चिसो छेक्न किताब–कापीको पर्दा !

चिसो हावा छेक्न किताब–कापीको ‘पर्दा’: साँडी मावि, गैडहवा  ।

रूपन्देही, गैडहवा गाउँपालिकाको वडा नं. १, साँडी गाउँमा अवस्थित साँडी माविको कक्षा–४ मा बालबालिकाले अपनाएको चिसो छेक्ने मौलिक उपाय देख्न पाइयो । कोठाका चारवटा झयालमध्ये दुईवटा झयाल खाली नै थिए । पश्चिमतर्फका दुईवटा झयालका सरिया (डण्डी) मा किताब–कापी झुण्ड्याइएका थिए । ‘झयालमा किन झुण्ड्याएको किताब–कापी ?’ प्रश्न झन् नपाउँदै विद्यार्थीबाट जवाफ आयो, ‘चिसो हावा छेक्न ।’ सो कक्षाका छात्र राहुल धरिकारले किताब, कापीले अलि अलि भए पनि हावा छेक्ने बताए ।

विद्यालयको कक्षा–८ का विद्यार्थी पनि चिसोले लुग्लुग् काम्दै पढ्दै गरेका देखिन्थे । सो कक्षा कोठाका पनि चारवटै झयालमा खापा थिएनन् । सो कक्षाकी छात्रा मनिषा यादवले झयाल नहुँदा चिसोले कक्षामा बसिनसक्नु हुने गरेको बताइन् ।

साँडी माविमा चालु शैक्षिक सत्रमा ६२८ जना बालबालिका भर्ना भएकोमा यो संवाददाता पुगेको दिन आधा मात्र विद्यार्थी उपस्थित थिए । यतिका धेरै बालबालिका किन अनुपस्थित भए त भन्ने जिज्ञासामा शिक्षकहरूको एउटै जवाफ थियो— ‘चिसो छ ।’

साँडी माविका ६ वटा भवनमा १८ वटा कोठा छन् । त्यसमध्ये ६ वटा कोठामा मात्रै झयालका खापा छन् । त्यसमध्ये दुईवटा कोठामा शिक्षक–कर्मचारी बस्छन् भने दुईवटा कोठा पुस्तकालय र कम्प्युटरलाई छुट्याइएको छ । पठन–पाठन हुने दुईवटामा बाहेक अन्य कोठामा झयाल छैनन् । शिक्षक मन्जय बरई पनि चिसोले पठनपाठनमा समस्या हुने गरेको बताउँछन् । जाडोमा मात्र होइन गर्मीको समयमा पनि टिन तातेर उस्तै गर्मी हुने गरेको कक्षा–८ की छात्रा एरिना चौधरीको गुनासो थियो । “हेर्नुस् न कक्षामा एउटा मात्रै पंखा छ” एरिनाले भनिन्, “जाडोमा चिसो र गर्मीमा तातोले गर्दा कक्षाकोठामा बस्नै गाह्रो छ ।”

विद्यालयका प्रधानाध्यापक; शिक्षक र कर्मचारीको कार्य कक्ष भने झयाल भएको नयाँ भवनमा छ । त्यहाँ कार्पेटिङ गरी सोफा राखिएका छन् र कोठामा फोहोर नपरोस् भनी जुत्ता, चप्पल बाहिरै फुकाल्ने गरिन्छ । विद्यालयमा बालबालिकाले प्रयोग गर्ने शौचालय फोहोर र दुर्गन्धित छ भने शिक्षकले प्रयोग गर्ने शौचालय ताला लगाएर सफा र सुरक्षित राख्ने गरिएको छ । विद्यालयका अधिकांश भवन निर्माण गर्दागर्दै अधुरो छोडिए जस्ता देखिन्छन्, कक्षाकोठाको भुईंमा खाल्डै खाल्डा छन् ।
प्रधानाध्यापक रेणुका चन्द्र चौधरीले ‘कक्षाकोठामा झयालको खापा नभएको विषय आफूहरूले महसूस गरेको’ बताए । चिसोले बालबालिकालाई भएको अप्ठ्यारो बारे आफूले विद्यालय व्यवस्थापन समितिसँग सल्लाह गर्ने जानकारी पनि प्रअ चौधरीले दिए ।

तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार चौधरी कक्षाकोठाका झयालमा खापा नहुनुलाई प्रधानाध्यापकको कमजोरी ठान्छन् । उनले भने, “विद्यालयको समस्याको विषयमा मलाई जानकारी नै गराइँदैन । म व्यस्त मान्छे, मलाई समस्या थाहा भए पो सहयोग गर्न सकिन्छ ।” विव्यस अध्यक्ष चौधरी गाउँपालिकाको वडा नं. १ का अध्यक्ष समेत हुन् ।


शिक्षा–वर्ष  मनाउँदै गाउँपालिका !

पालिकाको एउटै जोड छ— प्राथमिक तहको पठनपाठनलाई बलियो बनाउने उपाय खोजी गर्दै कार्यान्वयनमा ल्याउने ।

पाल्पाको निस्दी गाउँपालिकाले चालु आर्थिक वर्षलाई शिक्षा–वर्ष  को रूपमा मनाउने निर्णय गरेसँगै विद्यालय शिक्षा सुधारका कार्यक्रमहरू तय गरेको छ ।  
गाउँपालिका शिक्षा प्रमुख नरबहादुर थापाले शिक्षा–वर्ष मा साना कक्षाबाट शिक्षा सुधारको प्रयास शुरू गरिएको जानकारी दिए । उनका अनुसार बाल विकास केन्द्रदेखि कक्षा–१, २ र ३ लाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको छ । त्यसमा कक्षाकोठाको भुईंमा बसाइ व्यवस्थापन गर्ने, सबै बालबालिकालाई घरबाट खाजा ल्याउनका लागि टिफिन बक्स उपलब्ध गराउने; अभिभावक सचेतना, विषयगत शिक्षकलाई तालीम र उत्पे्ररणा कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

शिक्षा–वर्ष  कार्यक्रममा पालिकाभित्रका विद्यालय भ्रमणको कार्यक्रमलाई पनि गाउँपालिकाले महत्व दिएको बताइएको छ । यो कार्यक्रम अन्तर्गत पालिकाभित्रका नमूना–उन्मुख विद्यालयहरू भ्रमण गर्ने र त्यसक्रममा देखिएका राम्रा पक्षलाई आफ्नो विद्यालयमा लागू गर्ने उद्देश्य राखिएको छ । पालिकाका प्रत्येक वडामा एउटा विद्यालय पर्ने गरी ‘नमूना–उन्मुख विद्यालय’ बनाउनका लागि प्रति विद्यालय रु.८० हजारका दरले बजेट छुट्याइएको छ भने पालिकाभरिको कुनै एउटा विद्यालयलाई ‘पालिकाको नमूना–उन्मुख विद्यालय’ बनाउन प्रोत्साहनस्वरुप रु.३ लाख विनियोजन गरिएको जानकारी दिइएको छ । पालिकाको एउटै जोड छ— प्राथमिक तहको पठनपाठनलाई बलियो बनाउने उपाय खोजी गर्दै कार्यान्वयनमा ल्याउने ।

सामुदायिक विद्यालयको पठनपाठन सुधार्न हरसम्भव प्रयत्न गर्ने संकल्पः निस्दी गाउँपालिका, शिक्षा समितिका पदाधिकारी ।

निस्दी गाउँपालिकाले शिक्षक अभाव पूर्ति गर्न दरबन्दी नभएका विद्यालयमा थप शिक्षक राख्नका लागि रु.३५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले मावि तहका शिक्षकलाई मासिक रु.३० हजार, निमावि तहलाई रु.२० हजार र प्राथमिक तहलाई रु.१५ हजार ५०० तलब स्केल कायम गरेको छ । यसरी काम गरिरहँदा अहिले गाउँपालिकाले छुट्याएको बजेटलाई दोब्बर बनाउनुपर्ने देखिएको र आगामी आर्थिक वर्षमा शिक्षाको बजेट अझै वृद्धि गर्ने गाउँपालिका प्रमुख मुक्तबहादुर सारुले बताए ।


विद्यार्थीको अभिलेख अल्बम !

विद्यार्थी अभिलेख अल्बमको नमूनाः शुक्र मावि, मधुवन, बर्दिया ।

विद्यालयहरू घुम्ने क्रममा बर्दियाको मधुवन नगरपालिकास्थित शुक्र माविमा एउटा गज्जबको नयाँ अभ्यास देख्न पाइयो । बालबालिकालाई उनीहरूकै कापीको पानामा बिहान उठेदेखि राति सुत्ने वेलासम्मका क्रियाकलापहरू समय खुलाएर लेखाउने र ती पाना विद्यालयमा फाइलिङ गरेर राख्ने । यो कार्यलाई विद्यालयले ‘विद्यार्थी अभिलेख अल्बम’ को नाम दिएको रहेछ ।

बालबालिकाले लेखेको त्यस्तो पानामा उनीहरूको फोटो समेत टाँसेर फाइलमा सुरक्षित राख्ने गरिएको छ । हरेक विद्यार्थीलाई तोकिएको मापदण्ड अनुसारको क्रियाकलाप लेखाउने, अल्बम बनाउने, त्यसलाई सुरक्षित राख्ने र त्यस अनुसार बालबालिकाले आचरण र व्यवहार गरे/नगरेको निगरानी गर्ने जिम्मा कक्षा शिक्षकलाई दिइने गरेको छ । कक्षा–८ मा सामाजिक विषय अध्यापन गर्ने शिक्षक गोपाल सिग्देलले उक्त कक्षाको अल्बमको जिम्मेवारी पाएका छन् । उनका अनुसार अल्बमले शिक्षकहरू परिवर्तन हुँदा बालबालिकाबारे जानकारी पाउन, बालबालिकालाई पृष्ठपोषण दिन र अभिभावकसँग सम्पर्क गर्नका लागि फाइदा पुगेको बताए ।

यस्तो अभ्यास विद्यालयको कक्षा–५ देखि शुरू गरिएको प्रधानाध्यापक एलिजा जिसी (ढकाल) ले जानकारी दिइन् । यसबाट बालबालिकाको रुचि, मनपर्ने विषय, उनीहरू बिहान उठ्ने समय, राति सुत्ने समय, अभिभावकको सम्पर्क नम्बर जस्ता जानकारी सहजै थाहा हुने गरेको प्रअ तथा शिक्षकहरूको कथन थियो । यसले, बालबालिकामा व्यक्तिगत प्रोफाइल बनाउने सीपको विकास भएको, शिक्षकलाई फाइल हेरेर उनीहरूलाई क्रियाकलापमा सहभागी गराउन र घरमा समेत अध्ययन गर्नुपर्छ भन्ने सन्देश दिन सहयोगी बनेको पनि जिसीले बताइन् ।


पीपलको पात नै विज्ञान सामग्री !

पीपलको पातबाट विज्ञान पढाउँदै विज्ञान शिक्षक कमल कण्डेल: बलिथुम नरहरि कण्डेल मावि, गुल्मीदरबार, गुल्मी ।

विज्ञान शिक्षक कमल कण्डेल हातमा पीपलको पात लिएर कक्षा–६ मा विज्ञान विषय अध्यापन गर्दै थिए । पीपलको पातलाई उनले पातका प्रकार, पातको बनावट, रेसा र रेसाका विशेषता आदि चिनाउने शैक्षिक सामग्रीको रूपमा प्रयोग गरिरहेका थिए ।

बलिथुम नरहरि कण्डेल मावि, गुल्मी दरबार गाउँपालिका, गुल्मीमा कक्षा ६, ७ र ८ मा समेत विज्ञान विषय पढाउने शिक्षक कमलले त्यस दिन पातमा हुने जालीदार रेखाहरूको चिनारीका निम्ति पीपलको पात प्रयोग गरेको र अर्को दिन (भोलिपल्ट) केराको पातबाट समानान्तर रेसाको विषयमा चिनारी गराउने योजना रहेको बताए । कक्षा–६ की छात्रा दिया गौतमले पात र पातमा भएको रेसाहरू हेरेर विषय बुझन सजिलो भएको बताइन् । “सरले सधैं यस्तै–यस्तै सामग्री लिएर आउनुहुन्छ”, दियाले भनिन् ।

कमलले विद्यालयमा विज्ञान प्रयोगशाला नभएका कारण बालबालिकालाई स्थानीय रूपमा पाइने वस्तुहरू देखाएर सिकाउनुको विकल्प नभएको बाध्यता पनि सुनाए । विद्यालयका प्रअ रूपेन्द्र श्रेष्ठले चाहिं प्रयोगशालाको माग गरेको तर कसैले ध्यान नदिएको विवशता सुनाए ।


जन्मदिनमा पुस्तक उपहार !

पुस्तक उपहार दिंदै र लिंदैः शिक्षक कमला अर्याल र प्राथमिक तह इन्चार्ज निर्मलादेवी श्रेष्ठ, कान्ति मावि, बुटवल ।

कान्ति मावि, बुटवल (रूपन्देही) ले शिक्षक–विद्यार्थीको जन्मदिनमा चकलेट बाँड्नुको सट्टा पुस्तक उपहार दिनु राम्रो भनी शुरू गरेको अभियानले एक वर्षमै विद्यालयलाई ३०० भन्दा बढी किताब जुटाइदिएको छ ।

यसरी जन्मदिनमा पुस्तक उपहार दिने चलनले शिक्षक–विद्यार्थीलाई पढ्ने संस्कृतिको सन्देश पनि बाँडेको सो विद्यालयको प्रावि तहकी इन्चार्ज निर्मलादेवी श्रेष्ठले बताइन् । उनले पुस्तक उपहार लिएर आउने शिक्षक–विद्यार्थीलाई बिहानको प्रार्थनाको समयमा अगाडि बोलाएर पुस्तक लिने र जन्मदिन हुनेलाई विद्यालयको तर्फबाट शुभकामना सन्देश झल्किने टोपी लगाइदिएर कापी उपहार दिने गरेको जानकारी दिइन् ।

प्राथमिक तहमा अध्यापन गर्ने शिक्षक कमला अर्यालले आफ्नो जन्मदिनमा ‘बाल सजायका विकल्प’‘राम्रो अंकले परीक्षा पास गर्ने रहस्य’ नामका दुईवटा पुस्तक स्कूललाई उपहार दिएको सुनाइन् । कक्षा–४ की छात्रा साइमा खानले चाहिं आफ्नो जन्मदिनको उपहारस्वरुप ‘प्राइमरी स्कूल एस्से एण्ड लेटर्स’ नामको किताब विद्यालयलाई दिएकी रहिछन् । उक्त पुस्तक ९० रुपैयाँमा किनेको उनले बताइन् ।

जन्मदिन मनाउने र पुस्तक उपहार दिने अभ्यास सिङ्गो विद्यालयलाई लक्षित गरेर शुरू गरिएको भए तापनि यो कार्यक्रम प्राथमिक तहमा बढी प्रभावकारी पाइएको छ । विद्यालयलाई उपहारस्वरुप प्राप्त पुस्तकहरू सबै तहका शिक्षक, विद्यार्थीले पढ्ने गरेका छन् ।

जन्मदिनमा पुस्तक उपहार दिने अभ्यास शुरू गरेपछि बालबालिकाले घरबाट जन्मदिनका दिन चकलेट बोकेर आउने क्रम रोकिएको शिक्षक कमला खनालले बताइन् । आफ्नो आउँदो जन्मदिनका लागि दुईवटा पुस्तक किनिसकेको र ती पुस्तक अहिले आफूले पढिरहेको पनि उनले सुनाइन् । शिक्षक माधव अर्यालले पनि जन्मदिनको दिन बाल निबन्धमाला पुस्तक विद्यालयलाई उपहार दिएको बताए ।

जन्मदिनको उपहारस्वरुप विद्यालयलाई प्राप्त पुस्तकः कान्ति मावि, बुटवल ।

उपहार दिने पुस्तक नयाँ नै हुनुपर्छ भन्ने छैन । आफूले पढेका पुराना पुस्तक पनि उपहार दिन सक्ने प्रावधान छ । तर ती पुस्तक शिक्षक–विद्यार्थीका लागि उपयोगी भने हुनुपर्दछ । उपहारस्वरुप विद्यालयलाई प्राप्त पुस्तकमा— बाल सजायका विकल्प, राम्रो अंकले परीक्षा पास गर्ने रहस्य, सामान्य ज्ञान, हाम्रा प्रतिभाहरू, हामी बालबालिका, असल अभिभावक बन्ने सूत्र, मुना, ठूलो मान्छे कसरी बन्ने ?, तोत्तो–चान, हामी गर्न सक्छौं लगायतका छन् ।

यसले एकातिर पुस्तक पढ्नुपर्ने सन्देशलाई ताजा राखिराख्न सघाएको छ भने अर्कोतिर विद्यालयमा शिक्षक–विद्यार्थीका उपहारले नै विद्यालयमा ‘मिनी लाइब्रेरी’ खडा भइरहेको छ । यो अभ्यासले विद्यालयको लगानी विना पनि पुस्तकालय बनाउन सकिन्छ भन्ने सिकाइ भएको प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए ।
कान्ति माविको व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा शिक्षकहरूले अघि सारेको यो नवीन सोच र अभ्यासको प्रशंसा गर्छन् । अध्यक्ष शर्मा भन्छन्, “यस्ता राम्रा अभ्यासहरू थपिंदै जाँदा विद्यालयको शैक्षिक वातावरण अझै राम्रो बन्छ र त्यसले सबैलाई फाइदा गर्छ । जन्मदिनमा स्कूललाई पुस्तक उपहार कार्यक्रम त एउटा नमूना अभ्यास नै हो ।”

कान्ति माविमा हाल बाल विकास केन्द्रदेखि कक्षा–१२ सम्म ३ हजार ४७८ बालबालिका अध्ययनरत छन् । तीमध्ये प्राथमिक तहमा मात्रै छात्र २२८ र छात्रा २२४ गरी ४५२ बालबालिका छन् । विद्यालयमा शिक्षक कर्मचारीको संख्या १५७ छ ।

शिक्षक  मासिक, २०७६ माघ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial