एक असहयोगी शिक्षकप्रति बढेको मेरो सम्मान !

शिक्षक वा गुरु भनेका विष्णुका अवतार हुन् भन्ने हिन्दूहरूको विश्वास छ । त्यसैले हामी आफ्ना गुरुहरूलाई उच्च आदर र सम्मान गर्दछौं । तथापि, अहिलेको कथित आधुनिक समाजका युवापुस्तामा गुरुप्रति खासै आदर र सम्मान देख्न पाइदैंन; विगतमा गुरुप्रतिको भाव र दृष्टिकोण सधैं सकारात्मक र सम्मानजनक हुने गर्दथ्यो । पौराणिक कालमा आफ्नो वर्णका कारण औपचारिक ज्ञान हासिल गर्न नसकेका एकलव्यले आफ्ना गुरु द्रोणाचार्यको मूर्ति स्थापना गरेरै भए पनि ज्ञान हासिल गरेका र गुरुदक्षिणामा आफ्नो बुढीऔंला काटेर चढाएका थिए भन्ने किम्बदन्ति छ ।

मेरो पनि, प्राथमिक तहदेखि उच्च तहका सबै गुरुहरूप्रति सारै उच्च सम्मान छ । उहाँहरूप्रति मेरो सधैं प्रणाम छ । आफूले गुरुलाई जति नै सम्मान गरेता पनि सबै गुरुहरूबाट उत्तिकै माया र व्यवहार पाइन्छ भन्ने चाहिं कदापि होइन । कसैको आचरण र स्वभाव फरक हुन सक्छ । त्यसैले उहाँहरूको प्यारो बन्न नसकिने पनि हुन सक्छ । यो संस्मरण २२ वर्षअघि मैले दशौं कक्षामा अध्ययन गर्दाताकाका मेरा आदरणीय ‘साइन्स टिचर’ वा विज्ञानका गुरुप्रति समर्पित छ । उहाँप्रतिको सम्मानमा नै यो संस्मरण केन्द्रित छ ।

त्यसताका, भोजपुरका विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको सधैं अभाव रहन्थ्यो । म कक्षा–१० मा पढ्दा त्यहाँ कार्यरत गणित र विज्ञानका शिक्षकको सरुवा भयो भने तत्काल उहाँको स्थानमा अर्को शिक्षकको पदस्थापन हुन सकेन । त्यसवेला विद्यालय शिक्षाको ‘फलामे ढोका’ मानिने एसएलसी नजिक आइरहेको थियो । हाम्रो पढाइ भने विज्ञान शिक्षकको अभावमा प्रभावित भइरहेको थियो । हामी अत्यन्तै आत्तिएका थियौं । विद्यालय प्रशासनलाई बारम्बार अनुरोध गरेपछि विद्यालयले एकजना गणित र विज्ञान विषयका युवा शिक्षक ल्यायो । हामी ‘साइन्स टिचर’ पाएर मक्ख भयौं । केही दिनभित्रै हाम्रो शिक्षण सिकाइ सुचारु भयो ।

म कक्षा–१० को प्रथम विद्यार्थी थिएँ । भर्खर १४ वर्ष लागेको बालमस्तिष्क थियो । पढाइको महत्त्व भने बुझेको थिएँ र पढाइ बिग्रेला भन्ने सधैं चिन्ता थियो । दिनरात कोर्सका किताब पढेर–लेखेर नै बित्थ्यो । बजारमा पाएजति अध्ययन सामग्रीहरू किन्थें र पढ्थें । विशेषगरी गणित, विज्ञान र अंग्रेजीको प्राक्टिश बुक खोजी–खोजी किन्थें, अनि प्राक्टिश गर्थें । नोट तयार गर्थें । सरहरूलाई देखाउने, सुझाव लिने, साथीहरूलाई सार्न दिने गरिन्थ्यो । मलाई एसएलसीमा कसरी प्रथम श्रेणीमा पास गर्ने भन्ने चिन्ताले सताउँथ्यो, अनि सरहरूसँग नजिक हुन खोज्थें । सल्लाह/सुझाव लिन खोज्थें । स्वाभाविक रूपमा हामी दुर्गम क्षेत्रका विद्यार्थीहरूका लागि गणित र विज्ञान अप्ठ्यारो र कठिन विषय लाग्थ्यो । अहिले पनि अंग्रेजी, गणित र विज्ञान अरूभन्दा कठिन विषय हुन् भन्ने विद्यार्थीको बुझाइ छ । हाम्रो हालत त्यस्तै थियो ।


म उहाँको नजिक हुन खोज्थें, उहाँ छड्किन खोज्नुहुन्थ्यो । मसँग कहिल्यै नजिक भएर बोल्न खोज्नुभएन । तर पनि मेरो उहाँप्रतिको आदर, सम्मान र आस्थामा कुनै कमी आएन । सके र भ्याएसम्म उहाँको नजिक बन्न खोजिरहें । पछ्याइरहें । उहाँबाट सिक्न चाहिरहें । 

मैले नयाँ ‘साइन्स टिचर’बाट धेरै सर–सहयोग र मार्गदर्शनको अपेक्षा र विश्वास राखेको थिएँ । तर अपसोच, मैले सो पाउन सकिनँ । किन पाइनँ भन्ने कारण अहिलेसम्म थाहा छैन । त्यतिवेला कारण जान्ने/बुझ्ने क्षमता पनि थिएन । जेहोस्, उहाँबाट अपेक्षित प्यारो व्यवहार पाउनै सकिनँ । विज्ञान–सरले प्रश्न सोध्दा म प्रायः सही जवाफ नै दिन्थें, तर स्याबासी कहिल्यै पाउँदिनथें । कक्षाकार्य र कुनै प्रतिस्पर्धामा पैसा वा चकलेटको पुरस्कार राखिन्थ्यो, जब मैले सही उत्तर दिन्थें, तब पुरस्कार नै खारेज गरिन्थ्यो । यसको कारण के थियो, मैले बुझिनँ, अनि धेरै खोतलिनँ पनि । मैले सामान्य जिज्ञासा राख्दा चित्तबुझ्दो जवाफ आउँदैनथ्यो । मैले प्राक्टिश गरेर लगेका नोटहरू जाँच गराउन खोज्थें, सहयोग लिन खोज्थें, तर विज्ञान शिक्षकको सहयोग मिल्दैनथ्यो । म उहाँको नजिक हुन खोज्थें, उहाँ छड्किन खोज्नुहुन्थ्यो । मसँग कहिल्यै नजिक भएर बोल्न खोज्नुभएन । तर पनि मेरो उहाँप्रतिको आदर, सम्मान र आस्थामा कुनै कमी आएन । सके र भ्याएसम्म उहाँको नजिक बन्न खोजिरहें । पछ्याइरहें । उहाँबाट सिक्न चाहिरहें ।

विज्ञान शिक्षकको सदरमुकाम जाने काम हुँदा हप्ता/पन्ध्र दिन पढाइमा असर पर्थ्यो । काम नै नभए पनि बिदामा बस्नुभयो, घर जानुभयो । विद्यार्थीको सिकाइमा असर पर्ला भनी सोच्नुभयो या भएन, तर उहाँ छ/सात महीनामा तीन महीनाभन्दा बढी त विद्यालयमा अनुपस्थित नै हुनुभयो होला । तर पनि, हामीले गुरुप्रति कहिल्यै विरोध गरेनौं । हामी एसएलसी दिने विद्यार्थीको शिक्षण सिकाइ डामाडोल भयो, तर हाम्रा गुरुलाई कुनै चिन्ता थिएन । गणित, विज्ञान र अंग्रेजी विषयको कमजोर शिक्षण पद्धतिका बाबजुद पनि हामीहरू २०५६ सालको ‘सेन्टअप टेष्ट परीक्षा’मा अधिकांश उत्तीर्ण भयौं । १२६ जनामध्ये ९० जना एसएलसीको तयारीमा लाग्यौं । त्यसको लगत्तै अंग्रेजी विषयका शिक्षकको पनि अभाव भयो । एसएलसीका लागि कम्तीमा गणित, विज्ञान र अंग्रेजी विषयहरूको ट्युशन लिनु अनिवार्य थियो । तर हाम्रा विज्ञान–शिक्षकले ट्युशन नपढाउने भन्नुभएछ । साथीहरूले ‘साइन्स सर त रसिक हुनुहुँदोरहेछ’ भन्ने गर्थे । मेरो बालमस्तिष्कमा त्यो भनेको के होला भन्ने लागिरहन्थ्यो । पछि बुझ्दा थाहा भयो, अलि धेरै नै ‘बिन्दास’ हुनुहुँदोरहेछ उहाँ । तर पनि हाम्रा लागि सम्मानित गुरु नै हुनुहुन्थ्यो ।

अन्ततः हामी छिमेकी गाविसको विद्यालयका दुईजना काबिल शिक्षकहरूको शरणमा पुग्यौं— अंग्रेजीका लागि भक्तिप्रसाद पराजुली र गणित–विज्ञानका लागि ध्रुवराज रेग्मी । उहाँहरूको करीब ४५ दिनको ट्युशन शिक्षण सिकाइले मेरो आत्मविश्वास बढायो । ‘मैले सक्छु’ भन्ने भावना जागृत भएर आयो । हामी अर्को विद्यालयमा ट्युशन पढ्न गएकै वेला हाम्रो विद्यालयका ‘साइन्स टिचर’ को भने अन्य कक्षाका विद्यार्थीसँग असमझदारी भएर विवाद बढेपछि त्यो ठाउँ नै छोडी फर्किनुभएछ । त्यो कुरा हामीलाई दुई/तीन हप्तापछि मात्र थाहा भयो । उहाँ सरसँग मेरो कुनै गुनासो थिएन, कुनै असन्तुष्टी थिएन, कुनै वैरभाव पनि थिएन । बरु, उच्च सम्मानभाव थियो । हामी डेरामा बसेर पढ्नेगरी अर्को गाविसको विद्यालयतिर गएका हुनाले पनि उहाँहरूको बारेमा खास जानकारी र सूचना थिएन । उहाँ कहिले हिंड्नुभयो भन्ने पनि ढिलो गरी थाहा पायौं । उहाँ हिंड्ने वेलामा स–सम्मान बिदा गर्न नपाउँदा मन्न खिन्न भयो र अझै पनि भइरहन्छ ।

ती ‘साइन्स टिचर’ले मलाई जे–जस्तो व्यवहार गरेता पनि उहाँप्रति मेरो उच्च सम्मान कहिल्यै घटेन । उहाँको योगदानविना नै हामी २०५६ सालको एसएलसी परीक्षामा सामेल भयौं । करीब तीन महीनाको पर्खाइपछि एसएलसीको रिजल्ट आयो, हामी ९० जना विद्यार्थीमध्ये २५ जना पास भयौं— म प्रथम श्रेणीमा, ११ जना दोस्रो र १३ जना तेस्रो श्रेणीमा । अनि बाटो मोडियो । को साथी कता ? को साथी कहाँ ? सबैजना आ–आफ्नो लक्ष्यसहित निश्चित गन्तव्यतिर लाग्यौं । विद्यालयका सहपाठीमध्ये अधिकांश सम्पर्कविहीन हुनुहुन्छ ।

म अझै पनि सम्झन्छु– हामीले विद्यालय शिक्षाको अन्तिम विन्दुमा शिक्षण सिकाइमा धेरै हण्डर खानु परेता पनि मेरा ‘साइन्स टिचर’प्रति कहिल्यै गुनासो र असमझदारी रहेन र अझै पनि छैन । उहाँले मलाई प्रत्यक्ष प्रेरणा दिनुभएन तर उहाँकै कारण मैले जीवनमा शिक्षक बन्ने संकल्प गरेको थिएँ । र; हाल सो संकल्प र लक्ष्य हासिल गरेको छु । अनि मैले उहाँलेजस्तो सिक्न चाहने विद्यार्थीलाई बेवास्ता गर्ने नभई उहाँको ठीक विपरीत व्यवहार गर्ने संकल्प गरेको छु ।

आज करीब २२ वर्ष भयो उहाँ विज्ञान–शिक्षकलाई नदेखेको, नभेटेको तर पनि म उहाँलाई उत्तिकै सम्मान गर्दछु । शायद उहाँको नजरमा म असल विद्यार्थी थिइनँ होला र नै मैले सहयोग र मार्गदर्शन पाइनँ होला तर मेरा लागि भने उहाँ आज पनि ‘रोलमोडल’ नै हो, आदरणीय र सम्मानित व्यक्तित्व हुनुहुन्छ । अझै पनि उहाँलाई भेटेर एकपटक भन्न मन छ— “म हजुरको विद्यार्थी हुँ सर, एकपटक आशीर्वाद दिनुस्”, एकलव्यले आफ्ना आराध्य गुरु द्रोणाचार्यलाई आग्रह गरेझैं । गुरु भनेको आखिर सधैंको गुरु हो । विद्यार्थी जति ठूलो पदमा भएता पनि, सम्मानित र प्रतिष्ठित भएता पनि गुरुभन्दा महान् कहिल्यै बन्न सक्दैन । गुरुको स्थान कसैले कहिल्यै लिन सक्दैन । त्यसैले मेरा ती आदरणीय विज्ञान–शिक्षकप्रति उच्च सम्मान, कोटी–कोटी प्रणाम दोहोर्‍याउन चाहन्छु ।

उप-प्राध्यापक, पाटन संयुक्त क्याम्पस

commercial commercial commercial commercial