‘बिल्डुंग’ एउटा शैक्षिक अवधारणा जसले स्केन्डिनेभियालाई महान बनायो

नर्डिक देशहरू (स्वीडेन, डेनमार्क, नर्वे र फिनल्यान्ड) को सामाजिक–आर्थिक मोडलको प्रायः सबैले प्रशंसा गर्छन् । यी देशको आर्थिक उत्पादकत्व, सामाजिक समानता, सामाजिक विश्वास र त्यहाँका जनतामा खुशियालीको मात्रा विश्वमै उच्च पनि छ ।

प्रगतिशीलहरू नर्डिक देशहरूको राज्य–प्रणाली उदार र कल्याणकारी भएकाले ती राम्रा र प्रशंसनीय भएका हुन् भन्छन् । केही उदारवादीहरू भन्छन्— स्वतन्त्र बजारको खुलापन सम्बन्धी लगभग मापनमा ती देश सबैभन्दा माथि छन् । आप्रवासन रोक्नुपर्छ भन्ने विचार लिनेहरू भन्छन्— अलि अघिसम्म ती देशमा एकै जातिका मानिस बस्थे ।

तर एउटा मात्र जाति बसोबास गरेका बेला, सन् १८०० तिर नर्डिक देशहरू अत्यन्त गरीब थिए । उनीहरूले १८७० पछि मात्र आर्थिक वृद्धि हासिल गरेका हुन् । कल्याणकारी राज्यको स्थापना त्यसभन्दा धेरै पछि भएको हो । यथार्थमा नर्डिक देशहरूलाई अगाडि बढाउने वास्तविक काम त्यहाँ पुस्तौंपुस्तादेखि अपनाइ आएको अद्भुत किसिमको शैक्षिक नीतिले गरेको हो ।

उन्नाइसौं शताब्दीमा नर्डिक देशका उपल्ला वर्गका मानिसले यस्तो काम गरे जुन हामीले आज पनि गर्न सकेका छैनौं । उनीहरूले के कुरा महसूस गरे भने देशलाई समृद्ध बनाउन आफ्नो देशका कम शिक्षित मानिसलाई शिक्षा दिन ‘सामुदायिक स्कूल’ लाई वास्तविक रूपमा सफल बनाउनुपर्छ । उनीहरूले के पनि महसूस गरे भने जीवनपर्यन्त सिक्ने कामलाई समाजको अभिन्न अंग बनाउनुपर्छ ।

शिक्षालाई उनीहरूले हामीले भन्दा फरक किसिमले लिए । उनीहरूले लिएको अवधारणालाई बुझाउने जर्मन शब्द ‘बिल्डुंग’ (bildung) को अर्थ बुझाउने शब्द अंग्रेजीमा छैन । यो शब्दको अर्थ हो व्यक्तिको पूर्ण नैतिक, भावनात्मक, बौद्धिक र सभ्य रूपान्तरण । यो कुरा यस विचारमा आधारित छः उदीयमान औद्योगिक समाजलाई सम्हाल्न र त्यसका लागि योगदान दिन सक्षम हुन चाहनेहरूको आन्तरिक जीवन अझ् बढी जटिल हुनुपर्छ ।

आज अमेरिकनहरू स्कूले शिक्षा भनेको ‘विशिष्टीकृत सीपको झेला’ प्रदान गर्नु हो भन्ठान्छन् । ती सीप हुन्ः पढ्न जान्ने सीप, हिसाब गर्न जान्ने सीप, जीवविज्ञानका तथ्य भन्न सक्ने सीप । तर ‘बिल्डुंग’ चाहिं विद्यार्थीले संसारलाई हेर्ने तरिका नै फेरिदिन आविष्कार गरिएको अवधारणा हो । यो अवधारणा विद्यार्थीहरूलाई जटिल प्रणाली कुनै बुझन सघाउनका निम्ति आविष्कार गरिएको हो । विभिन्न पक्षबीच– आफू र समाजबीच, परिवार र शहरका बीच– को सम्बन्ध बुझन विद्यार्थीलाई सहयोग गर्न आविष्कार गरिएको हो ।

लेने राचेल आन्डरसन र टोमस योर्कम्यानले ‘द नर्डिक सेक्रेट’ किताबमा लेखेका छन्, ‘बिल्डुंग यस्तो एउटा बाटो हो जुन बाटो हिंड्दा मानिस परिपक्व हुन्छ र परिवार, साथी, अरू नागरिक, समाज, मानवता, हाम्रो ग्रह तथा मानव जातिको विश्वव्यापी सम्पदाप्रति थप व्यक्तिगत जिम्मेवारी बहन गर्छ । यसो गर्दा उसले थप व्यक्तिगत, नैतिक र अस्तित्वपरक स्वतन्त्रता उपभोग गर्छ ।’

सबै विद्यार्थीमा आफू र आफ्नो राष्ट्रबीच सम्बन्ध छ भन्ने भावना जगाउन नर्डिक देशका शिक्षा प्रदायकहरूले कडा परिश्रम गरे । उन्नाइसौं शताब्दीभन्दा पहिले अधिकांश युरोपेलीहरू आफूलाई राष्ट्रिय होइन स्थानीय विशेषताका आधारमा चिनाउन चाहन्थे । तर नर्डिक देशका पाठ्यक्रमले विद्यार्थीमा देशको साझ इतिहास, लोकसाहित्य र सम्पदामा गर्व गर्ने भावना बीजारोपण गरिदियो । ‘जो मानिसले सानैमा जीवनको परीक्षा दिनु पर्दैन उसले पछि गएर सजिलोसँग काम गर्न सक्दैन’ क्रिस्टोफर आन्र्ड्ट ब्रुनले लेखेका छन् । यो भनेको विद्यार्थीको दिमागमा आपूm ठूलो पारिवारिक वृत्तदेखि शहर अनि शहरदेखि राष्ट्र— को सदस्य हुँ र ती सबैप्रति मेरो पनि दायित्व छ भन्ने भावना जगाउनु हो ।

नर्डिक देशका शिक्षा प्रदायकहरूले विद्यार्थीको आन्तरिक चेतना जगाउन पनि कडा परिश्रम गरे । यो भनेको विद्यार्थीलाई ऊभित्र सधैं मडारिने शक्ति–भावना, लालसा, घाउ र चाहना– महसूस गर्न सिकाउनु हो । जसले यी शक्ति र तिनीहरूबीचको अन्तरक्रिया बाहिरबाट देखेजस्तै गरेर अनुभव सक्छ ऊ ती शक्तिको मालिक बन्छ, दास होइन । उनीहरूको अनुभवले के भन्छ भने मानिस हुर्कंदै जाँदा विकासका विभिन्न चरण पार गर्ने तथा अझ बढी जटिल दृष्टिले आफू र संसारलाई हेर्ने क्षमता उनीहरूमा वृद्धि हुँदै जान्छ । सानो बालकले आफ्ना आमाबाबु र शिक्षकले भनेका कुरा सोच्दै नसोचिकन मान्न सक्छ । उसले ती कुरा स्वीकार गर्छ र त्यसलाई चलनका रूपमा लिन्छ । त्यसपछि आफ्ना मूल्यमान्यताका आधारमा आफ्नै खालका चलन बसाउँछ । अनि उसले आपूmलाई आफ्नै संसारको एउटा अंगका रूपमा लिन सिक्छ । यसरी उसले पारस्परिकता र सर्वाङ्गीण चिन्तन गर्न सिक्छ ।

‘बिल्डुंग’ को उद्देश्य मानिसलाई एउटा दृष्टिकोणबाट अर्काे दृष्टिकोणमा जाने बेलाको अप्ठ्यारो संक्रमणकाल पार गर्न सघाउनु हो । शैक्षिक क्षेत्रमा भएको यस्तो अथक् प्रयासले संस्कृतिमा पनि प्रभाव पारेजस्तो देखिन्छ । स्टकहोमका होऊन् वा मिनियापोलिसका होऊन्, स्केन्डिनेभिया नागरिकमा उत्तरदायित्वको भावनाले आपूmलाई सधैंभरि थिचिरहेको विषयमा ठट्टा गर्ने बानी हुन्छ । उनीहरूमा भ्रष्टाचारको दर संसारको सबैभन्दा कम छ । व्यक्तिगत स्वतन्त्रता र सामुदायिक उत्तरदायित्वबीचको सम्बन्धबारे उनीहरूको सोचाइ अरूको भन्दा बेग्लै छ ।

सामाजिक निष्ठा यत्तिकै उच्च हुँदैन । सामाजिक निष्ठा त्यति बेला उच्च हुन्छ जति बेला मानिसले आफ्नो दैनन्दिन जीवनका गतिविधिमा आपूm एकअर्काप्रति जिम्मेवार रहेको महसूस स्वतः गर्छन् र समाजका विभिन्न संस्थाहरू राम्रोसँग चल्छन् ।

अमेरिकामा सामाजिक निष्ठा दशकौंदेखि खस्कँदो छ । जुन देशमा विशेष सुविधा पाएका केटाकेटी सबैभन्दा राम्रा स्कूलमा पढ्छन्, त्यहाँको समाजमा सामाजिक पारस्पारिकता उति हुँदैन । त्यस्ता स्कूलले राष्ट्रप्रति मायाको भावना जागृत गराउन सक्दैनन् । परिणामतः विद्यार्थीमा पनि सामूहिक जिम्मेवारीको भावना जाग्दैन । कुनै देशको शिक्षा प्रणाली कमजोर छ र त्यसले विद्यार्थीलाई मानिसबीचको सम्बन्धको महत्व बुझाउन र अरूको दृष्टिकोण कस्तो छ भन्ने बारेमा बुझन विद्यार्थीलाई सहयोग गर्दैन भने यस्तो समाज तयार हुन्छ जसमा मानिसले समाजका हरेक कुरालाई एकअर्काका दृष्टिले हेर्न सक्दैनन् ।

नर्डिक देशको ‘बिल्डुंग’ मोडललाई हेर्दा हामीलाई के महसूस हुन्छ भने हामीले हाम्रा मानिसलाई जागिरका लागि उपयुक्त सीप मात्र नदिएका होइनौं, जटिल बहुलवादी समाजमा उन्नति गर्न चाहिने ज्ञान जगाउने खालको उपयुक्त जीवनोपयोगी विकासको मोडल पनि हामीसँग छैन ।

१३ फेब्रुअरी २०२० मा न्यूयोर्क टाइम्समा प्रकाशित लेखको अनुवाद

अनुवादः मोहन मैनाली

शिक्षक मासिक, २०७६ चैत अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial