विद्यालय तहको नयाँ पाठ्यक्रम गणितलाई हदै उपेक्षा !

सरकारले हालै जारी गरेको शिक्षा नीति, विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, नयाँ पाठ्यक्रम  र तदनुरूप तयार भइसकेका वा हुँदै गरेका पाठ्यपुस्तकहरूको सन्दर्भमा समेत बहस र विमर्श जरूरी देखिएको छ । किनभने मुलुकको सुदूर भविष्यसँग जोडिएको यो विषय सम्बन्धित क्षेत्रका विज्ञ, शिक्षक, विद्यार्थी एवं अभिभावकको चासो र चिन्ताबाट अलग रहन सक्दैन । उदाउँदो पुस्ताको जीवनसँगै मुलुकको औद्योगिक क्रान्ति, सामाजिक–सांस्कृतिक रूपान्तरण तथा समग्र समृद्धिमा अहम् भूमिका खेल्ने विद्यालय तहको पाठ्यक्रमको प्रभाव दूरगामी रहने हुँदा यसमा प्राज्ञिक क्षेत्रको सरोकार अझ उच्च रहन्छ ।

परिवर्तित पाठ्यक्रममा माध्यमिक तहको कक्षा–११ र १२ को विज्ञान समूहमा गणित विषयलाई दिइएको न्यून स्थानले मुलुकको समग्र विज्ञान, प्रविधि, इञ्जिनियरिङ, चिकित्सा विज्ञानका साथै वैज्ञानिक व्यवस्थापन तथा दीर्घकालीन योजना र विद्यार्थी–अभिभावकमा समेत प्रतिकूल प्रभाव पार्ने देखिएको छ । पहिले दश जोड दुई भनेर बुझिदै आएको माध्यमिक तहका अन्तिम दुई वटा कक्षामा नेपाली र अंग्रेजीका साथै कक्षा–११ मा सामाजिक अध्ययन र कक्षा–१२ मा जीवनोपयोगी शिक्षा गरी तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक समेत कम्तीमा ६ वटा विषय पढ्नुपर्ने बनाइएको छ । थप ऐच्छिक पनि पढ्न चाहने विद्यार्थीले झन्डै ६ दर्जनको हाराहारीमा रहेका विषयहरूमध्येबाट रोजेर सातौं विषय विषय पढ्न पाउने व्यवस्था गरिएको देखिन्छ । आगामी शैक्षिक सत्रबाटै लागू गर्न लागिएको यो पाठ्यक्रमले निम्त्याउन सक्ने दूरगामी असरहरूबारे शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्र लगायतका जिम्मेवार निकायले तत्काल पुनर्विचार गर्नु उचित हुन्छ ।

नयाँ पाठ्यक्रम लागू गरिंदा उठ्नसक्ने केही ज्वलन्त सवाल
१. कक्षा ११ र १२ मा हाल ५/५ वटा विषय मात्र पढिरहेका विद्यार्थीले अब कम्तीमा ६ विषय अनिवार्य रूपमा पढ्नुपर्दा यसै पनि एक विषयको बोझ् थपिन्छ भने अतिरिक्त ऐच्छिक बनाएर पढ्न पाउने सूचीमा राखिएको सातौं विषय पढ्न उनीहरू कसरी तयार होलान् ? यसरी बोझिलाे हुने गरी थुपारिएको अतिरिक्त विषयगत भारबाट कस्तो स्तरीय शिक्षाको परिकल्पना गर्न सकिएला ? ऐच्छिक विषयका रूपमा तीनवटा मात्र रोज्नुपर्दा विद्यार्थीले भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान जस्ता आधारभूत विज्ञानमध्ये कुनै एक छुटाउने कि अलग समूहमा रहेको गणितलाई छुटाउने ?

२. वैज्ञानिक एवं नवीनतम प्रविधि र जनशक्ति मार्फत देशको आर्थिक तथा औद्योगिक उन्नतिको आधारशिला तयार पारी विश्व बजारमा प्रतिस्पर्धा गर्न संसारका विकसित मुलुकले अवलम्बन गर्दै आएका ‘स्टेम’ (STEM) अर्थात् (Science, Technology, Engineering, Mathematics) को अवधारणामा आधारित शिक्षा नेपाललाई नचाहिएको हो ? यदि चाहिएकै छ भने त्यसको एउटा महत्वपूर्ण खम्बा गणित विषयलाई पढे पनि हुने, नपढे पनि हुने हदको उपेक्षा किन ?

३. विज्ञान समूहबाट कक्षा–१२ उत्तीर्ण गरेका विद्यार्थीले उच्च शिक्षामा इञ्जिनियरिङ, पशु वा कृषि विज्ञान, कम्प्युटर तथा सूचनाप्रविधि, अर्थशास्त्र, व्यवस्थापन एवं गणित सम्वद्ध अन्य विषयहरूमा भर्ना पाउने व्यवस्था विश्वविद्यालयले गरेका छन् । यी सम्पूर्ण समूहको पढाइमा गणित समावेश छ, किनकि यिनमा गणित विनाको पढाइ फलदायी हुँदैन । तर विद्यालय तहको नयाँ पाठ्यक्रम अनुसार अब विज्ञान समूहका विद्यार्थी समेत उच्च तहमा विज्ञानसम्वद्ध विषय पढ्ने मौकाबाट बञ्चित हुनसक्ने देखिन्छ । त्यसले आर्थिक रूपमा सक्षम विद्यार्थी सरकारले ल्याएको पाठ्यक्रम भन्दा ए लेभल लगायतका विदेशी कार्यक्रमतर्फ आकर्षित हुने र कमजोर आर्थिक स्थितिका अभिभावकका छोराछोरीमा व्यापक नैराश्य छाउनेसम्मको नतिजा निम्त्याउन सक्छ । पाठ्यक्रम निर्माण गर्दा यति पनि ख्याल नगरिनु अत्यन्त दुःखदायी कुरा हो । किनभने यसबाट विज्ञान प्रविधिमा आधारित उच्च शिक्षा गणितको अभावमा धरापमा पर्न सक्ने निश्चितप्रायः छ । आजको चिकित्सा विज्ञान, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, वातावरण विज्ञान, जैविक प्रविधि तथा तथ्यांक विज्ञानको अध्ययन/अध्यापन तथा अनुसन्धान गणित विना टिक्छ ? विज्ञानको भाषा मानिने गणितलाई पन्छाएर विज्ञान चाहिं बचाउन कसरी सकिन्छ ? त्यसो हुँदा, यी आधारभूत विज्ञानको अध्ययन र अनुसन्धानमा गणितको अभाव महसूस गरी समयमै सच्याउनुपर्छ ।


विद्यार्थीलाई कुनै पनि विषयको गुणस्तरीय शिक्षा दिनु नै जीवनोपयोगी शिक्षा हो। विज्ञानका विद्यार्थीलाई आधारभूत गणितको पठनपाठनबाटै बञ्चित गराइयो भने उनीहरूले प्राप्त गरेको शिक्षा जीवनोपयोगी हुनसक्दैन।

४. नेपालको शैक्षिक जनशक्ति ठूलो संख्यामा विदेश पलायन भइरहेको र तिनमा खासगरी विज्ञान, प्रविधि, इञ्जिनियरिङ, चिकित्सा, व्यवस्थापन, अर्थशास्त्र एवं गणित जस्ता विषय पढेका अधिकतम रहेको पाइन्छ । यस मानेमा पनि, यदि विज्ञानका तीनवटा ऐच्छिक विषय छान्नुपरेका कारण उनीहरूले गणित विषय छुटाउनु पर्‍यो भने तिनले एकातिर विज्ञान विषयमै पूर्ण दक्षता पाउने अवसर गुमाउँछन् भने अर्कातिर वैदेशिक विश्वविद्यालयहरूमा भर्ना पाउन सक्ने आधार समेत खुम्चिन पुग्छ । कतिपय विश्वविद्यालयमा कथंकदाचित भर्ना पाइहाले पनि पढाइपछि तिनको क्षमताले आफैंलाई सन्तुष्टि नदिने र निराशातिर धकेल्ने अवस्था आउँछ । यी तथ्यहरू हामीले बेलैमा महसूस गर्नुपर्ने हुन्छ । यसनिम्ति उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा प्रचलित विभिन्न खाले परीक्षाहरूमा गणित र अंग्रेजीलाई विशेष आधार बनाइनुको कारण के होला भनी विचार गरे पुग्छ ।

५. आजको चिकित्सा, वातावरण, विज्ञान प्रविधि, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र लगायतका विषयहरूले समेत सामाजिक, औद्योगिक, व्यवस्थापकीय र आर्थिक तथा विज्ञान प्रविधिका वास्तविक समस्याहरूलाई गणितीय नमूनाको रूपमा बदल्ने, लेख्ने र त्यसको समाधान गणितीय भाषामै निकाल्ने अपेक्षा राख्दछ । मानव कल्याणका खातिर व्यवहारोपयोगी समस्याहरूको समयोचित समाधान र त्यसको उपयोगले प्राप्त हुने सफलता गणितीय ज्ञान र यसबाट विकसित तार्किक क्षमतामा निर्भर गर्दछ । त्यसै भएर त अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले गणितका आधारभूत ज्ञान प्राप्त गरेका विद्यार्थीलाई प्रायः अधिकांश विषयहरूमा उच्च अध्ययनका लागि बहुआयामिक मार्ग खुला गर्ने गरेका छन् । किनभने गणितीय ज्ञानको आधारशिला बलियो भयो भने मात्रै विज्ञान–प्रविधिको मेरुदण्ड मजबूत हुनसक्छ भन्ने कुरा विश्वको बौद्धिक जगतले बुझिसकेको छ । यो बुझइको स्तरबाट आफूलाई क्रमशः उकास्दै लैजाने कि त्यहाँबाट ओर्लन लागेको सन्देश दिने ? यो निर्णय गर्ने जिम्मा यतिवेलाका शैक्षिक नीतिनिर्माताहरूको हातमा छ ।

उपर्युक्त तथ्यहरूलाई मनन् गरी विद्यालय तहको पाठ्यक्रम संरचनामा विज्ञान शिक्षाको जग कमजोर नहोस् भन्नेतर्फ शिक्षा मन्त्रालय तथा सम्पूर्ण सरोकारवालाहरूले तत्कालै ध्यान पुर्‍याउनुपर्दछ । किनभने विद्यार्थीलाई कुनै पनि विषयको गुणस्तरीय शिक्षा दिनु नै जीवनोपयोगी शिक्षा हो । विज्ञानका विद्यार्थीलाई आधारभूत गणितको पठनपाठनबाटै बञ्चित गराइयो भने उनीहरूले प्राप्त गरेको शिक्षा जीवनोपयोगी हुनसक्दैन । गणित विषयलाई समयसापेक्ष, सरल, सहज, बहुउपयोगी, सुरुचिपूर्ण तथा बोधगम्य बनाउन विभिन्न तह र विषय क्षेत्रका विज्ञहरूको संलग्नता पनि अति नै जरूरी छ ।

निष्कर्ष
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा विद्यार्थीले तीनवटै विज्ञान (जीव, भौतिक र रसायन) तथा गणित गरी चारवटा ऐच्छिक समेत गरी बढीमा ६ वटा विषय पढ्न पाउने गरी अर्थात् दुई अनिवार्य र चार ऐच्छिक हुने गरी विषय समायोजन गर्नु उचित हुन्छ । खासगरी विज्ञान समूहका विद्यार्थीको हकमा अनिवार्य विषयहरू जम्मा दुई वटामा सीमित गरी दुवै कक्षामा गणितलाई अनिवार्य गरिएमा विषय समायोजनको समस्या समाधान हुन्छ ।

पाठ्यक्रम बनाउँदा विज्ञहरूबीचको व्यापक छलफलबाट प्राप्त निष्कर्षका आधारमा मात्र विषयहरू पारित गर्ने र विषय विज्ञहरूको खुला प्रतिस्पर्धाबाट लेखिएका पाठ्यपुस्तकहरू परिमार्जन तथा मूल्याङ्कन पश्चात मात्रै लागू गर्ने प्रणालीले मात्र प्रभावकारी नतिजा दिन्छ । नत्र नयाँ पाठ्यक्रम निर्वाहमुखी दस्तावेजमै सीमित हुने डर छ । पाठ्यक्रम निर्माण र कार्यान्वयनको प्रक्रियामा देखिएको हतारो हेर्दा परिवर्तित पाठ्यक्रम र पाठ्यपुस्तकबाट उपलब्धिको अपेक्षा कम गरे पुग्ने देखिएको छ । तथापि झ्ण्डै डेढ दशकपछि परिवर्तन गरिएको विद्यालय शिक्षाको पाठ्यक्रमलाई अधिकतम फलदायी बनाउनमा राष्ट्रले गरेको ठूलो लगानी सदुपयोगका लागि पनि पाठ्यक्रममाथि तत्काल पुनर्विचार गर्न हिच्किचाउनुहुँदैन ।

प्रमुख, गणित केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

commercial commercial commercial commercial