रोमनमा सोधिएका प्रश्नलाई कामनपाको मान्यता !

माध्यमिक तहको अंग्रेजी शिक्षक (राहत) छनोटका लागि रोमनमा प्रश्न सोधेर लिइएको परीक्षालाई काठमाडौं महानगरपालिका शिक्षा विभागले मान्यता दिएको छ । ‘हामीले यस सम्बन्धमा विज्ञलाई छानबिन गरी प्रतिवेदन तयार गर्न लगायौं । प्रतिवेदन अनुसार वस्तुगत प्रश्न रोमनमा भएकै कारणले परीक्षार्थीलाई कुनै असर नपरेको र कसैलाई फाइदा वा बेफाइदा गर्ने नियतले रोमनमा प्रश्न सोधिएको पाइएन । प्रश्न बुझन कठिनाइ भएका परीक्षार्थीलाई स्पष्ट पारिएको, परीक्षार्थीले आपत्ति नजनाएको र परीक्षा शान्तिपूर्ण भएको पाइयो । परीक्षा निष्पक्ष भएको पाइएकोले हामीले मान्यता दिने निर्णय गर्‍यौं’ कामनपा, शिक्षा विभागका शाखा अधिकृत मोतिप्रसाद भट्टराईले भने ।

वस्तुगत प्रश्न कि नेपाली कि अंग्रेजीमा सोध्नुपर्ने व्यवस्था हुँदाहुँदै कसरी जाँचबुझ् प्रतिवेदन अनुसार रोमनमा सोधिएको प्रश्नलाई मान्यता दिइयो भनेर सोध्दा शाखा अधिकृत भट्टराई भन्छन्, “गुगल सर्च गर्दा नमूना प्रश्नपत्र बारे झुक्किएकोले विषय विज्ञ डा.शर्मिला पोख्रेलबाट त्रुटि भएको पाइयो । उहाँले आफ्नो गल्ती पनि स्वीकारिसक्नुभएको छ । उहाँले पूर्वाग्रह राखेर रोमनमा प्रश्न सोधेको नपाइएकोले २०७६ पुस १८ गतेको सो परीक्षा सदर गरिएको हो ।”

मंगलादेवी मावि, गौशाला काठमाडौंका लागि १८ पुसमा भएको शिक्षक छनोट परीक्षामा वस्तुगत प्रश्न रोमनमा सोधिएको बारे शिक्षक मासिकले समाचार बाहिर ल्याएपछि विभागले यस सम्बन्धमा जाँचबुझ गरेको थियो । शाखा अधिकृत भट्टराईका अनुसार यसका लागि एक वरिष्ठ मावि शिक्षकलाई विज्ञका रूपमा जिम्मेवारी दिइएको थियो । उनले विज्ञको नाम बताउन र छानबिनको प्रतिवेदन दिन भने नमिल्ने बताए ।

तर जाँचबुझका बारेमा आफूलाई थाहा नभएको बताउँछन् मंगलादेवी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयन्त सुब्बा । विव्यस अध्यक्ष शिक्षक छनोट समितिको संयोजक हुने व्यवस्था छ । अध्यक्ष सुब्बा भन्छन्, “हामीले विज्ञापन मात्र गरेको हो । विषय विज्ञ पठाउने, प्रश्न बनाउने, परीक्षा लिने, परीक्षण गर्ने र नतिजा निकाल्ने काम उहाँहरूले गरेको हो । यदि कामनपा शिक्षा विभागले पुनः परीक्षा गर्छ भने पनि हामीलाई आपत्ति छैन ।”

अध्यक्ष सुब्बाले त्यसदिन भएको मावि तहको शिक्षक छनोटको अन्तर्वार्तामा आफू नबसेको पनि बताए । उनका अनुसार मावि तहको अंग्रेजी शिक्षक (राहत)को परीक्षामा सरिता राई छनोट भई विद्यालयमा पढाइरहेकी छिन् ।

अन्ततः महानगरपालिका शिक्षा विभागकी विषय विज्ञ तथा स्रोतव्यक्ति डा.शर्मिला पोख्रेलले पनि आफ्नो गल्ती भएको स्वीकारेकी छन् । उनी भन्छिन्, “अन्जानमा गल्ती भयो । जानी जानी नियतवश मैले यसो गरेकी होइन । गुगल सर्च गर्दा रोमनमा नमूना प्रश्न पत्र भेटिएपछि म झुक्किएँ ।”

यसअघि माघ महीनामा शिक्षक मासिकसँगको कुराकानीमा उनले शिक्षक सेवा आयोगको वेबसाइटमा वस्तुगत प्रश्नको नमूना प्रश्नपत्र रोमनमा रहेकाले यसैलाई आधार बनाएको बताएकी थिइन् ।

वस्तुगत प्रश्न रोमनमा सोधिएको बारे हामीले माघ अङ्क मार्फत प्रश्न उठाएपछि शिक्षा विभागका काठमाडौं महानगरपालिका, शिक्षा विभागका निमित्त शिक्षा प्रमुख तारापति खरेलले भनेका थिए, “विषय विज्ञ पोख्रेलले नमूना प्रश्नपत्र आयोगको वेबसाइटमा छ भन्नुभएको छ । आयोगको वेबसाइटमा छ भने आधिकारिक हुन्छ । नभए हुँदैन । हामी अर्को प्रक्रियामा जान्छौं ।”

तर महानगरपालिकाको शिक्षा विभागले अहिले आएर त्यही परीक्षालाई मान्यता दिएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा भन्छन्, “शिक्षक छनोटको परीक्षामा हुँदै नभएको अभ्यास प्रयोगमा ल्याउन मिल्दैन ।” शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा.तुलसी थपलिया भन्छन्, “परीक्षाको आफ्नै मर्यादा हुन्छ । स्थानीय तहले शिक्षक छनोट गर्दा लिने परीक्षाको स्तर बनाउनुपर्छ । यसरी शिक्षक राख्दा शिक्षक आयोगले निकालेको करार सूचीमा रहेका शिक्षकलाई लिन सकिन्छ ।”

शिक्षक  मासिक, २०७६ फागुन अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial