दिगो विकास लक्ष्य र नेपाल

दिगो विकास लक्ष्य (दिविल) सहस्राब्दी विकास लक्ष्य (सविल) द्वारा प्रेरित त छ नै तर यसले त्योभन्दा बढी व्यापक विषय र विकासका आयामहरू पनि समेट्छ। ‘कसैलाई पनि पछि नछाड्ने’ यसको आकांक्षाले गर्दा यो विश्वस्तरमा अहिलेसम्म भएका विकास प्रयत्नहरू भन्दा सर्वाधिक महत्तवाकांक्षी पनि देखिन्छ ।

संयुक्त राष्ट्रसंघद्वारा प्रस्तावित र अनुमोदित र नेपालले औपचारिक प्रतिबद्धता व्यक्त गरेको दिगो विकास लक्ष्य (सन् २०१६–३०) अहिले विश्वकै विकासको मूल एजेण्डाका रूपमा स्थापित भएको छ । सन् २०१५ मै राष्ट्रिय योजना आयोगको प्रकाशन ‘नेपालका निम्ति दिगो विकास लक्ष्य २०१६–२०३०’ मा नेपालले यस विषयप्रति देखाएको गम्भीरतालाई स्पष्ट पारेको थियो । यो लेखमा दिगो विकास लक्ष्य (दिविल) को सोचको विश्व सन्दर्भ र नेपालमा यसको तात्पर्य बारे चर्चा गरिएको छ ।

सन्दर्भ
विश्व सन्दर्भमा ‘दिविल’ को सोच सहस्राब्दी विकास लक्ष्य (सविल) बाट शुरू हुन्छ ।

सन् २००० को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघका १८९ सदस्य राष्ट्रहरूले चरम गरीबी र त्यसका लक्षण, भोकमरी, रोग, लैङ्गिक असमानता, शिक्षा र आधारभूत पूर्वाधारमा पहुँच तथा वातावरणीय ह्रासका समस्यालाई सम्बोधन गर्न एउटा साझ प्रतिबद्धतामा सहमति जनाएका थिए । यो प्रतिबद्धतामा समाहित ८ वटा विषयगत लक्ष्य, २१ वटा परिमाणात्मक लक्ष्य र ७३ वटा सूचकहरू सन् २०१५ सम्ममा हासिल गर्ने सङ्कल्प गरियो र त्यसलाई सहस्राब्दी विकास लक्ष्य ‘सविल’ को नाम दिइयो । त्यसका सबैजसो परिमाणात्मक लक्ष्यहरू सन् १९९० लाई आधार वर्ष मानेर राखिएका थिए । ‘सविल’ को प्रतिबद्धता र कार्यक्रम विकसित र विकासशील देशहरूको साझ चासो र साझेदारीमा आधारित पहिलो विश्वव्यापी विकास कार्यक्रम थियो । यसमा समाहित लक्ष्यहरू गरीबी तथा त्यससँग जोडिएका आधारभूत विषयसँग सम्बद्ध थिए । ‘सविल’ लाई एक प्रकारले विकासका क्षेत्रमा सम्पूर्ण अन्तर्राष्ट्रिय पद्धतिलाई एकीकृत र सङ्गठित गर्ने सिद्धान्तकै रूपमा स्थापित गरियो ।

तालिका (दायाँ पृष्ठ)मा दिइएका ‘सविल’ का परिमाणात्मक लक्ष्य र सूचकहरू अन्तर्राष्ट्रिय तहमा स्थापित हुन् । तथ्याङ्कको उपलब्धता अनुसार प्रत्येक देशले कम वा बढी सूचकहरू प्रयोग गरेका छन् । सविलका उपलब्धि देश अनुसार, देशभित्र पनि क्षेत्र र समुदाय अनुसार फरक र असमान छन् । तर पनि, यो अन्तर्राष्ट्रिय तहको अभ्यास सबैका निम्ति लाभप्रद र उत्साहजनक रह्यो । उपलब्धिका हिसाबले विश्वस्तरमा हेर्दा ‘सविल’ को ‘चरम गरीबीलाई आधा घटाउने’ परिमाणात्मक लक्ष्य हासिल भयो, झ्ण्डै १ अर्ब मानिसहरू चरम गरीबीबाट बाहिरिए । तर भोकमरीलाई त्यही अनुरूप घटाउन सकिएन । प्राथमिक शिक्षामा विकासशील मुलुकका ९१ प्रतिशत बालबालिकाको पहुँच पुग्यो । त्यसमा बालिकाको अनुपात बालककै हाराहारीमा पुग्यो । शिशु मृत्युदर आधा घट्यो । मातृ मृत्युदर अपेक्षा अनुसार नभए पनि आधा घट्यो । एड्स, मलेरिया र स्वास्थ्य सम्बन्धी परिमाणात्मक लक्ष्यमा सोचे जस्तो उपलब्धि भएन तर उल्लेख्य प्रगति भयो । सुरक्षित खानेपानीमा पहुँच अपेक्षा अनुसार बढ्यो । अन्तर्राष्ट्रिय विकास सहयोगमा १९९० र २०१५ का बीच ६६ प्रतिशतले वृद्धि भयो । समग्रमा, ‘सविल’ का पूर्ण लक्ष्य र परिमाणात्मक लक्ष्य हासिल गर्न नसके पनि जुन प्रगति देखियो त्यो विश्वस्तरमै त्यत्तिकै अवधिमा कहिल्यै देखिएको थिएन ।

‘सविल’ मा नेपालको उपलब्धि
सहस्राब्दी लक्ष्यको सन्दर्भमा नेपालको उपलब्धि हेर्दा, सन् १९९० मा ३३.५ प्रतिशत रहेको ‘चरम गरीबी’ (दैनिक १ डलरभन्दा कम आय) सन् २०१३ मा १६.४ प्रतिशतमा झर्‍यो । २०१५ मा प्राथमिक शिक्षामा खुद भर्ना दर ९६.६ प्रतिशत पुग्यो । प्राथमिक शिक्षामा लैङ्गिक समानतामा पनि यथेष्ट उपलब्धि हासिल भयो । शिशु र पाँच वर्ष तलकाको मृत्युदर अपेक्षा अनुसार घट्यो । मातृ स्वास्थ्यमा पनि उल्लेख्य सुधार भयो । एचआईभी/एड्सको विस्तार घटाइयो त्यस्तै मलेरिया र टीबीको पनि । सुरक्षित खानेपानी र सरसफाइ र वन–जङ्गलको स्थितिमा परिमाणात्मक लक्ष्य अनुसार नै प्रगति हासिल गरियो । र, अन्तर्राष्ट्रिय विकास सहयोगमा पनि अपेक्षित वृद्धि भयो । समग्रमा नेपालले लिएका ५३ वटा सूचक मध्ये १७ वटामा पूर्ण उपलब्धि र अन्यमा अर्ध वा केही कम उपलब्धि हासिल भयो ।

‘सविल’ का तीन महत्वपूर्ण विशेषता थिए— (क) उपलब्धि हासिल गर्नका लागि १५ वर्षे समय–सीमा तोकिएको थियो । (ख) उपलब्धिहरू सूचकद्वारा नाप्न सकिने किसिमका थिए । (ग) र, जनस्तरमा बुझन–बुझाउन सजिला पनि थिए । स्पष्ट लक्ष्य भएकाले विकासशील राष्ट्रका निम्ति नीतिगत र कार्यक्रमगत मार्गदर्शन र दिशाबोध गराउन सहज भयो । प्रत्येक देशले आफ्नो स्थिति जस्तो भए पनि सन् २०१५ सम्ममा परिमाणात्मक लक्ष्य हासिल गर्ने उद्देश्यले आफ्ना वार्षिक र आवधिक नीति तथा कार्यक्रमको तर्जुमा गर्नुपर्ने स्थिति बन्यो । राष्ट्रिय नीतिमा सहकार्य र सामञ्जस्य बढ्यो । एउटै उद्देश्यतिर उन्मुख कार्यक्रमहरूले गर्दा एउटा देशले अर्कोसँग र देशभित्रै एउटा क्षेत्रले अर्कोसँग सिक्ने खण्ड बन्यो । अन्तर्राष्ट्रिय सहयोगमा ‘सविल’ ले स्पष्ट प्राथमिकता पायो । ‘सविल’ राष्ट्र–राष्ट्रबीच प्रतिष्ठा र प्रतिस्पर्धाको विषय पनि बन्यो । ‘सविल’ को सबैभन्दा प्रेरक पक्ष के रह्यो भने विश्व समुदाय एकै ठाउँमा र एउटै लक्ष्यतिर प्रतिबद्ध भएर सहयोगी भा‍वनाले अघि बढ्दा त्यसले नयाँ ऊर्जा, उत्साह र समर्पणको भावना जगाउँदोरहेछ अनि नीति र कार्यक्रमहरूलाई सबैतिरबाट पृष्ठपोषण हुने रहेछ । अन्तर्राष्ट्रिय तहमै यो एउटा सकारात्मक पाठ रह्यो ।

‘सविल’ का भूमण्डलीय र राष्ट्रिय दुवै तहका सापेक्षिक उपलब्धि, यसले स्थापित गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्य पद्धति र अन्तर्राष्ट्रिय सहयोगको स्वरूपले संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरू उत्साहित हुनु स्वाभाविकै थियो । ‘सविल’ मूलतः चरम गरीबीको अन्त्यतिर उन्मुख थियो र यसका लक्ष्यहरू आधारभूत आय, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, र वातावरणीय पक्षमा सीमित थिए । सन् १९९२ मा रियो द जेनेरियो मा भएको वातावरण र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले दिगो विकासको अवधारणा अघि सारेको थियो । यस्तो सन्तुलित विकास— जहाँ वातावरणीय संवद्र्धन र आर्थिक समृद्धि एकअर्काका पूरक होउन्, अनि वर्तमान पिंढीका आवश्यकताको परिपूर्ति गर्दा भावी पिंढीको आवश्यकताको पूर्ति गर्ने सम्पदा र बाटो अवरुद्ध नहोस् । सन् १९९२ पछि दिगो विकासको अवधारणा विश्वव्यापी चलनचल्तीमा आयो र विकासका हर क्षेत्रलाई यही अवधारणा अन्तर्गत हेर्न थालियो । खनिज ऊर्जाको बढ्दो खपत र त्यसका दुष्प्रभाव, जलवायु परिवर्तन, बढ्दो आर्थिक असमानता, आधारभूत र गुणात्मक शिक्षा, स्वास्थ्य र अन्य सेवामा असमान पहुँच, लैङ्गिक र सामाजिक विभेद, अव्यवस्थित शहरीकरण, जैविक विविधता र वातावरणीय सम्पदाको परिमाणात्मक र गुणात्मक ह्रास, शासकीय व्यवस्था र कानूनको राज्यका चुनौती आदिलाई समग्रमा हेर्नुपर्ने आवश्यकता टड्कारै देखियो ।

दिगो विकास लक्ष्य (दिविल) को पहिलो चर्चा पनि सन् २०१२ मा रियो द जेनेरियो मै संयुक्त राष्ट्रसंघद्वारा आयोजित दिगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भएको हो । ‘सविल’ मा हासिल हुँदै गरेका उपलब्धि र दिगो विकासका निम्ति आवश्यक सर्वाङ्गीण दृष्टिकोण— यो सम्मेलनका प्रेरक थिए । यसको मूल उद्देश्य नै यस्ता विश्वव्यापी लक्ष्यहरूको निक्र्योल गर्नुथियो, जसका आधारमा विश्वले सामना गरिरहेका अत्यन्त जरूरी वातावरणीय, राजनीतिक र आर्थिक चुनौतीलाई सम्बोधन गर्न सकियोस् । सेप्टेम्बर २०१४ मा संयुक्त राष्ट्रसंघ साधारणसभामा यो विषयले प्रवेश पायो । ‘सविल’ को समय–सीमा सकिनु अघि नै राष्ट्रसंघको खुला कार्य समूहले सन् २०१६ देखि २०३० सम्मका लागि औपचारिक रूपमा १७ वटा लक्ष्य र १६९ परिमाणात्मक लक्ष्य तथा २३० भन्दा बढी सूचकाङ्क सहितको दिगो विकास लक्ष्यको प्रस्ताव गर्‍यो । यसरी सहस्राब्दी विकास लक्ष्य (सविल) को साटो दिगो विकास लक्ष्य (दिविल) अन्तर्राष्ट्रिय विकासको एजेण्डाका रूपमा स्थापित हुन पुग्यो ।

दिगो विकासका लक्ष्य (दिविल)
सन् २०१५ को सेप्टम्बरमा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रले दिगो विकास लक्ष्य (दिविल) लाई अनुमोदन गरे । यो एउटा विश्वव्यापी आह्वान थियोः सन् २०३० सम्ममा गरीबीको अन्त्य गर्ने, हाम्रो ग्रहको संरक्षण गर्ने र संसारका सबै जनताका लागि शान्ति र सुरक्षा सुनिश्चित गर्ने । दिगो विकास लक्ष्य (दिविल) सहस्राब्दी विकास लक्ष्य (सविल) द्वारा प्रेरित त छ नै तर यसले त्योभन्दा बढी व्यापक विषय र विकासका आयामहरू पनि समेट्छ । ‘कसैलाई पनि पछि नछाड्ने’ यसको आकांक्षाले गर्दा यो विश्वस्तरमा अहिलेसम्म भएका विकास प्रयत्नहरू भन्दा सर्वाधिक महत्वाकांक्षी पनि देखिन्छ । ‘दिविल’ को अनुमोदन समग्र विश्व र र राष्ट्र–राष्ट्र बीचका साझ र विशेष समस्याहरूका सम्बन्धमा बन्दै र विकसित हुँदै गएको साझ बुझइ र सहमतिको द्योतक पनि हो ।

विश्वव्यापी ‘दिविल’ का १७ वटा लक्ष्य र १६९ परिमाणात्मक लक्ष्य अनि २३० वटा सूचकहरू मानव जातिको कल्याण र हाम्रो यो साझ ग्रह (पृथ्वी) को अखण्डतालाई सुनिश्चित गर्ने संकल्प पनि हो । फेरि, ‘दिविल’ खाली लक्ष्यहरूको प्राप्तितिर मात्रै उन्मुख छैन, यसले विश्वका जटिल र गहिरा आर्थिक, सामाजिक, वातावरणीय र राजनीतिक समस्याका जरैसम्म पुगेर सम्बोधन गर्ने आकांक्षा समेत राखेको छ ।

दिगो विकास लक्ष्य (सन् २०१६–२०३०)
१. गरीबी— हरेक क्षेत्रमा रहेको सबै स्वरूपको गरीबीको अन्त्य गर्ने ।
२. भोकमरी र खाद्य सुरक्षा— भोकमरी अन्त्य, खाद्यान्न सुरक्षा र उन्नत पोषण प्राप्त गर्ने; दिगो कृषिको प्रवद्र्धन गर्ने ।
३. स्वास्थ्य— सबै उमेरका व्यक्तिका लागि स्वस्थ जीवनको सुनिश्चितता गर्दै सम्बद्ध जीवनस्तर प्रवद्र्धन गर्ने ।
४. शिक्षा— समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरू सम्भव तुल्याउने ।
५. लैङ्गिक समानता र महिला सशक्तीकरण— लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकाहरूलाई सशक्त बनाउने ।
६. खानेपानी र सरसफाइ— सबैका लागि खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने ।
७. ऊर्जा— सुपथ, भरपर्दो र दिगो आधुनिक ऊर्जामा सबैको पहुँच सुनिश्चित गर्ने ।
८ आर्थिक वृद्धि— समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण तथा उत्पादनमूलक रोजगारी र मर्यादित कामको प्रवद्र्धन गर्ने ।
९. पूर्वाधार, औद्योगीकरण— उत्थानशील (resilient) पूर्वाधार निर्माण, समावेशी तथा दिगो औद्योेगीकरणको प्रवद्र्धन, नव–प्रवर्तनलाई प्रेरित गर्ने ।
१०. असमानता– मुलुकभित्र र मुलुकहरूबीचको असमानता घटाउने ।
११. शहरहरू— शहरहरू र मानव बस्तीहरूलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने ।
१२. दिगो उपभोग र उत्पादन— दिगो उपभोग र उत्पादन ढाँचाहरू सुनिश्चित गर्ने ।
१३. जलवायु परिवर्तन— जलवायु परिवर्तन र त्यसका प्रभावसँग जुझन तत्काल कार्य अघि बढाउने ।
१४. महासागरहरू— दिगो विकासका लागि महासागर, समुद्र र सामुद्रिक स्रोतहरूको संरक्षण र दिगो रूपमा प्रयोग गर्ने  ।
१५. जैविक विविधता— पृथ्वीको भूपरिधिस्तरीय पारिस्थितिकीय प्रणालीहरूको दिगो उपयोग, रक्षा र पुनस्र्थापन, वनको दिगो रूपमा व्यवस्थापन, मरुभूमीकरण विरुद्ध लड्ने र जमीनको क्षयीकरण र जैविक विविधताको ह्रासलाई रोक्ने ।
१६. शान्ति र न्याय— दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजहरूको प्रवद्र्धन, न्यायमा सबैको पहुँच सुनिश्चित र सबै तहहरूमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाहरूको स्थापना गर्ने ।
१७. साझेदारी— दिगो विकासका लागि कार्यान्वयनका उपाय र साधनलाई सुदृढ र अन्तर्राष्ट्रिय साझ्ेदारीलाई पुनः जीवन्त तुल्याउने ।

‘दिविल’ मा उल्लिखित १४ नं. (महासागर) बाहेक सबै लक्ष्यहरू नेपालका लागि सान्दर्भिक छन् । ‘दिविल’ का १७ वटा लक्ष्यलाई विकासका पाँचवटा बृहत् आकांक्षासँग जोडेर हेर्न सकिन्छ । पहिलो, जीवनका आधारभूत चाहना र आवश्यकताको पूर्ति हो । ‘दिविल’ का १, २, ६ र ७ नं. बुँदा गरीबी र भोकमरीको अन्त्य, खानेपानी, सरसफाइ, आधुनिक ऊर्जाको उपलब्धतासँग सम्बन्धित छन् । दोस्रो, मानव सामथ्र्यको विकास हो । ‘दिविल’ ३ र ४ नं. ले स्वस्थ जीवन र गुणात्मक एवं जीवनपर्यन्त शिक्षाको पहुँचसँग सम्बन्ध राख्छन् । यी दुवै विकासका माध्यम पनि हुन् र उद्देश्य पनि । यिनकै आधारमा उत्पादनशील अर्थतन्त्र र समाजको आधारशिला निर्माण गर्न सकिन्छ । तेस्रो, समानता, शान्ति र न्यायको प्रत्याभूति हो । ‘दिविल’ ५, १०, १६ लैङ्गिक समानता, असमानताको न्यूनीकरण, शान्ति र न्यायमा पहुँच, समावेशी संस्था र लोकतन्त्रको सबलीकरणसँग जोडिएका छन् । चौथो, दिगो आर्थिक वृद्धि र विकासका आधार निर्माणको हो । ‘दिविल’ ८, ९, ११ र १२ ले आर्थिक वृद्धि, रोजगारी, औद्योगीकरण, शहरीकरण र बस्ती विकास र दिगो उपभोग एवं उत्पादन जस्ता दिगो विकास र गुणस्तरीय जीवनका आधारमा जोड दिन्छन् । र, पाँचौं हाम्रो ग्रहको क्षमता र समृद्धिका मुख्य खतराहरूलाई सम्बोधन गर्ने हो । ‘दिविल’ १३, १४ र १५ ले विश्वका साझ सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका साथै जलवायु परिवर्तनको दुष्प्रभाव, वन–जङ्गल, जमीन र जैविक विविधताको ह्रासलाई रोक्ने, घटाउने र महासागरका सम्पदाहरूको संरक्षण गर्ने जस्ता भविष्यको समृद्धिसँग जोडिएका चुनौतीसँग सम्बन्धित छन् । नेपाल जस्ता विकासशील देशका लागि ‘दिविल’ लाई समष्टिमा हासिल गर्ने सुनिश्चितता ‘दिविल’ १७ अर्थात् अन्तर्राष्ट्रिय साझेदारी विना कठिन हुने कुरा स्पष्ट नै छ ।

‘दिविल’ का परिमाणात्मक लक्ष्य र सूचकहरूले यसका विशेषतातिर इङ्गित गर्छन् । पहिलो, ‘दिविल’ ले मानव जाति, समाज, अर्थतन्त्र र प्रकारान्तरले राजनीति र पर्यावरणका प्रायः सबै विषय छुन्छन् । यस्तो कुनै महत्वपूर्ण विषय छैन, जुन एक वा अर्को ‘दिविल’ ले नसमेटेको होओस् । फेरि, ‘दिविल’ को आकांक्षा राष्ट्रको तहमा मात्रै सीमित छैन । यसले हर राष्ट्रका हर क्षेत्र, जाति, लिङ्ग, समुदायलाई समेट्छ । यसैले ‘दिविल’ को सोच दूरगामी र महत्वाकांक्षी छ । दोस्रो, ‘दिविल’ हरू एकअर्कासँग आबद्ध छन् । एउटा लक्ष्यमा हुने उपलब्धिले अन्य क्षेत्रलाई पनि प्रभावित गरिरहेको हुन्छ । यसैले ‘दिविल’ लाई समाज वा अर्थतन्त्रको खास क्षेत्रमा हुने उपलब्धिमा सीमित गरेर हेर्नु हुन्न, समग्रतामा हेर्नुपर्छ । तेस्रो, ‘दिविल’ को समग्र सोचलाई आत्मसात् गर्न एकीकृत र समन्वयात्मक योजना र सोही अनुरूपको राजनीतिक प्रतिबद्धता, संस्थागत क्षमता र कार्यपद्धतिको आवश्यकता पर्छ । यसको अर्थ के हो भने विकासका प्रत्येक पहल, आयोजना वा प्रक्रियालाई ‘दिविल’ को चश्माले हेर्नु अपरिहार्य हुन्छ । उदाहरणका लागि कुनै आयोजना वा पहलले गरीबी निवारणलाई मद्दत गर्छ/गर्दैन, सामाजिक, आर्थिक असमानता घटाउन सहयोग गर्छ/गर्दैन, समावेशितालाई बल पुर्‍याउँछ/पुर्‍याउँदैन, पर्यावरणको संरक्षण वा सुरक्षा गर्छ/गर्दैन आदि, आदि ।

चौथो, ‘दिविल’ का सूचकहरू, कतिपय अन्तर्राष्ट्रिय तहमा तुलनात्मक हुनु आवश्यक छ भने, कतिपय देश र समुदाय अनुरूप फरक–फरक पनि हुनसक्छन् । सूचक त केवल लक्ष्य प्राप्तिको मापन गर्ने माध्यमहरू हुन् । सूचकको कुराले एउटा महत्वपूर्ण पक्ष अगाडि ल्याउँछ, त्यो हो तथ्याङ्कको उपलब्धता । कतिपय तथ्याङ्कहरू आवधिक हिसाबले राष्ट्रिय तहमा उपलब्ध हुन्छन्, जस्तो जनगणना, कृषि गणना आदि तर कतिपय हुँदैनन् । त्यस्ता तथ्याङ्कको लगत, सङ्कलन र प्रशोधन ‘दिविल’ को आवधिक उपलब्धि मापन गर्न नभई हुँदैन । यसको अर्थ हो— ‘दिविल’ प्रतिको प्रतिबद्धता विभिन्न तहमा एउटा सक्षम र सबल तथ्यांकीय प्रणालीको स्थापना र कार्यकुशलतामा देखिनुपर्छ । र अन्त्यमा ‘दिविल’ का प्रत्येक लक्ष्य आफैंमा नयाँ हैनन् । विकासका पारम्परिक प्रयत्नहरूमा सबै देशले यी लक्ष्यहरूलाई एकप्रकारले परोक्ष–अपरोक्ष रूपमा अवलम्बन गरेकै थिए । फरक के हो भने ‘दिविल’ अन्तर्गत पहिलोपल्ट छिरलिएका लक्ष्यहरूलाई एकै ठाउँमा एकीकृत किसिमले संयोजन, आकलन र प्रस्तुत गरेर समन्वयात्मक कार्यान्वयनको मार्ग देखाएको मात्र हो ।


दिगो विकास अर्थात् यस्तो सन्तुलित विकास— जहाँ वातावरणीय संवद्र्घन र आर्थिक समृद्घि एकअर्काका पूरक होउन्, अनि वर्तमान पिंढीका आवश्यकता परिपूर्ति गर्दा भावी पिंढीको आवश्यकताको पूर्ति गर्ने सम्पदा र बाटो अवरुद्घ नहोस्।


यी विश्वव्यापी लक्ष्यहरूलाई प्रत्येक देशले आ–आफ्नो सन्दर्भमा हेर्नुपर्ने हुन्छ । नेपालको राष्ट्रिय योजना आयोगले २०१७ मा तयार गरेको दिगो विकास लक्ष्यको स्थिति र मार्गचित्र २०१६–२०३० ले प्रत्येक ‘दिविल’ को २०१५ को स्थिति र क्रमशः २०१९, २०२२, २०२५ र २०३० मा हासिल गर्नुपर्ने परिमाणात्मक लक्ष्य र सूचकहरूको सूची प्रस्तुत गरेको छ । १६९ वटा परिमाणात्मक लक्ष्य र ४०० भन्दा बढी सूचकहरू त्यसमा समावेश छन् । एउटै परिमाणात्मक लक्ष्य मापन गर्न नेपालको सन्दर्भ अनुसार धेरै सूचकहरूको प्रयोग गरिएको छ । तथ्याङ्कको अभावले गर्दा कतिपय सूचकका आधार वर्ष र आवधिक लक्ष्यहरू तोक्न बाँकी नै छ । ती सबैको विस्तृत चर्चा गर्नु यहाँ संभव छैन । यहाँ केही महत्वपूर्ण र प्राथमिक परिमाणात्मक लक्ष्य र सूचकको मात्र उल्लेख गरिनेछ । विश्वस्तरमा पहिल्याइएका परिमाणात्मक लक्ष्य र सूचकहरूलाई प्रत्येक देशले आ–आफ्नो सन्दर्भमा प्राथमिकीकरण पनि गर्नुपर्ने हुन्छ ।

नेपालले स्थापित गरेका केही महत्वपूर्ण परिमाणात्मक लक्ष्य
दिविल १ (गरीबीको अन्त्य) मा पाँच परिमाणात्मक लक्ष्य र १५ तोकिइसकेका सूचकहरू छन् । परिमाणात्मक लक्ष्यले दिविलको विभिन्न आयाम बारे परिमाणात्मक लक्ष्यको जानकारी दिन्छ । एउटै दिविलका विभिन्न परिमाणात्मक लक्ष्य हुन सक्छन् र एउटै परिमाणात्मक लक्ष्यका धेरै सूचकहरू । सबै सूचकको आधार वर्ष सन् २०१५ लाई लिइएको छ । चरम गरीबी उन्मूलनको महत्वपूर्ण सूचकहरूमा दैनिक १.२५ डलर मुनि आय रहेका जनसंख्याको प्रतिशत सन् २०१५ को २३.७ बाट २०३० मा ४.९ मा झार्ने आकांक्षा छ । त्यस्तै बहु आयामिक गरीबी २८.६ बाट ६.४८ मा झार्ने, प्रति व्यक्ति राष्ट्रिय आय ७६६ डलरबाट २५०० पुर्‍याउने, सामाजिक सुरक्षा प्रणालीमा समेटिएको जनसंख्याको अनुपात ८.१ बाट ८० प्रतिशत पुर्‍याउने, तल्लो पंचमक (क्विन्टाइल) को राष्ट्रिय उपभोगमा हिस्सा ७.६ बाट १२ प्रतिशत पुर्‍याउने आदि छन् ।

त्यस्तै दिविल २ (भोकमरीको अन्त्य) का पाँच परिमाणात्मक लक्ष्य र १३ तोकिएका सूचकहरू छन् । महत्वपूर्ण सूचकहरूमा न्यून पोषणलाई ३६.१ बाट २०३० सम्ममा ३ प्रतिशतमा झार्ने, प्रतिव्यक्ति खाद्यान्न उत्पादन ३२० केजीबाट ५३० पुर्‍याउने, पाँच वर्ष मुनिका बालबालिकाको पुड्कोपना ३६ बाट १५ प्रतिशतमा झर्ने, त्यस्तै कुपोषण ११.३ बाट ४ प्रतिशतमा झर्ने, प्रजनन् उमेरका महिलाको रक्त अल्पता ३०.१ बाट ९ प्रतिशतमा झर्ने, खेतीयोग्य जमीनमा सिंचाइ सुविधा २५.२ बाट ८० प्रतिशत पुर्‍याउने आदि छन् ।

दिविल ३ (स्वस्थ र समृद्ध जीवन) का ९ मुख्य परिमाणात्मक लक्ष्य र ४४ सूचकहरू तोकिएका छन् । केही महत्वपूर्ण सूचकहरू हुन्— मातृ मृत्युदर (प्रति दश हजार जीवित जन्म) २५८ बाट ७० मा झर्ने, पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रति हजार जीवित जन्म) ३८ बाट २० मा र नवजात शिशु मृत्युदर २३ बाट १२ मा झर्ने, क्षयरोग लाग्ने दर (प्रति लाख) १५८ बाट २० मा झर्ने, परिवार नियोजनका साधनको प्रजनन् उमेरका महिलामा प्रयोग दर ६६ बाट ८० पुर्‍याउने पूर्व प्रसूति सेवा, स्वास्थ्य संस्थामा बच्चा जन्माउने र उत्तर प्रसूति सेवाको प्रतिशत क्रमशः ५९.५, ५५.२ र २० बाट सबैमा ९० पुर्‍याउने, एचआईभी एन्टिरेट्रोभाइरल थेरापी पाउनेको प्रतिशत ३९.९ बाट ९५ पुर्‍याउने, स्वास्थ्य बीमामा आबद्ध गरीबको प्रतिशत ० बाट १०० पुर्‍याउने, घर भित्र र बाहिरको वायुमण्डलको कारणबाट हुने मृत्युदर (लाखमा) १११ बाट ७७.७ मा र असुरक्षित पानी, सरसफाइ आदिबाट हुने मृत्यु प्रति लाख ३७.७ बाट २६.३९ मा झर्ने आदि छन् ।

दिविल ४ (समावेशी, न्यायोचित गुणात्मक शिक्षा) का ७ मुख्य परिमाणात्मक लक्ष्य र २७ तोकिएका सूचकहरू छन् । तीमध्ये केही महत्वपूर्ण सूचकहरू हुन्— प्राथमिक तहमा खुद भर्ना दर र तह पूरा गर्ने दर ९६.६ र ८०.६ बाट ९९.५ प्रतिशत पुर्‍याउने, कक्षा–१ मा भर्ना भएका विद्यार्र्थीको कक्षा–८ सम्म पुग्ने अनुपात ७६.६ बाट ९५ पुर्‍याउने, पूर्व बाल्यकाल शिक्षामा उपस्थिति ८१ बाट ९९ प्रतिशत पुर्‍याउने, प्राविधिक र व्यावसायिक शिक्षामा छात्राहरूको भर्ना अनुपात ०.५३ बाट १ पुर्‍याउने, प्राथमिक र माध्यमिक विद्यालयमा लैङ्गिक समता सूचकांक १ मा पुर्‍याउने, साक्षरतामा आधारित (१५ माथिका) लैङ्गिक सूचकांक ०.६२ बाट १ पुर्‍याउने र लैङ्गिक विकास सूचकांक ०.५३ बाट ०.७ पुर्‍याउने आदि छन् ।

दिविल ५ (लैङ्गिक समानता) का ६ मुख्य परिमाणात्मक लक्ष्य र १८ तोकिएका सूचक छन् । तीमध्ये केही महत्वपूर्ण हुन्— लैङ्गिक असमानता सूचकांक ०.४९ बाट ०.०५ मा झर्ने, समान कामका लागि ज्यालामा महिला–पुरुष अनुपात ०.६२ बाट ०.९२ मा पुर्‍याउने, लैङ्गिक सशक्तीकरण मापन ०.५७ बाट ०.६९ पुर्‍याउने, १५–४९ वर्षका महिलामा यौन हिंसाको अनुभव २६ बाट ६.५ मा झार्ने, श्रममा महिला र पुरुषको सहभागिताको अनुपात ०.९३ बाट १ पुर्‍याउने, राष्ट्रिय र प्रदेश संसद्मा महिलाको प्रतिनिधित्व ४० पुर्‍याउने आदि छन् ।

दिविल ६ (खानेपानी, सरसफाइ) मा ६ मुख्य परिमाणात्मक लक्ष्य र १४ तोकिएका सूचक छन् । तीमध्ये सुरक्षित खानेपानी प्रयोग गर्ने जनसंख्या १५ बाट ९० प्रतिशत पुर्‍याउने, पाइप पानीको वितरण ४९.५ बाट ९० प्रतिशत पुर्‍याउने, शौचालय प्रयोग गर्ने जनसंख्याको अनुपात ६७.६ बाट ९८ पुर्‍याउने, सरसफाइ सुविधाबाट लाभान्वित जनसंख्या ८२ बाट ९९ पुर्‍याउने आदि केही महत्वपूर्ण लक्ष्य हुन् ।

दिविल ७ (सुलभ, दिगो ऊर्जा) का तीन परिमाणात्मक लक्ष्य र ११ तोकिएका सूचक छन् । तीमध्ये विद्युत्मा पहुँच भएको जनसंख्या ७४ बाट ९९ प्रतिशत पुर्‍याउने, खाना पकाउन दाउरा आदिको प्रयोग गर्ने परिवार ७४.७ बाट ३० प्रतिशतमा झर्ने, विद्युत् खपत र उपभोग प्रति व्यक्ति ८० किलोवाट घण्टाबाट १५०० पुर्‍याउने, कुल ऊर्जा खपतमा नवीकरणीय ऊजाको हिस्सा ११.९ बाट ५० प्रतिशत पुर्‍याउने आदि केही महत्वपूर्ण लक्ष्य हुन् ।

दिविल ८ (दिगो आर्थिक वृद्धि र रोजगारी) का १० परिमाणात्मक लक्ष्य र तोकिएका १६ सूचक छन् । केही महत्वपूर्ण लक्ष्य यी हुन्— प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन वृद्धि दर २.३ बाट ७ प्रतिशत पुर्‍याउने, यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धि दर (रोजगारी पाएका प्रतिव्यक्ति) १.६ बाट १० प्रतिशत पुर्‍याउने, गैर कृषि अनौपचारिक रोजगारीको अनुपात ७० बाट १० मा झार्ने, १५–५९ वर्षको बेरोजगारी दर २७.८ बाट १० प्रतिशतमा झर्ने, युवा अर्धबेरोजगारी दर ३५.८ बाट १० प्रतिशतमा झार्ने, कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २.६ बाट ८ प्रतिशतमा उकास्ने र जीवन बीमाले समेटेको जनसंख्या ५ बाट २५ प्रतिशतमा पुर्‍याउने आदि ।

दिविल ९ (पूर्वाधार र औद्योगीकरण) का ५ परिमाणात्मक लक्ष्य र ११ तोकिएका सूचक छन् । तीमध्ये महत्वपूर्ण लक्ष्य हुन्— सडक घनत्व ०.५५ किमि प्रति वर्ग किमीबाट १.५ पुर्‍याउने, त्यस्तै कालोपत्रे सडकको ०.०१ बाट ०.२५ पुर्‍याउने, कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १५ बाट २५ प्रतिशत पुर्‍याउने, औद्योगिक वस्तुमा मूल्य अभिवृद्धिको अनुपात ६.६ बाट १५ पुर्‍याउने, कुल रोजगारीमा ठूला उद्योगको रोजगारी अनुपात ६.६ बाट १३ मा उकास्ने, शतप्रतिशत जनसंख्यालाई मोबाइल नेटवर्कमा समेट्ने आदि ।

दिविल १० (असमानता घटाउने) का पाँच परिमाणात्मक लक्ष्य र १७ तोकिएका सूचक छन् । महत्वपूर्ण लक्ष्य हुन्— उपभोग असमानताको जिनी सूचक ०.३३ बाट ०.१६ मा झर्ने, त्यस्तै आय असमानता ०.४६ बाट ०.२३ मा घटाउने, कुल आयमा तल्लो ४० प्रतिशत जनसंख्याको हिस्सा ११.९ बाट १८ प्रतिशतमा बढाउने, पाल्मा अनुपात १.३ बाट १ मा ल्याउने, सामाजिक सदृढीकरण सूचकांक ०.४१ बाट ०.७ मा उकास्ने, वित्तीय जोखिम सूचकांक २७ बाट १ मा झर्ने, व्यवसाय गर्न सहजताको सूचकांक १०५ बाट ६० मा ल्याउने, लघुवित्तमा समेटिएको खेती गर्ने परिवारको अनुपात २४ बाट ४० पुर्‍याउने आदि ।

दिविल ११ (समावेशी, सुरक्षित मानव बस्ती र शहर) का ७ मुख्य परिमाणात्मक लक्ष्य र १३ सूचक तोकिएका छन् । तिनमा सुरक्षित घरमा बसोबास गर्ने परिवार २९.८ बाट ६० प्रतिशत पुर्‍याउने, सुरक्षित सार्वजनिक यातायातको उपलब्धता ०.१ बाट ५० प्रतिशत पुर्‍याउने, घरबाट ३० मिनेटमा पैदल पुग्ने सडकको पहुँच ५१.४ बाट ८० प्रतिशत पुर्‍याउने, २०३० सम्ममा ६० वटा योजनाबद्ध नयाँ शहरहरू बसाउने, वायुमण्डलमा २४ घण्टे पिएम २.५ को गाढापन ४० बाट २० मा झार्ने, त्यस्तै धूलोका कणहरू १२० बाट २५ मा झार्ने आदि छन् ।

दिविल १२ (दिगो उपभोग, उत्पादन) अन्तर्गत ६ मुख्य परिमाणात्मक लक्ष्य र ११ सूचक छन् । महत्वपूर्ण लक्ष्यहरू हुन्— कुल जलस्रोतको प्रयोग १० बाट २० प्रतिशत पुर्‍याउने, जीवाश्म ऊर्जाको खपत बढीमा १५ प्रतिशतमा रोक्ने, वन क्षेत्रले शोषण गर्ने कार्बन २२७६ बाट ३२०० पुर्‍याउने, माटोको जैविक पदार्थ १ बाट ४ प्रतिशतमा बढाउने, बाली भित्रयाएपछिको क्षति १५ बाट १ प्रतिशतमा झार्ने, प्लाष्टिकको प्रयोग ० मा झार्ने, प्लाष्टिकको पुनः प्रशोधन २४.५ बाट ९० प्रतिशतमा पुर्‍याउने आदि छन् ।


‘दिविल’ का गरीबी निवारण, कृषि, स्वास्थ्य आदि कुल १३ क्षेत्रमा सन् २०१६–२०३० का बीच नेपालको वार्षिक औसत लगानी आवश्यकता रु. २०२५ अर्ब हुने अनुमान गरिएको छ। यो भनेको नेपालको कुल गार्हस्थ्य उत्पादनको ४८ प्रतिशत जति हो।

दिविल १३ (जलवायु परिवर्तन प्रभाव न्यूनीकरण) का तीन मुख्य परिमाणात्मक लक्ष्य र १५ सूचक छन् । केही महत्वपूर्ण लक्ष्य हुन्— यातायात र औद्योगिक क्षेत्रको हरित ग्यास उत्सर्जनलाई १२ बाट ६ प्रतिशतमा झर्ने, १२० गाउँपालिकामा र ७२० समुदायमा जलवायु परिवर्तन स्थानीय अनुकूलन योजना तर्जुमा गर्ने, १७० स्मार्ट गाउँहरू बनाउने आदि छन् । अन्य दिविलका केही परिमाणात्मक लक्ष्यमा जस्तै दिविल १३ का कतिपय लक्ष्यहरूलाई परिमाणात्मक तहमा अझै अध्ययन गर्ने र तोक्नुपर्ने काम बाँकी नै छ ।

दिविल १४ महासागरका स्रोतहरूसँग सम्बद्ध छ र भूपरिवेष्टित नेपालका निम्ति सान्दर्भिक छैन ।

दिविल १५ (वनको दिगो व्यवस्थापन र जैविक विविधता) का ८ मुख्य परिमाणात्मक लक्ष्य र २६ सूचक छन् । महत्वपूर्ण लक्ष्यहरू यी हुन्— वन सहित संरक्षित क्षेत्रको प्रतिशत २२.३ बाट २३.३ मापुर्‍याउने, समुदायमा आधारित वन व्यवस्थापन ३९ बाट ४२ प्रतिशतमा पुर्‍याउने, पाँच हजार ताल र सिमसारको संरक्षण, वन–जङ्गलको घनत्व (प्रति हेक्टर रूख) ४३० बाट ६४५ पुर्‍याउने, संरक्षित क्षेत्रमा समाहित पर्वतीय पारिस्थितिक प्रणाली ६७.८ बाट ७० प्रतिशत पुर्‍याउने, संरक्षण योजना अन्तर्गतका वनस्पति र जीव प्रजातिको संख्या क्रमशः ३ र ५ बाट ५४ र ४८ पुर्‍याउने आदि छन् । यो दिविलमा पनि केही महत्वपूर्ण लक्ष्यहरू निक्र्योल गर्न बाँकी नै छन् ।

दिविल १६ (समावेशी संस्थाहरूको स्थापना) का १० मुख्य परिमाणात्मक लक्ष्य छन् । तिनमा सबै प्रकारका हिंसा, शोषण, तस्करी, बालबालिका माथिको यातना, अवैध हातहतियारदेखि लिएर भ्रष्टाचार र ती सब नियन्त्रण गर्न चाहिने संस्थागत क्षमता, नीतिनिर्माण र अन्तर्राष्ट्रिय समन्वय आदि विषय समेटिएका छन् । त्यस्तै दिविल १७ (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझरेदारी) का १९ परिमाणात्मक लक्ष्यहरू छन् । तिनमा विकासशील देशलाई दिइने अन्तर्राष्ट्रिय सहायता, अन्य वित्तीय स्रोत, लगानी प्रवद्र्धन तथा प्रविधिको विकास र स्थानान्तरण, क्षमता अभिवृद्धि, न्यायोचित व्यापार, नीतिगत संगति र समन्वय, कार्यान्वयनमा अन्तर्राष्ट्रिय साझेदारी र एकीकृत तथ्यांक जस्ता विषयहरू समावेश छन् । दिविल १६ र १७ का अधिकांश विषय खास गरेर प्रक्रियागत र गुणात्मक रहेकाले सबै लक्ष्यलाई अङ्कमा तोक्न कठिन हुने किसिमका छन् । तर यी लक्ष्यहरू दिविलका अन्य लक्ष्यहरूको प्राप्तिका निम्ति अपरिहार्य हुनसक्छन् । कतिपय लक्ष्यहरूको आधार तथ्यांक नै नेपालमा उपलब्ध छैन । त्यस्ता तथ्यांक सङ्कलन र प्रशोधन गर्ने समस्या पनि छ ।

‘दिविल’ का परिमाणात्मक लक्ष्य र सूचकहरूले यसको आकांक्षाको व्यापकता र गहनतालाई उजागर गर्छन् । निश्चय पनि राजनीतिक, आर्थिक, सामाजिक प्रतिबद्धता र सुशासनको प्रत्याभूति विना ‘दिविल’ हासिल गर्न सम्भव हुँदैन ।

नेपालका सन्दर्भमा राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि वार्षिक औसत लगानी आवश्यकताको लेखाजोखा पनि गरेको छ । सो अनुसार ‘दिविल’ का गरीबी, कृषि, स्वास्थ्य आदि कुल १३ क्षेत्रमा सन् २०१६–२०३० का बीच वार्षिक औसत लगानी आवश्यकता रु.२०२५ अर्ब हुने अनुमान गरिएको छ । यो भनेको देशको कुल गार्हस्थ्य उत्पादनको ४८ प्रतिशत जति हो । कुल लगानीमा यातायात, उद्योग, सूचनाप्रविधिमा ३०.३ प्रतिशत, शिक्षामा १५.१ प्रतिशत, ऊर्जामा १२.८ प्रतिशत, शहरी पूर्वाधारमा ८.४ प्रतिशत, गरीबी निवारणमा ७.५ प्रतिशत, स्वास्थ्यमा ६.६ प्रतिशत र बाँकी ९.३ प्रतिशत अन्य क्षेत्रमा आवश्यक पर्ने देखाइएको छ । ‘दिविल’ को लगानीमा करीब ५५ प्रतिशत सार्वजनिक क्षेत्रबाट बेहोरिनुपर्ने हुन्छ । ‘दिविल’ लगानीमा प्रति वर्ष करीब रु.५८५ अर्ब वित्तीय अन्तर अर्थात् लगानीको आवश्यकता र उपलब्ध स्रोतका बीचको अन्तर हुने देखिन्छ । यो अन्तर पूरा गर्न निजी क्षेत्रको परिचालन तथा अन्तर्राष्ट्रिय सहयोगको भूमिका निर्णायक हुनेछ ।

‘दिविल’ को स्थानीकरण
माथि उल्लिखित ‘दिविल’ का परिमाणात्मक लक्ष्यहरू राष्ट्रिय तहका हुन् । तर राष्ट्रिय तहको उपलब्धिको खास अर्थ हुँदैन यदि प्रदेश, क्षेत्र, जाति र समुदायबीच उपलब्धिमा ठूलो असमानता र विभेद रहिरह्यो भने । ‘कसैलाई पनि पछि नछाडने’ (लिभ नो वन विहाइन्ड) ‘दिविल’ को प्रतिबद्धता हो । यसैले ‘दिविल’ को स्थानीकरण महत्वको विषय हुन जान्छ । राष्ट्रिय लक्ष्यले मार्गनिर्देशसम्म गर्ने हो । ‘दिविल’ को सारपूर्ण उपलब्धि हुने त प्रदेश र अझ् स्थानीय तहमै हो ।

संघीयताका सन्दर्भमा राष्ट्रिय ‘दिविल’ लाई आधार मानेर प्रत्येक प्रदेश र पालिका तहको ‘दिविल’ स्थापित गर्नु आवश्यक हुन्छ । ‘दिविल’ स्थानीकरण भनेको राष्ट्रिय लक्ष्यलाई प्रदेशका सन्दर्भमा र पालिकाका तहमा सान्दर्भिक बनाएर प्राथमिकीकरण गर्ने र सोही अनुरूप नीति, कार्यक्रम तर्जुमा, समन्वय र कार्यान्वयन गर्ने कुरा हो । उदाहरणका लागि, न्यून गरीबी भएको पालिकामा गरीबी निवारण कार्यक्रममा बढी स्रोत–साधन नचाहिएला र अन्य विषयहरू प्राथमिकतामा पर्लान् । त्यस्तै जातिगत वा लैङ्गिक विभेद बढी भएका पालिकामा यी विषयलाई प्राथमिकता दिनु पर्ला । यसैले स्थानीकरणले स्थानीय सन्दर्भमा प्रत्येक विषयको महŒव र प्राथमिकता बुझन मद्दत गर्छ र राष्ट्रिय परिमाणात्मक लक्ष्यलाई स्थानीय सन्दर्भमा केलाउन र तोक्न सहज बनाउँछ । कतिपय सन्दर्भ हेरेर थप सूचकहरू समेत समावेश गर्नुपर्ने खण्ड पनि आउन सक्छ ।

स्थानीकरणले गर्दा स्थानीय सन्दर्भमा नीति र कार्यक्रमहरूको तर्जुमा, आवश्यक तथ्याङ्क सङ्कलन र विश्लेषण र समग्र विकास प्रक्रियालाई राष्ट्रिय र स्थानीय दुवै कोणबाट हेर्न र लेखा–जोखा गर्ने परिपाटी बस्छ । साथै ‘दिविल’ हासिल गर्नका निम्ति प्रदेश र पालिका तहमा आवश्यक वित्तीय र अन्य स्रोतको जोहो गर्ने आधार समेत मिल्छ । यसरी हेर्दा प्रदेश र पालिका तहका ‘दिविल’ ले प्रदेश र पालिका तहकै विकासको समन्वयात्मक मार्गचित्र र योजना निर्माणको प्रारूप दिन्छ । यसैले ‘दिविल’ लाई आवधिक र वार्षिक योजनाकै अभिन्न अङ्गका रूपमा नलिई हुँदैन, अर्थात् ‘दिविल’ यी योजनामा समाहित हुनैपर्छ ।

नेपालमा अहिलेसम्म प्रदेश तहको ‘दिविल’ सम्बन्धमा केही प्राथमिक कार्यहरू भएका छन्, तर पालिका तहमा ‘दिविल’ का परिमाणात्मक लक्ष्य स्थापित गर्ने र तिनलाई हासिल गर्न आवधिक र वार्षिक समन्वयात्मक नीति र कार्यक्रम बनाउने काम हुन बाँकी नै छ । ‘दिविल’ मा सार्वजनिक क्षेत्रको लगानी र कार्यक्रमको ठूलो महत्व हुन्छ नै तर निजी र सहकारी क्षेत्रको सहभागिता विना धेरै प्रयत्न अधुरै रहन्छन् । यी क्षेत्रहरूलाई कसरी ‘दिविल’ उन्मुख बनाउने, प्रोत्साहनका कस्ता पहलहरू गर्ने भन्ने जस्ता धेरै प्रश्नको उत्तर खोज्न बाँकी नै छ ।

माथि भनिए जस्तै ‘दिविल’ को वार्षिक, आवधिक अनुगमन गर्ने तथ्याङ्कीय आधार र संस्थागत परिपाटी संघ, प्रदेश र पालिका तीनै तहमा बसाउनु पनि त्यत्तिकै आवश्यक छ । संघीय तहमा संयन्त्रहरू बनाइएका छन् । प्रदेश र पालिका तहमा बनाउने काम बाँकी छ ।

सहस्राब्दी विकास लक्ष्यको सबैभन्दा ठूलो विशेषता त्यसको अनुगमन गर्न सहज परिमाणात्मक सूचकहरू थिए । तर दिगो विकास लक्ष्यहरू ‘सविल’ भन्दा जटिल र बहुआयामिक छन् । अनुगमन र मूल्याङ्कनका सहज सूचक भएनन् र त्यस्तो तथ्याङ्कको भरपर्दो सङ्कलन भएन भने उपलब्धि मापन गर्न सकिन्न । फेरि नीतिगत र प्रक्रियागत लक्ष्यहरूको मापनका निम्ति पनि तुलनात्मक आधारहरू बनाउनु त्यत्तिकै आवश्यक हुन्छ ।

सन् २०१६ मा शुरू भएको नेपालको ‘दिविल’ यात्राले तीन वर्ष तय गरिसकेको छ । सन् २०२२ सम्ममा पहिलो अवधिका उपलब्धिहरूको लेखाजोखा गर्ने काम होला । अहिलेलाई त्यतिन्जेलसम्म प्रदेश र पालिका तहमा ‘दिविल’ स्थानीकरणको प्रक्रिया स्थापित भइसकेको हुनेछ र ‘दिविल’ को मापन र अनुगमन गर्ने विधि र आधार तयार भइसकेको हुनेछ भनेर आशा गरौं ।



 

commercial commercial commercial commercial