मस्तिष्कका दुई भाग

“चेतनाको अध्ययन गर्ने आधुनिकतम विज्ञानहरूका अनुसार मानव मस्तिष्कलाई दुई भागमा बाँडिएको हुन्छ– दायाँ भाग र बायाँ भाग । यी दुई भागको सम्बन्ध दुई भिन्दै विधाका सोचाइ, अनुभूति र ज्ञानसँग हुन्छ । बायाँ भाग दायाँतर्फका अङ्गहरूको सञ्चालनसित र विश्लेषणात्मक बुद्धि (analytical mind) सँग सम्बन्धित हुन्छ भने दायाँ भाग चाहिं देब्रेतिरका अङ्गहरूको सञ्चालन र रूपक लाक्षणिक बुद्धि (metaphorical mind) सँग सम्बन्धित हुन्छ । त्यसैले शाब्दिक चिन्तन (verbal thinking) युक्ति, तर्क, विवेक, विश्लेषण, गणितीय सोचाइ, रेखीय चिन्तन (linear thinking), शैली विज्ञान र सामान्यतया जेलाई वैज्ञानिक सोचाइ या विश्लेषण भनिन्छ, त्यस्ता कुराहरू सबै बायाँतिरको अर्धभागसित सम्बन्धित हुन्छन् ।

परन्तु त्यो त मस्तिष्कको आधा भाग मात्र हो र मानव क्षमताको पूरा भागको आधा मात्र हो । जो व्यक्ति केवल विश्लेषणात्मक या तथाकथित वैज्ञानिक प्रवृत्तिको/रेखीय हुन्छ ऊ केवल अर्धविकसित याने आधा पक्ष मात्र विकसित भएको हुन्छ । त्यस्तो प्रकारको विचार गर्ने/जान्ने/अनुभव गर्ने तरीका त मानवले व्यहोर्नुपर्ने बहुआयामिक वास्तविकतालाई बुझन सक्षम हुनको लागि विकास गरिएको एक कृत्रिम विधि हो । एकातिर वैज्ञानिक प्रविधिमा यस्तो विधाको चिन्तनले प्रकृतिलाई नियन्त्रण गर्ने कल्पनातीत साधनहरूको विकास गर्नमा अत्यन्तै सहयोग गरेको छ भने यसको सबै बहु–आयामिक वास्तविकतालाई जस्ताको तस्तै (यथाभूत) रूपमा अनुभव गर्ने साधनको रूपमा भने दयनीय हिसाबले नै असफल भएको छ । यो असफल भएको मात्र छैन, यसले त अति आधुनिक व्यक्तिहरूको दृष्टिलाई पनि यसरी बिगारेको छ कि उनीहरू वास्तविक जगत्लाई अनुभूति गर्नै असक्षम भइसकेका छन् । उनीहरूले अनुभूति गर्ने त वास्तविकता या वास्तविकता गतिशील जगत् (actual dynamic world) लाई शाब्दिक रेखीय चिन्तन (verbal linear thinking) को सहाराबाट निकालिएको कृत्रिम संरचना मात्र हो । यसलाई उनीहरूले वास्तविकता भन्ने ठान्छन् परन्तु यो त केवल कल्पित कृत्रिम संरचना भएको हुनाले यस्तो कल्पित (अवास्तविक = bstracted) जगत् या जागतिक अनुभूति त परिपूर्ति दिने खालको हुन सक्दैन । त्यही भएर आधुनिक रेखीय मानवले भित्रबाट सधैं खोक्रो र रित्तो महसूस गरिरहेको हुन्छ र साँच्चिको जगत्लाई (अझ वास्तविक जगत्को उसको कल्पित संरचनालाई) सधैं रित्तो, खोक्रो, शून्य, निरर्थक र अपरिपूर्ण पाउँछ । यदि यसैलाई उसले कुनै हदभन्दा माथि पुर्‍यायो भने त्यो अति आधुनिक मानवमा विभिन्न प्रकारका स्नायविक रोग प्रवृत्तिहरू (neurotic tendencies) को स्रोत समेत बन्न जान्छ ।

मस्तिष्कको दक्षिणी गोलाद्र्ध चाहिं बाँकी अर्को आधा पक्षसँग सम्बन्धित हुन्छ । यो तर्कमूलक या युक्तिमूलक हुँदैन परन्तु यो तर्कहीन या युक्तिहीन पनि हुँदैन । अति युक्तिमूलक (over rational) व्यक्तिहरू जो केवल जगत्बाट संरचना गरिएको तार्किक कल्पना (logical abstract constructed out of the world) लाई नै अनुभव गरिरहन अभ्यस्त भइराखेका हुन्छन्, तिनीहरू यसबाट त्रसित हुने गर्दछन् किनकि यो तर्कमूलक या युक्तिमूलक देखिंदैन । युक्तिमूलक, तर्कमूलक बुद्धि आफ्नै प्रविधिमा अल्झ्एिको हुन्छ, जुन प्रविधिले केवल दुइटा सम्भावनाहरूलाई मात्र स्थान दिन्छ– या त तर्कसम्मत युक्तिसम्मत या त तर्कहीन/युक्तिहीन । त्यसकारण जे जति कुरा तर्कसम्मत/युक्तिसम्मत या रेखीय संरचनामा मिल्ने हुँदैनन् तिनीहरू स्वतः नै उसका निमित्त तर्कहीन/युक्तिहीन हुन्छन्, त्यसैले गर्दा अन्धविश्वास/अवैज्ञानिक हुन पुग्छन् ।

परन्तु यहाँ तेस्रो विकल्प पनि छ जो न त युक्तिसम्मत/तर्कसम्मत हुन्छ न त युक्तिहीन/तर्कहीन । यो त पूर्णरूपमा भिन्दै खालको देखाइ, अनुभव गराइ, थाहा पाउने काम हो जससँग यी तथाकथित युक्तिवादीहरू (rationalists) अपरिचित मात्र छैनन् अपितु त्यस्तो सम्भावनाप्रति त्रसित पनि छन् । यस अर्थमा त्रसित छन् कि कठोर परिश्रमबाट प्राप्त गरिएको आफ्नो जगत्/जीवन/अनुभूति आदि प्रतिको तार्किक कृत्रिम संरचनालाई त्याग्नुपर्ला भन्ने डर उनीहरूमा छ । यद्यपि, उनीहरू स्वयंले नै त्यसमा रित्तो, खोक्रो र पूर्णता नदिने खालको स्वभाव महसूस गरिराखेकै हुन्छन् । परन्तु यो नयाँ मोडले उक्त कृत्रिम संरचनामा भएको कमीलाई पूर्ण गरिदिएको हुन्छ । यो काम त्यही रूपकलाक्षणिक बुद्धि (metaphoric mind) ले गर्दछ जुन मस्तिष्कको दायाँ गोलाद्र्धसँग सम्बन्धित हुन्छ । यही रूपकलाक्षणिक बुद्धिबाट नै मानवले जगत्को वास्तविकताको बहुआयामिक पक्षबाट परिपूर्णरूपले अनुभव गर्न सक्छ जुन यथाभूत (जस्ताको तस्तै) हुन्छ र केवल कल्पित संरचना
मात्र हुँदैन ।”

‘बोधिचर्यावतार’ पुस्तकको उपोद्घातबाट उद्धृत

शिक्षक  मासिक, २०७६ चैत अंकमा प्रकाशित ।

commercial commercial commercial commercial