‘सुडोकु’का सर्जकको निधन

शिक्षक मासिकका पाठकले शुरूदेखि हेर्दै र खेल्दै आएको अंक–खेल ‘सुडोकु’ (Sudoku) का पिता भनेर चिनिने जापानी सर्जक माकि काजीको यही साउन २६ (१० अगस्ट २०२१) मा निधन भयो । ठूलो आन्द्रोको क्यान्सरसँग जुधिरहेका उनी ६९ वर्षका थिए ।

माकि काजीले सन् १९८४ मा पहिलो पटक बाहिर ल्याएको आधुनिक ‘सुडोकु’का सजिलादेखि जटिल र सामान्य सिकारुदेखि यसमा गहिरो लगाव भएकाहरूका निम्ति अलग–अलग संस्करण पाइन्छन् । तर, यो अंक–खेल या ‘पजल’को नियम भने सजिलो या जटिल संस्करणमा पनि उही हुन्छ । यसको मुख्य नियम भनेको हरेक वर्गमा १ देखि ९ सम्मका एकल अंक मात्र राख्न पाइनु हो । एकभन्दा बढी अंकहरू मिलाएर बनाइने संख्या (जस्तै; १०, ११, ५९ आदि) राख्न पाइदैंन । ठाडो र तेर्सो लहरमा ३/३ वटा साना वर्ग बनाएर फेरि वर्गको आकार ठूलो–ठूलो बनाउँदै लान सकिन्छ । तर, वर्ग जति ठूलो बनाए पनि त्यहाँ राखिने अंक चाहिं १ देखि ९ सम्मका एकल अंक नै हुनुपर्छ । अर्थात् एकल अंक यो खेलको प्रमुख विशेषता हो । ‘सुडोकु’ नामले पनि त्यही बताउँछ । ‘सुडोकु’ शब्द जापानी भाषामा यो खेलको मूल या तत्कालीन नाम Suji-wa-Dokushin-ni-Kagiru ‘अंकहरू एकल अर्थात् कुमार हुनुपर्छ’ को छोटकरी रूप (Sudoku)बाट जन्माइएको हो ।

माकि काजीले निकोली नामको कम्पनी खोलेर सन् २००४ देखि ‘सुडोकु’का समस्या र यो प्रयोग गर्न पाउने अधिकार बेच्न थालेका हुन् । सो कम्पनीले जनाएअनुसार अहिले संसारका १०० भन्दा बढी देशका सयौं मिडिया कम्पनी यसका ग्राहक छन् र करीब २० करोड मानिस हरक्षण ‘सुडोकु’सँग जोडिएका हुन्छन् । पहिले हातमा पेन्सिल लिएर खेल्न बस्नुपर्ने ‘सुडोकु’का पछिल्ला दिनमा कम्प्युटर र मोबाइलबाट खेल्न मिल्ने डिजिटल–संस्करणहरू बढी लोकप्रिय छन् । ‘सुडोकु’का प्रतिस्पर्धाहरू आयोजना हुने गर्छन् ।

नेपालमा शिक्षक मासिक मार्फत् मात्रै पनि १०औं हजार जना यो खेलसँग आबद्ध हुनुभएको छ । शिक्षक मासिकको हरेक अंकमा छापिने ‘सुडोकु’ समस्याको सही समाधान पठाउनेहरूमध्ये गोलाप्रथाबाट छानेर एक जनालाई रु.१००० को दरले (हुलाक खर्च सहित पत्रिकाको वार्षिक ग्राहक) दिंदा शिक्षक मासिकले बितेका १२/१३ वर्षमा रु.१.२५ लाखभन्दा बढी रकम पुरस्कारको रूपमा वितरण गरेको देखिन्छ ।

‘सुडोकु’ कै निम्ति मात्र शिक्षक मासिक किन्ने र हरेक समस्या समाधान गरी पठाउने पाठक–ग्राहकहरू पनि हामीले पाएका छौं । यस्ता पाठकहरूका निम्ति ‘सुडोकु’का सर्जकको निधन सान्दर्भिक र चासोको विषय होला भनेर पनि यो समाचारलाई यहाँ स्थान दिइएको हो ।

(सूचना स्रोत– एपी र विकिपिडिया)

commercial commercial commercial commercial