बाइपोलार डिसअर्डर औषधि छ, सधैं खानुपर्छ !

एक ४५ वर्षे शिक्षक विगत आठ वर्षदेखि हामीकहाँ उपचाररत छन् । उनको रोग ‘बाइपोलार डिसअर्डर’ हो । उनलाई सालिन्दा जस्तै रोगको प्रभावले केही समय अलि बढी गाँज्दछ । कहिले मनस्थितिमा नकारात्मकता, नैराश्य र उदासीनता पैदा भई ‘डिप्रेसन’ को अवस्थामा पुगेका हुन्छन् भने कहिले चाहिं अत्यधिक चञ्चलता, खुशी, उत्साह देखा परी ‘यानिया’ को चरणमा पुग्दछन् । यो रोग लागेका मानिसमा कहिलेकाहीं दुवै अवस्थाका लक्षणहरू एकैसाथ पनि देखा पर्न सक्छन् । ती शिक्षकमा यो रोग शुरूआत भएको दुई दशकभन्दा बढी नै भइसकेको देखिन्छ । दुईपटक त भर्ना नै भए हामीकहाँ । तथापि, नियमित औषधि सेवन गरेर उनले आफ्नो शिक्षण पेशा अनि पारिवारिक दायित्वलाई राम्ररी नै धानिरहेका छन् । अस्पताल आउँदा उनकी श्रीमती सधैं साथमा आउँछिन् ।
बेला बेलामा ती शिक्षक भन्छन्, “ब्लडप्रेसरको बिरामीले झैं सधैं औषधि खानुपर्ने यो रोग निको नै नहुने रहेछ !

वास्तवमा उनको अनुमान शतप्रतिशत सही हो । यत्ति कुरा बुझेर बिरामीले डाक्टरसँग सम्पर्कमा रही नटुटाई औषधि सेवन गरे पुग्छ यस रोगमा । बिरामीका अभिभावकले पनि यो कुरालाई हृदयङ्गम गरिदिंदा उपचार प्रक्रियामा थप सहजता आउँछ, उपचार सफल हुन्छ ।

मानसिक रोगहरूलाई लोकलज्जाका रूपमा हेर्ने धारणाले गहिरो जरा गाडेको समाजमा ‘बाइपोलार डिसअर्डर’ जस्तो आजीवन औषधि चाहिने रोगलाई ‘ब्लडप्रेसर’ या ‘सुगर’ आदि शारीरिक रोगहरूसँग तुलना गर्न मलाई पनि सजिलो लाग्छ । यसले उपचारलाई सरल बनाउने मात्र नभई उपचारको निरन्तरता कायम राख्न पनि ठूलो सहयोग पुर्‍याउन सक्छ ।

‘बाइपोलार डिसअर्डर’ २०–२५ वर्षको उमेरदेखि नै शुरू हुने अनि बेला–बेलामा विभिन्न रूपमा देखा परिरहने रोग हो । गाउँघरको भाषामा ‘औंसी–पूर्णे लागेको’ भनिए झैं पश्चिमा जगतमा यस रोगलाई ‘म्यानिक डिप्रेसिभ साइकोसिस’ भनिन्थ्यो । यो रोगबाट पीडितहरू नजिकका व्यक्तिको मृत्यु, जागीरमा अवनति, व्यापारमा नोक्सानी, दुर्घटना जस्ता नकारात्मक किसिमका तनावका कारण ‘डिप्रेसन’, अनि पदोन्नति, वंशवृद्घि, विवाह जस्ता सकारात्मक क्षणहरूमा ‘म्यानिया’ को अवस्थामा पुग्दछन् । तनाव व्यवस्थापन (सकारात्मक या नकारात्मक) गर्न नसक्ने र त्यस्तो अवस्थामा मनस्थिति पनि अस्थिर भइदिनाले बिरामीहरू यो रोगका विभिन्न चरणबाट गुज्रन्छन् । एक पटक लागिसकेपछि पटक–पटक विपरीत या उस्तै किसिम या दुवै लक्षण एकसाथ देखापर्ने पनि हुन सक्दछ ।

कहिलेकाहीं धेरै सामाजिक हानि नगरिकन व्यक्तिलाई अलि बढी रचनात्मक बनाउने, चाँडै नै खुशी दिलाउने ‘हाइपोम्यानिया’ को चरण पनि आउन सक्छ । यो पनि ‘बाइपोलार डिसअर्डर’ कै पहिचान हो । ‘डिप्रेसन’ हुँदा निद्रा नै नलाग्नाले निद्रामा कमी आउँछ भने ‘म्यानिया’ हुँदा निद्रा नै नचाहिने अवस्थामा रही आफूलाई धेरै सुत्नै नपर्ने ठान्दछन् बिरामी । ‘डिप्रेसन’ का अन्य लक्षणहरूमा, नकारात्मक विचार, आफूलाई असहाय ठान्ने, हीनताबोध, प्रायश्चितका कुरा आदि देखा पर्दछन् भने ‘यानिया’ मा बढी रचनात्मक हुन खोज्ने, असम्भव योजनाहरू बनाउने, आफूलाई ‘विशिष्ट’ मान्ने, धेरै खर्च गर्ने, बढी धर्मकर्म गर्ने जस्ता लक्षण पाइन्छन् ।
विश्वमा करीब १ प्रतिशत मानिसमा यो रोगका लक्षण देखिएको छ । तीमध्ये करीब ६ प्रतिशत जतिमा आत्महत्याको अनि ३०–४० प्रतिशतमा आफूलाई अन्य किसिमले हानि गर्ने प्रवृत्ति पाइएको अध्ययनले देखाएको छ । रोगका कारण हुने शारीरिक या मानसिक असमर्थता बाहेक सामाजिक कलङ्क अनि कार्य–अक्षमताको दर पनि ज्यादा छ यस रोगमा । त्यस्तै धूम्रपान, मद्यपान, अन्य लागूपदार्थ सेवन, एङ्गजाइटी  जस्ता मानसिक रोगहरू, अनि ब्लडप्रेसर, चिनीरोग, मोटोपना जस्ता शारीरिक रोगहरू पनि ‘बाइपोलार डिसअर्डर’ मा धेरै पाइएको छ ।

यस्ता रोगीलाई मनस्थिति स्थिर राख्न अनि बारम्बार ‘म्यानिया’ या ‘डिप्रेसन’ का प्रकोप देखा नपरोस् भन्नका लागि मात्र नभई आत्महत्याबाट जोगाउनका लागि पनि ‘मुड स्ट्याबिलाइजर’ औषधि नियमित नै चाहिन्छ । खुशियाली या दुःखका जुनसुकै तनावले पनि यो रोगका लक्षणहरू उजागर गर्न सक्ने भएकोले पनि तनाव व्यवस्थापन, सकारात्मक चिन्तन अनि काउन्सेलिङ्ग/मनोविमर्श या साइकोथेरापी को आवश्यकता टड्कारो रूपमा देखा पर्दछ । त्यसैले, परिवार–अभिभावकको अविच्छिन्न सहयोग अनि मनोचिकित्साकर्मीहरूको निरन्तर सल्लाह–सुझाव यो रोग उपचारका दुई महत्वपूर्ण आधारशिला हुन् भनिएको हो ।



 

commercial commercial commercial commercial