प्रतिक्रिया र सुझाव

नयाँ शिक्षा नीतिले निराश पार्‍यो

नेपाल सरकारबाट जारी गरिएको शिक्षा नीति–२०७६ (शिक्षक, पुस २०७६) ले मेरो ध्यान आकृष्ट गर्‍यो । नयाँ शिक्षा नीतिमा सामुदायिक विद्यालय/शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक नीति–नियम ल्याइएको होला भन्ने जुन सोच थियो, त्यसको ठीक विपरीत भएको पाएँ । यदि शिक्षा नीति यसैगरी एकतर्फी नै बनाउनु थियो भने सरकारले शिक्षा नीतिमा के–के समेट्ने हो भनेर किन सुझाव सङ्कलन गर्नुपर्‍यो ? शिक्षाको गुणस्तरीयताका बारेमा किन फलाक्नु पर्‍यो ?

नेपाल सरकारले आफूलाई शिक्षाप्रेमी देखाउन २०७६/७७ आवको बजेट भाषणमा २०७६–२०८५ लाई शैक्षिक दशक भनेर घोषणा गर्‍यो, तर व्यवहारमा त्यस सम्बन्धी कुनै कार्यक्रम छैनन् । सरकार गुणस्तरीय शिक्षा भन्न कहिल्यै थाक्दैन । तर सामुदायिक विद्यालयमा आवश्यक शिक्षक दरबन्दी कहिल्यै थपिन्न । दरबन्दी मिलान कहिल्यै गरिंदैन । नेपाल जस्तो देशमा वर्षको एक पटक प्रहरी, सेना, सशस्त्रको विज्ञापन खुलाएर जवान भर्ना गरिन्छ । तर शिक्षा क्षेत्रलाई शिक्षक पनि आवश्यक हुन्छ भन्ने कुरा कहिल्यै महसूस गरिंदैन ।


सरकार गुणस्तरीय शिक्षा भन्न कहिल्यै थाक्दैन। तर सामुदायिक विद्यालयमा आवश्यक शिक्षक दरबन्दी कहिल्यै थपिन्न। दरबन्दी मिलान कहिल्यै गरिंदैन। शिक्षा क्षेत्रलाई शिक्षक पनि आवश्यक हुन्छ भन्ने कुरा कहिल्यै महसूस गरिंदैन।

दूरदराजका बालबालिकाले पनि शिक्षा हासिल गर्न पाउन् भन्ने अपेक्षाका साथ स्थापना भएका सामुदायिक विद्यालयमध्ये हालसम्म पनि तीन हजार विद्यालय विना दरबन्दी, प्रावि शिक्षकको भरमा संचालन भइरहेका छन् । ७ हजार मावि एउटा शिक्षक दरबन्दीको भरमा चलिरहेका छन् । त्यस्तै, सामुदायिक विद्यालयलाई निःशुल्कको बिल्ला भिराएर एकातिर नियोजनतर्फ धकेलिंदैछ भने उता निजी विद्यालयहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने नाउँमा अभिभावकको ढाड सेक्ने गरी मासिक शुल्क रु.५०० देखि रु.५० हजारसम्म लिने छूट दिइएको छ । आखिर यो किन सरकारले नियन्त्रण गर्न सक्दैन ? सामुदायिक विद्यालयमा एक जना दरबन्दीको व्यवस्था नगर्ने अनि निःशुल्कको बिल्ला भिराएर सरकारले ठूलो काम गरेको छ भनेर डंका मात्र पिटाएर हुन्छ ? सामुदायिक विद्यालयमा कुनै राम्रो विषयको पाठ्यवस्तु छनोट गरेर अध्यापन गराउनु पर्‍यो भने पाठ्यक्रम विकास केन्द्रको स्वीकृति लिनुपर्ने तर निजी विद्यालयलाई यो सबै गर्नको लागि छूट छ । आखिर किन ?

नेपाल सरकार साँच्चै नै शिक्षाको विकास गर्न चाहन्छ भने उसका घोषित नीति तथा कार्यक्रमलाई निम्न अनुसार संशोधन गरी लागू गर्नूपर्छः
१. निजी विद्यालय गैरनाफामूलक/सेवामूलक संस्थाको रूपमा सञ्चालन हुनुपर्छ ।
२. नेपाल सरकारका कर्मचारी; शिक्षकका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्छ । किनकि आफ्ना छोराछोरीलाई जहाँ अध्यापन गराउँछन्, त्यस संस्थाको माया–ममता छुट्टै हुन्छ । आफूसँग सम्वद्ध नभएको संस्थाको कुनै सरोकार हुँदैन ।
३. नेपाल सरकारले निःशुल्क शिक्षा निरपेक्ष गरीबीको रेखामुनि बाँच्न विवश भएका परिवारलाई मात्र दिनुपर्छ । सबैको लागि निःशुल्क शिक्षा आवश्यक छैन । जहाँ आफ्नो लगानी हुन्छ, त्यो चिजको माया–ममता हुन्छ, लगानी नभएको ठाउँका माया–ममता हुँदैन ।
४. हालसम्म एक जना पनि दरबन्दी नभएका ३ हजार विद्यालय र एक जना मात्र दरबन्दी भएको ७ हजार विद्यालयमा तत्काल ३/३ दरबन्दीको व्यवस्था नेपाल सरकारले गर्नुपर्छ ।
५. सामुदायिक शिक्षा सुधारका लागि खाका तयार गरी लगानीको सुनिश्चितता गरिनुपर्छ ।
६. शिक्षा नीति सिद्धान्तमुखी नभएर व्यवहारमुखी हुुनुपर्छ ।
७. शिक्षकको दरबन्दीको व्यवस्थापन केन्द्र सरकारबाटै हुनुपर्छ । प्रदेश र स्थानीय तहको मातहतमा हुनुहँुदैन ।
८. निजी विद्यालयलाई सरकारले नै नियमन गर्नुपर्छ । स्थानीय तहले होइन ।
९. ‘सरकारलाई दायित्व नपर्ने गरी’ भन्ने वाक्यांशले सरकार शिक्षा विकासबाट विमुख भएर निजीलाई प्रवद्र्धन गर्न लागिपरेको भन्ने जनाउँछ । त्यसैले सरकारले शिक्षा विकासको जिम्मेवारी बहन गर्नुपर्छ ।

दीपककुमार श्रेष्ठ, प्राथमिक शिक्षक, नवदीपेश्वर आधारभूत विद्यालय सिम्ले, मनपा–९, पुरानागाउँ, रामेछाप


धन्यवाद डा. टन्डन !

कुनै विषय वा वस्तुको वास्तविकता बुझनको निम्ति त्यसको पृष्ठभूमि जान्नु आवश्यक हुन्छ । पृष्ठभूमिको जानकारी भएन भने अध्ययन, अवलोकन अपूरो हुन्छ । पुस अंक २०७६ को शिक्षक मा डा.गोविन्द टन्डनले लेख्नुभएको पशुपति दर्शन सम्बन्धी इतिवृत्तान्त अत्यन्त ज्ञानवद्र्धक र उपयोगी लाग्यो ।

हामी अहिले भ्रमण वर्ष–२०२० को अभियानमा छौं । तीर्थयात्रीहरूका लागि यो लेख ज्यादै सान्दर्भिक छ । शिक्षक, विद्यार्थीहरूका लागि त झन् यो भोकाएको प्राणीलाई चारो झै हुन्छ । डा. गोविन्द टन्डनज्यू ! यहाँलाई हार्दिक धन्यवाद छ । तपाईंबाट नेपाललाई चिनाउने यस्तै खालका महत्वपूर्ण लेखहरूले निरन्तरता पाइरहोस्, यहाँलाई मेरो हार्दिक शुभकामना ।

धनजीत पराजुली, बेलबारी–११ लक्ष्मीमार्ग, मोरङ

.............................................

पुरस्कार बढाउनु पर्‍यो

शिक्षक  मासिक प्रकाशन भएको पनि ११–१२ वर्ष भइसक्यो होला । यसमा सरोकार राख्ने सबैलाई खुशी र गौरवको कुरा हो ! शुरूको अवस्थाको दाँजोमा यस पत्रिकाको ग्राहक संख्या निश्चय नै बढेको हुनुपर्छ । यस पत्रिकामा राखिएका शब्दखेल, सही ठाउँ सही अक्षर, सुडोकु र सामान्यज्ञान जस्ता कार्यक्रममा सहभागीहरू मध्येबाट चिठ्ठामा पर्ने सहभागी संख्या चार जनाबाट बढाएर दोब्बर अर्थात् प्रत्येक विधाको दुई जना गरी आठ जनालाई दिंदा अझ् हौसल्ला बढ्ने र त्यसबाट ग्राहकको संख्या पनि थपिने थियो भन्ने सुझाव/सल्लाह प्रदान गरिन्छ ।  

भोलाकुमार खड्का, शारदा आभूवि, कटारी नपा–१२, खानीडाँडा, उदयपुर

(टिप्पणीः सुझावका लागि धन्यवाद । ग्राहक–पाठकले रुचाइदिएकै कारण शिक्षक मासिक यतिका वर्षसम्म चलिरहेको हो । ग्राहक–पाठक संख्या सँगसँगै पत्रिका तयार पार्ने लागत पनि बढ्दै गइरहेको हुन्छ । तर पनि पाठक–ग्राहकलाई बढी भन्दा बढी सुविधा दिने हाम्रो प्रयास रहनेछ । धन्यवाद !
– सम्पादक)

शिक्षक  छुटाउन चाहन्न

म धनकुटा जिल्लाको विद्यालयमा कार्यरत शिक्षक हुँ । मैले वि.सं. २०७१ देखि २०७३ मंसीरसम्म शिक्षक मासिक निरन्तर पढें । त्यतिखेर म विद्यार्थी थिएँ । त्यस बखत शिक्षक मा लेखिएका सबैकुरा नबुझे पनि निरन्तर अध्ययन गरें । त्यो सँगसँगै दिवास्वप्न, तोत्तो–चान जस्ता प्रसिद्ध बालमनोवैज्ञानिक पुस्तकहरू पढ्ने मौका पनि यही शिक्षक ले दिलायो । यसमा समेटिएका विविध खेल र ज्ञानगुनका कुराहरूको बारेमा पनि थोरबहुत जान्ने मौका पाएँ । सुडोकु जस्ता खेलहरू मिलाएर धेरैपटक पठाएको पनि थिएँ । शिक्षक मासिकको उत्पादन शिक्षा–संवाद जस्ता कार्यक्रम पनि सुनेर त्यसबखत त्यहाँ सोधिएका प्रश्नको उत्तर पठाउने सिलसिलामा शिक्षक मासिकको विजेता भएर एक वर्षसम्म शिक्षक मासिक मेरो नाममा आएको पनि थियो । त्यतिखेर म सदरमुकाममा बस्थें । ठेगाना घरको लेखिएको कारण घरमा आएको शिक्षक आफू पढेको विद्यालयमा दिएर म सदरमुकाममा अर्कै किनेर पढ्थें ।  

तर विडम्बना २०७३ मंसीरबाट एउटा संस्थामा कार्यरत भएपछि गाउँतिर जानुपर्ने भयो । त्यतातिर पुस्तक पसल थिएन । पढ्न मान्छे नभएपछि पत्रिकाहरू त झ्न् ल्याउने कुरै भएन । यसो गर्दागर्दै आजको दिनसम्म पनि शिक्षक मासिक पढ्न नपाउँदा कताकता बेचैनी हुन्छ । शिक्षक सेवा आयोगको प्रावि तहको अन्तर्वार्ताको तयारी गर्ने क्रममा धनकुटा बजारमा शिक्षक खोजें । आउन छाड्यो भन्ने उत्तर पाएँ, शिक्षक पाइनँ । अहिले म पनि शिक्षक भएकी छु र मलाई शिक्षक मासिकको अझ् धेरै खाँचो छ । त्यसैले अब शिक्षक मासिकको ग्राहक नै बनेर भए पनि नियमित पढ्न चाहन्छु । त्यस निम्ति के गर्नुपर्छ, बताइदिनुहोला ।

संगीता बस्नेत, बज्रमाई मावि, चौबिसे गाउँपालिका–५ऽ बोधे, धनकुटा

(टिप्पणीः तपाईंले दिएको फोन नं. र ठेगानामा हाम्रा बजार व्यवस्थापकले सम्पर्क राखी पत्रिका प्राप्त हुने व्यवस्था गर्नेछन् । धन्यवाद ! – सम्पादक)

नेपाली छँदाछँदै विदेशी शब्द किन ?

वसन्त महर्जनले इतिहासको ज्ञान नभएका पुस्तक लेखकहरूको बारेमा राम्रो जानकारी दिने गर्नुभएको छ । यस्ता अयोग्य लेखकहरूले गर्दा नेपालको इतिहासलाई नै खतरामा पार्छन् । तर स्वयं वसन्तजीको लेखको शीर्षक ‘असल पाठमा तोडमरोड’ देखेर म तिन छक्क परें । (शिक्षक, पुस २०७६) यो तोडमरोड भन्ने शब्द त हिन्दी जस्तो लाग्छ मलाई । हामीकहाँ त बंग्याउनु भनेर भन्छन् क्यारे कुरालाई । अनि सोही लेखकै अन्त्यतिर उल्लेख भएको ‘प्राण न्यौछावर’ भन्ने शब्द कहाँबाट आयो ? नेपालीमा त प्राण अर्पनु, अर्पण गर्नु, सुम्पनु जस्ता शब्द प्रयोग हुन्थ्यो । यस्ता विदेशी भाषाका शब्द सिकेर हाम्रा कर्णधारहरूले भोलि ‘बंग्याउनु’, ‘अर्पण गर्नु’ आदि शब्द कहाँबाट आए भन्न बेर छैन ।

लेखक, पत्रकार, शिक्षक र मनोरञ्जनका साधन सबै समाजका ऐना हुन् । यीमध्ये कुनै एक चुक्यो भने नेपाली भाषा इतिहास बन्न सक्दछ । त्यसैले शिक्षक मासिकले पनि लेखहरू छाप्नु अघि राम्ररी सम्पादन गर्ने गरोस् ।

चन्द्रलाल महर्जनऽ अतिरिक्त क्रियाकलाप प्रमुख, रिलायन्स ई एकेडेमी, कपन, काठमाडौं

(टिप्पणीः शिक्षक को विषयवस्तु र भाषामा चासो राख्नुभएकोमा धन्यवाद । ‘तोडमरोड’ शब्द सम्बन्धी तपाईंको चिन्तालाई माथि दिइएको ‘नेपाली बृहत् शब्दकोश’ को प्रविष्टिले सम्बोधन गर्ला भन्ने विश्वास छ ।
– सम्पादक)


(शार्दूलविक्रीदित छन्द)

पढ् पढ् पढ् प्रिय शब्दमा जति भनूँ पढ्ने छु भन्दैन ऊ
लेख् लेख् लेख् प्रिय शब्दमा जति भनूँ लेख्ने छु भन्दैन ऊ ।
खा खा भन्नुहुँदैन खान्छ जहिल्यै लाजै पचाईकन
ज्ञानी बन् प्रिय शब्दमा जति भनूँ बन्ने छु भन्दैन ऊ ।।

सुत् सुत् सुत् अलि शीघ्र नै जति भनूँ सुत्ने छु भन्दैन ऊ
उठ् उठ् उठ् अलि शीघ्र नै जति भनूँ उठ्ने छु भन्दैन ऊ ।
घन्टा चौबिस बस्छ फेसबुकमा लाजै पचाईकन
भो भो छोड् प्रिय शब्दमा जति भनूँ छोड्ने छु भन्दैन ऊ ।।

गर् गर् गर् गृहकार्य गर जति भनूँ गर्ने छु भन्दैन ऊ
हिंड् हिंड् हिंड् शुभ मार्गमा जति भनूँ हिंड्ने छु भन्दैन ऊ ।
छोडी कार्य समस्त हिंड्दछ कता लाजै पचाईकन
खोज् खोज् खोज् दिन आउँदा सुख हुने खोज्ने छु भन्दैन ऊ ।।

मान् मान् मान् हर बन्धुबान्धवहरू भन्दा न मान्ने छ ऊ
जान् जान् जान् शुभकर्म गर्नु छ भनी भन्दा न जान्ने छ ऊ ।
आफ्नै ताल रुचाउने छ जहिल्यै बेतालको छाल छ ।
मौकामा सजिल्यै ल हान् पनि भने चौका नहान्ने छ ऊ ।।

साथी सज्जन खोज् नखोज् कुलतको बाटो हिंडेको भने
आँखा तर्छ रिसाउँदै र उसकै राम्रो बखन्ने हरे !
छुट्ट्या सत् र असत् र सत् तिर गई गन्तव्य चुम् शानले
भन्दा भन्दछ ‘नाइँ’ ऊ प्रिय बनी मैले भनूँ धेर के !!

धर्मानन्द भट्ट, ढाकारा, लेकम गाउँपालिका–२, दार्चुला

शिक्षक मासिक, २०७६ माघ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial