ऋद्घि भनेको चटक होइन !

विद्यालयको पाठ्यपुस्तक लेखन खेलाँची होइन । तर नेपाल सरकार अन्तर्गतको पाठ्यपुस्तक विकास केन्द्रद्वारा प्रकाशित विभिन्न पुस्तक केलाउने क्रममा अनेकौं गल्ती फेला पर्ने गर्छन् । तर, यो सवालमा निजी प्रकाशनहरू पनि अपवाद बन्न सकेको पाइँदैन । सामान्यतः लेखक तथा सम्पादकको चयनमा सरकारीभन्दा निजी प्रकाशनहरू स्वतन्त्र हुन्छन् र गल्ती कम हुन्छ भन्ने अपेक्षा गरिन्छ । तर निजी प्रकाशनका पुस्तकमा पनि कम्ती गल्ती भेटिंदैनन् । नेपाल सरकारद्वारा स्वीकृत पाठ्यक्रमको आधारमा तयार गरिएको कोसेली प्रकाशनद्वारा प्रकाशित सन्दर्भ पाठ्यपुस्तक ‘मेरो सरल नेपाली’ पुस्तकको भाग ७ (वि.सं. २०७३) लाई उदाहरणका रूपमा लिने हो भने यसको लेखन तथा सम्पादनको जिम्मा कसले पाएको भन्नेमै अलमलिनुपर्ने अवस्था छ । पुस्तकको बाह्य गातामा डा. भूपहरि पौडेल र डा. महेन्द्रकुमार मल्लको नाम छ भने भित्री पानामा मल्लको नाम नभएर हरिप्रसाद निरौलाको नाम छ ।

सो पाठ्यपुस्तकको पाठ १६ मा लेखिएको छ— ‘कमैया, झुमा, देउकी... जस्ता प्रथाहरू मुलुकको विभिन्न स्थानमा विद्यमान नै रहेका छन् । यस्ता कुरीति कुसंस्कृति हाम्रो समाजका लागि ऋणतुल्य झैं छन् । यसर्थ यिनीहरूको अन्त्यका लागि नागरिक चेतनास्तर अभिवृद्धि गर्नुका साथै कानूनको अक्षरशः पालना समेत गर्नुपर्ने देखिन्छ ।’ यहाँ नकारात्मक अर्थ दिनको लागि ‘ऋणतुल्य’ शब्द प्रयोग गरेको देखिन्छ, जुन आफैंमा सही र सुहाउँदो प्रयोग होइन । यी सबै प्रथालाई राज्यले गैरकानूनी घोषणा गरिसकेको तथ्यबारे चाहिं लेखकलाई हेक्का नै नभएको देखिन्छ ।

पाठ १८ मा रहेको ‘जामुना गुभाजु’ शीर्षक काठमाडौंमा प्रचलित एक लोककथा हो । ललितजङ्ग सिजापतिद्वारा लेखिएको र यस पाठ्यपुस्तकमा संग्रहित सो कथामा अचाक्ली नै गल्तीहरू परेका छन् । शीर्षकमा उल्लेख भएको मुख्य पात्रकै नाममा गल्ती छ । मध्यकालीन नेपालमा तन्त्रविद्यामा पारङ्गत एक सिद्ध बज्राचार्यको नाम थियो, जामनः गुभाजु । तर यस पाठमा उनको नामै परिवर्तन गरिदिएर ‘जामुना गुभाजु’ बनाइएको छ । यसरी नै पाठको अन्त्यमा दिइएको शब्दार्थमा गुभाजुको अर्थ ‘बिरामीहरूलाई झारफुक गर्ने व्यक्ति’ भनी दिइएको छ जुन गलत छ । गुरुलाई आदरसम्मान गरेर सम्बोधन गर्दा काठमाडौंका स्थानीयहरू ‘गुरुभाजु’ भन्ने गर्दछन् भने त्यही शब्द अपभ्रंश भएर ‘गुभाजु’ बनेको हो । ‘गुरुभाजु’ वा ‘गुरुज्यू’ शब्द नै बोलीचालीमा ‘गुर्जु’ का रूपमा रूपान्तरित भएको छ । शाक्य, बज्राचार्यहरूका निमित्त आजभोलि पनि यो शब्द चलनचल्तीमा छ । तर पाठमा जामनः गुभाजुकी श्रीमतीको मुखबाट ‘गुभाजु’ शब्द प्रयोग गराइएको छ जुन अस्वाभाविक र अमर्यादित हो । गुभाजुलाई सम्मानका साथ सम्बोधन गर्दा जो कोहीले ‘गुर्जु’ नै भन्ने हो ।

सो पाठको प्रारम्भ ‘परापूर्वकालमा कान्तिपुर नगरीभित्र कामरूप कामाक्षाबाट एक चटकी आएको थियो’ भन्ने वाक्यबाट भएको छ, जुन दोषपूर्ण छ । ‘परापूर्वकाल’ शब्दको प्रयोग ‘धेरै वर्षअघिको समय’ भन्नलाई मात्र प्रयोग गरिन्छ र व्यवहारमा अनिश्चित वा इतिहासभन्दा परको समय जनाउनुपर्‍यो भने ‘परापूर्व’ शब्द प्रयोग गरेर टारिन्छ । नेपालमा सामान्यतः लिच्छविकालसम्मको समयावधिलाई इतिहास अन्तर्गत नै राखिन्छ र त्यस यताका कुराहरूलाई परापूर्व भनिंदैन । पाठमा ‘परापूर्वकालमा’ भनेर उल्लेख गरिएको कुरा मध्यकालीन विषयवस्तु हो । जामनः गुभाजु राजा प्रताप मल्ल (शासन काल वि.सं. १६९८–१७३१) का समकालीन मानिन्छन् ।

चटक देखाउने कला प्राचीनकालदेखि प्रचलनमा रहेको र लोकप्रिय देखिन्छ । तर चटक र ऋद्धि दुई वेग्लै कुरा हुन् । अलौकिक शक्तिलाई ऋद्धि भनिन्छ । निश्चित तहमा पुगेका आध्यात्मिक साधकहरूलाई ऋद्धि शक्ति स्वतः प्राप्त हुने हुन्छ र कोही साधक ऋद्धि शक्तिमा नै सीमित हुन्छन् भने कोही यसलाई प्रयोग गरी थप ज्ञान हासिल गर्नतिर लाग्दछन् । जामनः गुभाजु पनि अरू जस्तै एक बौद्ध साधक र ऋद्धि शक्तिले सम्पन्न थिए । तर जामनः गुभाजुको कथा हाल्ने वर्तमान समाज र पाठ्यपुस्तकका लेखकमा चटक र ऋद्धि एउटै भएको भ्रम पाइन्छ ।

पाठ २० को शीर्षक ‘नेपाली कलामा मूर्तिकला’ छ । ‘काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक गौरीघाट श्लेषमान्तक वनमा रहेको किरातेश्वर महादेवको मूर्ति प्रथम किरातवंशीय राजा यलम किरातेश्वरले स्थापना गरेको’ भन्नु अनुमानपुराण मात्रै हो किनभने यी कुराहरू इतिहाससम्मत होइनन् । यसरी नै पशुपति आर्यघाटको विरुपाक्षको मूर्तिलाई ई.पू. सातौं/आठौं शताब्दीमा निर्माण गरिएको अनुमान भन्नु पनि त्यस्तै हचुवाको कुरा हो । आजसम्म कुनै पनि इतिहास तथा कलाविज्ञले यस्तो पाराको अनुमान गरेका छैनन् ।

पाठ्यपुस्तकमा रहेका गल्तीहरू सच्याउनुपर्दछ र परिमार्जन पनि उत्तिकै आवश्यक छ ।



 

commercial commercial commercial commercial