगा सुहाउँछ’, ‘सल नओढी नहिंड है, तिमीलाई थाहै छ, जमाना कति खराब छ’, अथवा ‘तिम्रो त बडील्यांग्वेज नै फरक छ, जे लगाए पनि कस्तो-कस्तो देखिन्छ’ आदि ।
प्रश्न उठ्छ, एउटा शिक्षकले विभेदकारी परम्परागत सामाजिक सोच र व्यवहारलाई नै मलजल गरिरहने हो भने ऊ शिक्षक हुनुको अर्थ के हुन्छ ? शिक्षालाई समतामूलक समाज निर्माणको आधार मानेर पाठ्यक्रम तथा पाठ्यपुस्तकले त्यसको पोषण गर्नुपर्छ भन्ने मान्ने हो भने शिक्षकले पनि त्यस्ता पूर्वाग्रह, धारणा र सामाजिक मानदण्डहरूलाई आफूमाथि हावी हुनबाट रोक्नुपर्छ, जो शिक्षाको उद्देश्यसँग मेल खाँदैनन् ।
यहाँनिर फेरि ध्यानाकर्षण गरौं, यो केटीहरू मात्र पढ्ने विद्यालयको प्रसंग हो, जहाँ शिक्षक र कर्मचारी पनि महिला मात्र छन् । यहाँ पुरुषको प्रवेश सामान्यतः वर्जित छ । तैपनि पुरुषप्रधान समाजको मानसिकता भने यहाँ पनि उत्तिकै जब्बर रूपमा उपस्थित छ । केटीहरूको शारीरिक बनावटलाई समाजबाट लुकाएर राख्ने र शारीरिक परिपक्वता प्राप्त गर्दै गरेका केटीलाई क्रमशः सामाजिक आँखाबाट ओझेल पारिदिने यस्तो प्रक्रिया यस विद्यालयमा जस्तै हाम्रा परिवारहरूमा पनि कायम छ । घरमा पनि, छोरीको शरीर परिपक्व हुन थालेपछि तिनलाई पारिवारिक चहलपहलबाट किनारा लगाइन थाल्छ र घरका विशेष ठाउँमा सीमित गरिन्छ । बाहिरको कुनै पुरुष अथवा पाहुना घरमा आउँदा तिनलाई भित्री कोठामा पठाइन्छ । परिवार कुनै समारोहमा जानुपर्नेछ भने तिनलाई घर कुर्न राखिन्छ । अर्थात् केटीहरूलाई सामाजिक गतिविधिहरूबाट बहिष्करण गर्ने प्रक्रिया घरदेखि विद्यालयसम्म उत्तिकै प्रभावी छ । विद्यालयका मुख्य गतिविधिमा झैं उनीहरू पसल, सडक, मेला, पार्क र सार्वजनिक स्थलहरूमा पनि देखिन छोड्छन् । यो अनुपस्थिति भौतिक मात्रै हुँदैन, ती–ती स्थानमा हुने अन्तरक्रियाबाट समेत केटीहरूका विचार, भावना, आकांक्षा, कठिनाइ र समस्या गायब हुन पुग्छन् । बहिष्करणको यस प्रक्रियालाई अस्वीकार गरेर कुनै किशोरीले सार्वजनिक स्थानमा आफ्नो उपस्थिति कायम गर्न थाली भने समाज उसको चरित्रलाई सन्देहको दृष्टिले हेर्न थाल्छ ।
विदाइ समारोह
शैक्षिक वर्षको अन्त्यमा पाँचौं कक्षा पूरा गरेका छात्राहरूका लागि विदाइ समारोह आयोजना गर्न बस्ने बैठकमा पुराना महिला शिक्षकहरू यो प्रस्ताव राख्न बिर्सिंदैनथेः ‘उनीहरूलाई स्कूलको युनिफर्ममै बोलाउनुपर्छ ।’ तर्क हुन्थ्यो, ‘अरू लुगा लगाएर चिरिच्याँट्ट परेर आए भने तिनीहरू ठूला र आकर्षक देखिन्छन् । तिनलाई बाटामा मानिसले जिस्क्याउन सक्छन् । तिनीहरू कार्यक्रमपछि आफ्नो केटा–साथीसँग (रहेछ भने) घुम्न जान सक्छन् । युनिफर्ममा आए भने यस्ता घटनाबाट जोगाउन सकिन्छ ।’ अर्थात् समस्या केटीहरूको शरीर, कपडा र उनीहरू आकर्षक लाग्नुमा छ, पुरुष वा केटाहरूको मानसिकता र व्यवहारमा होइन । दोहो¥याइरहनु नपर्ला, पुरुषप्रधान समाजको जेन्डर–निर्मितिलाई यहाँका महिला शिक्षकहरूले पनि राम्रैसँग सम्हालिरहेका थिए ।
ख्याल गर्नुपर्ने थप कुरा के भने, महिला शिक्षकहरू यस्तो बोलाइ र व्यवहारलाई छात्राहरूका अभिभावकसामु केटीहरूकै भलाइका लागि उठाइएको कदमका रूपमा प्रस्तुत गर्थे र अभिभावकहरू पनि त्यसमा सहमत देखिन्थे । कारण स्पष्ट थियो- यो विद्यालयमा पढ्ने अधिकतर छात्राहरू पहिलो पुस्ताका विद्यार्थी थिए अर्थात् तिनका अभिभावकले विद्यालय जाने मौका पाएका थिएनन् । त्यसैले उनीहरू शिक्षिकाका हरेक बोली र व्यवहारलाई आफ्नी छोरीको भलाइका लागि गरिएको भनेर सहजै स्वीकार गर्थे । ती कुराहरू सामाजिक मापदण्ड अनुरूप नै हुने भएकाले पनि तिनले आपत्ति जनाउने गुन्जाइस हुँदैनथ्यो । यो सब देखी–जानेका हुँदा छात्राहरू पनि यसको स्पष्ट प्रतिरोध गर्ने आँट गर्दैनथे । उनीहरूको प्रतिरोध त्यस्ता शिक्षकहरूका सामु नपर्ने प्रयासबाट व्यक्त हुन्थ्यो, जसले तिनलाई शारीरिक विकासका कारण तृच्छ वचनले प्रताडित गर्थे । उनीहरू प्रार्थना–सभामा नगएर कक्षा कोठामै बसिरहेका हुन्थे, अगाडि शिक्षक आउँदै गरेको देखे भने फनक्क फर्केर अर्को बाटोबाट कक्षामा प्रवेश गर्थे, अनि आफूलाई विद्यालयका केही स्थानमा सीमित राख्थे । अन्ततः आफ्नो शरीरलाई ‘लुकाएर’ राख्न सिक्थे । यसै क्रममा; शायद, आफ्ना आवश्यकता, आकांक्षा र विचारलाई दबाएर राख्न पनि सिक्तै जान्थे ।
व्रत बस्नेलाई फल
नौरथाको पहिलो दिन थियो । अवलोकनका क्रममा हामीले देख्यौं- चौथो कक्षामा कार्यरत एकजना पुरानी महिला शिक्षक ती छात्राहरूलाई केरा बाँडिरहेकी छन्, जो त्यस दिन व्रत बसेका थिए । ती शिक्षकको भनाइ थियो- त्यसो गर्दा पुण्य मिल्छ । उनको व्यवहारको सन्देश स्पष्ट थियो- केटीहरूले व्रत बस्नु सारै उत्तम काम हो, किनभने यसबाट धर्म हुन्छ । त्यहीं, अर्को कक्षाकी महिला शिक्षकको व्यवहार चाहिं बिल्कुल फरक थियो । केटीहरू शारीरिक र मानसिक रूपले मजबूत हुनुपर्छ भन्ने मान्यता राख्ने उनी आफ्नो कक्षामा व्रत बसेका छात्राहरूलाई भन्दै थिइन्, ‘तिमीहरू अहिले सानै छौ, तिम्रो शरीरलाई खाना चाहिन्छ ।’ छात्राहरू सँगको संवादका क्रममा उनले प्रश्न गरिन्, ‘व्रत बस्नु राम्रो कुरा हुने भए तिम्रा दाजु, भाइ, बुवा किन व्रत बस्नुहुन्न त ? ससाना बच्चा भोकै बसेको देखेर पनि भगवान कहीं खुशी हुन्छन् त ?’ यसो भन्दै उनले छात्राहरूलाई दिउँसोको खाना बाँडिने ठाउँमा लगिन् र खानेकुरा ख्वाइन् ।
व्रत बसेका छात्राहरूलाई केरा बाँड्ने शिक्षकको व्यवहारको सन्देश स्पष्ट छ । जो यसपालि व्रत बसेका थिएनन्, उनीहरू पनि शायद अर्को वर्ष व्रत बस्नेछन् । यस विद्यालयमा सामान्यतः ५ देखि १० वर्षको उमेरसम्मका केटीहरू एउटै शिक्षकबाट सबै विषय पढ्छन् र उनीसँगै अन्तरक्रिया गर्छन् । त्यसैले ती शिक्षकको बोली, व्यवहार, धारणा र मान्यताले तिनको मनमस्तिष्कमा गहिरो प्रभाव पार्दछ । मासिक धर्मलाई अपवित्रतासँग जोड्ने र शरीर शुद्ध बनाउन व्रत बस्ने जस्ता धारणालाई केटीहरूको मनमा बलियो गरी स्थापित गर्न यस्ता व्यवहारले सशक्त भूमिका खेल्दछन् ।
खेलकूद र भविष्यको डर
यस विद्यालयमा अलग्गै खेल मैदान छैन । ठूलो आँगन छ- कंक्रिट छापिएको । प्रार्थना सभा त्यहीं हुन्छ र त्यसैलाई सानातिना खेल खेल्ने मैदानका रूपमा उपयोग गर्न सकिन्छ । तर यहाँ ‘मैदान’लाई केटीहरूका निम्ति ‘खतरनाक’ ठाउँ मानिन्छ । दिउँसो, टिफिनको छुट्टीमा पनि छात्राहरूलाई ‘मैदान’मा गएर नखेल्न र कक्षा कोठाभित्रै बस्न आदेश दिइन्छ । किन यसो गरिन्छ त ? यसका दुई कारण देखिन्छन् । पहिलो, केटीहरूलाई तिनको जेन्डर भूमिका अनुरूपको व्यवहारमा अभ्यस्त पार्नु । कक्षा कोठाभित्र रहेर, डेस्क–बेञ्चमा बसेर खेलिने खेलमा बानी परेपछि तिनले आफूलाई सानो, सीमित ठाउँमा समाहित गर्न सिक्छन् । यसले उनीहरूमा आक्रामकता विकसित हुन पनि दिंदैन । दोस्रो, मैदानमा उफ्रीपाफ्री गरेर खेल्दा अनुहार वा अन्यत्र चोट लाग्यो अथवा हातखुट्टा भाँचियो भने उनीहरूको रूप र शरीरलाई क्षति पुग्छ भन्ने डर । त्यसले पछि गएर उनीहरूको विवाह गर्न समस्या पर्न सक्छ भन्ने कुरामा शिक्षक र अभिभावकहरू एकमत देखिन्छन् । ‘अनुहार अथवा जीउमा दाग लागेकी केटीको बिहे गरिदिन त महाभारतै पर्छ’, उनीहरूको धारणा पाइन्छ । त्यसैले खतरा मोल्ने अथवा शारीरिक रूपले सक्रिय खेलहरूमा भाग लिने कुरा छात्राहरूका लागि वर्जित जस्तै मानिन्छ । भनिन्छ, ‘यो सब केटाहरूका लागि हो ।’
अभिभावकहरूको ‘समस्या’ सांस्कृतिक–सामाजिक मात्र होइन, आर्थिक आयामसँग पनि जोडिएको हुन्छ । खेलकूदमा चोटपटक लाग्यो भने त्यसको उपचार गर्ने खर्च जुटाउन महाभारत पर्छ । त्यस्तो वेला छोरीले घरका काममा सघाउने, भाइ–बहिनी हेरिदिने सुविधा त रहँदैन नै, घाइते छोरीको हेरचाह गर्न आमा घरमा बस्नुपर्ने हुँदा उनले बाहिर काम गरेर गर्ने कमाइको बाटो पनि बन्द हुन्छ । दोहोरो आर्थिक मार ! तर, यहाँनेर बिर्सन नहुने कुरा के भने, छोरालाई त्यस्तो चोटपटक लागेको स्थितिमा अभिभावकहरू त्यसलाई सामान्य रूपमा लिन्छन् । भन्छन्- ती त केटाहरू हुन् नि !
चाँदीको घेरा
कालो बादलमा चाँदीको घेरा भने झैं, यस्तो वातावरणमा पनि सो विद्यालयका दुई शिक्षकले छात्राहरूलाई कक्षा कोठा बाहिर शारीरिक रूपले सक्रिय खेल खेल्न प्रोत्साहित गरेको पाइयो । ती दुवै जनालाई खेलकूदमा रुचि रहेछ । तीमध्ये एकजना विकलांग रहिछन् । उनले भनिन्, ‘म केटीहरूलाई ‘बोल्ड’ र शक्तिशाली हुनुपर्छ भन्छु । केटीहरू कुनै पनि खेलमा केटाहरू भन्दा कम हुँदैनन्, कमजोर हुँदैनन् भन्छु ।’ उनीहरूको उत्साह र प्रेरणाकै कारण तिनको कक्षाका छात्राहरू ब्याडमिन्टन, कबड्डी लगायतका खेलमा अब्बल रहँदै आएका रहेछन् । खेल्दा कतै चोटपटक नलागोस् भनेर ती शिक्षकहरूले सावधानीका अनेक उपाय अपनाएका छन् । पहिले पहिले केटीहरूलाई सानोतिनो चोटपटक लाग्दा पनि अभिभावकहरू रिसाउँदा रहेछन् । तिनलाई सम्झाइ–बुझाइ गर्न र आश्वस्त पार्न हम्मे परेको रहेछ । कतिपय अभिभावक भने जति सम्झाउँदा पनि आफ्ना छोरीहरूलाई मैदानमा खेल्न नदिने अड्डीबाट टसमस भएनछन् । त्यस्ता छात्राहरूलाई, अरू कक्षाकालाई झैं, कक्षा कोठाभित्रै कुनै खेल खेल्न भनिएको रहेछ ।
पुनःसंरचना कि पुनरुत्पादन ?
उक्त विद्यालयलाई देशको एउटा औसत बालिका विद्यालयका रूपमा हेर्न सकिन्छ । माथिको अवलोकनले यहाँ निर्माण हुँदै गरेको जेन्डर–प्रक्रियालाई स्पष्ट पार्छ । केटा र केटीसँगै पढ्ने अन्य विद्यालयको अनुभव, केटाहरूको प्रत्यक्ष उपस्थितिका कारणले, योभन्दा झन् चर्को हुन्छ भनेर सहजै बुझन सकिन्छ । यस अवलोकन–अनुभवले जेन्डर–निर्मितिका कतिपय महत्वपूर्ण पक्षलाई यथाशीघ्र र सशक्त रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
मूल कुरा त, यी विद्यालयहरूमा पुरुषप्रधान समाजको जगमा बनेका सामाजिक मानदण्डहरूको यथावत् पुनरुत्पादन भइरहेको देखिन्छ । समाजको प्रभावबाट विद्यालय पूरै अछुतो रहन त सक्तैन, तर समाज र सामाजिक व्यवहारसँग सम्बन्धित समस्याहरूको गहिराइमा पुगेर सामाजिक मानदण्डहरूको पुनःसंरचना गर्नुपर्ने जिम्मेदारी पनि विद्यालयकै हो । त्यसो त, हाम्रो समाज परिवर्तनतर्फ अग्रसर नै छ, तर यसको गति ज्यादै मन्द छ । यसलाई तीव्र बनाउन विद्यालयहरूको ठूलो भूमिका हुन्छ ।
शिक्षकले परम्परागत सामाजिक मानदण्डकै पुनरुत्पादन गरिरहनुमा उनीहरू भन्दा पनि उनीहरूलाई दिइने शैक्षिक प्रशिक्षण दोषी छ, जसले उनीहरूका पूर्वाग्रह र धारणालाई चुनौती दिन सकेन । यसको एउटा प्रमुख कारण त शैक्षिक प्रशिक्षणहरूमा जेन्डर स्टडिज जस्ता विषय समावेश नहुनु अथवा नाममात्रका लागि समावेश हुनु नै हो ।
यस प्रक्रियाको सबैभन्दा महत्वपूर्ण कडी शिक्षक नै हुन्, जसले विद्यार्थीको सोचाइ र व्यवहारमा गहिरो प्रभाव पार्छन् । यस अवलोकनबाट के देखिएको छ भने, पुराना पुरुष तथा महिला शिक्षकहरूमा परम्परागत सामाजिक मानदण्डहरू गहन रूपले हावी छन् । उनीहरू दशकौंसम्म त्यस्तै अनुभवबाट गुज्रेर आएका छन् र आफ्ना अनुभवबाट तदनुकूल बुझाइ निर्माण गरेका छन् । त्यसलाई विद्यालयको ढोकाभित्र छिर्नासाथ बदल्न सकिंदैन । केटीहरूलाई मैदानमा खेल्दा चोटपटक लाग्न सक्छ र त्यस्तो भयो भने भोलि तिनले राम्रो लोग्ने अथवा घर पाउन सक्तैनन् भन्ने भय पुराना महिला शिक्षकहरूकै अनुभवबाट निर्माण भएको हो । परम्परागत सामाजिक मानदण्ड र त्यस अनुरूप व्यवहारलाई बारम्बार पुष्ट पार्दै जाने गतिविधिहरूका पछाडि पनि कारण यही हो । व्रत बस्नेहरूलाई केरा ख्वाउनु, स्कर्ट घुँडामा कसेर बस्न लगाउनु, शरीर विकसित हुन थालेका केटीहरूलाई समाजबाट लुकाउनु आदि बाहेक पनि विशेष व्यवहार, संकेत र क्रियाहरूको शृंखलाले निरन्तर यही काम गरिरहेको हुन्छ ।
परम्परागत सामाजिक मानदण्डलाई नै स्थापित गर्न सघाउने यस्ता जेन्डर–प्रक्रियाहरू विना अवरोध, सुचारु रूपले किन चलिरहेका हुन्छन् भने, यिनले विद्यालयभित्र र छात्राहरूको घर-परिवारमा, कहीं पनि कुनै अवरोध झेल्नु पर्दैन । यी छात्राहरू जुन परिवेशबाट सरकारी विद्यालयमा पढ्न आउँछन्, त्यहाँ यिनलाई शिक्षा प्राप्त गर्नुका साथसाथै घरको काम सघाउने देखि भाइ-बहिनीहरूको हेरचाह गर्नेसम्मको भूमिकामा हेरिन्छ । त्यसैले व्रत बस्नु र बाहिर मैदानको सट्टा कोठाभित्र खेलिने खेल खेल्नु विद्यालय र परिवार दुवैतिर सहज स्वीकार्य र अपेक्षित हुन पुग्छन् । विद्यालयका कुनै शिक्षक अथवा कर्मचारी यो प्रक्रियासँग सहमत नभए पनि उनीहरू यसको विरोध गर्दैनन् । किनभने, एक त पुराना महिला शिक्षकहरूको खुला विरोध स्वीकार्य मानिंदैन, त्यसमाथि कसैले विरोधको आवाज उठाइहाल्यो भने पनि त्यसलाई अरूले साथ दिंदैनन् ।
कमजोर प्रशिक्षण
प्रश्न उठ्छ, एउटा शिक्षकले विभेदकारी परम्परागत सामाजिक सोच र व्यवहारलाई नै मलजल गरिरहने हो भने ऊ शिक्षक हुनुको अर्थ के हुन्छ ? शिक्षालाई समतामूलक समाज निर्माणको आधार मानेर पाठ्यक्रम तथा पाठ्यपुस्तकले त्यसको पोषण गर्नुपर्छ भन्ने मान्ने हो भने शिक्षकले पनि त्यस्ता पूर्वाग्रह, धारणा र सामाजिक मानदण्डहरूलाई आफूमाथि हावी हुनबाट रोक्नुपर्छ, जो शिक्षाको उद्देश्यसँग मेल खाँदैनन् । शिक्षक प्रशिक्षणको दायित्व त्यस्ता शिक्षक तयार पार्नु हो, जो आफ्ना पूर्वाग्रह र पक्षपातसँग अवगत होउन् र तिनलाई आफूमाथि हावी हुन नदिउन् । मेरो विचारमा, शिक्षकले परम्परागत सामाजिक मानदण्डकै पुनरुत्पादन गरिरहनुमा उनीहरू भन्दा पनि उनीहरूलाई दिइने शैक्षिक प्रशिक्षण दोषी छ, जसले उनीहरूका पूर्वाग्रह र धारणालाई चुनौती दिन सकेन । यसको एउटा प्रमुख कारण त शैक्षिक प्रशिक्षणहरूमा जेन्डर स्टडिज जस्ता विषय समावेश नहुनु अथवा नाममात्रका लागि समावेश हुनु नै हो । त्यसो त, जसलाई यो विषय पढाइन्छ, उसको सोच र व्यवहार पूर्णतः समतामूलक भइहाल्छ भन्ने पनि होइन, किनभने यो कुरा व्यक्तिको निजी प्रेरणा, सामाजिक दृष्टि र उसले अंगीकार गरेका मूल्य-मान्यताहरूमा पनि निर्भर हुन्छ ।
लेखक विगत डेढ दशकदेखि भारतमा प्राथमिक शिक्षा र बालबालिकाका मनोवैज्ञानिक एवं सामाजिक समस्या र तिनको आयाम माथि अध्ययन-अनुसन्धान गर्ने कार्यमा संलग्न छन् ।
साभारः ‘पाठशाला, भीतर और बाहर’, मार्च २०२१
भाषान्तर तथा सम्पादनः वस्ती
(द स्टोरी किचेन र शिक्षक मासिकको सहकार्य)