शैक्षिक उपलब्धिमा स्वस्थ जीवनशैलीको असर

जीवनशैली भनेको जीवनयापन गर्ने पद्धति वा रहनसहनप्रति एक व्यक्ति, समूह वा संस्कृतिको रुचि, विचार, व्यवहार र व्यावहारिक झुकाव हो । कुनै व्यक्ति विशेष वा समूहसँग जोडिएको व्यवहार, आदत वा मूल्यको एक समग्रतालाई जीवनशैली भनिन्छ । मानिसले दैनिक जीवनमा प्रदर्शन गर्ने व्यवहारहरू अन्त्यमा जीवनशैलीको रूप धारण गर्दछन् । फुर्सद र काम समेत संलग्न भएका ती सबै व्यवहारहरू जसले मानिसको जिउने तरिका निर्माण गर्दछन् त्यसलाई जीवनशैली भनिन्छ ।

पहिचानयोग्य पद्धतिका व्यवहारबाट निर्माण भएको जीवनपद्धति नै जीवनशैली हो । यो भनेको आदत, अभिवृत्ति, स्वाद, नैतिकस्तर, आर्थिकस्तर लगायतको संयोजन हो जसले मानिस र समूहको निश्चित जीवन तरिका निर्माण गर्दछ । यसले कुनै मानिस, समूह वा संस्कृतिकै इच्छा, धारणा, व्यवहार वा व्यावहारिक अभिमुखीकरणलाई संकेत गर्दछ ।

स्वस्थ जीवनशैली र स्वास्थ्य

असल स्वास्थ्य हासिल गर्ने उद्देश्यले दैनिक जीवनमा स्वस्थ आहार, स्वस्थ विहार, स्वस्थ व्यवहार र स्वस्थ विचारलाई नियमित अभ्यास गर्ने जीवनशैली नै स्वस्थ जीवनशैली हो । यो भनेको स्वास्थ्यवर्धक र सकारात्मक आनीबानीको विकास गर्नु हो । यसले व्यक्तिको ती सबै निर्णयहरूको समष्टिलाई जनाउँदछ जसले उनीहरूको स्वास्थ्यलाई प्रभाव पार्दछ र जसमा उनीहरूको धेरै–थोरै नियन्त्रण पनि हुन्छ ।

जीवनमा व्यवहार छनौट गर्ने कुराहरू जस्तै धुमपान गर्ने, रक्सी खाने, अस्वाभाविक यौनक्रियामा लाग्ने, लागू पदार्थ खाने, सन्तुलित भोजन नलिने, शारीरिक व्यायाम नगर्ने, टेलिभिजन बढी हेर्ने, पानी नपिउने, तनावमा रहने, घुमफिर नगर्ने, आलस्य गर्ने इत्यादिमा प्रष्ट निर्णय लिनु पर्दछ । उपरोक्त व्यवहारहरू क्रमशः आदत बन्दछन् र रोगव्याधितर्फ धकेल्छन् । समयमै सही निर्णय लिने हो भने यस्ता व्यवहारमाथि नियन्त्रण कायम गर्न सम्भव हुन्छ ।

व्यक्तिको भोजनसम्बन्धी विकल्प, गतिविधि स्तर, सोच र व्यवहारको आधारमा जीवनशैली स्वस्थकर वा अस्वस्थकर हुन सक्छ । एक सकारात्मक जीवनशैलीले स्वस्थता र खुशीयाली निम्त्याउँछ भने नकारात्मक जीवनशैलीले निराशा, रोग र तनाव निम्त्याउँछ । जस्तो जीवनशैली छ त्यस्तै स्वास्थ्यस्तर निर्माण हुन्छ । स्वस्थ जीवनशैलीले तत्कालीन फाइदा त पुग्छ नै, दीर्घकालीन उपलब्धि पनि प्राप्त हुन्छ ।

स्वस्थ जीवनशैलीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक उन्नति गराउँछ । स्वस्थ जीवनशैली अपनाउने व्यक्तिको व्यक्तित्व पनि राम्रो हुन्छ । दीर्घ निरोगी जीवन प्राप्त गर्नका लागि बाल्यावस्था र किशोरावस्थादेखि नै स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्दछ । विद्यार्थीलाई सानैदेखि स्वस्थ जीवनशैलीका विभिन्न पक्षहरूको अभ्यास गराउँदा यसले भावी दिनमा उपयुक्त आकार लिन्छ ।

स्वस्थ जीवनशैलीका आयामहरू

जीवनशैली ठाउँ, संस्कृति र वातावरण अनुसार फरक–फरक हुन सक्दछ । एक स्वस्थ वा अस्वस्थ जीवनशैली पुस्ता–पुस्तामाझ हस्तान्तरण हुँदै जान्छ । आमाबुबाको स्वस्थ जीवनशैलीले परिवारमै स्वस्थताको विकास हुन्छ । व्यक्तिले दैनिक रूपमा जे गर्दछ त्यो जीवनशैलीको भाग बन्दछ । उदाहरणको लागि खाने, पिउने, सुत्ने, हिंड्ने, दौडिने, बस्ने, उभिने, नुहाउने, धुने, शौच गर्ने, मैथुन गर्ने, कुरा गर्ने, खेल्ने, नाच्ने, हेर्ने, सम्झने, विचार गर्ने आदि सबै जीवनशैलीसँग प्रत्यक्ष जोडिएका हुन्छन् । यस्ता कामहरू सही ढंगले गरिएन भने शारीरिक तथा मानसिक समस्या र रोगहरू उत्पन्न हुन्छन् । यसले दीर्घकालीन असर पारी जीवनयापनमा बाधा सृजना गर्दछ । यस्ता कार्यशैलीलाई आफ्नो स्वास्थ्य अनुकूल बनाएर गरियो भने मात्र ती कार्यहरू स्वस्थ जीवनशैलीमा रुपान्तरित हुन्छन् ।

स्वस्थ जीवनशैलीका निम्नलिखित चार आयाम वा पक्षहरू हुने गर्दछन् ।

(क) स्वस्थ आहार, व्यायाम र आरामः स्वस्थ आहार अर्थात् खानपान स्वस्थ जीवनशैलीको प्रमुख पक्ष हो । भोजनमा हल्का र पौष्टिक आहार लिनु पर्दछ । स्वस्थ तन–मनका लागि सकभर सात्विक भोजन मात्रै गर्नुपर्दछ । अपच हुने गरी धेरै खानु पनि राम्रो होइन । भोजनलाई शान्त वातावरणमा प्रशस्त मात्रामा चपाएर मात्र खानु पर्दछ । देश, काल, परिस्थिति अनुरूप तथा आफ्नो रुचि, प्रकृति र क्षमता अनुसार विवेकसंगत भएर भोजनको चयन गर्नुपर्दछ । स्वस्थ आहारसँगै आउने अर्को कुरो हो शारीरिक सक्रियता र व्यायाम । व्यक्तिले खाएको भोजनलाई शरीरमा शोषित गराउन र ऊर्जा खर्च गर्न शारीरिक क्रियाकलाप र व्यायामको आवश्यकता पर्दछ । विद्यार्थीले आफ्नो उमेर, क्षमता, समय र आवश्यकताअनुरूप दैनिक रूपमा हिंडडुल गर्ने, खेलकुदमा भाग लिने, कसरत गर्ने, नाच्ने, योगाभ्यास गर्ने लगायतका क्रियाकलाप गर्नुपर्दछ ।

यसका साथै विद्यार्थीलाई आवश्यक पर्ने अर्को कुरा हो निद्रा तथा आराम । औसत रूपमा ६ देखि ८ घण्टाको निद्रा पर्याप्त हुन्छ । दिनको समयमा आवश्यकता अनुरूप एक घण्टाको आराम भए पुग्छ । तर आरामको अर्थ सुत्नु होइन ।

(ख) स्वस्थ विहारः स्वस्थ विहारको अर्थ हो दिनचर्या  । अर्थात्, बिहान उठेदेखि राति सुत्ने बेलासम्मको दैनिक कार्यतालिका । समयमा उठ्नु, समयमा सुत्नु, समयमा भोजन गर्नु, समयमै काम सम्पन्न गर्नु इत्यादिले हाम्रो स्वास्थ्य विहारलाई जनाउँदछ । सही समयमा उठेर नित्यकर्म सक्ने, तरोताजा भई दिनभर गर्नुपर्ने कार्यको निर्धारण गर्ने, प्राथमिकता अनुरूप समयतालिका बनाई काम गर्ने लगायतको व्यवस्थित र अनुशासित दिनचर्या जसले निर्वाह गर्न सक्दछ त्यो विद्यार्थी व्यक्तिगत तथा सामाजिक जीवनमा सफलताको बाटोमा हिंड्दछ ।


खाने, पिउने, सुत्ने, हिंड्ने, दौडिने, बस्ने, उभिने, नुहाउने, धुने, शौच गर्ने, मैथुन गर्ने, कुरा गर्ने, खेल्ने, नाच्ने, हेर्ने, सम्झने, विचार गर्ने आदि सबै जीवनशैलीसँग प्रत्यक्ष जोडिएका हुन्छन् । यस्ता कामहरू सही ढंगले गरिएन भने शारीरिक तथा मानसिक समस्या र रोगहरू उत्पन्न हुन्छन् ।

स्वस्थ विहारभित्र आउने अर्को कुरा हो असल साथी सम्बन्ध अर्थात् दिनभर के–कस्ता प्रकारका मानिससँग सम्पर्क हुन्छ । विद्यार्थीले सदैव सज्जन, हितकारी, प्रेरणादायक र सहयोगी मानिसको माझमा रहने प्रयास गर्नुपर्दछ । दुषित मन भएका मानिसको साथले दुर्घटना निम्त्याउँछ । त्यसैगरी विद्यार्थीले स्वस्थ दिनचर्यामा प्रार्थना, ध्यान, दिनभरिको कामको समीक्षाजस्ता आत्मसुधारका क्रियाकलापलाई पनि समावेश गर्नुपर्दछ ।

(ग) स्वस्थ व्यवहारः स्वस्थ जीवनशैलीको तेस्रो पक्ष भनेको असल, सालिन, सम्मानजनक एवं सहयोगात्मक व्यवहार गर्नु हो । यसअन्तर्गत आफ्नो बोली एवं क्रियाकलापबाट अर्को व्यक्तिको भावनामा आहत नहुनेगरी कल्याणकारी कार्यहरू गरिन्छ । विद्यार्थीले बोली तथा कर्म व्यवहारमा उदारता, सहिष्णुता, मधुरता, मितव्ययिता राख्दै तथा अवाञ्छनीय तत्वहरूलाई उपेक्षा गर्दै जीवन मार्गमा अगाडि बढ्नु नै स्वस्थ व्यवहार अवलम्बन गर्नु हो ।

(घ) स्वस्थ विचारः जीवनशैलीको अर्को महत्वपूर्ण पक्ष भनेको मानिसको विचार हो । यो एक सूक्ष्म तर शक्तिशाली आयाम हो । विचारबाट नै कर्म बन्दछ र कर्मबाट नै बानी बन्दछ । विचारको प्रभाव शरीर तथा मन दुवैमा पर्छ । सकारात्मक, विवेकसंगत, परिष्कृत तथा सशक्त विचार हुने व्यक्तिको दिनचर्या र चिन्तनशैली पनि सकारात्मक बन्दछ । तर नकारात्मक विचारले भरिएको मनबाट निस्कने व्यवहार व्यक्ति स्वयं र अरूका लागि पनि हानिकारक हुन्छ । तनाव, चिन्ता, रिस, इष्र्या, अनावश्यक सोच, महत्वाकांक्षा विचारप्रधान समस्याहरू हुन्, जसलाई सकारात्मक बनाउनु जरूरी हुन्छ ।

विद्यार्थीले विचारलाई सकारात्मक र परिष्कृत बनाउनका लागि सकारात्मक साथी समूहको सम्पर्कमा रहने, सत्संग गर्ने, आदर्श कुराहरूको गहन अध्ययन गर्ने, लक्ष्य केन्द्रित सोच राख्ने, मौलिक चिन्तन गर्ने, विचारको रचनात्मक अभिव्यक्ति गर्ने लगायतका कुराहरू गर्नुपर्दछ ।

जीवनशैली र शैक्षिक उपलब्धि

जीवनशैली र स्वास्थ्य एकआपसमा गाँसिए जस्तै जीवनशैली, शिक्षा तथा स्वास्थ्य र शिक्षा पनि एकआपसमा सम्बन्धित छन् । सकारात्मक शैक्षिक प्रदर्शनसँग स्वस्थ जीवनशैली सम्बन्धित पाइएको छ भने उच्च तनावस्तर नकारात्मक प्रभावसँग सम्बन्धित पाइएको छ । तनाव र मोटाइबीच भने सकारात्मक सम्बन्ध हुने कुरा अनुसन्धानबाट पाइएको छ । अर्थात्, स्वस्थ जीवनशैलीले तनावमा कमी ल्याउँदछ, अनि तनाव बढी लिंदा चाहिं मोटोपना हुने रहेछ ।

त्यसैगरी, शारीरिक गतिविधिले संज्ञानात्मक कौशल, मनोवृत्ति र शैक्षिक व्यवहारमा समेत प्रभाव पार्न सक्दछ । यी सबै सुधारिएका शैक्षिक प्रदर्शनका महत्वपूर्ण अंशहरू हुन् । यसमा एकाग्रता र ध्यानका साथै सुधारिएको कक्षाकोठाको आचरण पनि समावेश छ । विद्यार्थीले स्वस्थ जीवनशैली अपनाई यसलाई प्राथमिकता दिनुले स्मरण क्षमता वृद्धि गर्न, ध्यान केन्द्रित गर्न, विषयप्रति चासो बढाउन, परीक्षामा राम्रो अंक ल्याउन र उच्चतम क्षमताले लेख्न सक्ने हुन्छन् भन्ने कुरा प्रमाणित भएको छ । पोषण, व्यायाम र निद्राजस्ता कुरामा ध्यान दिनाले विद्यार्थीको जानकारी ग्रहण गर्ने र त्यसलाई कायम राख्ने क्षमतामा उल्लेख्य सकारात्मक प्रभाव पर्दछ ।

धेरै अनुसन्धानहरूले विद्यार्थीको जीवनशैली र शैक्षिक उपलब्धिबीच महत्वपूर्ण सकारात्मक सम्बन्ध देखाएकाले शिक्षक, शैक्षिक संस्था र अभिभावकले तिनीहरूको जीवनशैली सुधारलाई पनि विचार गर्नुपर्दछ । स्वस्थ आहार, स्वस्थ विहार, स्वस्थ व्यवहार र स्वस्थ विचारलाई आत्मसात गरी जीवनशैलीमा सुधार गर्दा शैक्षिक उन्नयन हुने कुरा प्रमाणित भएकोले सबैले यस्तो शिक्षामा जोड दिनु जरूरी छ ।

स्वास्थ्य तथा जनसंख्या शिक्षा विभाग, त्रिवि

commercial commercial commercial commercial