जिज्ञासा र जवाफ: २०७६ पुस अंकमा प्रकाशित

बढुवा रोक्न चलखेल

म मनाङमा कार्यरत निमावि तृतीय श्रेणीको विज्ञान शिक्षक हुँ । यहाँ कार्यसम्पादन मूल्याङ्कन (कासमू) बाट निमावि द्वितीय श्रेणीमा लगातार तीन पटक शिक्षक बढुवा भइसकेपछि पनि एक स्थान रिक्त थियो जुनमा जिल्लाभित्रै योग्यता पुगेका शिक्षकहरूबीच खुला प्रतिस्पर्धा हुनुपथ्र्यो । तर त्यसो नगरी अर्कै जिल्लाबाट निमावि द्वितीय श्रेणीको शिक्षक ल्याइयो । मनाङ जस्तो जिल्लामा बल्ल बल्ल बढुवाको लागि रिक्त भएको दरबन्दीमा यसरी बाहिरबाट चलखेल गरेर वर्षौंदेखि यहीं बसेर दुःख गरिरहेका शिक्षकहरूलाई पाखा लगाइन्छ भने वर्षेनि कासमू फारम भर्नुको के औचित्य रह्यो र ? शिक्षा ऐन–नियम विपरीत यस्तो चलखेल गर्ने अधिकारी वा जिम्मेवार व्यक्तिलाई कारबाही हुन्छ कि हुँदैन ?

सुरेन्द्रबहादुर थापा, श्री गौरीशंकर मावि, तिमाङ, मनाङ

तपाईंको प्रश्नबाट जिल्लामा बढुवाका लागि स्थान रिक्त थियो तर विज्ञापन चाहिं भएको थिएन भन्ने बुझिन्छ । यस्तो अवस्थामा शिक्षकको जिल्लान्तर सरुवा गर्न नियम–कानूनले रोक लगाएको छैन । त्यसकारण जिल्लाभित्रका शिक्षकहरूबीच प्रतिस्पर्धाका लागि विज्ञापन नहुँदै बाहिरबाट शिक्षक सरुवा भएर आउनुलाई नै शिक्षा ऐन–नियम विपरीतको चलखेल भन्न मिल्दैन । यद्यपि कानूनले सुविधा दिंदैमा बढुवाका लागि योग्य शिक्षक जिल्लाभित्रै हुँदाहुँदै रिक्त स्थानमा त्यसरी अन्यत्रका शिक्षक सरुवा भएर आउँदा त्यहाँ लामो समयदेखि दुःखसँग पढाइरहेका शिक्षकलाई मर्का पर्छ नै ।

यस्तो सवालमा कानूनभन्दा बढी विवेकको प्रयोग गर्नुपर्ने हुन्छ । सरुवामा विधि र प्रक्रियाको उल्लंघन भएको छैन भने कसैलाई कारबाही गर्न मिल्दैन । तर बढुवा प्रयोजनको लागि संख्या र तह खोलेर विज्ञापन गरिसकेपछि बाहिरबाट शिक्षक सरुवा गरेर ल्याइएको भए त्यो चाहिं गैरकानूनी हुन्छ । यदि त्यस्तै भएको हो भने तपाईंले शिक्षक सेवा आयोगमा उजुरी दिन सक्नुहुन्छ ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा मन्त्रालय

अस्थायी छँदाको सञ्चित विदाको रकम पाउन पनि सकिन्छ

म २०५५ सालमा अस्थायी सेवामा नियुक्ति पाई २०७५ सालको आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएको शिक्षक हुँ । मेरो अस्थायी सेवा अवधिको सञ्चित विदा स्थायी भएपश्चात् जोडिन्छ कि जोडिंदैन ? जोडिएर नआउने भए उक्त विदाको रकम पाइन्छ कि पाइँदैन ? पाइने हो भने के गर्नुपर्छ ? यो म लगायतका धेरै शिक्षक साथीहरूको साझ जिज्ञासा भएकाले स्पष्ट जवाफ पाउने आशामा छु ।

लिलबहादुर श्रेष्ठ, श्री कालिका मावि, रतनपुर कटारी–७, उदयपुर

अस्थायी सेवा अवधिमा सञ्चित रहेको बिरामी विदा स्थायी सेवा प्रवेशपछिको विदामा जोडिंदैन तर कतिपय शिक्षकले विदा वापतको पैसा भने पाउँछन् । तपाईं लगायतका सम्पूर्ण सम्बन्धित शिक्षकहरूले प्रष्टसँग जानकारी राख्नुहोला २०६७ माघ ९ गते भन्दा अघि नियुक्ति पाएका अस्थायी शिक्षकले सञ्चित बिरामी विदाको पैसा पाउँछन् ।

तर उक्त मिति अघि नियुक्ति पाएकै आधारमा मात्र भने सबै शिक्षकले विदाको रकम पाउँदैनन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयले नियुक्ति गरेको र सम्बन्धित विद्यालयले नियुक्ति दिएको छ भने पनि शिक्षा कार्यालयबाट त्यस्तो नियुक्तिको समर्थन/अभिलेखीकरण वा प्रमाणीकरण भएको कागजात विद्यालय किताबखानामा पेश गरेको हुनुपर्छ । त्यस्ता सबै कागज दुरुस्त भएका शिक्षकले मात्र विदाको रकम पाउने व्यवस्था छ ।

तपाईंको नियुक्ति मिति हेर्दा यदि तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट नियुक्ति लिनुभएको वा नियुक्तिलाई कार्यालयले समर्थन÷अभिलेखीकरण गरेको छ भने तपाईंले अस्थायी सेवामा रहँदाको सञ्चित विदाको पैसा पाउनुहुने देखिन्छ । तर जुन तहमा पहिले अस्थायी सेवा गरेको हो त्यसैमा पछि स्थायी नियुक्ति लिएको शिक्षकले अस्थायी अवधिमा सञ्चित विदाको रकम पनि अवकाशपछि मात्र पाउने प्रावधान छ । पहिले कार्यरत तहभन्दा फरक तहमा स्थायी नियुक्ति छ भने चाहिं पहिलेको सञ्चित विदाको पैसा लिन अवकाशको समय पर्खनु पर्दैन । अस्थायी नियुक्तिपत्रको प्रतिलिपि, तत्कालीन जिल्ला शिक्षा कार्यालयले गरेको समर्थन/अभिलेखीकरणको कागजात, अस्थायी र स्थायी सेवा अवधिको सञ्चित विदाको छुट्टाछुट्टै फम्र्याट प्रमाणित गराएर सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईको सिफारिश सहित विद्यालय शिक्षक किताबखानामा पेश गरेर विदाको रकम लिन सकिन्छ ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग), सानोठिमी, भक्तपुर

नाम दुई, भाइरस उही

कक्षा–८ को कम्प्युटर किताबको पेज नम्बर ११७ मा ‘कम्प्युटर भाइरस’ का किसिम अन्तर्गत बुँदा नम्बर ४ मा सेल्फ मोडिफाइ भाइरस (Self modifie virus) लेखिएको छ । तर सोही किताबको पेज नम्बर ११८ मा वर्णन गर्दा बुँदा नम्बर ४ मा सेल्फ मोडिफाइ भाइरस (Self modifie virus) हुनुपर्नेमा पोलिमर्फिक भाइरसको Polymorphic virus) को व्याख्या गरिएको छ । के सेल्फ मोडिफाइ भाइरस (Self modifie virus) र पोलिमर्फिक भाइरस (Ploymorphic virus) एउटै हो ?

खटकबहादुर खड्का, श्री कालिका आभूवि, गोकुलगङ्गा–५, नामाडी, रामेछाप

फरक फरक जस्तो देखिने दुई नाम भए पनि किताबमा एकै किसिमको भाइरसलाई जनाउन ती नामहरू प्रयोग गरिएका हुन् । सेल्फ मोडिफाइ भाइरस बेलाबेलामा आफैं परिवर्तन भइरहन्छ । त्यसैले यसलाई ‘सेल्फ मोडिफाइ’ भनिएको हो । पोलिमर्फिक भाइरस (Ploymorphic virus) चाहिं यसको खास नाम (Generic Name) हो ।

गणेशप्रसाद भट्टराई, निर्देशक (सूचना अधिकारी)ऽ पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर

जसको नियुक्ति पहिला, उही वरिष्ठ !

म २०७१/४/२२ गते जिल्ला शिक्षा कार्यालय खोटाङबाट स्थायी नियुक्ति पाई त्यसको भोलिपल्टदेखि शितला मावि खाल्ले, खोटाङमा हाजिर भएर त्यसयता निरन्तर कार्यरत रहँदै आएको निमावि तहको गणित शिक्षक हुँ । त्यसअघि यसै विद्यालयमा करीब १० वर्ष र अर्को विद्यालयमा दुई वर्ष अस्थायी सेवा पनि गरेको थिएँ । २०७१/४/२० मा जिल्ला शिक्षा कार्यालयबाट नियुक्तिपत्र बुझेर त्यसको ६ दिनपछि २०७१/४/२६ देखि शिवज्योति मावि लामीडाँडामा हाजिर भई २०७३ फागुनदेखि सरुवा भई आएका निमावि तहकै अंग्रेजी शिक्षक शिवप्रसाद राई र म अहिले एकै विद्यालयमा कार्यरत छौं । उहाँको अस्थायी सेवा थिएन । स्थायी नियुक्तिपत्र उहाँले दुई दिनअघि पाएको भए पनि विद्यालयमा म पहिले हाजिर भएको थिएँ र उमेरमा पनि म नै जेठो छु । शैक्षिक योग्यता दुवैको बराबरी छ ।

मेरो स्थायी नियुक्ति मितिका आधारमा उहाँले आफू वरिष्ठ भएको दाबी गर्दै आउनुभएको छ । जसलाई विद्यालयले पनि समर्थन गरेको छ । अब हामी दुईमध्ये को वरिष्ठ भयौं ? साथै हाम्रो विद्यालयमा प्रावि स्तरका शिक्षक प्रअ हुनुहुन्छ । मावि तहका स्थायी शिक्षक श्यामविक्रम थापा २०६८ सालदेखि स्रोतव्यक्तिका रूपमा काजमा खटिई हाल फिर्ता आउनुभएको छ । विद्यालय व्यवस्थापन समितिले प्रअमा नयाँ व्यक्ति नियुक्ति गर्न चाहेको छैन । यस्तो अवस्थामा प्रअ पद कसले पाउँछ ?

मीनकुमार दाहाल, श्री शितला मावि, खाल्ले, खोटाङ

विद्यालयको प्रअ बन्ने प्रयोजनका लागि वरिष्ठताबारे विवाद भएको हो भने तपाईंको प्रश्नबाटै प्रष्ट छ— मावि दरबन्दीका शिक्षक स्रोतव्यक्तिको काजबाट फिर्ता आएपछि स्वतः उनले नै प्रअ भई काम गर्छन् । किनभने मावि शिक्षक भएसम्म निमावि तहको शिक्षक प्रअ हुने कुरा आउँदैन । शिक्षा नियमावली (नवौं संशोधन) २०५९ को परिच्छेद १७ मा प्रधानाध्यापक नियुक्ति सम्बन्धी व्यवस्था छ ।

त्यस अन्तर्गत विव्यसले योग्यता पुगेका स्थायी शिक्षकहरूमध्येबाट विद्यालय विकास प्रस्ताव सहित दरखास्त आह्वान गरेर शिक्षक छनोट समितिमा पठाउने र उक्त समितिले अनुसूची १३ का आधारमा मूल्याङ्कन गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई प्रधानाध्यापकमा नियुक्तिको लागि विव्यससमक्ष सिफारिश गर्नुपर्छ । त्यसरी छान्न नसकेको अवस्थामा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मको लागि विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये वरिष्ठतम स्थायी शिक्षकले निमित्त प्रअ भई काम गर्ने र एकभन्दा बढी तह भएको विद्यालयमा माथिल्लो तहको वरिष्ठतम शिक्षकले निमित्त भई काम गर्ने व्यवस्था नियमावलीको नियम ९३, उपनियम (१२) मा गरिएको छ । नियमावलीमा यति प्रष्टसँग उल्लेख हुँदाहुँदै मावि तहको स्थायी शिक्षकलाई पन्छाएर निमावि वा प्रावि तहको शिक्षकलाई निमित्त प्रअ बनाउन पाइँदैन । यसमा कसैले दिन चाहन्छ, चाहँदैन भन्ने कुरै हुँदैन । त्यसकारण तपाईंहरू दुवै निमावि शिक्षक भएकाले प्रअ हुन पाउँ भन्ने दावी पुग्दैन ।

जहाँसम्म आपसमा को वरिष्ठ भन्ने प्रश्न छ, त्यसमा निमाविकै तहको नियुक्तिले नै वरिष्ठ र कनिष्ठ छुट्टिएको अवस्थामा तल्लो तहमा को वरिष्ठ थियो भनेर हेर्नु पर्दैन । एकै दिन नियुक्ति थियो भने तल्लो तहमा के थियो भनेर हेर्ने हो । प्राविमा पनि एकै दिन थियो भने अस्थायी सेवा हेर्ने हो । अस्थायीमा पनि एकै दिन छ भने जन्ममिति हेरेर उमेरका आधारमा को जेठो हेर्ने हो । यहाँ दुई जना बीच एक जना दुई दिन अघि र अर्को दुई दिन पछि नियुक्त भएको भनिएकाले जो अघि नियुक्ति पाएको छ उही वरिष्ठ हो । व्यवस्थापन समितिलाई कारबाही गर्ने र नियम पालना नगरेको भएमा भंग समेत गर्ने अधिकार स्थानीय सरकारलाई छ ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा मन्त्रालय

शिक्षक  मासिक, २०७६ पुस अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial