बालबालिकामा स्नायु विकासका समस्या समयमै ठम्याउन चुनौती

उमेर अनुसारको चाल, बोली, व्यवहार, दृष्टि र श्रवण शत्तिाm नहुनु स्नायु विकाससँग सम्बन्धित समस्या हुन्। बाह्य कारण मात्र नभई, वंशाणु, कुपोषण, असुरक्षित प्रसव जस्ता कारणले पनि यस्ता समस्या हुनसक्छन् ।

स्नायु विकाससँग सम्बन्धित एउटा समस्या— ‘अटिजम’ को शङ्का गरिएका करीब तीन वर्षका बालकलाई लिएर एक युवा दम्पती क्यानडाबाट नेपाल आए । उनीहरू कान्ति बाल अस्पतालकी न्यूरो विशेषज्ञ डा. बीना प्रजापतिसँग परामर्श लिन पुगे । डा.प्रजापतिका अनुसार ती बालकमा ‘अटिजम’ सँग मिल्दोजुल्दो लक्षण थियो । उनी आँखा जुधाउने (eye contact) र दोहोरो कुराकानी गर्दैनथे । बोलाउँदा ध्यान दिंदैनथे । आफ्नै धुनमा रमाउँथे । उनको बोली पनि उमेर अनुसारको थिएन ।

बुझदै जाँदा थाहा भयो— आमाबाबुको व्यस्तताका कारण ती बालक प्रायः ट्याबलेट र मोबाइलसँग हुन्थे । डा.प्रजापतिको निष्कर्ष थियो— मानवीय अन्तरक्रिया नहुँदा ती बालकको अवस्था त्यस्तो भएको हो ।

उनले ती बालकलाई संयुक्त परिवारमा राख्न आमाबुवालाई सल्लाह दिइन् । यसबाहेक केटाकेटीसँग घुलमिल गराउन मन्टेसरीमा राख्न पनि सुझाव दिइन् । डाक्टरले भने अनुरूप गरिएको ६ महीनापछि ती बालकमा सुधार आउन थाल्यो । बाहिरी वातावरण अर्थात् मोबाइल ट्याबलेटका कारण कसरी बालबालिकामा समस्या निम्तिन सक्छ भन्ने यो एउटा उदाहरण हो भन्छिन्, डा.प्रजापति ।

बाह्य कारण मात्र होइन, वंशाणु, आमाको पेटमा हुँदादेखिको कुपोषण, अस्पतालमा सुरक्षित जन्म नहुनु जस्ता कारणले पनि स्नायु विकाससँग सम्बन्धित समस्या बालबालिकामा हुनसक्छन् । उमेर अनुसारको चाल, बोली, व्यवहार, दृष्टि र श्रवण शक्ति नहुनु स्नायु विकाससँग सम्बन्धित समस्या हुन् । ज्वरो आउँदा शरीर तातो भएको सबैले थाहा पाउन सक्छन्, तर स्नायु विकाससँग सम्बन्धित कुनै समस्या अभिभावक वा शिक्षकलाई स्वाभाविक लाग्न सक्छ । जस्तो; कुनै क्रियाकलाप गरिरहँदा कुनै बालबालिका केही सेकेन्ड ट्वाल्ल पर्छन् । समूहमा अरू बालबालिकासँग नाचिरहँदा कोही एकछिन अल्मलिन्छन् । यस्तो हुनु एक प्रकारको छारेरोगको सङ्केत हो भन्छिन्, डा.प्रजापति ।

डा.प्रजापतिका अनुसार केटाकेटीमा स्नायु विकाससँग सम्बन्धित अर्को समस्या ‘माइल्ड अटिजम’ हो । यो समस्या भएका बालबालिकाको बोली अरूभन्दा ढिलो शुरू हुन्छ । उनीहरू समूहमा बस्न मन नपराउने खालका हुन्छन् । एक्लै खेल्न मन पराउने, बोलाउँदा ध्यान नदिने; वास्ता नगर्ने स्वभाव हुन्छ । अरूलाई चिमोट्ने पनि गर्छन् ।

कान्ति बाल अस्पतालको बहिरङ्ग सेवामा दैनिक २०० जना जति बालबालिका ल्याइन्छन् । यीमध्ये १० प्रतिशतमा स्नायु विकाससँग सम्बन्धित समस्या हुन्छन् । डा.बीना भन्छिन्, “यीमध्ये दुई तिहाइमा सेरेबल पाल्सी हुन्छ । कमजोर मांसपेशी र मांसपेशीमा हुने कडापनका कारण यो समस्या भएका बालबालिका राम्ररी हिंड्न, बोल्न नसक्ने हुन्छन् ।”

रातो बंगला फाउन्डेसनले ७ वर्ष उमेर सम्मका बालबालिकाको स्नायु विकास सम्बन्धमा गरेको एक अध्ययनमा ८८ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको कमजोरी वा दुर्बलता पाइएको छ । स्नायु विकासका ८ क्षेत्र ठूला मांसपेशी, सूक्ष्म मांसपेशी, दृष्टि, श्रवणशक्ति, बोली, बौद्धिकता, व्यवहार र छोप्ने व्यथामा आधारित यो अध्ययन ललितपुर महानगरपालिकाका विभिन्न बाल हेरचाह केन्द्रका १३६ जना बालबालिकामा गरिएको थियो । उनीहरूमा उमेर अनुसार हिंड्ने, दौडने, वस्तुहरू समात्ने, बल फ्याँक्ने, बिर्को खोल्ने, लगाउने जस्ता मांसपेशीसँग सम्बन्धित सीप, सहकार्य सम्बन्धी सीप, दृष्टि सम्बन्धी सीप लगायत अन्य सीपको अवस्था हेरिएको थियो ।

अध्ययन गरिएका मध्ये १६ जना बालबालिका मात्र उमेर अनुसार आठै क्षेत्रमा ठीक भेटिएका थिए । बाँकी ११८ जनामा कुनै न कुनै एक कमजोरी पाइएको थियो । तीमध्ये ३० जना बालबालिका एक क्षेत्रमा र २९ जना बालबालिका दुई क्षेत्रमा कमजोर थिए । बाँकी ६१ जना बालबालिकामा दुई भन्दा बढी कमजोरी थिए । दुईदेखि तीन वर्षका बालबालिका सबभन्दा बढी सीपमा कमजोर रहेको पाइयो ।

बालबालिकाको स्नायु विकास हुने अधिकतम समय शुरूको तीन वर्षसम्मलाई मानिन्छ । यस अवधिमा ८० प्रतिशत र पाँच वर्षसम्ममा ९० प्रतिशत मस्तिष्क विकास हुन्छ । बालबालिकाको जीवनमा ‘सुनौलो हजार दिन’ भन्नुको आशय पनि यही हो र यसलाई विशेष महत्व दिने गरिएको हो । १६ वर्षसम्मका बालबालिकामा केही समस्या पाइए पनि दुईदेखि पाँच वर्षका बालबालिकालाई विशेष ध्यान दिनुपर्ने डा.बीनाको सुझाव छ ।

समस्या पहिचानमा शिक्षकको भूमिका
प्रारम्भिक उमेरका धेरै केटाकेटी ईसीडी वा प्रि–स्कूलमा हुन्छन् । साना केटाकेटीले आफ्ना समस्या राम्ररी व्यक्त गर्न सक्दैनन् । यसबाहेक; कुन कुरा स्नायु विकाससँग सम्बन्धित समस्या हो र कुन होइन भनेर छुट्याउन अभिभावक वा शिक्षकलाई त्यस सम्बन्धी ज्ञान पनि पर्याप्त हुँदैन । परिणामतः स्नायु विकाससँग सम्बन्धित समस्या ढिलो पहिचान हुने गर्छ । यसले गर्दा शारीरिक र बौद्धिक अपाङ्गता हुन्छ ।

दाहिने आँखाको समस्या लिएर एक युवक केही समयअघि तिलगंगा आँखा अस्पताल पुगे । त्यो आँखाबाट उनी स्पष्ट देख्न सक्दैनथे । तर उपचारका लागि निकै ढिलो भइसकेको अस्पताल पुगेपछि मात्र उनलाई थाहा भयो । कक्षा–१ मा हुँदादेखि नै आँखामा के भएको होला जस्तो लाग्थ्यो उनलाई । उनको समस्याबारे न त उनका अभिभावकले थाहा पाए न त शिक्षकले ।

यसरी नै कुनै बच्चा ढिलो बोल्यो वा ढिलो हिंड्यो भने, ‘कोही बच्चा यस्तै हुन्छन्’ भन्ने गरिन्छ । धेरैलाई त्यो सामान्य लाग्छ । तर केटाकेटीहरू जब विद्यालयमा धेरै विद्यार्थीमाझ हुन्छन् त्यहाँ शिक्षक अलिकति चनाखो हुने हो भने समस्या पहिचान गर्न सजिलो हुन्छ । डा.बीना भन्छिन्, “उनीहरूले राम्ररी अक्षर देख्न सकिरहेका छन् कि छैनन्, निर्देशन दिएको कुरा बुझेर सुनेका छन् कि छैनन् वा खेल्दा, कुनै सामान समात्दा, दौडिंदा हिंड्दा कुनै समस्या छ कि, एउटा हात वा खुट्टा मात्र बढी चलाइरहेको छ कि भन्ने जस्ता कुरामा शिक्षकले ध्यान दिन सक्दा समस्या पहिचान गर्न सकिन्छ ।”

स्नायु विकाससँग सम्बन्धित समस्या भएका बालबालिकालाई कतिपय अभिभावकले घरमा अनि कतिपय साथी तथा शिक्षकले विद्यालयमा अनेक नाम दिएर बोलाउने गर्छन् । तर यस्तो गर्नु गल्ती हो । यस्ता केटाकेटीलाई त घर र विद्यालयमा थप मायालु वातावरण दिनु आवश्यक हुन्छ ।

यस्तै पढाउँदाखेरि कण्ठ गराउने शैलीलाई मात्र ध्यान नदिएर इन्द्रिय परिचालनमा जोड दिंदै केटाकेटीलाई विभिन्न क्रियाकलाप गराउन पनि डा.प्रजापतिको सुझव छ । यस्ता क्रियाकलाप गराउँदा शिक्षकले ध्यान दिए भने समस्या पहिचान गर्न सकिन्छ । त्यस्तै ‘बी’ लाई ‘डी’ वा ‘डी’ लाई ‘बी’ लेख्ने केटाकेटीमा पनि कुनै समस्या हुनसक्छ भन्नेमा शिक्षकले ध्यान दिनु जरूरी छ । यसको पछाडि कुनै मनोवैज्ञानिक अथवा श्रवण शक्तिमा पनि समस्या हुनसक्छ ।

यसरी शिक्षकले चासो देखाउँदा उनीहरूले यही समस्या हो भनेर पहिचान गर्न नसके पनि बालबालिकालाई केही न केही समस्या छ भनेर थाहा पाउँछन् । डाक्टरकहाँ लैजान अभिभावकलाई सल्लाह दिन्छन् । डा.प्रजापति भन्छिन्, “शिक्षकका कारण नै यस्ता धेरै केस अस्पताल आइपुग्ने गर्छन् । स्नायु विकार सम्बन्धी समस्या जति छिटो पहिचान हुनसक्यो उति सुधारको सम्भावना बढी हुन्छ । समयमै ध्यान दिन सकिएन भने चाहिं शारीरिक र बौद्धिक अपाङ्गता पनि हुनसक्छ ।”

शिक्षक  मासिक, २०७६ फागुन अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial