जङ्गली जनावरको घरेलु संस्करण

जङ्गली जनावरहरू नै परिवर्तित वातावरण अनुसार हजारौं वर्षको अन्तरालमा नयाँ जाति (प्रजाति) बन्दै घरपालुवा जनावरका रूपमा विकास भएका हुन्। धेरैजसो घरपालुवा जनावरका पूर्वज अहिले पनि जङ्गली अवस्थामा पाइन्छन् भने केहीका चाहिं लोप भइसकेका छन्।

हाम्रा वन जङ्गलमा कैयन् प्रजातिका जनावर छन् । तीमध्ये कतिपय जनावरहरू घरपालुवा जनावर जस्तै छन् । लुइँचे÷जङ्गली कुखुरा घरमा पालिएका कुखुरा जस्तै हुन्छन् । तर, लुइँचे लामो दूरीसम्म उड्न सक्छ, घरपालुवा कुखुरा त्यसरी उड्न सक्दैन । हरेक हिउँदमा मालार्ड नामक पानीहाँस साइबेरियाबाट उडेर दक्षिण र दक्षिण–पूर्व एशिया हुँदै अष्ट्रेलिया, न्यूजिल्याण्डसम्म पुग्छ । तर, यसको आफ्नै वंशमा पर्ने घरपालुवा हाँस भने उड्न सक्दैन । घरपालुवा हाँस मालार्डकै उप–प्रजाति मानिन्छ । मालार्ड र घरपालुवा हाँसलाई क्रमशः एनस् प्लटिरिन्कोस (Anas platyrhynchos) र एनस् प्लटिरिन्कोस डोमेस्टिकस् (Anas platyrhynchos domesticus)  वैैज्ञानिक नाम दिइएको छ ।

धेरैजसो जनावर ४ देखि १२ हजार वर्षअघि घरपालुवा बनेको विवरण पढ्न पाइन्छ । जङ्गली जनावरलाई घरपालुवा तुल्याइँदा तिनको वासस्थान, जलवायु र पारिस्थितिक प्रणाली भिन्न हुन जान्छ । चाल्र्स डार्विनका अनुसार जङ्गली जनावरहरू नै परिवर्तित वातावरण अनुसार हजारौं वर्षको अन्तरालमा नयाँ जाति (प्रजाति) को रूपमा घरपालुवा जनावरका रूपमा विकास भएका हुन् । धेरैजसो घरपालुवा जनावरका पूर्वज अहिले पनि जङ्गली अवस्थामा पाइन्छन् । केही घरपालुवा जनावरका पूर्वज भने लोप भइसकेका छन् ।

लुइँचे/वनकुखुरा ।

घरपालुवा र तिनका पूर्वजबीच केही भिन्नता हुन्छ । यसैले सबैजसो घरपालुवा जनावर र तिनका पूर्वजलाई भिन्दा भिन्दै प्रजाति मानिन्छ । वैज्ञानिकहरूले केही घरपालुवा जनावरलाई तिनका पूर्वजका उप–प्रजातिका रूपमा चित्रित गरेका छन् । जङ्गली जनावरलाई घरपालुवा तुल्याउँदा ती जनावरले आफूलाई परिवर्तित हावापानी र वातावरण अनुसार बदल्छन् । परिणामतः तिनका पूर्वज र अहिलेको वंशबीच भिन्नता उत्पन्न हुन्छ ।

हाम्रा विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यक्रममा डार्विनको सिद्धान्त अध्यापन गरिन्छ । तर, हाम्रा घरपालुवा जनावरका पूर्वज कुन कुन जनावर हुन् वा थिए ? ती जनावरलाई कहिले र कहाँबाट घरपालुवा तुल्याउन शुरू गरियो भन्ने सन्दर्भ भने बताइँदैन । यस मामिलामा हाम्रा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रम अधुरा छन् । बरू, हिब्रू विश्वविद्यालय, जेरुसेलमका प्राणी शास्त्रका प्राध्यापक एच. (H. Epstein) ले डोमेस्टिक एनिमल्स अफ नेपाल (सन् १९७७) पुस्तक लेखेका छन् । पुस्तकमा नेपालमा पाइएका गाई, याक, भैंसी, भेडा, बाख्रा, सुँगुर, घोडा, गधा र कुकुरका विविधता प्रस्तुत गरिएको छ । जीवको घरेलुकरण (Domestication) बारे लेखिएको डोमेस्टिकेटेड एनिमल्स एण्ड प्लान्टस्  (सन् १९१०) पुस्तक पनि पाठकका निम्ति उपयोगी छ । यो लेखमा केही घरपालुवा जनावरका पूर्वज र तिनलाई कहिले, कहाँ र कुन विधिबाट घरपालुवा बनाउन शुरू गरिएको थियो भन्ने संक्षिप्त रूपमा चर्चा गरिंदैछ ।

घरपालुवा कुखुरा ।

घरेलुकरणका तीन विधि
प्रे पाथवे (Prey pathway): मानवले पुरा–पाषाण (Paleolithic), मध्य–पाषाण (Mesolithic) र नव–पाषाण (Neolithic) युगमा गर्ने गरेको शिकारको विधि तात्वक रूपमा खासै फरक थिएन होला । तर, नव–पाषाण युगमा शिकार गर्ने शैली भने केही परिवर्तन भएको हुनुपर्छ । मानव शास्त्रसँग सम्बन्धित लेखहरू अनुसार नव–पाषाण युगको शुरूतिर नै मानवले शिकार गर्ने प्रवृत्तिमा केही फेरबदल आयो । उनीहरूले ठाउँ विशेषमा शिकार गर्दा कुनै खास जनावर निमिट्यान्न हुने गरी शिकार गर्दैनथे । केहीलाई शिकार अभाव हुने सिजनका लागि छाडिदिन्थे । उनीहरूले ती छाडिएका जनावरहरू पछिल्ला दिनमा घुम्दैफिर्दै त्यहीं पुग्दा सजिलै शिकार गर्न पाउँथे । तिनको संख्या पनि त्यहाँ वृद्धि भएको हुन्थ्यो । यो प्रवृत्ति नै कालान्तरमा जङ्गलीलाई घरपालुवा बनाउने एउटा विधि बन्यो । यसलाई प्रे–पाथवे (Prey Pathway) विधि भनिन्छ । भेडा, बाख्रा, गाई, भैंसी, याक आदिलाई यही विधिबाट घरपालुवा बनाइएको मानिन्छ ।

ओभिस् ओरिन्टालिज् (Ovis orientalis) वैज्ञानिक नाम भएको एक जङ्गली भेडालाई घरपालुवा भेडाको पूर्वज मानिन्छ । यसको सिङ मोटो र तलतिर घुमेको हुन्छ । यो भेडा साढे ८ हजार वर्षदेखि १२ हजार वर्षअघि टर्कीको अनाटोलिया र उत्तर पश्चिम इरानमा पाल्न शुरू गरिएको जानकारी त्यस क्षेत्रमा पाइएका जीवाश्मले दिन्छन् । यसैगरी अहिलेसम्म जङ्गली अवस्थामै रहेको ओभिस् ओरिन्टालिज् र घरपालुवा भेडाका आनुवंशिक अध्ययनले घरपालुवा भेडाको पूर्वज ओभिस् ओरिन्टालिज नै भएको पुष्टि गर्छ । घरपालुवा भेडाको वैज्ञानिक नाम ओभिस् एरिज् (Ovis aries) हो ।

नेपालमा पाइने जङ्गली भेडा ‘ओभिस् एम्मन होड्सोजी’ (Ovis ammon hodgsoni) हो । संसारभर भेडाका एक हजार जति प्रकार (भेराइटी) पाइन्छन् । युरोप र मध्य एशियामा पाइने बाख्राको पूर्वज ‘क्याप्रा एगिग्रस’ (Capra aegagrus)   मानिन्छ । यसलाई करीब १० हजार वर्ष पहिले पश्चिम एशियामा घरमा पाल्न थालिएको थियो । क्याप्रा एगिग्रसको सिङ लामो र पछाडि फर्केको हुन्छ । यो जनावर नेपालमा पाइन्न । हाम्रा हिमाली भेगमा पाइने थार र घोरल बाख्रा जस्तै हुन्छन् । तर हाम्रा बाख्रामा थार वा घोरलका वंशाणु मिसिएका छन् कि छैनन् भन्ने भोलिका दिनमा थाहा होला ।

घरपालुवा हाँस ।

संसारभरका गाईको पूर्वज भने लोप भइसकेको ‘बस प्रिमिजिनियस्’ (Bos primigenius) लाई मानिन्छ । यो पोल्याण्डको जङ्गलमा सन् १६२७ सम्म अस्तित्वमा थियो । यसबाट छुट्टिएका तीन उपप्रजातिहरू— ‘बस प्रिमिजिनियस्  प्रिमिजिनियस्’ (Bos primigenius primigenius), बस प्रिमिजिनियस् अफ्रिकानस्  (Bos primigenius africanus) र बस प्रिमिजिनियस् नामाडिकस्  (Bos primigenius namadicus) क्रमशः यूरोप, उत्तर अफ्रिका र भारतीय उपमहाद्वीपमा फैलिएका थिए । यीमध्ये पछिल्लो उप–प्रजाति हिजोआजको भारतीय उपमहाद्वीपमा पाइने गाईको पूर्वज मानिन्छ । बस प्रिमिजिनियस् नामाडिकस्  लाई ‘बस इन्डिकस’ (Bos indicus) वा ‘बस टौरस् इन्डिकस’ (Bos taurus indicus) उप नामले पनि चिनिन्छ । भारतीय उपमहाद्वीपमा करीब ६ हजार वर्ष र युरोपमा करीब १० हजार वर्ष पहिले गाई पाल्न शुरू गरिएको जीवाश्मले पुष्टि गरेको छ ।

जङ्गली भैंसी अर्ना  (Bubalus arnee) सँग विशेषतः पहाडतिर पालिने सरी भैंसी मिल्दोजुल्दो देखिन्छ । यी दुवैको सिङ करीब–करीब उस्तै हुन्छ । अर्नालाई वाटर बफालो पनि भनिन्छ । अर्ना हिजोआज नेपाल, भूटान, कम्बोडिया, इण्डिया, म्यान्मार र थाइल्याण्डमा करीब ४ हजारको संख्यामा बचेका छन् । पहिले बङ्गलादेश, इन्डोनेशिया, लाओस, मलेशिया, श्रीलंका र भियतनाममा पनि अर्ना पाइन्थ्यो । यसलाई ‘घरपालुवा भैंसी’ (Bubalus bubalis) को पूर्वज मानिन्छ । नेपालमा हाल करीब ४५० को संख्यामा अर्ना रहेका छन् । यसैलाई करीब ६ हजार वर्ष पहिलेदेखि घरपालुवा तुल्याइएको हो । हिजोआज गाउँघरमा दूधका लागि पालिने भैंसी भने वर्णसङ्कर हुन् ।

नदी, तलाउमा रमाउने पानीहाँस (मालार्ड) ।

तिब्बत र लद्दाख (भारत) मा जङ्गली याक अर्थात् ‘बस् म्युटस’ (Bos mutus) क्रमशः ८ हजार र १०० को संख्यामा रहेको बताइन्छ । नेपालमा भोटे समुदायले पाल्ने याक ‘बस ग्रनियन्स’ (Bos grunniens) हो । नेपालमा जङ्गली याक लोप भइसकेको अनुमान गरिएको थियो । तर, हुम्लाको लिमी उपत्यकामा सन् २०१४ ताका दुईवटा जङ्गली याक देखिएका थिए । भूटानमा भने यो लोप भइसकेको बताइन्छ । जङ्गली याक करीब १० हजार वर्ष पहिले तिब्बतमा पाल्न शुरू गरिएको ठानिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले याकलाई नेपालको संरक्षित वन्यजन्तु मानेको छ । उक्त ऐनको अनुसूची–१ मा याक नाक भनेर यसको वैज्ञानिक नाम वस ग्रन्नियन्स  लेखिएको छ । जबकि, वस ग्रन्नियन्स घरपालुवा  याकको वैज्ञानिक नाम हो । यसबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अहिलेसम्म जङ्गली याक र घरपालुवा याकबीच तात्विक फरक नै थाहा नपाएको तथ्य झल्किन्छ ।

कोमेन्सल पाथवे (Commensal pathway): केही जङ्गली जनावरहरू मानव चहलपहल हुने ठाउँको नजिक बस्न चाहन्छन् । त्यसो गर्दा उनीहरूले अन्य भयानक जनावरको आक्रमणबाट बच्न सुरक्षा र मानवले फालेका, छाडेका वस्तु खान पाउँछन् । अर्कोतिर, मान्छेले पनि यस्ता जनावर शिकार गर्न टाढा गइरहनु पर्दैन । यसरी मान्छे र मान्छेको चहलपहल भएका स्थान नजिक बस्न मन पराउने जनावरबीच एकआपसमा अन्योन्याश्रित पारिस्थितिक प्रणाली बन्न पुग्छ । कालान्तरमा तिनै जनावर मान्छेसँगै रहने हुन जान्छन् । यो विधिलाई ‘कोमेन्सल पाथवे’ (Commensal pathway) भनिन्छ । यही विधिबाट कुकुर, सुँगुर, बिरालो, कुखुरा आदिको पालन शुरू भएको हो ।

भेडाको पूर्वज ओभिस् ओरिन्टालिज् ।

जङ्गली कुकुरको एक प्रजाति ‘ग्रे वल्फ’ (Gray Wolf) र ‘क्यानिज लुपस्’ (Canis lupus) नामबाट चिनिन्छ । अघिल्लो यसको सामान्य नाम (Common Name) र पछिल्लो वैज्ञानिक नाम हो । ग्रे वल्फ संसारभरका घरपालुवा कुकुरको पूर्वज मानिन्छ । ग्रे वल्फ मान्छेको चहलपहल भएका स्थानमा बस्न रुचाउँथ्यो । यसलाई १० हजार वर्ष पहिले पश्चिम एशिया, चीन र अमेरिकामा मानिसले शिकार गर्ने सहयोगी र घरको पहरेदारी गर्न पाल्न शुरू गरिएको ठानिन्छ । बितेका १० हजार वर्षमा घरपालुवा कुकुरको स्वरूप निकै बदलिएको छ । यसको आकार जत्रो र जस्तोसुकै भए पनि त्यसलाई एकै प्रजाति ‘क्यानिज फेमिलिअरिज्’ (Canis familiaris) मानिन्छ । घरपालुवा कुकुरको पुच्छर अक्सर मास्तिर घुम्रिएको र ग्रे वल्फ को तलतिर लत्रिएको हुन्छ ।

सस् स्क्रोफा (Sus scrofa) भनिने बँदेल करीब ९ हजार वर्ष पहिले पश्चिम एशियामा पाल्न शुरू गरिएको विश्वास गरिन्छ । त्यसपछि सस् स्क्रोेफा लाई चीनमा पाल्न शुरू गरियो । पश्चिम एशियामा पालिने सुँगुर युरोपमा पुर्‍याइयो । पूर्वी एशिया र पश्चिम एशिया लगायत युरोपमा पाइने जङ्गली सुँगुर अर्थात् बँदेल दशौं लाख वर्ष पहिले नै छुट्टिएका हुन् । यसैले एशिया र युरोपका घरपालुवा सुँगुरको आनुवंशिक संरचना फरक छन् ।

घरपालुवा भेडा, मधुवन, सुनसरी ।

डिरेक्टेड पाथवे (Directed pathway): पाथवे र कामेन्सल विधिबाट पशुपालन शुरू गरिएपछि जनावर पालनको महत्व बढ्यो । त्यसपछि घोडा, गधा, ऊँट, मौरी, खरायो जस्ता जनावरलाई प्रे पाथवे र कामेन्सल विधिभन्दा फरक ढङ्गबाट पाल्न शुरू गरियो । घोडाका बच्चालाई समातेर रत्याउन थालियो । बच्चा ठूलो भएपछि त्यसलाई यातायात साधनका रूपमा प्रयोग गरियो । घोडालाई करीब ५५०० वर्ष पहिले मध्य एशियाबाट घरपालुवा बनाउन शुरू गरिएको विश्वास गरिन्छ । तर, हिजोआज मध्य एशियाली घोडाको पूर्वज ‘एक्कस फेरूअस्’ (Equus ferus) लोप भइसकेको छ । साउदी अरबतिर यातायात साधनकै रूपमा करीब २५०० वर्षअघिबाट ऊँट पाल्न शुरू गरिएको थियो । यसैगरी, गधालाई इजिप्टमा करीब ४ हजार वर्ष पहिलेबाट पाल्न शुरू गरियो ।

निष्कर्षः कुनै एक प्रजातिको जीवका सन्तानहरू फैलँदै गएपछि पहिलेकै जस्तै वातावरणमा रहने जतिले उस्तै प्रकृति र उही रूपमा सन्तान उत्पादन गर्छन् र त्यसरी नै विकसित हुन्छन् । पहिलेको वातावरण भन्दा भिन्न अथवा अन्यत्र पुगेकाले नयाँ वातावरण अनुरूप आफूलाई परिवर्तन गर्दै लैजान्छन् । यही क्रम चल्दै गएर सयौं, हजारौं पुस्तापछि पूर्वज र तिनका वंशजबीच भिन्नता देखा पर्छ र नयाँ प्रजाति उद्विकास हुन्छ । यसै अनुरूप, जङ्गली भेडाबाट घरपालुवा भेडाका भिन्न भिन्न प्रजाति उद्विकास भएका हुन् । त्यसैगरी, जङ्गली कुकुरबाट घरपालुवा कुकुर । चाल्र्स डार्विनको पालासम्म सबै घरपालुवा जनावरका पूर्वजका बारेमा जानकारी भइसकेको थिएन । यद्यपि, डार्विनले जातिको उत्पत्ति शीर्षक पुस्तकमा कुनै जीव परिवर्तित वातावरणमा परिवर्तन हुन सके, त्यसको स्वरुपमा पनि परिवर्तन हुँदै जान्छ भन्ने दृष्टान्त प्रस्तुत गरेका थिए । यसबाट भन्न सकिन्छ, नयाँ जीवको उत्पत्ति भिन्न वातावरण र परिस्थितिमा हजारौं वर्षसम्म घुलमिल हुन सक्दा हुँदोरहेछ ।

 



 

commercial commercial commercial commercial