यसरी सफल पार्न सकिन्छ ‘क्यास’

शिक्षकले पढाएँ भन्छन्, विद्यार्थी पास हुँदैन । पास भइहाले पनि उसले प्राप्त गरेको शैक्षिक उपलब्धि कोरा किताबी ज्ञान, जानकारी वा तथ्य–तथ्याङ्कमा सीमित देखिन्छ । कोही पास त हुन्छ किताबी परीक्षामा तर जीवनमा फेल भएको पाइन्छ । शिक्षकले परीक्षाका लागि पढाउँछ । विद्यार्थीले पनि त्यसैका लागि पढ्छ वा पढी टोपल्छ । विद्यालय वा विश्वविद्यालयको निश्चित तह पार गरिसकेपछि विद्यार्थीले ‘मैले के सिकें’ भनी फर्केर हेर्दा जिन्दगीमा गरिखाने कुनै सीप, क्षमता, प्रविधि, सिर्जनशीलता वा मेसो भेट्टाउँदैन । अनि ऊ उदास, पलायन वा कोरा आदर्शवादी हुन्छ र आफ्नै जीवन, समाज र राष्ट्रका लागि लगभग प्रत्युत्पादक समेत हुन्छ ।

यही नै हाम्रो शिक्षा प्रणालीमा आजसम्म भएको छ । हामीकहाँ पढाउने शिक्षक भए सिकाउने भएनन् । वास्तविक सिकाइ नहुँदा जीवन सार्थक नहुने रहेछ । सिकाइ उपलब्धि सुनिश्चित गरी सिकारुको ज्ञान, सीप र अभिवृत्तिका क्षेत्रमा वाञ्छित परिवर्तन ल्याउने र उसको जीवनमा शिक्षण, सिकाइबाट बहुआयामिक प्रभाव छोड्दै अर्थपूर्ण जीवन निर्माण गर्ने एउटा गतिलो उपागमन (Approach)  हो— निरन्तर विद्यार्थी मूल्याङ्कन (Continuous Assessment System-CAS) ।

निरन्तर विद्यार्थी मूल्याङ्कन (क्यास) पढाउने मात्रै होइन सिकाउने अवधारणा हो । शिक्षकले सिक्ने र सिकाउने अवधारणा हो । एउटा गतिलो शिक्षकले विद्यार्थीलाई पढ्ने र उसैलाई पढाउने अवधारणा हो । पाठ्यक्रमको एउटा अभिन्न अङ्ग हो । प्रक्रिया हो । निर्माणात्मक मूल्याङ्कन (Formative Evaluation) को अवधारणा हो ।

हामीले कसरी गर्‍यौं ?
विद्यालयको तहगत पाठ्यक्रमले निर्माणात्मक मूल्याङ्कनको केही साङ्गोपाङ्ग सिफारिश गरेको भए पनि कुनै पनि विद्यालयले प्रभावकारी ढङ्गले (क्यास) लाई व्यवहारमा लागू गरेको पाइँदैन । पछिल्ला केही वर्ष यता मूल्याङ्कनमा अक्षराङ्क पद्धति लागू गर्ने नीतिगत व्यवस्था सँगै ‘क्यास’ लाई शैक्षणिक मूल्याङ्कनको आवश्यक अङ्ग बनाउन खोजिएको भए पनि कार्यान्वयनका तहमा नानाथरी समस्या र चुनौती देखा परेका छन् । तर पनि हामीले यसको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्‍यौं र सकारात्मक परिणाम सहित परिमार्जित तरिकाले अगाडि बढ्दै छौं ।

शिक्षक तयार हुनुपर्छ– हामीले तयार गर्‍यौं
गुणस्तरीय शिक्षाका लागि मूलतः शिक्षक केन्द्रमा रहन्छन् । ‘क्यास’ को प्रभावकारी प्रयोगका लागि तयार हुनुपर्ने पहिलो पक्ष भनेको पनि शिक्षक नै हो । मूल प्रश्न सिकाइको दायित्व र जिम्मेवारी कसले लिने ? भन्ने हो । एउटा शिक्षक जसले विद्यार्थी सिकाइको मूल दायित्व र जिम्मेवारी लिने सङ्कल्प गरेको हुन्छ उसले ‘क्यास’ को महत्व कार्यान्वयन गरी सिकाइलाई लक्ष्योन्मुख बनाउन सक्छ ।

‘क्यास’ आवश्यक छ या छैन भन्ने सवालमा हामीले शिक्षकबीच लामो छलफल चलायौं । यो मूल सवालसँग जोडिएका विविध उपसवाल— जस्तै, कुनै विद्यार्थी विद्यालयमा किन नियमित हुँदैन ? नियमित भए पनि ऊ सिकाइ क्रियाकलाप र अन्य शैक्षिक कार्यक्रममा किन उत्साहपूर्वक सहभागी हुँदैन ? नियमित गृहकार्य किन गर्दैन ? गरिहाले पनि आधा मात्रै किन गर्छ ? छिमेकी साथीको गृहकार्य चोरेर किन शिक्षकलाई देखाउँछ ? किन परीक्षामुखी मात्रै भएर पढ्ने–पढाउने गरिन्छ ? सिर्जनशीलता र मौलिकता भन्दा पनि घोकन्ते ज्ञान किन प्राथमिकतामा पर्छ ? बच्चाको सिकाइप्रतिको दायित्व र जिम्मेवारी एउटा अभिभावकले किन बहन गर्दैन ? आदि अनेकौं सवाल माथि वस्तुगत छलफल र अन्तरक्रिया गर्दा उपर्युक्त समस्याको सम्बोधन ‘क्यास’ को अधिकाधिक कार्यान्वयनबाट हुनसक्ने कुरामा हामी एकमत भयौं । सारमा, ‘क्यास’ को प्रयोगबाट विद्यार्थीको सिकाइ सीप र बहुआयामिक क्षमता विकास सम्भव छ भनी हामीले निष्कर्ष निकाल्यौं । जब शिक्षकले यो विषयलाई आत्मसात् गरे तब मात्र ‘क्यास’ कार्यक्रम तय गरियो ।

शिक्षकको कार्यभारको उचित व्यवस्थापन गर्‍यौं
दैनिक ६/७ पिरियड (कतै त ८ पनि) पढाएर न योजना बनाउन, न सामग्री उत्पादन र सङ्कलन गर्न न त ‘क्यास’ आदि लागू गर्न नै सम्भव छ । त्यसै भएर हामीले शिक्षकका लागि एउटा वैज्ञानिक र व्यावहारिक कार्ययोजना निर्माण गर्‍यौंः

क) प्रत्येक शिक्षकले दैनिक पढाउनुपर्ने पिरियड ३ वा ४ मा सीमित गरियो र बाँकी समय उनीहरूलाई शैक्षिक योजना, सामग्री व्यवस्था, मूल्याङ्कन रणनीति एवं सुधारात्मक शिक्षण योजना/कार्यक्रम बनाउन लगाइयो ।

ख) प्रत्येक शिक्षकलाई उसले पढाउने प्रत्येक कक्षाको लागि एक हप्तामा १ दिन ९० मिनेटको कक्षा मिलाइयो ताकि उसलाई विद्यार्थी मूल्याङ्कन एवं सुधारात्मक शैक्षिक कार्यक्रम सम्बन्धी गतिविधि सञ्चालन गर्न पर्याप्त समय होस् ।
ग) सबै विषयलाई बराबर प्राथमिकता र महत्व दिई प्रत्येक १५ दिनमा विषय–घन्टीको समय फेरबदल हुने गरी ‘रिभर्स रुटिन’ कार्यान्वयन गरायौं । यसबाट अन्तिम घन्टीमा पढाइ हुने विषयले समेत बराबर महत्व प्राप्त गर्न सके ।

व्यावहारिक ‘क्यास’ ढाँचाको निर्माण
यो चरणमा शिक्षार्थीका कुन–कुन क्षेत्रमा के–के कुराको मूल्याङ्कन गर्ने भनी क्षेत्र एवं सक्षमता निक्र्योल ग¥यौं र ती मुख्य क्षेत्रलाई समावेश गरी एउटा वस्तुगत, वैज्ञानिक र व्यावहारिक मूल्याङ्कन ढाँचा तयार पार्‍यौं । विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि आवश्यक पक्षहरूलाई ध्यानमा राखी निम्न बमोजिम पाँच वटा ‘मुख्य क्षेत्र’ (CORE AREA) किटान गरियोः
१. नियमितता र सहभागिता
२. गृहकार्य
३. सिर्जनशीलता
४. पाठगत तथा एकाइगत परीक्षा/परीक्षण
५. व्यवहार परिवर्तन

नियमितता र सहभागिता शीर्षकमा विद्यार्र्थीको हाजिरी, कक्षा तथा अतिरिक्त क्रियाकलापमा सहभागिता, समूह कार्य, नेतृत्वपन, सहयोगीपन, पहलकदमी आदिको नियमित निरीक्षण र मूल्याङ्कन गर्ने व्यवस्था गरियो । यसैगरी गृहकार्य शीर्षक अन्तर्गत प्रत्येक पाठको समाप्ति पछि विद्यार्थीले आफ्नै पहलमा, स्वाध्ययन, अनुसन्धान, खोजबिनबाट पूरा गर्नुपर्ने पाठ सम्वद्ध प्रश्नोत्तर, परियोजना कार्य, सामुदायिक कार्य आदिलाई समावेश गरी परीक्षण गर्ने र प्रत्येक शिक्षकले आफ्नो विषयको प्रत्येक एकाइ वा पाठको समाप्तिपछि निश्चित मात्रामा गृहकार्य, परियोजना कार्य र सामुदायिक कार्य दिनुपर्ने व्यवस्था गरियो । विद्यार्थीले आफ्नो काम सकेपछि कक्षामा सोको प्रस्तुतीकरण गर्नुपर्ने र त्यसैलाई मूल्याङ्कनको मापदण्डमा समावेश गर्ने गरियो ।

पाठगत वा एकाइगत सिकाइ उपलब्धि परीक्षा/रीक्षण भित्र शिक्षकले निश्चित पाठ÷एकाइको समाप्तिपछि स्वतन्त्र ढङ्गले विद्यार्थीको उपलब्धि/सक्षमता परीक्षणका लागि सञ्चालन गर्ने मौखिक, लिखित तथा प्रयोगात्मक परीक्षा, कक्षा प्रस्तुतीकरण आदिलाई समावेश गरियो र व्यवहार परिवर्तन शीर्षक अन्तर्गत एउटा शिक्षकले कुनै निश्चित पाठको समाप्तिपछि सो पाठसँग सम्बन्धित वा निजको आम व्यवहारसँग सम्बन्धित अपेक्षित व्यवहार, आचरण, चरित्र के कसरी प्रदर्शन गर्दैै जान्छ भन्ने कुराको नियमित लेखाजोखा गरी ‘रेटिङ’ गर्ने कार्य गरियो ।

उपर्युक्त सबै मूल्याङ्कनका ‘मुख्य क्षेत्र’ मा नियमित अवलोकन परीक्षण गर्ने प्रयोजनका लागि सर्वप्रथम क्षेत्र विशेषले समेट्ने मुख्य सीप, ज्ञान, अभिवृद्धि र सक्षमता जस्ता विषयको सूचकाङ्क तयार पारियो । त्यसपछि एउटा विद्यार्थीले के कति सूचकाङ्क के कति मात्रामा पूरा गर्न सक्छ भन्ने हेरेर सोही आधारमा उत्कृष्टता प्रदर्शन गर्नेलाई तीन रेजा, मध्यम स्तर प्रदर्शन गर्नेलाई दुई रेजा र न्यून स्तर भएकालाई एक रेजा लगाई पाठ्यक्रम कार्यान्वयन अवधिभरी निजले प्राप्त गरेका रेजाहरूको संख्या जोडी अङ्कमा रूपान्तरण गर्ने कार्य गरियो । यसरी निरन्तर विद्यार्थी मूल्याङ्कन (क्यास) बाट प्राप्त गरेको अङ्कमा त्रैमासिक, अर्धवार्षिक वा वार्षिक परीक्षामा प्राप्त गरेको अङ्क समेत जोडी विद्यार्थीको समष्टिगत अङ्क निकाल्ने र प्रगति विवरण तयार गर्ने कार्य गरियो ।

विद्यार्थी एवं अभिभावक अभिमुखीकरण कार्यक्रम
निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणा, मूल्याङ्कनका मुख्य क्षेत्र (कोर एरिया) र मूल्याङ्कन ढाँचाका बारेमा शिक्षकहरू स्पष्ट भइसके पश्चात् विद्यार्थी तथा अभिभावकलाई ‘अबदेखि विद्यार्थीको शैक्षिक उपलब्धिको मूल्याङ्कन लिखित परीक्षाबाट मात्र नभई यी र यस्ता–यस्ता कुराहरूमा हुन्छ’ भन्ने जानकारीको प्रबोधीकरण गर्ने कार्य गरियो ।

प्रयोग/कार्यान्वयन पछिको अवस्था
शिक्षकले आफूले पढाउने कक्षाका विद्यार्थीको लागि विस्तृत विवरण पत्र (Case study profile) तयार गर्न थाले । निरन्तर मूल्यांकन फारम बोकी शिक्षक कक्षाकोठामा प्रवेश गर्दा विद्यार्थीमा गजबको उत्सुकता, जागरुकता र गतिशीलता देखा पर्‍यो । विद्यार्थीले तोकिएका क्षेत्रमा प्रदर्शन गर्ने सक्षमताका आधारमा प्राप्त गर्ने रेजालाई एउटा ठूलो चार्ट बनाएर कक्षाकोठाको भित्तामा नै प्रदर्शनमा राखियो । जसले गर्दा विद्यार्थीमा आफ्नो रेजाको संख्या बढाउने स्वच्छ प्रतिस्पर्धाको भावना विकास भएर गयो । आफ्ना बच्चाले विभिन्न क्षेत्र/शीर्षकमा नियमित रूपमा प्राप्त गर्ने रेजा/अङ्कका बारे अभिभावकको चासो वृद्धि हुन थाल्यो । सबैले गृहकार्य पूरा गर्न थाले । गृहकार्य आफैं गर्न थाले । शैक्षिक कार्यक्रमका विभिन्न क्षेत्रमा विद्यार्थी सक्रियतापूर्वक सहभागी हुन थाले, कक्षाकोठा सहभागितामा बढोत्तरी आउन थाल्यो, विभिन्न क्रियाकलापमा पहलकदमी र नेतृत्व लिने प्रवृत्तिको विकास हुन थाल्यो, अभिभावक पनि आफ्ना केटाकेटीको सिकाइ उपलब्धिप्रति चिन्तित र जिम्मेवार हुन थाले । यसको परिणामस्वरूप, ‘क्यास’ कार्यान्वयन हुनुअघिको महाविद्यालयको समग्र शैक्षिक उत्तीर्ण प्रतिशत ५० को हाराहारीबाट बढेर ‘क्यास’ कार्यान्वयनको एक वर्षपछि ७५ प्रतिशत पुग्यो । आज ‘क्यास’ प्रयोगको दुई वर्षपछि महाविद्यालयको समग्र उत्तीर्ण प्रतिशत (विद्यार्थीले परीक्षामा प्राप्त गरेको सैद्धान्तिक अङ्कका आधारमा) ९० को हाराहारीमा छ ।

क्यास मात्रै होइन ‘क्याट’ पनि
विद्यार्थीले एउटा शैक्षिक कार्यक्रम अवधिभित्र आर्जित गरेका ज्ञान, सीप तथा सक्षमताको निरन्तर मूल्याङ्कन गरिरहँदा एउटा शिक्षकले पाठ्यक्रमको लक्ष्य अनुरूप शिक्षण सिकाइ योजना निर्माण गरे/नगरेको, सोको कार्यान्वयन भए/नभएको तथा सिकाइ सीप प्रवद्र्धनका लागि सुधारात्मक रणनीति निर्माण गरी लागू गरे/नगरेको जस्ता कुरा सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस प्रयोजनको निम्ति निज शिक्षकको समेत निरन्तर मूल्याङ्कन हुनुपर्ने हुन्छ । यस प्रयोजनको निम्ति हामीले तहगत रूपमा लागू गर्न सकिने ‘क्याट’ (Continuous Assessment of Teacher-CAT) नामको ७ E को कार्ययोजना बनाई लागू गर्‍यौं । त्यसकै कारण ‘क्याट’ को दिगो कार्यान्वयन सम्भव भयो र अद्यापि भइरहेको छ ।

अन्तमा,
विद्यार्थीको सिकाइ तथा व्यवहारमा आएको परिवर्तनको नियमित लेखाजोखा गर्ने, सिकाइ प्रक्रियाका कठिनाइहरू पहिचान गर्ने, उपर्युक्त रणनीति तयार गरी सिकाइ कठिनाइ निराकरण गर्ने र समग्रमा एउटा विद्यार्र्थीको शैक्षिक उत्कृष्टताका लागि निरन्तर पहल गर्ने रणनीतिका रूपमा ‘क्यास’ लाई बझनुपर्ने हुन्छ । तथापि; परम्परागत परीक्षा प्रणालीमा अभ्यस्त शिक्षक, अभिभावक र स्वयं विद्यार्थी, उदासीन र अनुप्रेरित शिक्षक; फितलो र अकर्मण्य विद्यालय व्यवस्थापन, सरकारको अस्पष्ट नीति, कार्यक्रम तथा निर्देशन, सिकाइ र मूल्याङ्कन भिन्न हुन् भन्ने बुझाइ आदि ‘क्यास’ कार्यान्वयनको दिशामा चुनौतीका रूपमा रहेका छन् । तर पनि पाठ्यक्रमको लक्ष्यलाई आत्मसात् गरी विद्यालय प्रशासन तथा व्यवस्थापन, शिक्षक र अभिभावक समेत बच्चाको सिकाइ र सर्वाङ्गीण विकासप्रति इमानदार र जिम्मेवार भई लागिपर्ने हो भने ‘क्यास’ प्र्रणाली निर्माण र कार्यान्वयन सम्भव छ, सहज छ र अनिवार्य छ ।

प्रिन्सिपल, सैनिक आवासीय महाविद्यालय मङ्गलगढी, सुर्खेत

commercial commercial commercial commercial