प्रतिक्रिया र जवाफ: २०७६ चैत अंकमा प्रकाशित ।

भाषा र लिपिमा प्रष्टता

अंग्रेजीका प्रश्न रोमनमा सोधिएको सम्बन्धी  समाचार (शिक्षक, माघ र फागुन २०७६) मा भाषा र लिपिलाई एउटै अर्थमा प्रयोग गरिए जस्तो लाग्यो । माघ अङ्कको रिपोर्टको पहिलो वाक्य ‘अंग्रेजी विषय शिक्षक छनोट परीक्षामा रोमन लिपिमा प्रश्न सोधियो भनेको सुन्दा ठट्टा जस्तो लाग्न सक्छ ।’ तर ठट्टा जस्तो लाग्नुपर्ने केही कारण भने देखिंदैन किनकि अंग्रेजी भाषाको ज्ञान परीक्षण गर्न रोमन लिपिमै प्रश्न सोधिन्छ र सोध्नुपर्छ तर भाषा चाहिं अंग्रेजी हुनुपर्छ । बरू ठट्टाको विषय त के रहेछ भने यहाँ उल्लिखित परीक्षामा नेपाली भाषामा प्रश्न सोधिएको रहेछ र देवनागरी लिपिमा लेखिने नेपालीलाई रोमन लिपिमा लेखिएको रहेछ ।

रिपोर्टको दोस्रो अनुच्छेदमा ‘...वस्तुगत प्रश्न नेपाली या अंग्रेजी भाषामा नभई रोमनमा लेखिएको थियो’ भन्ने वाक्यांश रहेको छ । यसको सोझे अर्थ रोमन भाषामा लेखिएको थियो भन्ने हुन्छ र यहाँ ‘रोमन’ लाई लिपि होइन भाषाको वर्गमा राखिएको छ । वास्तवमा रोमन नामको भाषा नै छैन र प्राचीन रोममा प्रयोग गरिने ल्याटिन (भाषा पनि) लिपिलाई नै रोमन लिपि भनिन्छ । विषय विज्ञको भनाइ उद्धृत गरिएको वाक्य ‘...४० अङ्कको वस्तुगत रोमनमा र बाँकी ६० अङ्कको विषयगत अंग्रेजीमा तयार गरेकी थिएँ’ मा पनि यही समस्या रहेको छ । त्यस्तै अर्को वाक्य ‘...अंग्रेजी या नेपालीमा नसोधेर किन रोमनमा सोधिएको’ भन्ने छ । यस्ता अरू पनि धेरै वाक्यहरू छन् । जहाँ नेपाली र अंग्रेजी सरह रोमनलाई पनि भाषाकै अर्थमा प्रयोग गरिएको छ । हुन त आम जनमानसमा ‘रोमनमा लेख्ने’ भने पछि नेपाली भाषालाई रोमन लिपि प्रयोग गरेर लेख्ने भन्ने बुझइ रहेको छ । तर शिक्षक जस्तो पत्रिकामा भाषा र लिपिलाई एउटै अर्थ आउने गरी लेख्दा पाठकमा भ्रम उत्पन्न हुन सक्दछ ।

भक्तबहादुर खड्का, वीरेन्द्रनगर–४, सुर्खेत



सत्य के हो ?

शिक्षक  मासिक माघ २०७६ को अङ्कमा वसन्त महर्जनद्वारा लिखित ‘काल्पनिक होइन इतिहासका कुरा’ शीर्षकको प्रथम अनुच्छेदको छैटौं हरफमा ‘ऐतिहासिक पात्र गौतम बुद्ध (इ.पू.५६३–४८३) का सन्बन्धमा आधिकारिक कुरा भनेका बौद्ध ग्रन्थहरू नै हुन्’ लेखिएको छ । यसमा (इ.पू. ५६३–४८३) के भन्न खोजेको हो ? बुझ्एिन, उल्टो जस्तो लाग्यो ।

साथै यसै अङ्कको डा.तीर्थबहादुर श्रेष्ठद्वारा लिखित नेपाल–अध्ययन अन्तर्गतको ‘ग्रेटाको गर्जना !!’ शीर्षकको पेज नं.५६ को तेस्रो अनुच्छेदको तेह्रौं हरफमा वातावरणीय प्रकोपको उदाहरणहरू दिने क्रममा ‘बारा जिल्ला तहसनहस गर्ने सन् २००९ मार्च आँधीबेहरी अप्रत्यासित घटना थिए’ भनेर लेखिएको छ । यसमा सन् २००९ मार्च हैन सन् २०१९ मार्च हुनुपर्ला जस्तो लाग्यो । सत्य के हो ?

धीरेन्द्र यादव, नेपाल राष्ट्रिय आभूवि, पिप्राढी–६, बारा

(टिप्पणीः सिद्धार्थ गौतमको जन्म र मरण सम्बन्धी मिति, इ.पू. ५६३–४८३ नै ठीक हो । बारा जिल्लामा आँधीबेहरी आएको सन् २०१९ मार्च नै हो । त्रुटि भएर सन् २००९ छापिन गएको हो । धन्यवाद ।
– सम्पादक



पोशाक र चश्माको सही प्रयोग गरौं !

विद्यालय वा शैक्षिक संस्था/शिक्षण अन्तर्गतका विभिन्न कार्यक्रम, टेलिभिजन लगायतका विभिन्न सञ्चारमाध्यममा प्रसारण हुने कार्यक्रममा प्रधानाध्यापक एवं शिक्षकहरू आफ्नो तोकिएको पोशाकमा नभई अन्य पोशाकमा सहभागी भएको देख्दा खल्लो लाग्ने गर्छ ।

नेपाल सरकारले पोशाकको लागि प्रत्येक वर्ष प्रत्येक शिक्षकलाई रु.१० हजार दिएको सर्वविदितै छ । त्यसकारण पोशाकको कदर गर्दै कार्यक्रममा भाग लिने गरौं । यस्तैगरी कतिपय महानुभावहरूले चश्मालाई आँखाको लागि प्रयोग नगरी निधार माथि टाउकोमा राखी कार्यक्रममा भाग लिएको पनि देखिन्छ । चश्मा केका लागि ? यदि देखाउन हो भने टाउकोमा राखेर ठूल्याइँ पार्नु पर्दैन; सबैले देखेकै छन् । आवश्यक नै हो भने यसलाई सही ठाउँमा प्रयोग गरौं । टाउको माथि राख्न अन्य वस्तु प्रयोग गरे पनि भैहाल्छ नि ! हामी शिक्षकबाटै पोशाक वा चश्माको प्रयोग सही हुँदैन भने अरूले कसले गर्ला ?

गोपीकृष्ण बस्याल, रविकिरण मावि, रम्भा–३, पीपलडाँडा, पाल्पा


कविता

डुबाउँछे सागरमा मलाई
चढाउँछे पर्वतमा मलाई
देखाउँछे सिर्जन मृत्तिकाको
चिनाउँछे व्योम कलै कलाको ।१ ।

आलस्यमा जाँगर—जोश भर्छे
निदाउँदा जाग न जाग भन्छे
पीयूष ल्याई रस दान गर्छे
रोगाउँदा रोग हटाइदिन्छे ।२ ।

म झोक्रिए माथ उठाइदिन्छे
म कक्रिए दर्द हटाइदिन्छे
ती फूल झैं हाँस न हाँस भन्छे
तारा बनी बाँच न बाँच भन्छे ।३ ।

अभावमा नूतन भाव दिन्छे
हटाउँदै कल्मष भित्र धुन्छे
समीरले झैं मन स्पर्श गर्छे
सन्तापमा शीतल काख लिन्छे ।४ ।  

रुवाउँछे क्यै करुणा जगाई
हँसाउँछे अन्तर कुत्कुत्याई
पियाइदिन्छे रस वीरताको
सेलाउनै दिन्न मभित्र तातो ।५ ।

नचाउँछे रङ्ग उमङ्ग छाई
कजाउँछे स्वप्न अनेक ल्याई
प्रकाश बोकी तम साथ लड्छे
ऊ नित्य मेरै मुटुभित्र बस्छे ।६ ।

अन्याय क्यै अक्षर यी सहन्नन्
असत्यमा अक्षर यी नुहुन्नन्
को गर्न सक्छन् यतिका भलाइ ?
प्यारी छ मेरै कविता मलाई ।७ ।

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा
हाल: सरस्वतीनगर, काठमाडौं

शिक्षक  मासिक, २०७६ चैत अंकमा प्रकाशित ।

commercial commercial commercial commercial