परीक्षासम्बन्धमा विद्यार्थीका केही ‘अर्गानिक’ सुझाव !

जसले जे ध्येय राखेको भए पनि अन्ततः विद्यालयको स्थापना विद्यार्थीका निम्ति गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा विद्यालय भनेको विद्यार्थीको निम्ति हो । विद्यार्थी भएनन् भने विद्यालय बाँच्न सक्दैन । त्यही भएर नै विद्यार्थी नहुँदा कतिपय विद्यालयहरू बन्द हुन्छन् वा अन्यत्र गाभिन्छन् । त्यसैले पनि विद्यार्थीहरू विद्यालयका निम्ति प्रथम उपभोक्ता हुन् । यही कुरालाई मध्यनजर राखी घुमफिर वा जागिर खाने सिलसिलामा विद्यालयतिर जानुपर्दा मलाई विद्यार्थीहरूसँग भलाकुसारी गर्नु प्रथम आवश्यकता जस्तो लाग्छ । आवश्यकता मात्र होइन त्यसको छुट्टै आनन्द हुन्छ । फोटो हेरेर रमाएको भन्दा सम्बन्धित स्थललाई नै अवलोकन गर्दै रमाएको जस्तो । विषादी मिसाएको खान्कीभन्दा अर्गानिक खान्की खाएजस्तो । पसलमा राखेको भन्दा बारीको रूखमै चढी आफैंले टिपी खाएको फलफूल जस्तो । ‘सेकेण्ड ह्याण्ड’ भन्दा ‘फष्ट ह्याण्ड’ खरिद गर्दा पनि प्राप्त भएको सस्तो र गुणस्तरीय सामान जस्तो ।

एकपटक सुर्खेतको अलि दुर्गममा रहेको माध्यमिक विद्यालयमा कक्षा–८ का विद्यार्थीसँग गरिएको भलाकुसारी यो मनले अझै बिर्सिएको छैन । कक्षामा गएर सर्वप्रथम आफ्नो परिचय दिएँ । त्यसपछि उनीहरूको भावना छिमल्नतिर लागें । उनीहरूका कुरा सुनेर राम्रा कुराका लागि बधाई र शुभकामना दिएँ । समस्या र असहजताका लागि धैर्यका साथ सामना गरेर अघि बढ्न उत्साह दिने काम पनि गरें । अन्त्यमा उनीहरूलाई आफ्नो विद्यालयका मन पर्ने र मन नपर्ने कुराहरू बुँदागत रूपमा लेखेर दिनका लागि अनुरोध गरें । आफ्नो नाम लेख्नुपर्दैन पनि भनें । करीब दश मिनेटमा सबैले कापीमा लेखेको कुरा पाना च्यातेर मलाई बुझाए । अन्य कुराको अलावा धेरै विद्यार्थीले आफूलाई मन नपर्ने कुरामा, केही शिक्षकहरू क्लासमा आउँदा समेत मध्यपान गरेर आउँछन् भन्ने कुरा समेत लेखेका रहेछन् । उक्त कुरा पढेपछि मैले त्यहाँका सबै शिक्षकहरूसँग टिफिन टाइममा बसेर यो विषयमा कुरा गरें । कतिपयले यो कुरा होइन पनि भने । तर प्रमाणका रूपमा मसँग ‘फष्ट ह्याण्ड डकुमेण्ट’ थियो । अन्ततः उनीहरूले ‘हो’ नभनी धरै पाएनन् ।


विद्यार्थीले गतवर्ष गरिएको आन्तरिक मूल्याङ्कन र ४० अङ्कको लिखित परीक्षाप्रति आपत्ति जनाउँदै यो पटक त्यसो नगर्न अनुरोध गरे । उनीहरूको भनाइ थियो– कोरोना सर्ने भए ४० अङ्कको परीक्षा लिंदा पनि सर्छ र १०० अङ्कको लिंदा पनि सर्छ । त्यसैले ४० अङ्कको होइन कि पाठ्यक्रमले तोकेकै अङ्कको लिनुपर्दछ । 

कक्षा–१२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा प्रतिनिधिमूलक किसिमले मुलुकभरिबाट विद्यार्थीहरू सहभागी हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको भर्चुअल भेलामा पनि त्यस्तै भयो । भेलामा सबै जिल्लाका विद्यार्थीहरू उपस्थित देखिन्थे । विद्यार्थीका अलावा केही शिक्षक, केही अभिभावक र केही मजस्ता शिक्षामा चासो राख्नेहरूको पनि उपस्थिति थियो । सामान्य औपचारिकतापछि विचारहरू अभिव्यक्त गर्ने सवालमा भने विद्यार्थीले मात्र अवसर पाए । मुलुकभरकै विद्यार्थीले ‘कोर्स पूरा भएको छैन, पहिले कोर्स पूरा गरौं अनि परीक्षाका कुरा गरौं’ भन्ने कुरालाई जोड दिएर आफ्ना विचारहरू राखे । कतिपय विद्यालयले कोर्स पूरा गर्ने नाममा विषयवस्तुको बारेमा पर्याप्त अभ्यास र क्रियाकलाप नगराएर पाठहरू दौडाएको वास्तविकता पनि त्यहाँ अनावृत्त भयो । सुर्खेतकी विदूषी बम लगायत धेरै विद्यार्थीले कोर्स नसकिएको र अनलाइन क्लास पनि प्रभावकारी नभएको कुरा अभिव्यक्त गरे । आफू आफ्नो घरभन्दा माथि डाँडामा आएर डाटामार्फत् भेलामा सहभागी भएको वस्तुस्थिति उल्लेख गर्दै बझाङका मनिष बोहोराले ‘कुनै पनि विषयको दुई–तीन एकाइभन्दा अघि कोर्स नबढेको’ वास्तविकताको उजागर गरे ।

कास्कीकी रिया बराल, सप्तरीकी मोनिका कार्की, जुम्लाकी प्रतिमा शाह र डोटीका किरण धामी लगायतका विद्यार्थीले गतवर्ष गरिएको आन्तरिक मूल्याङ्कन र ४० अङ्कको लिखित परीक्षाप्रति आपत्ति जनाउँदै यो पटक त्यसो नगर्न अनुरोध गरे । उनीहरूको भनाइ थियो– कोरोना सर्ने भए ४० अङ्कको परीक्षा लिंदा पनि सर्छ र १०० अङ्कको लिंदा पनि सर्छ । त्यसैले ४० अङ्कको होइन कि पाठ्यक्रमले तोकेकै अङ्कको लिनुपर्दछ । भेलामा सहभागी सम्पूर्ण विद्यार्थीले अनलाइन परीक्षामा असहमत हुँदै भनेका थिए, “इन्टरनेटको सुविधा सबैतिर छैन, त्यसैले कसैले अनलाइनबाट परीक्षा दिने र कसैले भौतिक उपस्थितिमा परीक्षा दिने कार्यले हाम्रो सर्टिफिकेटमै प्रश्न उब्जिन्छ । अर्को कुरा; अनलाइन परीक्षालाई निष्पक्ष बनाउन पनि त्यत्तिकै कठिन छ । जोसँग पर्याप्त सन्दर्भ सामग्री र पढेलेखेका आफन्तहरू छन् उसलाई परीक्षा सजिलो हुन्छ भने त्यो बाहेककालाई परीक्षा कठिन भइदिन्छ ।”


शिक्षकहरूले कोर्स पूरा नभएको कुरा उठाएको देखिदैंन जबकि त्यही कुरा विद्यार्थीले प्राथमिकताका साथ उठाए । शिक्षकले आफ्नो निम्ति मात्र भ्याक्सिनको कुरा गरिरहँदा विद्यार्थीले आफू लगायत शिक्षकहरूलाई समेत कोरोनाको भ्याक्सिन लगाउने कुरा गरे । लाग्छ; गुरुभन्दा पनि फराकिलो सोचका छन् शिष्यहरू । 

काठमाडौंका कल्याण खरेलले भने अरूको भन्दा फरक विचार राखे । उनले भनेका थिए, “पठनपाठन नगरेर परीक्षा लिने हो भने परीक्षा लिनुको खासै अर्थ छैन, त्यसैले आन्तरिक मूल्याङ्कन गरेर सर्टिफिकेट दिए हुन्छ ।” धेरैले होमसेन्टरमै परीक्षा दिने व्यवस्था गरिनु राम्रो हुन्छ भन्दै गर्दा काठमाडौंकी अंशु भण्डारीको विचार अरूभन्दा फरक थियो । उनले भनेकी थिइन्, “विद्यालयका आन्तरिक परीक्षा मर्यादित तरिकाले सञ्चालन गर्ने हाम्रा विद्यालयहरूले राष्ट्रिय परीक्षा बोर्डको वार्षिक परीक्षा भनेपछि बेवास्ता र भद्रगोल गर्ने परिपाटी छ । त्यसैले परीक्षा होमसेन्टरमा आधारित हुनु हुँदैन ।” यस सम्बन्धमा खोटाङकी जानुका विष्ट, रसुवाका रोशन अर्याल र नवलपरासीकी शर्मिला लगायत केही विद्यार्थीको भनाइ यस्तो रहेको थियो, “होमसेन्टर नहुनेगरी आफ्नै वडाभित्रका विद्यालयको बीचमा सकेसम्म घरबाटै भ्याउने गरेर परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरेमा कोरोनाको संक्रमण वडाभन्दा बाहिर नाघेर जाने सम्भावना पनि हुँदैन र परीक्षा पनि मर्यादित हुन्छ ।”

मोरङका शुभम कटुवाल लगायत केही विद्यार्थीले आफ्ना भनाइ यसरी राखेका थिए, “समय मिलाएर पढाइ पनि गरौं । कोर्स पनि पूरा गरौं र परीक्षा पनि तोकिएको मापदण्डमा सानदारका साथ सञ्चालन गरौं । किनकि हामीलाई कोरोना ब्याच भनेर कसैले हेलाँ गर्ने मौका नपाओस् ।” कपिलवस्तुका रोशन लगायत धेरै विद्यार्थीहरूले ‘हतार गरेर परीक्षा गर्नुहुँदैन । शिक्षक र विद्यार्थीहरूलाई भ्याक्सिन दिनुपर्दछ, परीक्षाको अवधिमा उनीहरूको पीसीआर टेष्ट गरिनुपर्दछ र सुरक्षाका मापदण्ड प्रभावकारी रूपमा अवलम्बन गरिनुपर्दछ । परीक्षाको कारणले कसैले पनि कोरोनाको सिकार हुने स्थिति हुनुहुँदैन’ भन्नेजस्ता विचार सघन रूपले राखेका थिए ।

हामीमध्ये धेरैले विद्यार्थीलाई अपरिपक्व र आलाकाँचा भनेर निर्णयका सन्दर्भमा उनीहरूलाई सहभागी गराउँदैनौं । तथापि उनीहरूका विचार सुन्दा लाग्छ; विद्यार्थीहरू धेरै परिपक्व छन्, उनीहरूका विचार कसैबाट निर्देशित नभई अर्गानिक र मौलिक प्रकारका छन् । मुलुकको उच्च ओहोदामा बसेका विद्वान भनिएकाहरूले समेत आफ्नो र आफूलाई नियुक्त गर्नेको हित हुनेगरी आफ्ना विचार कथाले मागेअनुसार अभिव्यक्त गर्दछन् । त्यसकारण त हाम्रो शिक्षा कुहिरोको काग भएको हो । विद्यार्थीका विचार भने वस्तुगत छन् । शिक्षकहरूले समेत आफ्ना कमीकमजोरी बाहिर नआओस् भनेर होला, कोर्स पूरा नभएको कुरा उठाएको देखिदैंन जबकि त्यही कुरा विद्यार्थीले प्राथमिकताका साथ उठाए । शिक्षकले आफ्नो निम्ति मात्र भ्याक्सिनको कुरा गरिरहँदा विद्यार्थीले आफू लगायत शिक्षकहरूलाई समेत कोरोनाको भ्याक्सिन लगाउने कुरा गरे । लाग्छ; गुरुभन्दा पनि फराकिलो सोचका छन् शिष्यहरू । सिकाउने कुराको पिरलो नगर्ने, केवल परीक्षाको मात्र पिरलो गर्ने भनेर धेरै विद्यार्थीले आफ्ना पीडा व्यक्त गर्दा तिनको त्यो पीडाले मलाई समेत मर्माहत बनाएको थियो ।


विद्यार्थीले माथिका विचारहरू प्रस्तुत गरेको महीना दिन नाघिसक्यो । कोभिड–१९ को संक्रमण पनि घटिसकेको अवस्था छ । बन्दाबन्दीको वातावरण अब खुकुलो भइसकेको छ । त्रिभुवन विश्वविद्यालयले समेत स्थगित परीक्षा सञ्चालन गर्ने तीथिमिति तोकिसकेको अवस्था छ । तर कक्षा–१२ का विद्यार्थीको परीक्षा निम्ति भने सम्बन्धित निकाय अझै मौन छ ।

सारमा; हाम्रो देशमा विद्यालयहरू भौतिक हिसाबले सञ्चालन नभएको अवस्थामा सञ्चालन हुने अनलाइन कक्षाहरू प्रभावकारी नभएको स्पष्ट भयो । यसको लागि पूर्वाधार नभएको व्यहोरा पनि स्पष्ट भयो । सिक्ने र सिकाउने कामलाई भन्दा शिक्षक, समाज र समग्र मुलुकले परीक्षालाई महत्त्व दिएको व्यहोरा पनि स्पष्ट भयो । अर्को कुरा; शिक्षकहरू विद्यार्थीहरूको सिकाइका निम्ति हुनुपर्ने जति जिम्मेवार हुन नसकेको व्यहोरा पनि स्पष्ट भयो । मलाई त लाग्छ, बिरामीको निम्ति समर्पित हुने डाक्टरको इज्जत र सम्मान जस्तो छ त्यस्तै इज्जत र सम्मान शिक्षकहरूको पनि हुनसक्छ तर त्यसका लागि डाक्टर बिरामीप्रति समर्पित भएजस्तै शिक्षक पनि विद्यार्थीप्रति समर्पित हुन सक्नुपर्दछ । हामी अरूलाई शिक्षा दिनेहरूले यसैमा विश्वास गर्दै जीवन र जगतलाई उर्वर बनाउन सक्नुपर्दछ भन्ने लाग्दछ ।

विद्यार्थीका उल्लिखित विचारहरूको कदर गर्दै राष्ट्रिय परीक्षा बोर्डले तत्कालै केही निर्णय गर्नुपर्थ्यो । तथापि; विद्यार्थीले माथिका विचारहरू प्रस्तुत गरेको पनि महीना दिन नाघिसक्यो । कोभिड–१९ को संक्रमण पनि घटिसकेको अवस्था छ । बन्दाबन्दीको वातावरण पनि अब खुकुलो भइसकेको छ । त्रिभुवन विश्वविद्यालयले समेत स्थगित परीक्षा सञ्चालन गर्ने तीथिमिति तोकिसकेको अवस्था छ । तर कक्षा–१२ का विद्यार्थीको परीक्षा निम्ति भने सम्बन्धित निकाय अझै पनि मौन छ । विद्यार्थीहरूले हार्दिकतापूर्वक अभिव्यक्त गरेका विचारप्रति गम्भीर हुने काम भएको छैन । बरू विद्यार्थीहरू नै क्रमशः मनोसामाजिक समस्याले गल्दै गएको अवस्था छ ।

साँच्ची, मलाई पनि विद्यार्थी र विद्यार्थीहरूका विचारप्रति राष्ट्रिय परीक्षा बोर्ड गम्भीर हुनुपर्छ भन्ने लाग्छ । अब तुरून्तै परीक्षा सञ्चालनका लागि उचित निकास निकाली परीक्षासम्बन्धी आफ्ना काम–कारबाहीहरू अघि बढाउनुपर्ने देखिन्छ । करीब एक महीना जतिको अवधि दिएर परीक्षाको समयतालिका सार्वजनिक गरिनुपर्दछ । परिश्रमी, इमान्दार र जेहेन्दार विद्यार्थीहरू उत्साहित हुनेगरी परीक्षासँग सम्बन्धित निर्णयहरू गरिनुपर्दछ । सरकारका अरू गतिविधि सञ्चालन भएझैं हाम्रा परीक्षाहरू सुरक्षाका मापदण्डहरू अपनाउँदै होमसेन्टर नपर्नेगरी ‘एक विद्यालय एक परीक्षा केन्द्र’ बनाएर सञ्चालन गर्न सकिन्छ । प्रश्नपत्र इमेलबाट पठाउने कुरालाई अनिवार्य गरिनुपर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा विद्यार्थीहरूको भावनाप्रति एकाकार भएर प्राथमिकताका साथ शिक्षा र परीक्षालाई हेर्ने नजर सरकारसँग हुनु जरूरी छ । त्यति भए मात्र पनि अरू धेरै वैचारिक विद्वताको खाँचो पर्छ जस्तो लाग्दैन । सबैलाई चेतना भया !

१५ असार २०७८, सुर्खेत

commercial commercial commercial commercial