क्रियापदमै लडखडाएका नेपाली व्याकरण

भाषाका स्वत्वरूपी तीन प्रमुख तत्व

अचानक मनमा प्रश्न उठ्यो– ‘छ’ क्रियापदको धातु के होला ? स्वयं त्रुटिहरूले ग्रस्त छ भन्ने जान्दाजान्दै पनि शब्दमा अलमल हुँदा प्रायः हामी सबैले पल्टाउने भनेको प्रज्ञाको ‘नेपाली बृहत् शब्दकोश’ नै हो । मैले पनि पल्टाएर हेरें, ‘छ’ का बारेमा लेखिएको रहेछ— संस्कृतको ‘अस्ति’ बाट बनेको एक अकर्मक क्रिया । अचम्म त ‘छ’ एउटा संख्या पनि हो भन्ने बारेमा कोशमा उल्लेखै रहेनछ । अपितु मेरो खोजी क्रियापदरूपी ‘छ’ का लागि थियो । कोशले चित्त नबुझेर, नेपाली व्याकरणका अनेक पुस्तक लेखेका र नेपाली भाषा विशेषज्ञ भनेर चिनिएका एकजना प्रसिद्ध गुरुकहाँ पुगेर सोधें, “नेपाल  सुन्दर छ वाक्यमा रहेको ‘छ’ क्रियापदको धातु के हो गुरु ?”

गुरुले ढुक्कसँग भन्नुभयो— “संस्कृतमा ‘अस्’ धातु छ । त्योबाट नेपालीमा दुइटा क्रियापद बनेका छन्— एउटा ‘छ’ र अर्को ‘हो’ । अस् ‘छ’ र ‘ह’ मा जाने व्याकरणिक व्यवस्था छ । जस्तो कि ‘षट्’ बाट ‘छ’ (अङ्क) बन्यो र ‘सप्त’ बाट ‘हप्ता’ बन्यो ।”

यसले पनि चित्त बुझेन र यही समस्या बोकेर अर्का गुरुकहाँ पुगें । उहाँ पनि संस्कृतको ‘भू’ धातुबाट नेपालीमा ‘हु’ धातु बनेको र त्यसैबाट ‘हो’ क्रियापदको निष्पादन भएको, तर ‘छ’ का बारेमा आफू अनभिज्ञ रहेको बताएर उम्किनुभयो ।

एउटा प्रश्नको जवाफ लिन हिंडेको मान्छे उल्टै अनेक प्रश्न बोकेर फर्किएँ— “नेपाली भाषा विशेषज्ञ भनेर चिनिएका गुरुहरूमै यति साना कुरामा पनि अलमल र विवाद छ भने बाँकी व्याकरणको हालत के होला ? के संस्कृतबाट अपभ्रंश बनेर सोझै भित्रिएका शब्दहरूलाई क्रियापद भन्न मिल्छ ?”


खा + यो = खायो, गा + यो = गायो त सजिलै देख्न पाइन्छ तर निदा, पठा, सघा जस्ता क्रियापदको निष्पादन कसरी भयो भन्ने बारेमा अहिलेसम्म कुनै पनि व्याकरणले चुइँक्क पनि बोलेको पाइन्न। त्यसैगरी छन्, छस्, छम् जस्ता क्रियापदहरू कसरी बनेका हुन् हाम्रा व्याकरणका पुस्तक हेरेर जान्न सकिंदैन ।

हरेक भाषामा उसका क्रियापद सो भाषाका मुटु हुन् । जुन भाषाको मुटु हो, जो मूल जरो हो, जो सबैभन्दा बढ्ता व्यवस्थित हुनुपर्छ, त्यसमै गुरुहरू अलमलमा हुनु नै नेपाली भाषाको दुर्भाग्य हो ।

जुनसुकै भाषाका पनि मुख्यतया तीनवटा कुरा आफ्नै हुन्छन्— १. सर्वनाम २. विभक्ति र ३. क्रियापद ।

भाषाको स्वत्व भनेकै यी तीन हुन् । उदाहरणका लागि तलको वाक्य हेरौं—
उसले कलेज कै क्यान्टिन मा चाउमिन खान्छ ।

यो वाक्य पढ्दा, बोल्दा या सुन्दा हामीलाई अंग्रेजी वा चाइनिज जस्तो पटक्कै लाग्दैन । वाक्यमा भएका ‘कलेज’ र ‘क्यान्टिन’ अंग्रेजीबाट र ‘चाउमिन’ चाइनिजबाट हामीकहाँ भित्रिएका शब्द हुन् । यो वाक्यलाई नेपाली बनाउने काम वाक्यमा प्रयुक्त सर्वनाम, विभक्ति र क्रियापदले गरेका छन् ।

माथिको वाक्यमा ‘उसले’ शब्द सर्वनाम– ‘उस’ र विभक्ति– ‘ले’ को संयोजनबाट बनेको हो, ‘कै’ र ‘मा’ विभक्ति हुन् र ‘खान्छ’ क्रियापद हो ।

भाषाका यी तीन प्रमुख तत्वमध्ये सर्वनाम र विभक्तिको संख्या सानो छ, एक–डेढ सयको वरिपरि । यिनको स्वरुप, हिज्जे र व्युत्पादन प्रक्रियाका बारेमा खासै अलमल र विवाद छैन । भए पनि यी थोरै भएकाले आपसमा छलफल गरेर यिनको उपयुक्त व्यवस्थापन हुन कत्ति पनि गाह्रो हुँदैन । तर क्रियापदको संख्या धेरै ठूलो छ । अकल्पनीय ठूलो । जुन धातुबाट क्रियापद बन्छन् तिनै धातुबाट कृदन्त शब्द पनि बन्छन् । नेपाली भाषामा धातुजन्य शब्दहरूको संख्या २५ लाखको हाराहारीमा छ । मेरो एउटा अध्ययनले क्रियापद १७ लाख र कृदन्त ८ लाखको वरिपरि भएको पुष्टि गरेको छ । त्यसैले क्रियापदको वैज्ञानिक व्यवस्थापन हुनु अत्यन्त जरूरी छ ।

व्याकरणमा क्रियापदको अवस्था
गुरुहरू स्वयं अलमलिएका कारण नेपाली व्याकरणहरू पनि क्रियापदका विषयमा नराम्रोसित लडखडाएका छन् । कतै केही भनिएको छ र कतै केही । यिनको जति राम्रो व्यवस्थापन हुन्छ उति नै नेपाली भाषा बलियो र सहज हुने हो । फेरि नेपाली भाषाको सौन्दर्य भनेकै क्रियापदमा लुकेको छ । क्रियापदको यति ठूलो संख्या न त अंग्रेजीमा छ न हिन्दीमा । हाम्रा गुरुहरू त्यो शब्दको सागरमा छिर्नुभएकै छैन । किनारमै बसेर कहाँ कति गहिरो छ र कहाँ कति माछा छन् बताउने कोशिशमा देखिनुहुन्छ । क्रियापदका बारेमा आजसम्मका व्याकरणहरू अधूरा मात्रै छैनन् त्रुटियुक्त पनि छन् ।

हाम्रा व्याकरणहरू निम्न कुरामा स्पष्ट हुनु जरूरी थियो—
१. धातु भनेका यी हुन् । यिनको निर्माण यसरी हुन्छ र यिनको हिज्जे यस्तो हुन्छ ।
२. प्रत्यय भनेका यी हुन् । हामीसँग यति प्रकारका प्रत्ययहरू छन् । तिनको स्वभाव र हिज्जे यस्तो छ ।
३. धातु र प्रत्ययको मिलनबाट शब्दहरूको व्युत्पादन हुँदा यी यी नियमहरू प्रभावी हुन्छन् । यसो हुँदा यसो हुन्छ र यसो भएमा यस्तो हुन्छ ।
तर दुःखको कुरा नेपाली भाषाका लागि लेखिएका व्याकरणहरू माथिका तीनैवटा विषयमा स्पष्ट छैनन् ।

अहिलेसम्म प्रकाशित व्याकरणहरूको अवस्था हेर्दा यस्तो लाग्छ, व्याकरणका मामिलामा हामी शैशवकालमै छौं । केही व्याकरणकारहरूले व्याकरणको रचना गर्दा मिहिनेत गरेको नदेखिने होइन तर तिनमा पनि क्रियापदका बारेमा ठूलो अलमल कायमै देखिन्छ । बहुसंख्यक व्याकरणहरू त तिनै केही व्याकरणका कपी–पेष्ट मात्रै हुन् । अर्को दुःखको कुरा— उल्लेखनीय रहेका ती केही व्याकरणमा पनि कतिपयमा संस्कृत व्याकरणको बढ्ता प्रभाव परेको र कतिपयमा अंग्रेजी व्याकरण हावी भएको देखिन्छ । वास्तवमा भन्ने हो भने नेपाली भाषाकै जगमा उभिएको नेपाली भाषाको मानक व्याकरण बनेकै छैन । अझ क्रियापदका मामिलामा त व्याकरणहरू या त पूरै निरपेक्ष छन् या त्रुटियुक्त छन् । यहाँ केही प्रमुख व्याकरणहरूको चर्चा गरेको छु—

पं. हेमराज गुरु विरचित नेपाली भाषाको पहिलो (प्रथम पटक प्रकाशित वि.सं.१९६९), राणा सरकारबाट लालमोहर लागेको, पूर्ण र बृहत् व्याकरणका रूपमा चिनिने ४९८ पृष्ठको चन्द्रिका व्याकरण (सा.प्र.२०४४) मा ठाउँ–ठाउँमा गरी २४५ पृष्ठ क्रियापद तथा कृदन्त शब्दका लागि खर्च गरिएको छ । तर कतै पनि कृत् प्रत्यय तथा तिङ् प्रत्ययको उल्लेख भेटिंदैन । तिङ् प्रत्ययलाई प्रत्यय मात्रैले र कृत् प्रत्ययलाई विशेष प्रत्ययले बुझाउन खोजेको देखिन्छ— जा, खा, बस्, भन् इत्यादि धातुबाट छ, छौं आदि प्रत्यय हुँदा जान्छ, जान्छौं इत्यादि क्रियापद बने झैं तिनै धातुबाट नु, आइ, ने, एको, न, ई इत्यादि विशेष प्रत्यय भई जानु, खानु, जाने, गएको इत्यादि शब्दहरू बन्दछन् (सा.प्र.२०४४, पृष्ठ २४५) । यसमा कतिपय क्रियाहरू अशुद्ध लेखिएका छन् भने क्रियापदको व्युत्पादन प्रक्रियालाई खुलस्त पार्न पनि सकिएको छैन । निश्चित आधार फेला पार्न नसकेकाले नासिका ध्वनिको अलमल समेत चन्द्रिकामा देख्न पाइन्छ । त्यहाँ गराउनु, गाउनु, सिकाउनु आदि लेखेर अन्त्यमा उ भएका धातुहरूको परिकल्पना गरिएको छ । जबकि नेपाली भाषामा अनुनासिक ध्वनिमा टुङ्गिएका धातुहरू नै छैनन् । अझै  महत्वपूर्ण कुरा त के भने नेपाली भाषामा ए, ऐ, ओ, औमा टुङ्गिएका धातुहरू पनि छैनन् । यी कुराको खोजी कसैले गरेको देखिंदैन ।

चन्द्रिका व्याकरणमा हेमराज गुरुले भन्न बिर्सेको कुरा उहाँकै चेला सोमनाथ सिग्द्यालले आफ्नो मध्यचन्द्रिका मा भन्नुभएको छ— धातुबाट छु, छौं, एँ, यौं आदि तिङ् प्रत्यय भई कुरा पूरा गर्ने तिङन्त शब्दलाई क्रियापद भन्दछन् (मध्यचन्द्रिका, सा.प्र.२०५५, पृष्ठ ६५) । तर यसमा पनि अन्य सम्पूर्ण व्याकरणमा झैं धातु व्युत्पादन प्रत्ययका बारेमा कुनै उल्लेख पाइँदैन र सँगसँगै छ, छन्, छस् जस्ता क्रियापदहरू कसरी बनेका हुन् भन्ने बारेमा पनि मौनता साधिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आधिकारिक मान्यता दिएर २०३३ सालमा निकालेको रोहिणीप्रसाद भट्टराईकृत बृहत् नेपाली व्याकरणमा– धातुमा जोडिने प्रत्ययहरू दुई किसिमका हुन्छन्ः (क) कृत्, (ख) आख्यात (पृष्ठ १७९) भनी तिङ्लाई आख्यात्ले प्रतिस्थापन गर्न खोजिएको देखिन्छ ।

व्याकरणकार तथा कोशकारका रूपमा चर्चित प्रा.डा. हेमाङ्गराज अधिकारी भन्नुहुन्छ— क्रियाहरू अव्युत्पन्न र व्युत्पन्न दुवै किसिमका हुन्छन् (समसामयिक नेपाली व्याकरण, पृष्ठ ७७) । अनि अव्युत्पन्न क्रियाहरूको लामै फेहरिस्त पनि पेश गर्नुहुन्छ— उठ्नु, उड्नु, कुद्नु, खानु, खेल्नु, जानु, टोक्नु, ठोक्नु, थाप्नु, दुहुनु आदि । भनेपछि उहाँका अनुसार उठ् उड्, कुद्, खा, खेल्, जा आदि धातुहरूको व्यवस्था गलत रहेछ । वास्तवमा नेपाली भाषामा मात्रै होइन संस्कृतमा पनि अव्युत्पन्न क्रियाहरू छैनन् र हुँदैनन् । अधिकारीले क्रियापदका विषयमा प्रवेश गराएको यो अलमल अन्य वैयाकरणले पनि पछ्याएका छन् ।

उता मोहनराज शर्मा प्रमुख रहेर महादेव अवस्थी तथा देवीप्रसाद गौतम समेतको सहभागितामा नेप्रप्रबाट २०७१ मा प्रकाशित प्रज्ञा नेपाली सन्दर्भ व्याकरण मा क्रियापदका सन्दर्भमा कतै पनि तिङ् प्रत्ययको उल्लेख भेटिन्न । तिङ् शब्दलाई रूपायक प्रत्ययले प्रतिस्थापन गरिएको छ— ‘समापिका क्रियाको रचना धातुमा रूपायक प्रत्यय जोडेर गरिन्छ’ (प्र.ने.स.व्या. पृष्ठ १३९) । यसले क्रियापदको संरचनामा अर्को अलमल भित्रयाउ काम गर्‍यो । कसैले प्रत्यय मात्र, कसैले तिङ् प्रत्यय, कसैले आख्यात प्रत्यय र कसैले रूपायक प्रत्यय । एउटै तिङ् प्रत्ययका यति धेरै नाम, व्याकरणै पिच्छे अलग ।

वास्तवमा सबै प्रत्ययहरू रूपायक हुन्– चाहे कृत् होस्, चाहे तिङ् होस् या चाहे तद्धित् होस् । किनकि प्रत्ययहरू आधार पदमा जोडिए पछि शब्दको रूप फेरिन्छ, रूपायन हुन्छ । धात्वान्तमा रहेको स्वरको संख्याका आधारमा धातुलाई वर्गीकरण गर्ने जुन पद्धति यस व्याकरणमा अपनाइएको छ र जसलाई अन्य व्याकरणहरूले पनि पछ्याएका छन्, त्यो पनि त्रुटियुक्त छ । यस पद्धतिमा धातुलाई तीन प्रकारमा बाँड्ने गरिएको छ– अस्वरान्त, एकस्वरान्त र द्विस्वरान्त । अन्त्यमा कुनै स्वर नभएका धातुलाई ‘हलन्त’ नभनेर अस्वरान्त भनिएको छ । एक त चलिआएको परम्परालाई बिथोलिएको छ भने यसले ‘अ’ स्वर मा अन्त भएका धातु चिम्ल, दौड, पर्ख आदिलाई पो भन्न खोजेको हो कि भन्ने भ्रम समेत उत्पन्न गर्छ । द्विस्वरान्त अर्थात् अन्त्यमा दुई स्वर भएका भनेर देखाइएका अँठ्याइ, पठाउ, बताउ, सघाउ आदि धातुहरू कसरी द्विस्वरान्त भए त्यो पनि खुल्दैन । सँगसँगै यही वर्गीकरणका आधारमा धातु प्रत्यय मिलनलाई व्यवस्थित गर्न पनि सकिएको देखिंदैन ।

प्रा.डा.तारानाथ शर्माले सजिलो नेपाली (नेप्रप्र २०५२) मा क्रिया शब्दलाई क्रियापदको पर्यायवाची शब्दका रूपमा उभ्याउनुभएको छ (पृष्ठ ५६) । जबकि सबै क्रियापद क्रिया हुन् तर सबै क्रिया क्रियापद होइनन् ।

केवल क्रियाका बारेमा लेखिएको चक्रपाणि खनालकृत नेपाली क्रियाका अर्थतातात्विक र वाक्यतात्विक आयामहरू मा पनि क्रियाका बारेमा उस्तै ढुलमुले चिन्तन देखिन्छ । हेमाङ्गराज अधिकारीले भने झैं नै त्यहाँ पनि क्रियाको वर्गीकरण गर्दै पहिलो पृष्ठमै– ‘कुनै क्रिया व्युत्पादन नगरिएका पनि हुन्छन्, यिनलाई मुख्य क्रिया भनिन्छ’ भन्दै क्रियाहरूलाई अव्युत्पन्न र व्युत्पन्न दुई प्रकारका हुने बताइएको छ । अझ अगाडि भनिएको छ– मुख्य क्रिया (मुक्रि) को कोशीय अर्थ नै क्रियापद हो । जुन गलत हो । वास्तवमा मुक्रिको कोशीय अर्थ क्रियापद होइन, संज्ञा हो ।

अलिक चित्तबुझदो व्याख्या प्रा.डा.माधवप्रसाद पोखरेलले दिनुभएको देखिन्छ । उहाँले चूडामणि बन्धु सम्पादक रहेको र नेप्रप्रद्वारा प्रकाशित ‘नेपाली व्याकरणका केही पक्ष (२०४५)’ को पृष्ठ ५२ मा ‘धातु र कृत् प्रत्यय मिलेर असमापिका क्रिया बन्छ र धातु तथा तिङ् प्रत्यय मिलेर समापिका क्रिया बन्छ’ भनेर कृत् र तिङ्को समुचित व्यवस्थासँगै तिनको संयोजनबाट बन्ने क्रिया तथा क्रियापदका बारेमा केही प्रष्ट्याउने प्रयास गर्नुभएको छ ।

उता प्रा. ईश्वरकुमार श्रेष्ठले आफ्नो पुस्तक नेपाली व्याकरणः केही पक्षहरूको सरलीकृत चर्चा (साप्र २०५९) मा कृत् तथा तिङ् प्रत्ययको उल्लेख गरेर थोरै अगाडि बढ्नुभएको देखिन्छ तापनि पुस्तकमा क्रियापदको व्युत्पादनका बारेमा स्पष्ट विवेचना भेटिंदैन ।

वास्तवमा व्याकरणको काम जटिल अवस्थालाई सरलीकृत गर्ने हो, अरू जटिल पार्ने होइन । एउटै प्रत्ययलाई पनि अलग अलग व्याकरणमा अलग अलग नामले चिनाउँदा पाठकलाई बुझनै दुसाध्य हुन्छ । व्याकरणमा शब्दहरूको चयन गर्दा यो शब्द यसको पर्यायवाची हो, त्यसैले यो राखे पनि हुन्छ भन्न पाइँदैन । यदि त्रुटि छैन भने सकेसम्म उसैको प्रयोग गर्नुपर्छ । फेरि कसैले क्रियालाई अव्युत्पन्न क्रिया र व्युत्पन्न क्रिया गरी दुई प्रकारका हुन्छन् भनेर कहीं कतै नभएको विवेचना गरिदिनाले उठ्नै नपर्ने संशय पाठकमा उठिरहेको छ ।

क्रियापदका मामिलामा व्याकरणमा भएको अन्योलको अर्को विषय हो, अधुरोपन । क्रियाका लागि अलग्गै अध्याय त छुट्याइएको हुन्छ तर क्रिया र क्रियापदका बारेमा पूरै जानकारी दिइएको हुँदैन । जति दिइएको हुन्छ त्यसमा पनि त्रुटि नै बढ्ता हुन्छ । खा + यो = खायो, गा + यो = गायो त सजिलै देख्न पाइन्छ तर निदा, पठा, सघा जस्ता क्रियापदको निष्पादन कसरी भयो भन्ने बारेमा अहिलेसम्म कुनै पनि व्याकरणले चुइँक्क पनि बोलेको पाइन्न । त्यसैगरी छन्, छस्, छम् जस्ता क्रियापदहरू कसरी बनेका हुन् हाम्रा व्याकरणका पुस्तक हेरेर जान्न सकिंदैन । नेपाली भाषाको सुन्दर भविष्यका लागि क्रियापदका बारेमा लेखिएको सरल, व्यावहारिक र वैज्ञानिक व्याकरण अपरिहार्य छ ।

क्रियापदको सरलतम परिभाषा
क्रियापदलाई सरल तरीकाले परिभाषित गर्न सकिन्छ । शुरूमा उल्लेख गरिएको ‘छ’ शब्द स्वयं धातु पनि हो र क्रियापद पनि हो । हामीले धातु हो कि होइन भनेर जाँच्दा ‘नु’ जोडेर हेर्ने गर्छौं । तर ‘छ’ मा ‘नु’ जोड्दा कुनै अर्थ नभएको ‘छनु’ बन्ने हुँदा हाम्रा गुरुहरूसँगै हामी पनि यो धातु होइन कि भन्ने अलमलमा परेका हौं । धातु हो कि होइन भनेर जाँच्ने अर्को वैज्ञानिक विधि हो– ‘न’ जोडेर हेर्ने । ‘न’ सबै धातुमा जोड्न मिल्छ– खा+न=खान, जा+न=जान, गर्+न=गर्न । यसरी नै छ+न=छन हुन्छ । हामीले शब्दका रूपमा ‘छन’ को प्रयोग गरिरहेका छौं । जस्तो कि: छन त कलम छ तर लेख्दैन । (तुलनीय– हुन त हो तर मान्दैनन् ।)
अझै ढुक्क हुन धातुरूपी ‘छ’ बाट बनेका अरू पनि अनेक शब्द हेर्न सक्छौं । जस्तो कि रु+दा/दै= रुँदा/रुँदै भए जस्तै छ+दा/दै=छँदा/छँदै हुन्छ ।

धातुरूपी ‘छ’ बाट क्रियापद रूपी ‘छ’ बन्ने प्रक्रिया पनि हेरौं– छ+अ= छ्(अ)+अ= छ । ‘छ’ ले ‘अ’ सँग जोडिंदा शुरूमा आफूसँग रहेको ‘अ’ स्वरलाई फाल्छ र प्रत्ययका रूपमा जोडिन आएको ‘अ’ सँग टाँसिन्छ । मेरो एउटा अध्ययनले पत्ता लागे अनुसार ‘अ–उ’ स्वरमा टुङ्गिने सबै धातुहरूले स्वरबाट शुरू हुने प्रत्ययसँग जोडिंदा यही नियम पालना गरेका हुन्छन् । जस्तो किट्ठ:

सम्झ+अ=सम्झ(अ)+अ= सम्झ, दौड+एर=दौड्(अ)+एर= दौडेर, चुहु+एस्=चुह्(उ)+एस्= चुहेस्... ।
तर अहिलेसम्मका व्याकरणमा भनिए जस्तो स्वरमा टुङ्गिने सबै धातुले अन्त्यको स्वर त्याग्ने गर्दैनन् । जस्तो कि: खा+एर= खाएर, घोरि+इन्= घोरिइन्, दौडि+ए= दौडिए... ।

यो अकाट्य नियम हो– धातु विना क्रिया बन्दैनन् । धातुहरू दुई प्रकारका छन्– मूल धातु र व्युत्पन्न धातु । व्युत्पन्न धातु बनाउनका लागि पाँचवटा धातु व्युत्पादन प्रत्ययहरू छन्– अ, आ, आउ, आल् र इ । दुवै धातुहरू दुई दुई प्रकारका छन् । यी चारै प्रकारका धातुहरू कृत् प्रत्ययसँग जोडिएर कृदन्त शब्द बनाउँछन् भने तिङ प्रत्ययसँग जोडिएर तिङन्त शब्द बनाउँछन् । क्रिया= कृदन्त+तिङन्त । तिङन्तको अर्को नाम नै क्रियापद हो । कृदन्तलाई असमापिका क्रिया र तिङन्तलाई समापिका क्रिया भन्ने चलन पनि छ ।



 

commercial commercial commercial commercial