बाल साहित्यमा चोरी, गाली र मारकाट

असीम तिक्तता, दबाएर राखिएको आक्रोश र चरम अत्याचारप्रतिको घृणालाई कसरी अभिव्यक्त गर्ने ? जुन महिलाहरू कुनै शक्तिशालीको वासनाको शिकार बन्छन्, जुन किसानलाई साहूले घरबास उठाइदिएर परिवारको प्राण समेत बचाउन नसक्ने अवस्थामा पुर्याइएका हुन्छन्, तिनले आफ्नो भावना व्यत्ताm गर्न अपशब्द बाहेक कुन भाषाको उपयोग गर्न सक्छन् ?
बाल्यावस्था र त्यसमा पनि बाल साहित्य सम्बन्धी कल्पना एउटा निश्चित आदर्श र अवधारणामा आधारित छ । जीवनका कुत्सित पक्षबाट बालबालिकालाई असंपृक्त राख्नु, उत्पादन र पुनरुत्पादनका सन्दर्भबाट टाढा राख्नु, तर कुनै न कुनै रूपमा वयस्कहरूको यस दुनियाँका निम्ति तिनलाई तयार गर्नु यो अवधारणाको गुदी हो । बाल्यावस्थाको पुरानो सीमा तन्काउँदै १८ वर्षको उमेरसम्म पुर्याउने क्रममा त्यस अवस्थाका लागि विशिष्ट साहित्य निर्माण गर्नु आवश्यक ठानिन थाल्यो । अनि, बाल्यावस्थाको अबोधतालाई कायम गरिराख्न ती सबै तत्वहरूबाट रहित साहित्य रच्न थालियो, जसलाई मध्यमवर्गीय मापदण्डमा ‘राम्रो’ मानिंदैन । श्रमसाध्य उत्पादन कार्य, यौन व्यवहार, दैनन्दिनका लडाईं–झगडा, युद्ध, मृत्यु, चोरी, झूठ, ठगी, शोषण, संघर्ष— यी सबैबाट बचेर बाल साहित्यमा एउटा सुन्दर स्वप्नलोक रचना गर्ने प्रयास गरियो । कमसेकम यी तत्वहरूलाई बाल साहित्यमा प्रभावी हुन कदापि दिइएन । जीवनको सुन्दरता र सत्यको विजयमाथि विश्वास कायम राख्न बाल साहित्यको उपयोग गरियो । यस्तैखाले कृत्रिम साहित्यको उदाहरण भाषाका प्रारम्भिक पाठ्यपुस्तकहरूमा पनि देख्न सकिन्छ, जहाँ पहिले मात्रा नलागेका वाक्य, त्यसपछि ‘आ’ को मात्रा लागेका वाक्य र त्यस पश्चात् क्रमशः अन्य मात्रा लागेका वाक्यहरू बेग्लाबेग्लै पाठमा राखिएको हुन्छ । यसमा पनि बाल्यावस्था र केटाकेटीको क्षमताबारे एउटा निश्चित परिकल्पनाले काम गरेको छ ।
यसै मेसोमा बाल साहित्यका लागि एउटा मानक–भाषाको सिर्जना गरियो । त्यो बोलीचालीकै भाषाबाट उत्पन्न भएको भए पनि त्यसलाई एक खालको साहित्यिक र आदर्श सामाजिक व्यवहारको ढाँचामा बाँधिएको हुन्छ । ती तमाम तत्वहरूलाई यो मानक भाषाबाट बाहिर पारियो, जसलाई मध्यमवर्गले अप्रिय, गलत अथवा घिनलाग्दो मान्छ । अपशब्द, गालीगलौज, यौनिकता, आत्मीय अनौपचारिक सम्बोधन, सन्दर्भ–आधारित अभिव्यक्ति, बोलचालका क्रममा शब्दमा हुने फेरबदल (अपभ्रंश) आदिलाई त बाहिर पारियो, तर उच्चता–नीचता, अभिजातीयता, अमूर्तता आदिसँग जोडिएका तत्वलाई भने मानक–भाषामा बकाइदा आत्मसात् गरियो । बाल साहित्यको मात्र नभएर छाप्ने र औपचारिक सभा–समारोहमा बोलिने लायक भाषाको समेत मानदण्ड यसरी निर्धारित हुनपुग्यो ।
यी मान्यता र मानदण्डहरूको निर्धारक निस्सन्देह मध्यम वर्ग थियो, जसको जटिल अस्तित्व छ । यो एकातिर आफूलाई समग्र मानव संस्कृतिको पारखी उत्तराधिकारी मान्छ भने अर्कातिर आधुनिक समाजमा आफ्नो वर्गीय परिस्थितिमा बाँधिएको पनि छ । मानव इतिहास, संस्कृति र सभ्यताको उत्कृष्ट, सृजनशील, उदार र लोकतान्त्रिक पुख्र्यौली सम्पदालाई जोगाएर अघि बढाउन यसको अहम् भूमिका छ । यसै प्रक्रियामा यसका मानक तय गर्ने अधिकार पनि यस वर्गले आफ्नो हातमा लिएको छ । बाल साहित्य, र समग्र साहित्यको प्रचलित मानक यसैको एक कडी हो । यस अन्तर्गत रचित साहित्यको तुलना यसअघिको अभिजातीय र लोकप्रिय— दुवै किसिमका साहित्यसँग गर्ने हो भने हामीले पाउनेछौं, तिनमा यस किसिमका चिन्ता र चासो हावी थिएनन् ।
वेदमा गाई चोर्नुलाई गर्वका रूपमा वर्णन गरिएको छ। उसो त यसलाई चोरी नै पनि मानिएको छैन। यजुर्वेद मा शिवलाई चोरको सरदार (तस्कराणां पतिः) भनिएको छ।
यी कुरामा छलफल र मतभेद अवश्य हुन सक्छन् तर यसमा शायदै कसैलाई सन्देह होलाः जुनखाले भाषालाई आज हामी आदर्श मान्छौं, संस्कृतिका जुन तत्वहरूबारे संवेदनशील छौं अथवा बाल साहित्यका लागि जुन कुराहरूलाई उपयुक्त मान्छौं— यी पछिल्ला सय–दुई सय वर्षमा गढिएका हुन् र सायास गढिएका हुन् । त्यसैले यिनलाई बदल्न पनि सकिन्छ । यिनका विकल्प पनि विद्यमान छन् । केही विकल्प त प्राचीन र मध्यकालीन साहित्य तथा संस्कृतिमै भेटिन्छन् अनि केही लोक साहित्यमा र केही हदसम्म आधुनिक दलित साहित्यमा पाइन्छन् ।
माथि शीर्षकमा समाविष्ट तीनवटा विषयमा क्रमशः चर्चा गरौंः
चोरी
चोरीको धारणा मूलतः व्यक्तिगत सम्पत्तिको अवधारणासँग जोडिएको छ । जब समाजमा यो अवधारणा बन्यो, यससँगै विना अनुमति अर्काको कुरा लिनुलाई गलत मान्न थालियो । र, यसो गर्नुलाई दण्डनीय अपराधको श्रेणीमा राखियो । शिकारी–युगमा निजी सम्पत्तिको विकसित अवधारणा थिएन, त्यसैले एकअर्काको सामान नहिच्किचाई लिन वा उपयोग गर्न सकिन्थ्यो । आदिवासी कबीला–समाजमा सामान्यतः आज पनि यो सहजता देख्न सकिन्छ । तर, वर्ग–आधारित शहरी समाजमा निजी सम्पत्तिको रक्षाका लागि चिन्ता र प्रयास हजारौं वर्ष अघि नै शुरू भइसकेको थियो । ईसापूर्व १७५४ मा बेबिलोनियाको राजा हम्मुराबीले बनाएको, आजसम्म उपलब्ध सबैभन्दा पुरानो कानूनमा चोरी गर्दागर्दै फेला पर्नेलाई मृत्युदण्ड दिने प्रावधान थियो । यस्तैखाले प्रावधान यूनानी र रोमन कानूनमा पनि थिए । ईसाईहरूमा भने चोरीका बारे दुविधा देखिन्छ । एकातिर, ईश्वरका दश परमादेशमध्ये एउटा ‘चोरी नगर्नू’ भन्ने थियो भने अर्कातिर प्रारम्भिक कालका ईसाईहरू निजी सम्पत्ति राख्नुलाई नै चोरी मान्थे । उनीहरू साझ सम्पत्ति र त्यसको साझ उपयोगको वकालत गर्थे ।
भारतीय उपमहाद्वीपको कुरा गर्दा, हडप्पा सभ्यतामा मानिसहरू चोरीबारे के सोच्थे, हामीलाई थाहा छैन । वेदमा अन्य कबीलाका गाई चोर्नुलाई गर्वका रूपमा वर्णन गरिएको छ । उसो त यसलाई चोरी नै पनि मानिएको छैन । यजुर्वेदमा शिवलाई चोरको सरदार (तस्कराणां पतिः) भनिएको छ । तर, मनुस्मृति सम्म आइपुग्दा मामिला निकै बदलिइसकेको छ । मनुका अनुसार चोरी रोक्नु र चोरलाई दण्डित गर्नु राजाका प्रमुख कर्तव्यमध्ये पर्दछ । चोरी गलत हो भन्ने मान्यता ब्राह्मणवादी सोच मात्र थिएन । केही हदसम्म यसलाई जैन र बौद्ध परम्पराले पनि अपनाएको देखिन्छ । जैन महाव्रतहरूमध्ये अस्तेय अर्थात् चोरी नगर्नु पनि पर्छ ।
यसका बावजूद, चोरी र चोरका प्रति निरपेक्ष हेय भावना भारतीय परम्परामा देखिंदैन । भागवतमा कृष्णको मखन–चोरीलाई महिमामण्डित गरिएको छ ।
स्तुतिकाव्यमा उनलाई पनि चोरका सरदार (चौराग्रगण्य पुरुष) मानिएको छ । बौद्ध साहित्यमा पनि चोरप्रति सरल हेय–दृष्टिकोण पाइँदैन । अझ् कहीं कहीं त चोरी गर्नुलाई अनुचित समेत मानिएको छैन, जस्तै— अम्बचोर जातक । तदनुसार (१५० ईस्वीतिर) भिक्षु नागार्जुनकहाँ एउटा चोर पुग्छ र भन्छ, ‘म चोर हुँ र चोरी गर्न छोड्न सक्तिनँ । जति साधुहरूलाई मैले भेटें, उनीहरू पहिले चोरी छोड् भन्छन् । के, चोरी गर्न नछोडेसम्म मोक्ष प्राप्तिको बाटो खुल्दैन ?’
नागार्जुन उसलाई भन्छन्, ‘तिमी चोरी गर अथवा अरू जे गर्छौ गर, तर पूर्ण प्रज्ञाका साथ ग¥यौ भने मोक्षको मार्गमा अघि बढ्न थाल्नेछौ ।’ कुराको चुरो के भने, यहाँ चोरी गर्नुलाई निकृष्ट काम मानिएको छैन ।
मध्यकालीन साहित्यमा चोर र चोरीको पेशा गर्ने समुदायका बारेमा मूर्त र स्पष्ट विवरण पाइन्छन् । चोरीलाई तिनको पेशा मानिएको छ, जसका विधि–नियमहरू हुन्छन्, देवी–देवता हुन्छन् र निर्धारित कर्मकाण्ड पनि हुन्छ । यो पेशा अपनाउनेका निम्ति एउटा ‘धर्म’ नै हो । लगभग यही दृष्टि वेश्यावृत्तिका बारेमा पनि छ । मृच्छकटिक जस्ता नाटक यस धाराका उदाहरण हुन्, जसमा चोर–धर्मको उदात्त वर्णन देख्न सकिन्छ । ‘साँवरिया सेठ’ जस्ता मन्दिर आज पनि छन्, जहाँ चोर र डाकाहरूले श्रीकृष्णलाई आफ्ना इष्ट देवता र ‘पार्टनर’ मानेर आफ्नो कमाइको एक हिस्सा चढाउँछन् भनिन्छ । नर्मदा–यात्राका क्रममा यात्रीलाई शूलपाणेश्वर जङ्गलमा भिल्लहरूले लुट्छन्, जसलाई तिनको धर्म र यात्रा–कर्मकाण्डको एउटा अङ्ग मानिन्छ । भनिन्छ, भिल्ल–नायक एकलव्यको बूढीऔंलो काटिएको क्षतिपूर्तिस्वरूप त्यहाँ पुगेका यात्रीलाई लुट्ने अधिकार उनीहरूले पाएका हुन् । समग्रमा, यी कुरालाई समाजको विविधता अन्तर्गत मानिएको र स्वीकारिएको पनि छ ।
उता, बेलायतमा एउटा ‘जन–नायक’ छ रबिनहुड, जो अन्यायका विरुद्ध लड्थ्यो र धनीहरूलाई लुटेर गरीबहरूको मदत गथ्र्यो । यस्तैखाले कैयौं नायक हाम्रा लोक जीवनमा पनि पाइन्छन्, जसको वीरगाथा गाउँहरूमा गाइने गथ्र्यो । यीमध्ये अधिकांश दलित, शोषित र विपन्न वर्गका हुन्थे । लोकजीवन जस्तै लोकसाहित्यले पनि सामाजिक विरोधाभास र विडम्बनाको मदतले चोरीसँग जोडिएका नैतिक–अनैतिक, राम्रो–नराम्रो भन्ने सोच र धारणाहरूलाई चुनौती दिने गर्छ । पछिल्लो समयमा, भारतमा विजयदान देथा र हबीव तनवीरले प्रस्तुत गरेको ‘चरणदास चोर’ को कथा यस्तै लोक कथामा आधारित छ । श्याम बेनेगलले यसै कथामा आधारित रहेर केटाकेटीका लागि एउटा सिनेमा पनि बनाए । चरणदास चोर आफ्नो मान्यतामा अडिग सत्यवादी चोर हो, जो आफ्नो सिद्धान्तका लागि ज्यान दिन तयार छ र समाजका तमाम मान्यतामाथि प्रश्न खडा गर्छ ।
यी सब कुराको पृष्ठभूमिमा आजको बाल साहित्यमा यस विषयमा केही लेख्न सकिन्छ र मेरो विचारमा, अवश्य लेख्नुपर्छ । चोरी, तस्करी, वेश्यावृत्ति जस्ता तथाकथित आपराधिक वृत्ति समाजमा किन हुर्कन्छन्, तिनले समाजमा कस्तो भूमिका खेल्छन्, समाजका स्थापित मूल्यहरूलाई कसरी चुनौती दिन्छन् जस्ता प्रश्नले पनि बाल साहित्यमा प्रवेश पाउनुपर्छ । यसै सन्दर्भमा, समाजमा व्याप्त यीभन्दा गम्भीर अपराधहरूबारे पनि चर्चा गर्न सकिन्छ । जस्तै, कसरी ठूला कम्पनी र धनीहरूले सामाजिक संसाधन लुटिरहेका छन्, युद्ध किन लडिन्छन् र तिनले जनसाधारणमा कस्तो प्रभाव पार्छन् आदि । मानक सामाजिक मूल्यहरूलाई चुनौती दिन एउटा प्रभावकारी शैली ‘चरणदास चोर’ ले प्रस्तुत गरेको छः तर्क र हास्यको घातक मिश्रण, जसलाई व्यंग्य पनि भन्न सकिन्छ । यसले कमसेकम बाल–मनमा राम्रैगरी प्रश्न उठाइदिन्छ ।
भाषाको प्रश्न
श्रमजीवी निम्न वर्गको भाषा सुसंस्कृत मध्यमवर्गको भाषाभन्दा फरक हुन्छ भन्ने कुरा लगभग संसारभरि नै मानिएको, देखिएको सत्य हो । तर यो फरकलाई कसरी बुझने र साहित्यमा कसरी समाहित गर्ने ? प्राचीन संस्कृत नाटकहरूमा यसको एउटा उपाय निकालिएको थियो । तिनमा हरेक पात्र आफ्नो जाति र वर्गको हैसियत अनुरूपको भाषा बोल्थ्यो । उच्च जातिका पुरुष परिष्कृत संस्कृतमा बोल्थे, महिला र तल्लो जातिका पुरुष त्यसभन्दा फरक प्राकृत वा अन्य बोलीहरूमा बोल्थे ।
तर, भाषाको कुरा शब्द र वाक्य संरचनासँग मात्र जोडिएको हुँदैन । यसमा कैयौं विशेष कुरा शामेल छन् जसमा सामान्यतः उति विचार गरिंदैन । पहिलो कुरा त निम्न वर्गको भाषामा अपशब्द र गालीगलौजको उपयोग सामान्य हुन्छ । दोस्रो कुरा, प्रायः मानक व्याकरणलाई भाँचकुँच गरिन्छ । तेस्रो कुरा, आफ्नो भाव अभिव्यक्त गर्न शब्द र वाक्य बाहेक बोल्ने शैली, भंगिमा र शारीरिक अभिनयको उपयोग गरिन्छ । उच्च वर्गको भाषा लिपिबाट पर्याप्त प्रभावित हुन्छ र त्यसमा सन्दर्भहीन अवस्थामा पनि सही अर्थ बुझ्यिोस् भन्ने चेष्टा राखिएको हुन्छ । मैले चिठीमा कुनै कुरा लेखें भने त्यो सुदूर क्षेत्रको मित्रले पनि बुझन सक्नुपर्छ, कुनै असम्बद्ध व्यक्तिले पनि बुझन सक्नुपर्छ र सकेसम्म पचास वर्षपछि पनि मानिसले त्यसको उही अर्थ र आशय बुझन सक्नुपर्छ । हामी जस्तो लेख्छौं त्यस्तै बोल्छौं— सन्दर्भहीन अमूर्तताका साथ । तर निम्न वर्गको भाषा लिपिबाट त्यसरी प्रभावित हुँदैन, त्यसैले सन्दर्भरहित अभिव्यक्तिको सम्भावना त्यहाँ नगण्य हुन्छ । यी तीनवटै कुरालाई मिलाएर हेर्दा श्रमजीवी निम्नवर्गको भाषा साहित्यका लागि अनुपयोगी हुन पुग्छ । अपशब्द र गालीगलौजलाई स्थान दिने, व्याकरण–विरुद्ध, बोल्ने शैली र शारीरिक अभिनयमा आधारित अभिव्यक्तिलाई लिपिबद्ध साहित्यमा कसरी समाहित गर्ने ?
हिंसा र मारकाट समाजको यथार्थ हो। दिनहुँ केटाकेटीले ठूला मान्छेबाट पिटाइ खान्छन्, जँड्याहा बाबुले आमालाई पिटेको देख्छन्। गुण्डाहरूबीचको झगडा र मारपीट देख्छन्। प्रहरीको हिंसा देख्छन्, भोग्छन्।
कुनैवेला के भनिन्थ्यो भने श्रमजीवी वर्गको भाषा अहिले विकसित छैन, उनीहरू सुशिक्षित र सुसंस्कृत भएपछि तिनको भाषा पनि आफ्नो विशेषता सहित मानक बन्नेछ । तर वास्तवमा यो विकासको समस्या होइन । निम्न वर्गको भाषा पनि उच्च र मध्यम वर्गको भाषा जत्तिकै विकसित छ, त्यसको विकासको दिशा मात्र फरक हो । उसको अभिव्यक्ति क्षमता अथवा ‘रेन्ज’ मा कुनै कमी छैन, जसलाई शिक्षा मार्फत पूरा गर्नुपरोस् । बरू, त्यस भाषामा जेजस्ता भाव र यथार्थलाई आकार दिने र अभिव्यक्त गर्ने क्षमता छ, त्यो आभिजात्य भाषामा कदापि छैन । त्यसैले, हामीले त्यस भाषाको सहयोग लिएनौं भने ती तमाम अनुभव, कल्पना र वाग्वैदग्घ्यबाट पनि साहित्य वञ्चित र रिक्त हुनेछ ।
श्रमजीवी वर्गको भाषा लिपिबद्ध गर्न दुई मुख्य समस्या छन् । पहिलो समस्या हो, बोलीको शैली तथा भंगिमा र शारीरिक अभिव्यक्तिलाई कसरी लेख्ने ? यसको एउटा तरीका, शायद, कमिक्स वा चित्रकथाका रूपमा उपलब्ध छ । यसमा भाव र भंगिमा देख्न सकिन्छन् अनि लिखित सामग्रीलाई आफ्नो तरीकाले पढ्न वा भन्न सकिन्छ । पाठकबाट उसले हेरोस्, पढोस् र चित्र तथा शब्द–वाक्यहरू सँगै राखेर बुझेस् भन्ने अपेक्षा गरिन्छ । दोस्रो समस्या अझ् जटिल छ त्यो हो— अपशब्द र गालीगलौज । असीम तिक्तता, लामो समयदेखि दबाएर राखिएको आक्रोश र चरम अत्याचारप्रतिको घृणालाई कसरी अभिव्यक्त गर्ने ? जुन महिलाहरू कुनै शक्तिशालीको वासनाको शिकार बन्छन्, जुन बालबालिकाले आफ्ना आमाबाबुमाथि प्रहरीले दुव्र्यवहार गरेको देख्छन्, जुन किसानहरू साहूले घरबास उठाइदिएर परिवारको प्राण समेत बचाउन नसक्ने अवस्थामा पुर्याइएका हुन्छन्, तिनले आफ्नो भावना व्यक्त गर्न अपशब्द बाहेक कुन भाषाको उपयोग गर्न सक्छन् ? फेरि, अपशब्द त क्रोध व्यक्त गर्ने माध्यम मात्र बन्दैन, प्रेम र आत्मीयता प्रदर्शन गर्ने माध्यम पनि बनेको हुन्छ ! मलाई लाग्छ, हामीले व्यक्तिको गरिमा र आत्मसम्मानमा ठेस नपुर्याइकन यस भाषाको उपयोग गर्न थाल्नुपर्छ । समस्या छन् भनेर आभिजात्य भाषा मात्र उपयोग गर्नु जरूरी छैन ।
मारकाट
जुनवेला मेरा छोराछोरी सानै थिए, एकजना छिमेकी सज्जनले उनीहरूलाई श्रीकृष्णको बाललीलामा आधारित एउटा चित्रकथा उपहार दिए । त्यसलाई सर्सर्ती हेर्दा मलाई अचम्म लाग्यो र डर–डर पनि अनुभव भयो । पुस्तकमा बालक श्रीकृष्णले नानाथरिका जनावर, पक्षी र महिलालाई समेत मारेको–वध गरेको देखाइएको थियो । चित्रकथा थियो, त्यसैले हरेक तस्वीर रंगीन थिए— आकर्षक र जीवन्त । मलाई लाग्यो, प्राणी–जगत्प्रति यति हिंसक पुस्तक केटाकेटीलाई कसरी पढ्न दिऊँ । फेरि सोचें, भागवत र कृष्णलीला त हामीले केटाकेटीदेखि नै सुन्दै आएको कुरा हो; त्यसवेला त यी हिंसक घटनाबाट हामीलाई डर लागेन र घृणा पनि उत्पन्न भएन । तर आज बाल साहित्यका रूपमा त्यही कुरा प्रस्तुत भएको देख्ता किन यस्तो महसूस भयो ?
हिंसा र मारकाट हामी वरिपरिको समाजको यथार्थ हो । दिनहुँ केटाकेटीले ठूला मान्छेबाट पिटाइ खान्छन्, जँड्याहा बाबुले आमालाई पिटेको देख्छन् । गुण्डाहरूबीचको झगडा र मारपीट देख्छन् । प्रहरीको हिंसा देख्छन्, भोग्छन् । सार्वजनिक बस र स्कूलमा हुने हिंसा अनायास साक्षात्कार गर्छन्, अनुभव गर्छन् ।
अर्कातिर केटाकेटी स्वयं मारकाटका खेल खेलिरहेका हुन्छन् । चोर–सिपाही अथवा कम्प्युटर/मोबाइल गेमहरू, जसमा मानिसलाई मार्नु सामान्य कुरा हो । यस्तो लाग्छ, यत्रो हिंसाका बीच रहँदारहँदै केटाकेटीलाई यसको बानी पर्न थाल्छ र उनीहरू हिंसालाई स्वीकार गर्छन्— यसमा निहित असमानताका साथ । अर्थात्, म आफूभन्दा कमजोरलाई पिट्न–मार्न सक्छु र मभन्दा बलियोले मलाई पिट्न–मार्न सक्छ । तर, बाल साहित्यमा हिंसा सामान्यतः वर्जित मानिएको छ, जसको उद्देश्य केटाकेटीलाई हिंसाको प्रभावबाट बचाउनु हो । त्यस्तै, जसरी शुद्धोदनले सिद्धार्थलाई रोग, बुढ्याइँ र मृत्युका दृश्यबाट बचाएका थिए !
बाल साहित्यमा हिंसा खास सन्दर्भमा देखाइन्छ, जब नायकले ‘दानवी’ प्रवृत्तिका अथवा देश–विरोधी शत्रुहरूको विनाश गर्छ । यसमा निहित सन्देश हो— यस्तो वेला हिंसा जायज हुन्छ र त्यो वीरताको विषय हो । हिंसाद्वारा नै नायक महानायक बन्छ । यसै परम्परामा सेना र सैनिकहरूको महिमामण्डन गरिन्छ । तर, शौर्यगाथाहरूमा सगौरव स्थान पाउने यही हिंसा अन्य सन्दर्भमा गायब हुन्छ । बाल साहित्यमा बाबुबाट पिटाइ खाइरहेका आमाहरू, प्रहरी चौकीमा हुने निर्मम पिटाइ, गुण्डाहरूबीचको काटाकाट अथवा साम्प्रदायिक दंगाको हिंसा कहिल्यै देखाइँदैन । वस्तुतः हिंसालाई समस्याका रूपमा प्रस्तुत नै गरिंदैन ।
प्रसिद्ध शिक्षाविद कृष्ण कुमारले आफ्नो पुस्तक ‘लर्निङ फ्रम कन्फ्लिक्ट’ मा के तर्क गरेका छन् भने, हामी पाठ्यक्रममा सामाजिक द्वन्द्व प्रस्तुत गर्नबाट बच्छौं र यसप्रकार एउटा अत्यन्त समृद्ध शिक्षण संसाधन गुमाउँछौं । चोरी, हिंसा, व्यभिचार, अपशब्द, गालीगलौज यी सबै पनि सशक्त शैक्षिक संसाधन हुन्, जसले केटाकेटीका मनमा गहिरा प्रश्न र गहन द्वन्द्वको भावभूमि निर्माण गर्न सक्छन् । तर यसतर्फ हाम्रो समाजमा खासै काम भएको छैन; जे जति भएको छ त्यो पनि मुख्यधाराबाट बाहिर र ज्यादै नगण्य रूपमा मात्र भएको छ ।
आज हामी समाजमा व्याप्त हिंसा, मारकाट र ‘लिन्चिङ’ बारे अत्यन्त चिन्तित भइरहेका छौं । साथै जनमानसमा अन्तर्निहित, हिंसालाई जरूरी र जायज ठह¥याउने भावनाहरूलाई कसरी चुनौती दिने भन्ने द्विविधाबाट आक्रान्त पनि छौं । शायद, बाल साहित्यमा यी कुरामाथि प्रश्न उठाएर निकट भविष्यको जनमानसमा केही नैतिक र मनोवैज्ञानिक द्वन्द्व उत्पन्न गर्न सकिएला ।
साभारः सन्दर्भ, अंक १२४
भाषान्तर तथा सम्पादनः शरच्चन्द्र वस्ती
शिक्षक मासिक, २०७६ माघ अंकमा प्रकाशित ।