अमेरिकावाला छोरो

ल्यान्टशिन गाउँ एकदमै सानो थियो— एउटा बलौटे बजार, जहाँ त्यस इलाकाका किसान हप्तामा एकचोटि भेला हुन्थे । बजार ससाना झुपडीले भरिएको थियो; खर अथवा फल्याकका छाना तिनमा लागेको काईले हरिया देखिन्थे । धुवाँ निस्कने चिम्नी परबाट हेर्दा तपेस जस्ता लाग्थे । झुपडी पछाडि खेतबारी थिए, जहाँ तिनका मालिक तरकारी फलाउँथे अथवा आफ्ना बाख्रा चराउँथे ।

सबैभन्दा सानो झुपडीमा बेर्ल बस्थ्यो । असी वर्षको बूढो । उसँग उसकी पत्नी थिई, जसलाई सबैले ‘बेर्लचा’ (बेर्लकी जहान) भन्थे । बेर्ल ती यहूदीहरूमध्ये जो रूसको गाउँबाट लखेटिएका थिए र उनीहरू पोल्याण्ड आएर बस्न थालेका थिए । कुरा गर्दा उसको उच्चारणमा हुने गल्तीको ल्यान्टशिनमा हाँसो उडाइन्थ्यो । खासगरी ‘र’ उच्चारण गर्दा बेर्ल निकै तीखो ध्वनि निकाल्थ्यो । ऊ निकै होचो थियो— चौडा काँध भएको, र बुच्के सेतो दाह्रीवाला । गर्मी होस् चाहे जाडो, भेडाको छालाको क्याप, कपास भरिएको सूती ज्याकेट र भद्दा–गह्रौं जुत्ता लगाउँथ्यो । ऊ बिस्तारै हिंड्थ्यो, खुट्टा घिसार्दै । उसको खेतबारी आधा बिघाको थियो, उसँग एउटा गाई, एउटा बाख्रो र केही कुखुरा पनि थिए ।

बेर्ल दम्पतीको एउटा छोरो थियो— स्यामुअल, जो चालीस वर्षअघि अमेरिका गएको थियो । यता ल्यान्टशिन गाउँमा हल्ला थियो— ऊ त्यहाँ लखपति भएको छ । हरेक महीना ल्यान्टशिनको हुलाकीले बूढो बेर्लका लागि एउटा मनीअर्डर र एउटा चिठी ल्याउनेगथ्र्यो; यस्तो चिठी— जसलाई त्यो गाउँमा कसैले पढ्न सक्तैनथ्यो, किनभने त्यसमा थुप्रै शब्द अंग्रेजीका हुन्थे । स्यामुअलले आमा–बाबुलाई कति पैसा पठाउँथ्यो भन्ने कुरा सधैं रहस्य बनिरह्यो । वर्षमा तीनचोटि बेर्ल र उनकी पत्नी पैदल हिंडेर नजीकैको सानो शहर जेक्रोजाइम जान्थे र त्यहाँ मनीअर्डर भजाएर पैसा लिन्थे । तर उनीहरूले त्यो पैसा प्रयोग गरेको कहिल्यै देखिएन । प्रयोग गरून् पनि केका लागि र ? तरकारीबारी, गाई र बाख्राले उनीहरूका अधिकतर आवश्यकता पूरा भइहाल्थे । यसबाहेक बेर्लचा कुखुरा अण्डा पनि बेच्ने गर्थी, जसबाट आएको पैसाले रोटीका लागि पीठो किन्न पुग्थ्यो ।

गाउँमा कसैलाई पनि छोराले पठाएको पैसा बेर्लले कहाँ राख्छ भन्ने जान्न सकसक लाग्दैनथ्यो । ल्यान्टशिनमा चोर–ठगहरू थिएनन् । बेर्लको झ्ुपडीमा जम्माजम्मी एउटा कोठा थियो, जहाँ उसको सारा श्रीसम्पत्ति भरिएको थियो । कुर्सी, मासु राख्ने तख्ता, दूधबाट बनेका सामान र अण्डा राख्ने तख्ता, दुइटा खाट र माटाको अगेनो । कुखुरा कि त दाउरा राख्ने पालीमा सुत्थे, कि— जाडो मौसममा— अगेनो नजीकै बनाइएको खोरमा । मौसम खराब भयो भने बाख्राले पनि कोठाभित्रै शरण पाउँथ्यो । गाउँका बढी सम्पन्न किसानहरूसँग मट्टीतेलले बल्ने लाल्टिन थियो तर बेर्ल र उसकी पत्नीलाई यस्ता नयाँ विलासी उपकरणमा पटक्कै विश्वास थिएन । माटाको दियोमा बालिने तेलको बत्तीले नपुग्दो नै के थियो र ? बेर्लचा यदाकदा, केवल सप्ताहान्तका लागि, पसल गएर बोसोले बनेका तीनवटा मैनबत्ती किनेर ल्याउँथी । गर्मीमा पति–पत्नी सूर्योदयसँगै उठ्थे र साँझ् कुखुरा सुत्न लाग्दा सुत्थे । जाडोका लामा साँझ्मा बेर्लचा चर्खामा सनपाटको धागो कात्थी र बेर्ल ऊ नजीकै मौन बसिरहन्थ्यो । विश्रामको आनन्द लिन ऊ राम्ररी जान्दथ्यो ।

कहिलेकाहीं साँझको प्रार्थना गरेर उपासना–भवनबाट फर्केपछि बेर्लले पत्नीलाई दुनियाँको गतिविधि, नयाँ–पुराना समाचार सुनाउँथ्यो । राजधानी वार्सामा हडतालकारीहरू जारले आफ्नो राजगद्दी छोडोस् भन्ने माग गरिरहेका छन् .... डा. हर्जेल भन्ने धर्मविरोधीले यहूदीहरू फेरि प्यालेस्टाइनमा गएर बस्नुपर्छ भन्न थालेको छ । बेर्लचा सुन्थी र आफ्नो टोपीसहितको टाउको हल्लाउँथी । उसको अनुहार पहेंल्चे थियो र ओइलाएका बन्दाकोपीको पात जस्तो चाउरी परेको थियो । उसका आँखा झेल्लिएका थिए र आँखामुनि नीलो रंगको आभास दिने पोका थिए । ऊ आधा बहिरी थिई । उसलाई भनेको प्रत्येक शब्द बेर्लले दोहो¥याउनुपथ्र्यो । समाचार सुनेपछि ऊ भन्थी, ‘ठूला शहरमा के–के हुन्छ के–के !’


‘तपाईंहरूले किन खर्च नगरेको ?’
‘केमा खर्च गर्नु ? ईश्वरको कृपाले सबैथोक छ त !’
‘त्यसो भए किन कहीं घुम्न नगएको ?’
‘कहाँ जानु र ?’
छोरो एकपछि अर्को प्रश्न गर्दैगयो। तर बेर्लको उत्तार एउटै थियोः उनीहरूलाई कुनै कुराको कमी छैन। खेत, बारी, गाई, बाख्रो र कुखुराले आवश्यकताका सबै सरसामान उपलब्ध गराइदिन्छन्।


ल्यान्टशिनमा दिन–प्रतिदिनका सामान्य घटना बाहेक केही हुँदैनथ्यो । कुनै गाई ब्याउँथ्यो, कुनै युवा दम्पतीले लिंगाग्र–चर्मच्छेदन कार्यक्रमको भोजमा बोलाउँथे, कसैकहाँ छोरी जन्मिन्थी र कुनै भोज दिइँदैनथ्यो । कहिलेकाहीं कसैको मृत्यु हुन्थ्यो । ल्यान्टशिनमा चिहानघारी थिएन, त्यसैले लाश गाड्न जेक्रोजाइम लैजानुपथ्र्यो । वास्तवमा ल्यान्टशिन त्यस्तो गाउँ बनिसकेको थियो, जहाँ तन्नेरीहरूको संख्या एकदमै कम थियो । नौजवानहरू जेक्रोजाइम, वार्सा र यदाकदा संयुक्त राज्य अमेरिकातिर लाग्थे । स्यामुअलका झैं अरूहरूका चिठी पनि पढ्न सकिंदैनथ्यो । लेख्न त तिनले आफ्नो भाषा ‘यिद्दी’ मा नै लेखेका हुन्थे तर त्यसमा उनीहरू गएका देशको भाषा मिसिएर बुझन नसकिने हुन्थ्यो । उनीहरू चिठीसँग फोटा पनि पठाउँथे, जसमा पुरुषहरूले लामा–लामा टोप लगाएका हुन्थे र महिलाहरूले जमीन्दार्नीका जस्ता रवाफिला लुगा ।

बेर्ल र बेर्लचा कहाँ पनि यस्तै फोटा आइपुग्थे । दुवैका आँखा धमिला भइसकेका थिए र चश्मा थिएन । उनीहरू चित्रका आकृति जसैतसै ठम्याउने जमर्को गर्थे । स्यामुअलका छोराछोरी र नाति–नातिना समेत भइसकेका थिए । तिनका ईसाई नाम यति विचित्रका हुन्थे, बेर्ल र बेर्लचालाई कहिल्यै याद भएनन् । तर नाम याद नभएर के फरक पथ्र्यो र ? तालमुद (यहूदी धर्मग्रन्थ) को एउटा शिक्षकले, जो वर्षौं अघि केही दिनका लागि ल्यान्टशिन आएको थियो, बताएको थियो— अमेरिकामा मान्छे टाउको तल र खुट्टा माथि पारेर हिंड्छन् । बेर्ल र बेर्लचाले उसको कुरा बुझन सकेनन् । यो कसरी सम्भव छ ? तर तिनलाई लाग्यो— धर्मगुरुले भनेको कुरा साँच्चै होला । बेर्लचाले केहीवेर गम खाई, अनि भनी, ‘बानी त कुनै पनि कुराको परिहाल्छ नि !’

र, कुरो त्यहीं टुंगियो । धेरै सोचविचार गर्न थाल्दा— प्रभुले कल्याण गरून्— मानिस बहुलाउन सक्छ !

एक दिन शुक्रवार बिहान, जब बेर्लचा विश्राम–दिवसका निम्ति ‘बे्रड’ पकाउन पीठो मुछ्दै थिई, ढोका खुल्यो र एउटा सम्भ्रान्त व्यक्ति भित्र पस्यो । ऊ यति अग्लो थियो कि भित्र पस्न ढोकामा निहुरिनुपर्‍यो । उसले महँगो टोप लगाएको थियो, उसको ओभरकोटका फेर छालाका थिए । उसका पछाडि जेक्रोजाइमको टाँगावाल चाजकेल थियो, जो पित्तलका चम्किला ताल्चा लगाएका छालाका दुइटा सुटकेस बोकेर उभिएको थियो । जिल्ल परेकी बेर्लचा आँखा च्यातेर अपरिचित मान्छेलाई हेर्न थाली ।

त्यो सम्भ्रान्त व्यक्तिले चारैतिर आँखा डुलायो अनि टाँगावाललाई यिद्दी भाषामा भन्यो, ‘ल लेऊ ।’ अनि खल्तीबाट चाँदीको रुबल निकाल्यो र त्यसको हातमा राखिदियो । टाँगावालले फिर्ता पैसा दिन खोज्दैथियो, तर उसले भन्यो, ‘पर्दैन । अब तिमी जाऊ ।’
जब टाँगावाल ढोका ढप्क्याएर बाहिरियो, त्यो सम्भ्रान्त व्यक्तिले भन्यो, ‘आमा, म हुँ, तपाईंको छोरो स्यामुअल ... स्याम ।’

बेर्लचाले आगन्तुकले भनेका शब्द सुनी र उसका खुट्टा निदाए । उसका हात, जसमा पीठो लागेको थियो, निर्जीव हुन पुगे । त्यो सम्भ्रान्त व्यक्तिले उसलाई अँगालो मारेर छातीमा टाँस्यो, उसको निधार र दुवै गालामा चुम्बन गर्‍यो । बेर्लचा कुखुरी जस्तै किटकिटाउन थाली, ‘मेरो बाबु... !’ यसै वेला बेर्ल अँगालोभरि दाउरा बोकेर भित्र पस्यो । उसका पछि पछि बाख्रो थियो । जब उसले एउटा अपरिचित मान्छेले आफ्नी पत्नीलाई म्वाई खाइरहेको देख्यो, दाउरा भुईंमा फ्याँकेर करायो, ‘के गरेको यो ?’

सम्भ्रान्त व्यक्तिले बेर्लचालाई छोडिदियो र बेर्ललाई अँगालो हाल्यो, ‘बाबा... !’
निकै वेरसम्म बेर्लको बोली फुटेन । ऊ यिद्दी भाषाको बाइबलमा पढेको पवित्र वाक्य भन्न चाहन्थ्यो तर फुट्टी याद आएन । अन्ततः उसले सोध्यो, ‘स्यामुअल हो ?’
‘हो बाबा, म स्यामुअल नै हुँ ।’

‘ठीक छ । प्रभुले भलो गरून्’ बेर्लले छोराका दुवै हात समात्यो । उसलाई अझ् पनि पत्यार लागेको थिएन । ... कहीं यो मान्छेले मलाई बेवकूफ बनाउन खोजेको त होइन ? स्यामुअल यति लम्बाचौडा त थिएन... । उसले आफैंलाई सम्झयो— घर छोडेर जाँदा स्यामुअल १५ वर्षको मात्रै थियो, यतिका वर्ष अवश्यै ठूलो भयो होला । एकपल्ट लामो सास फेरेर मनलाई स्थिर बनाएपछि उसले सोध्यो, ‘तँ आउन लागेको खबर हामीलाई किन नपठाएको ?’
‘मेरो तार (आकाशवाणी÷आवा) पाउनुभएन र ?’ स्यामुअलले प्रश्न ग¥यो । बेर्ललाई थाहै थिएन, तार कुन चराको नाम हो ।
बेर्लचाले हातमा लागेको पीठो पुछपाछ पारेर फेरि छोरालाई छातीमा टाँसी । उसले आमालाई फेरि म्वाई खायो र सोध्यो, ‘तपाईंहरूले मेरो तार पाउनुभएन ?’
‘के अरे ? ... म यही दिन देख्ने आशामा बाँचिरहेकी थिएँ, अब खुशीसँग मर्न सक्छु’, बेर्लचाले भनी । आफ्नो कुरा सुनेर ऊ आफैं छक्क परेकी थिई । बेर्ल पनि अलमल्ल प¥यो । उसले भन्न खोजेका शब्द पनि त यिनै थिए, याद आएका भए अघि आफैं भन्थ्यो होला । एक छिनपछि उसलाई होश आयो र भन्यो, ‘पेश्या, अब सुप र खाना दोब्बर बनाऊ है ।’

बेर्लचालाई उसको असली नामबाट बेर्लले बोलाएको वर्षौं बितिसकेको थियो । उसलाई बोलाउनुपर्दा ‘सुन त’ मात्र भन्थ्यो । तन्नेरीहरू अथवा शहरका मानिसले मात्र आफ्नी पत्नीलाई उसको नामले बोलाउँछन् ... । पतिको मुखबाट आफ्नो नाम सुनेर बेर्लचा रोइदिई । उसका आँखाबाट धमिला आँसु बग्न थाले र सबै कुरा धमिलियो । त्यही अवस्थामा उसको मुखबाट निस्कियो, ‘आज शुक्रवार हो । मैले विश्राम–दिवसको तयारी गर्नु छ ।’ उसले पीठो मुछ्नु थियो र ‘ब्रेड’ तयार पार्नु थियो । प्रशस्त सुप पकाउनु थियो । जाडोका दिन त्यसै पनि छोटा हुन्छन् ।

छोराले आमाको चिन्ता बुझेछ । भन्यो, ‘म तपाईंलाई सघाउँछु नि, आमा !’
बेर्लचा खित्का छोडेर हाँस्न चाहन्थी, तर उसको मुखबाट दबेको सुस्केरा मात्र निस्क्यो । ‘के भनेको ? जान्नु न बुझनु ... !’
स्यामुअलले आफ्नो ओभरकोट र कोट खोल्यो । इस्टकोट चाहिं लगाई नै राख्यो, जसको माथ्लो खल्तीबाट शुद्ध सुनको घडीको चेन झ्ुन्डिरहेको थियो । ऊ सर्टका बाहुला दोबार्दै अगाडि बढ्यो । ‘मैले न्यूयोर्कमा कैयौं वर्ष ब्रेड बनाउने काम नै गरेको हुँ, आमा !’ उसले भन्यो, र पीठो मुछ्न थाल्यो ।
‘तैं त होस् नि मेरो प्यारो छोरो, म मरेपछि मेरो सद्गति गर्ने... ।’ बेर्लचा ह्वाँ–ह्वाँ रुन थाली । उसको सम्पूर्ण शक्ति क्षीण भयो र ऊ खाटमा घोप्टो परी ।
‘आइमाई भनेका आइमाई नै हुन्’, बेर्लले भन्यो र थप दाउरा ल्याउन बाहिर निस्क्यो । बाख्रो अगेनो नजीकै बस्यो र छक्क परेर अपरिचितलाई हेर्न थाल्यो— उसको लम्बाइ, उसका विचित्र कपडा !

यसैबीच बेर्लको छोरो अमेरिकाबाट आएको शुभ–समाचार छरछिमेकले पनि थाहा पाए र उसको स्वागत गर्न आइपुगे । आइमाईहरूले बेर्लचालाई विश्राम–दिवसको तयारी गर्न मदत गरे । कोही हाँसे, कोही रोए । कोठा यसरी भरिएको थियो, मानौं घरमा बिहा हुन लागेको होस् । उनीहरूले बेर्लका छोरालाई सोधे, ‘अनि, अमेरिकामा नयाँ कुरा के छ त ?’ उसले जवाफ दियो, ‘अमेरिका ठीकै छ ।’
‘त्यहाँ यहूदीहरूले पैसा कमाउन सक्छन् ?’
‘त्यहाँ त विश्राम–दिवसमा मात्र होइन, कामका दिनमा पनि ब्रेड खान्छन् ।’
‘उनीहरू यहूदी नै भइरहन पाउँछन् ?’
‘म थोडै ईसाई भएको छु र !’

बेर्लचाले मैनबत्ती बालेर प्रार्थना गरेपछि बाबु–छोरा अलिक पर रहेको सानो प्रार्थना–भवन गए । भर्खरै हिउँ पर्न थालेको थियो । छोरो लामा–लामा पाइला चाल्न थाल्यो, तर बाबुले सतर्क गराउँदै भन्यो, ‘बिस्तारै हिंड् ।’

प्रार्थना–भवनमा यहूदीहरूले धर्मग्रन्थबाट दुई अनुच्छेद सामूहिक पाठ गरे । यसबीच बाहिर हिउँ परिरह्यो । प्रार्थना पछि जब बेर्ल र स्यामुअल पवित्र स्थलबाट निस्के, गाउँ नचिनिने भइसकेको थियो । सबै कुरा हिउँले छोपिएको थियो । छानाका आकार र कताकतै झयालभित्रका मैनबत्ती मात्र देखिन्थे । स्यामुअल बोल्यो, ‘यहाँ केही पनि बदलिएको छैन ।’

बेर्लचाले मसला भरिएको माछा, कुखुराको झेलमा भात, तारेको कुखुरा र गाजरको सुप पकाएकी थिई । बेर्लले रक्सीको बोतलसामु प्रार्थना ग¥यो । परिवार खान बस्यो । एकछिन सबैजना चूप लाग्दा बाहिर झयाउँकिरीको आवाज सुनिन थाल्यो । छोराले खूब कुरा ग¥यो, तर बाबु र आमाले थोरथोरै मात्र बुझ्े । उसको यिद्दी बेग्लै खाले थियो र त्यसमा विदेशी शब्दको भरमार हुन्थ्यो ।
खाना पछि स्यामुअलले सोध्यो, ‘मैले पठाएको पैसाले के गर्नुभो, बाबा ?’
बेर्लले आफ्ना सेताम्मे आँखीभौं उचाल्यो । ‘यहीं छ । केही गरेको छैन ।’
‘बैंकमा राख्नुभएन ?’
‘ल्यान्टशिनमा कुनै बैंक छैन ।’
‘त्यसो भए पैसा कहाँ राख्नुहुन्छ त ?’
बेर्ल अलिकति हिच्किचायो । ‘विश्रामका दिनमा पैसा चलाउन निषेध गरिएको छ, तर म तँलाई देखाउँछु ।’ ऊ खाट नजीकै बसेर निहुरियो र कुनै भारी वस्तु तान्न थाल्यो । एउटा पुरानो बूटजुत्ता निस्कियो । त्यसको मुख थोत्रे कपडा कोचेर बन्द गरिएको थियो । कपडा निकाले पछि छोराले देख्यो, जुत्ता सुनका सिक्काले भरिएको छ । उसले जुत्ता तान्यो ।
‘यो त खजाना नै हो’, स्यामुअलको मुखबाट निस्क्यो ।
‘अँ ।’
‘तपाईंहरूले किन खर्च नगरेको ?’
‘केमा खर्च गर्नु ? ईश्वरको कृपाले हामीसँग सबैथोक छ त !’
‘त्यसो भए किन कहीं घुम्न नगएको ?’
‘कहाँ जानु । घर त यहीं छ नि, होइन र ?’
छोरो एकपछि अर्को प्रश्न गर्दैगयो । तर बेर्लको उत्तर एउटै थियोः उनीहरूलाई कुनै कुराको खाँचो छैन, कुनै कुराको कमी छैन । खेत, बारी, गाई, बाख्रो र कुखुराले आवश्यकताका सबै सरसामान उपलब्ध गराइदिन्छन् ।
छोराले भन्यो, ‘चोरले थाहा पाए भने आपत पर्छ ।’
‘यहाँ चोर कहाँ छन् र ?’
‘यो पैसा के गर्नु त ?’
‘के गर्नु नि ? तँ लैजा न !’
दिनहरू बित्दै जाँदा बेर्ल र बेर्लचा छोराको अमेरिकी लवजको यिद्दीसँग परिचित हुँदैगए । बेर्लचा उसका कुरा अब बढी राम्ररी बुझन थालेकी थिई । उसको आवाज समेत उसलाई प्यारो लाग्न थालेको थियो ।
ऊ भन्दै थियो, ‘हामीले अलिक ठूलो प्रार्थना भवन बनाउनुपर्छ क्यार ।’
‘अहिलेकैले जत्ति पुग्छ ।’ बेर्लको जवाफ थियो ।
‘त्यसो भए वृद्धाश्रम ठीक होला ।’
‘सडकमा सुत्ने को छ र यहाँ ?’
भोलिपल्ट दिउसोको खाना खाइसक्ता जेक्रोजाइमबाट एकजना ईसाई एउटा कागज लिएर आइपुग्यो । त्यो स्यामुअलले पठाएको तार थियो । बेर्ल र बेर्लचा दिवा–शयनको आनन्द लिन थाले । चाँडै घुर्न पनि थाले । बाख्रो पनि उँघ्न थाल्यो । छोराले ओभरकोट र टोप भि¥यो अनि घुम्न निस्क्यो । लामा–लामा पाइला चाल्दै ऊ बजार पुग्यो । हात तन्काएर एउटा झ्ुपडीको हरियो छानो छोयो । उसलाई सिगारको तलतल लागेको थियो । तर सम्झयो, विश्रामका दिनहरूमा यसो गर्नु वर्जित छ । ऊ कसैसँग गफ लडाउन चाहन्थ्यो तर समुच्चा ल्यान्टशिन सुतिरहेको थियो । ऊ प्रार्थना–भवनभित्र छि¥यो । त्यहाँ एकजना वृद्ध प्रार्थना गरिरहेका थिए ।
स्यामुअलले सोध्यो, ‘प्रार्थना गर्दै हुनुहुन्छ ?’
‘बूढो भएपछि अरू के गर्न सकिन्छ र ?’
‘तपाईंको गुजारा कसरी चल्छ ?’
वृद्धले यी शब्दको अर्थ बुझन सकेनन् । उनी आफ्ना रित्ता गिजा देखाउँदै मुस्कुराए र भने, ‘ईश्वरले निरोगी बनाइदिए भने मानिस बाँचिरहन्छ ।’

स्यामुअल घर फक्र्यो । साँझ् पर्न लागेको थियो । बेर्ल सन्ध्याकालीन प्रार्थनाका लागि प्रार्थना–भवनतिर गयो र छोरो आमासँगै बस्यो । बेर्लचा गम्भीर स्वरमा गाउन थाली, ‘प्रभु, इजरायलका गरीब र आफ्नो नामको रक्षा गर । हाम्रो जीवन स्वास्थ्य, धनसम्पत्ति र सत्कर्मले भरिएको होस्, कृपा गर ।’
‘धनसम्पत्ति माग्नु पर्दैन आमा, तपाईंहरू आफैं सम्पन्न हुनुहुन्छ’, स्यामुअलले भन्यो ।

बेर्लचाले सुनिन । अथवा नसुनेको अभिनय गरी । उसको अनुहार छायाहरूको गुच्छा जस्तो भइसकेको थियो ।
मधुरो उज्यालोमा स्यामुअलले कोटको खल्तीमा हात हालेर आफ्नो पासपोर्ट, चेकबुक र क्रेडिट कार्डहरू छाम्यो । ऊ ठूलठूला योजना बनाएर आएको थियो । उसको सुटकेसमा आमा–बाबुका लागि अनेक उपहार भरिएका थिए । ऊ सिंगै गाउँलाई उपहार दिन चाहन्थ्यो । उसले आफ्नो पैसा मात्र ल्याएको थिएन; न्यूयोर्कमा गठित ‘ल्यान्टशिन सोसाइटी’ को पैसा पनि लिएर आएको थियो, जसले गाउँलाई सहयोग गर्न एउटा डान्स–पार्टीको आयोजना गरेको थियो । तर सुदूर प्रदेशमा रहेको यस गाउँलाई कुनै कुराको आवश्यकतै थिएन !

प्रार्थना–भवनबाट धोद्रे स्वरमा प्रार्थनाको आवाज आइरहेको थियो । दिनभरि चुप्प लागेर बसेको झयाउँकिरी फेरि कराउन थालेको थियो । बेर्लचा ती पवित्र गीतहरू गाउँदै अगाडि–पछाडि झ्ुम्न थालेकी थिई, जो उसले आफ्ना हजुरआमाहरूबाट उत्तराधिकारमा पाएकी थिईः
आफ्ना पवित्र भेडाहरूमाथि
रहोस् तिम्रो सधैं कृपा,
प्रार्थनामा लागोस् र पवित्र होस् मन;
जो तिनलाई चाहिन्छ, देऊ ती सबै कुरा—
जुत्ता, कपडा र रोटी;
र हिंडुन् सबै सन्मार्गमा ।

सन् १९७८ को नोबेल पुरस्कार विजेता आइज्याक बसेभिश सिंगरको गणना बीसौं शताब्दीका महानतम लेखकहरूमा हुन्छ । पोल्यान्डमा जन्मेका उनी यहूदीहरूको दमन हुन थालेपछि न्युयोर्क (अमेरिका) गएर बसेका थिए । उनी यिद्दी भाषामा कथा, उपन्यासहरू लेख्थे र आफैं तिनको अंग्रेजीमा अनुवाद गर्थे ।

साभारः शैक्षणिक सन्दर्भ, पूर्णाङ्क ८८

भाषान्तरः शरच्चन्द्र वस्ती

शिक्षक मासिक, २०७६ पुस अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial