पशुपति दर्शन ! के हेर्ने, कसरी हेर्ने ?

पशुपतिनाथको दर्शन कसरी गर्ने ? पशुपतिको यात्रा–तीर्थयात्राका क्रममा त्यहाँ के–के कुरा हेर्ने, कसरी हेर्ने ?
पशुपतिनाथ कस्तो र कसको तीर्थस्थल हो ? पशुपति क्षेत्रका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, सामाजिक र ऐतिहासिक पक्षहरू के हुन् ? पशुपति क्षेत्रमा अरू कुन–कुन देव–देवीका मन्दिर र तीर्थस्थलहरू छन् ? हिन्दू बाहेक बौद्ध, सिख, जैन आदि धर्मावलम्बीहरूका निम्ति पशुपतिको महत्व के हो ?

विशेषतः शैक्षिक भ्रमणको क्रममा पशुपति आउने विद्यार्थी र तिनलाई डोर्‍याउने शिक्षकहरूको खाँचो र जिज्ञासालाई ध्यानमा राखेर यो आलेख तयार पारिएको छ । हामीलाई विश्वास छ, सन्दर्भ सामग्रीका रूपमा यसबाट विद्यालय–शिक्षकसँगै अन्य पाठकहरू पनि लाभान्वित हुनुहुनेछ ।
– सम्पादक


नेपालको राजधानी काठमाडौंको प्राचीन नगर देवपत्तन (देउपाटन) मा अवस्थित पशुपतिनाथको मन्दिर र त्यसले चर्चेको क्षेत्र हिन्दू धर्मावलम्बीहरूको लागि मात्र नभई सबै जनसमुदायका लागि ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्वक दृष्टिकोणबाट महत्वपूर्ण सम्पदाको रूपमा विश्वप्रसिद्ध छ ।

पशुपति क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्वक दृष्टिकोणबाट महत्वपूर्ण हुनुमा यहाँ स्थापित अनेक मठ–मन्दिर, मूर्ति, स्तूप, विहार, ढुङ्गेधारा, धर्मशाला, पाटी–पौवा आदि जीवन्त कीर्ति नै हुन् । यहाँका मूर्ति, मन्दिर, विहार, स्तूपहरू शताब्दियौं अघिदेखि हिन्दू धर्म–संस्कृतिमा आस्था राख्ने श्रद्धालु भक्तजनहरूको आस्था एवं श्रद्धाको केन्दविन्दु बन्न पुगेका छन् । यी मूर्ति एवं मन्दिरमा पूजा र दर्शन गर्न नेपालका विभिन्न स्थानबाट मात्र होइन टाढा–टाढाका मुलुकहरूबाट पनि पर्यटक, तीर्थयात्री एवं भक्तजनहरूको भीड लाग्छ । नेपालमा परम्परादेखि नै हिन्दू धर्म–संस्कृति अन्तर्गत वैदिक, बौद्ध, जैन र सिख आदि सबै सम्प्रदायलाई समेट्ने एक किसिमको सद्भावमय वातावरण रहेको छ । यसभित्र प्रकृतिपूजक पनि पर्दछन् ।

पशुपतिनाथको मन्दिर नेपालमा रहनु नेपाल र नेपालीको लागि साँच्चै नै गौरवको विषय हो । पशुपतिनाथ देवका पनि देव महादेव मानिनुुहुन्छ । पशुपतिनाथको महिमा गान समग्र वैदिक तथा पौराणिक वाङ्मयमा पाइन्छ । शुक्लयजुर्वेदमा महादेव अर्थात् शिवको स्तुति यसरी गरिएको छः
ॐ नमः शम्भवाय च मयो भवाय च नमः शङ्कराय च मयस्कराय च नमः शिवाय च शिवतराय च ।।


के वैदिक, के बौद्घ, के जैन, के सिख, के किराँत सबैका लागि पशुपति क्षेत्र आराध्यस्थल बन्न पुगेको छ। अनेकौं मूर्ति, भव्य एवं आकर्षक मठ, मन्दिर, स्तूप, धर्मशाला, ढुङ्गेधारा, पाटी–सत्ताल जस्ता मूर्त एवं जात्रा, चाड–पर्व, रीतिथिति, आस्था–विश्वास जस्ता अमूर्त सम्पदाहरूको कारण पशुपति क्षेत्र एउटा खुला संग्रहालयको रूपमा रहेको छ। यो एउटा जीवन्त धार्मिक–सांस्कृतिक स्थल हो।


यसको अर्थ हुन्छ— ‘समस्त विश्वकल्याणका आधार भगवान् शङ्करलाई नमस्कार छ, सम्पूर्ण संसारको सुखका कारक भगवान् शिवलाई नमस्कार छ । स्वयं रचेको यस सृष्टिको सधैं कल्याण गर्ने परम कल्याणदायी भगवान् शिवलाई नमस्कार छ । सबै कल्याणकारीहरूमा श्रेष्ठ भगवान् सदाशिवलाई नमस्कार छ ।’
शिवका विविध स्वरूपहरूमा पशुपतिस्वरुपको आफ्नै वैशिष्ट्य छ । पशुपति तŒवका तीन पक्ष छन्— पशु, पाश र पति । जो जगत प्रपञ्चमा फसेर अविद्याको घेराभित्र रहन्छ त्यस्तो जीव नै ‘पशु’ हो । त्यस्ता जीवलाई ज्ञानको माध्यमबाट मुक्त गराउने नै ‘पशुपति’ हुनुहुन्छ । आवश्यकता अनुसार जीवहरूलाई बन्धनमा बाँध्न एवं मुक्त तुल्याउन सक्षम एवं स्वतन्त्र भएकै कारण भगवान् पशुपतिमा ‘नाथत्व’ जोडिएको छ र उहाँ पशुपतिनाथ कहलाउनुभएको छ । वैदिक शास्त्रहरूमा उहाँलाई ‘पशुपति’ नामले मात्र सम्बोधन गर्ने गरेको पाइन्छ ।

पशुपतिनाथ मन्दिर र पशुपति क्षेत्र
पशुपतिनाथको जस्तो भव्य, कलात्मक र आकर्षक मन्दिर नेपाल या विश्वका अरू देशमा पनि छैन । यो मन्दिर मण्डप शैलीमा छ । मण्डप शैलीका मन्दिर नेपालमा अरू पनि छन्, तर पशुपतिनाथ मन्दिर जस्तो स्वर्ण, चाँदी र काष्ठ कारिगरीले भव्य र आकर्षक छैनन् । यो मन्दिरको दुवै तलाको छाना स्वर्णच्छादित छ । यसका टुँडाल एवं तोरणहरू विशिष्ट कारिगरीले युक्त छन् । तल्लो तलाका चारै दिशाका बाह्रवटै ढोकाहरू चाँदी र सुवर्णमय छन् । पश्चिमी देशका कलापारखी एवं वास्तुविद्‌हरू पशुपति मन्दिर जस्तो वास्तुशैलीलाई प्यागोडा शैली भन्न रुचाउँछन् ।

पशुपतिनाथको वर्तमान मन्दिर लिच्छवि राजा सुपुष्पदेवले (वि.सं. पूर्व ४५३ मा) बनाएको मानिन्छ । सुपुष्पदेवले बनाएको मन्दिर पाँचतले थियो । त्यही मन्दिरलाई विभिन्न राजा–प्रजाहरूले समय–समयमा योगदान दिंदै आएको सन्दर्भ इतिहासमा पाइन्छ । पशुपतिनाथ मन्दिरलाई व्यवस्थित तुल्याउने तथा त्यस क्षेत्रमा गुह्येश्वरी, जयवागेश्वरी, ताम्रेश्वर, दक्षिणामूर्ति, वत्सलेश्वरी आदि मन्दिर बनाउने कार्यमा काठमाडौंका मल्ल राजाहरूको विशेष योगदान रहेको छ । वि.सं. १७५४ मा भूपालेन्द्र मल्लले पशुपतिनाथको जीर्ण मन्दिरलाई पुनर्निर्माण गरी अहिलेको स्वरुपमा भव्य बनाएका हुन् । शाहवंशीय राजा पृथ्वीनारायण शाहले धोबीखोलामा पुल नभएर काठमाडौं शहरबाट पशुपतिनाथको मन्दिर जान गाह्रो भइरहेको वेला त्यहाँ पुल बनाएको तथा पञ्चामृतस्नानको व्यवस्था मिलाइदिएको उल्लेख पाइन्छ ।

मुख्य मूर्तिः पाँचमुखे शिवलिङ्ग
पशुपतिको मूल मूर्ति रहेको ठाउँलाई ‘गर्भगृह’ भनिन्छ । सो गर्भगृहमा पाँचमुखे शिवलिङ्ग रहेको छ । गर्भगृहको द्वारको माथि राखिएका तोरणहरू पशुपतिनाथको ज्योतिर्लिङ्गको महिमा बताउने मूर्त र अमूर्त सङ्केतहरूबाट भरिएका छन् । त्यस्तै मन्दिरमा राखिएका टुँडालहरू भगवान् पशुपतिनाथको धार्मिक महिमा सङ्केत गर्ने कलाकृतिहरूले भरिएका छन् । पशुपतिनाथको मन्दिरको स्थापना वास्तुशास्त्र अनुसार भएको छ ।

वि.सं. १८६७ मा निश्चित गरिएको पशुपति क्षेत्र करीब २६४ हेक्टर (५,११५ रोपनी) मा फैलिएको छ । वि.सं. २०४३ मा पशुपति क्षेत्र विकास कोषको स्थापना हुँदा करीब–करीब त्यही क्षेत्रफललाई कोषको कार्यक्षेत्र तोकिएको छ ।

पशुपति क्षेत्रमा पशुपतिनाथ मन्दिर बाहेक गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी, जयवागेश्वरी, गोरखनाथ, विश्वरूपा, ताम्रेश्वर, दक्षिणामूर्ति, चन्द्रविनायक, पञ्चदेवल आदिका आकर्षक र भव्य मन्दिरहरू स्थापित छन् । यी सबै मन्दिरका आ–आफ्नै प्रकारका धार्मिक महत्ता र अनुश्रुतिहरू छन् । यस्तैगरी पशुपति क्षेत्रमा धन्दोचैत्य, चाविहार, कुटुवहाल, मैजुवहाल आदि बौद्ध धर्मसँग सम्बन्धित आराध्य स्थलहरू पनि छन् । साथै नानक मठ, निर्मल अखडा आदि सिख धर्मसँग सम्बन्धित साधना स्थलहरूले पनि पशुपति क्षेत्रको महत्व बढाउन सघाउ पुर्‍याएका छन् । त्यहाँ सिक्खहरूको पवित्र ग्रन्थ मानिने ‘गुरुग्रन्थसाहेव’ समेत रहेको छ । नानक मठ र निर्मल अखडा क्रमशः आर्यघाट छेउ र राजराजेश्वरी मन्दिरको पश्चिमतर्फ अवस्थित छन् । बीसौं शताब्दीतिर एक जना नेपाली मुनि शशिधरले प्रारम्भ गरेको जोसमनि सम्प्रदायको पुरानो ‘सत्यधर्मकुटी’ नामको मठको भग्नावशेष पनि पशुपति क्षेत्रको मित्रपार्क नजिक विद्यमान छ । जैन तीर्थङ्करको प्राचीन मूर्ति पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि मूलढोकाको दायाँतर्फको आगम घरकै छेउमा उपलब्ध हुनुले शैव क्षेत्रको रूपमा प्रख्याति पाए पनि पशुपति क्षेत्र सबै धर्म–सम्प्रदायको साझ धार्मिक स्थलको रूपमा विकसित हुँदै आएको तथ्य स्पष्ट हुन्छ । अर्को शब्दमा भन्ने हो भने पशुपति क्षेत्रमा रहेको यही धार्मिक सद्भावको कारणले नै यो क्षेत्र वैशिष्ट्यपूर्ण बन्न गएको छ । यसैले, के वैदिक, के बौद्ध, के जैन, के सिख, के किराँत सबैका लागि पशुपति क्षेत्र आराध्यस्थल बन्न पुगेको छ ।
लिच्छविकालदेखिका शिलालेखहरू, नेपालको प्रतिनिधित्व गर्ने अनेकौं मूर्ति, भव्य एवं आकर्षक मठ, मन्दिर, स्तूप, धर्मशाला, ढुङ्गेधारा, पाटी–सत्तलहरू जस्ता मूर्त एवं जात्रा, चाड–पर्व, रीतिथिति, आस्था–विश्वास जस्ता अमूर्त सम्पदाहरूको कारण पशुपति क्षेत्र साँच्चै भन्ने हो भने एउटा खुला संग्रहालयको रूपमा रहेको छ । यो एउटा जीवन्त धार्मिक–सांस्कृतिक स्थल हो ।


पशुपति क्षेत्रमा धन्दोचैत्य, चाविहार, कुटुवहाल, मैजुवहाल आदि बौद्घ धर्मसँग सम्बन्धित आराध्य स्थलहरू पनि छन्। त्यहाँ सिखहरूको पवित्र ग्रन्थ मानिने ‘गुरुग्रन्थसाहेव’ समेत रहेको छ।

हिन्दू धर्ममा आस्था राख्नेहरू पशुपतिनाथलाई केदारनाथको शिरोभाग मान्दछन् । यसैले भारतमा रहेका प्रसिद्ध चार धाम–बद्रीनाथ, केदारनाथ, जगन्नाथ र रामेश्वरम्को यात्रा गरिसकेपछि नेपालमा रहेको पशुपतिनाथको दर्शन गरिएन भने त्यो अपूर्ण हुन्छ भनेर यहाँ दर्शन–पूजनका लागि आउने चलन छ । आफूले चार धामलगायत विभिन्न तीर्थस्थलहरूको जल ल्याएर चढाउने र पूजा–अर्चना गर्ने प्रचलन छ । यो सकेपछि बल्ल आफन्तहरूलाई डाकेर तीर्थभोज दिइन्छ ।
यसबारेमा शिवपुराण मा स्पष्टसँग लेखिएको छ—

नयपालाख्यपुर्या तु प्रसिध्दयां महितले । लिङ्गम् पशुपतिशाख्यं सर्वकामफलप्रदम् । शिरोभागस्वरुपेण शिवलिङ्गम् तदस्ति हि ।।
शिवपुराण, कोटिरुद्र संहिता १३/१३–१९
अर्थात्, नेपाल भनी प्रसिद्धि पाएको ठाउँमा मानिसको सबै इच्छाको फल दिने पशुपतिनाथ नाम गरेको लिङ्ग छ, सो (केदारनाथ) को शिरको रूपमा रहेको छ ।

‘पशुपति’ शब्द
‘पशु’ र ‘पति’ यी दुई शब्दबाट ‘पशुपति’ बनेको छ । पशु भन्नाले ज्ञान, विवेक र चेतनाको अभाव भएको जीवात्मा भन्ने बुझ्न्छि । यसैले दुई खुट्टे, चार खुट्टे पशु मात्र होइन सर्वोत्कृष्ट सम्झ्एिको मानिस पनि अज्ञानताले घेरुञ्जेल ऊ पशु बराबरै हुन्छ । भगवान् पशुपतिनाथको पूजा, अर्चना एवं उहाँप्रतिको साँचो भक्तिभावले व्यक्तिमा भएको अन्धकार नाश हुन्छ, विवेक जागृत हुन्छ र आत्मसाक्षात्कारको मार्गमा प्रवृत्त हुन्छ भन्ने विश्वास गरिन्छ । पशुपति सम्पूर्ण जीवात्माहरूका पति अर्थात् स्वामी हुनुहुन्छ । पशुपति शब्दको व्युत्पत्तिले पनि त्यही भन्छः ‘पशून् जीवात्मनः पातिरक्षतीति पशुपति’ अर्थात् जसले सम्पूर्ण पशुप्राणीहरूको रक्षा गर्दछ उहाँ नै पशुपति हो । त्यस शब्दमा ‘नाथ’ जोडेर अझ् बढी आदर, सम्मान गर्न खोजिएको पाइन्छ ।

पशुपति मुखलिङ्ग महिमा
प्राचीन ज्योतिर्लिङ्गहरूको स्वरुप शिवलिङ्ग र जलहरी स्वरुपमा स्थापना गरेको पाइन्छ । पशुपतिनाथको मुखलिङ्गको महिमा संसारमा ज्ञानको उत्पत्तिसँग जोडिन्छ । भगवान् पशुपतिनाथको पूर्व मूखलाई तत्पुरुष, दक्षिण मुखलाई अघोर, उत्तर मुखलाई वामदेव र पश्चिममुखलाई सद्योजात भनिन्छ । पशुपतिनाथको उध्र्व (आकाशतर्फ, माथिको) मुहारलाई इशान भनिन्छ भने तन्त्रसाधकहरूले गर्भस्थ मुहारलाई अधोमुहार वा कालाग्निद्र भनेर उपासना गर्ने गरेको पाइन्छ । मेरुतन्त्रले शिवका प्रत्येक मुहारको छुट्टाछुट्टै स्तुतिबाट वर्णन गरेको छ । पशुपतिलाई पंचवक्त्रका रूपमा पनि पूजा गरिन्छ । विष्णुका रूपमा पालन गर्ने, रुद्र भएर संहार गर्ने, ईश्वर रूपमा तिरोधान गर्ने र सदाशिव भएर अनुग्रह गर्ने भगवान् शिवको कल्याणकारी पंचवक्त्र स्वरुपका रूपमा चर्चा गरिन्छ । भगवान् शिवका पशुपतिस्वरुप ज्योतिर्लिङ्गको मुहारबाट पार्वतीलाई विभिन्न स्वरुपमा शिष्या बनाई ज्ञान प्रदान गर्दा सम्पूर्ण विद्याहरूको आविर्भाव भएको मानिन्छ । तसर्थ सबै विद्या र ज्ञानका स्रोत भगवान् पशुपतिनाथ हुनुहुन्छ ।

पशुपतिनाथको दर्शन–परिक्रमा
पशुपतिक्षेत्र भन्नाले कति क्षेत्रलाई बुझउँछ भन्ने विषयमा विभिन्न दृष्टिकोणहरू पाइए पनि हिमवत्खण्डमा पूर्वमा कोशी, पश्चिममा गण्डकी, उत्तरमा गोसाइँकुण्ड र दक्षिणमा नटेश्वर— यी चार किल्लाभित्रको क्षेत्रलाई बृहत् पशुपति क्षेत्र भनी मानिएको छ । जसले यो बृहत् पशुपति क्षेत्रको प्रदक्षिणा गर्न चाहन्छ उसले यति क्षेत्रभित्रका प्रसिद्ध मठ–मन्दिर र धार्मिक स्थलहरूको दर्शन गर्नुपर्ने विधि छ । यस क्षेत्रभित्र वाग्मती, रुद्रमती, मनमती, विष्णुमती, त्रिशूली, कोशी, इन्द्रावती आदि नदीहरू पनि पर्दछन् । नेपाललाई द्वापरयुगसम्म पनि ‘मुक्तिकापुरी’ भनिन्थ्यो (हिमवत्खण्ड ७२/७४) । शिवपुराणमा न्याय प्रतिपाद्य गरिने हुनाले यो देशलाई ‘नयपाल’ भनिएको बताइएको छ । हिमवत्खण्ड मा पशुपतिनाथले सुशोभित यही पुण्यभूमि नेपाल देशलाई तीनै लोकमा सर्वश्रेष्ठ बताइएको छ ।

वर्तमानमा पशुपति क्षेत्र भन्नाले मन्दिर आसपासमा करीब ५ हजार रोपनीमा फैलिएको क्षेत्रलाई बुझने गरिन्छ । यस क्षेत्रभित्र रहेका विभिन्न देव–देवीहरूलाई विधि र क्रम अनुसार पूजा–अर्चना गरेर अनि पशुपतिनाथको दर्शन–पूजा गर्दा पशुपतिदर्शन क्रम पूर्ण हुन्छ । यस क्रममा पशुपतिको परिक्रमाको तीन तह छन्— बाहिरी प्रदक्षिणा, मध्यम प्रदक्षिणा र अन्तरङ्ग प्रदक्षिणा ।

बाहिरी प्रदक्षिणा
पशुपति क्षेत्र अन्तर्गतको बाहिरी प्रदक्षिणाको प्रारम्भ दक्षिणावर्तक्रमले आराध्यलाई दाहिने पारेर क्रमशः भण्डारेश्वर (सिफलको पश्चिम), कोटुबहिल (मित्रपार्क, लामपोखरी पश्चिम), चाविहार (धन्दोचैत्यको पश्चिम), चन्द्रविनायक (चाबहिल गणेश), धन्दोचैत्य (चाविहारको पूर्व), गौरीघाटकी गौरी, किरातेश्वर (गौरीघाटको दक्षिण), इनायगणेश (गुह्येश्वरीको उत्तर), गुह्येश्वरी, गोरखनाथ (मृगस्थली), विश्वरूपा (मृगस्थली), श्लेष्मान्तकेश्वर (मृगस्थली), विष्णु मन्दिर (भष्मेश्वरघाट पारि), राममन्दिर (भष्मेश्वरघाट पारि), लक्ष्मीनारायण मन्दिर (राजराजेश्वरीघाट पारि), मङ्गलागौरी (वत्सलेश्वरी मन्दिर भन्दा दक्षिण), वत्सलेश्वरी (आर्यघाट दक्षिण), अनन्तनारायण (वत्सलेश्वरी प्राङ्गण), पार्थिवशिला (वत्सलेश्वरी प्राङ्गण), वाग्मती स्नान, गङ्गामाई आदि पशुपति (आर्यघाट), विरुपाक्ष (आर्यघाट), कोटिलिङ्गेश्वर (उन्मत्तभैरव मन्दिर दक्षिण), कीर्तिमुख (पशुपति मन्दिर दक्षिण), राघवेश्वर (यज्ञशालाभित्र), यज्ञशाला, सप्तमातृका (यज्ञशालाभित्र), नवग्रह (पशुपतिनाथ मन्दिरको दक्षिण (पश्चिम), सङ्कटमोचन हनुमान (पशुपति मन्दिरको पश्चिम), नटेश्वर (पशुपति मन्दिरको उत्तर), भृङ्गेश्वर (पशुपतिनाथ मन्दिरको उत्तर), वासुकी (पशुपति मन्दिरको उत्तर), यमराज (वासुकी मन्दिरको दक्षिण), गुप्तेश्वर (वासुकी मन्दिरको दक्षिण), जलशयन नारायण (पशुपतिनाथ मन्दिरको पूर्व ढोका छेउ), ढुण्डिगणेश (पशुपतिनाथ मन्दिरको पूर्व), ज्वरेश्वर (पशुपतिनाथ मन्दिरको पूर्व), सूर्य (पशुपतिनाथ मन्दिरको पूर्व), गरुडनारायण (पशुपतिनाथ मन्दिरको पूर्व ढोका छेउ), सरस्वती (पशुपतिनाथ मन्दिरको पूर्व ढोका छेउ), कीर्तिमुख भैरवको दर्शन (पूजन पश्चात् धर्मशिलाको स्पर्शसाथ ढोग्दै पशुपतिनाथको अघोर (दक्षिण ढोका) मुहार, तत्पुरुष (पूर्व ढोका) मुहारको दर्शनपश्चात् अर्धपरिक्रमा गरी सद्योजात (पश्चिम ढोका) मुहारको दर्शन, त्यसपछि वामदेव (उत्तर ढोका) मुहारको दर्शन गरी फर्केपछि सत्यनारायण (पशुपतिनाथ मन्दिर पश्चिम) को दर्शन, त्यसपछि भुवनेश्वरी, जयवागेश्वरी, वनगणेश र वनकालीदेवीको दर्शन–पूजन गरेपछि पशुपति क्षेत्रको बाह्य परिक्रमा पूर्ण हुन्छ ।

यसरी पशुपति क्षेत्रको बाह्य प्रदक्षिणा गर्न कस्सिएर हिंड्ने हो भने करीब तीन घण्टा लाग्छ । विस्तारै हिंड्दा चार घण्टा जति लाग्न सक्छ । भक्तिभाव र समय हुनेले महीनामा कमसेकम एक पटक यसरी बाहिरी प्रदक्षिणा गर्‍यो भने शरीर स्वस्थ हुनुका साथै मनले चिताएको कुरा पनि पूरा हुँदै जान्छ । तर सात्विक भाव–विचार र सात्विक कर्ममा प्रवृत्त हुने शर्त चाहिं पालना गर्नुपर्छ । भगवान्को दर्शन गर्दा मनमा कुनै किसिमको कामना नगरी केवल भगवान्को चरणमा मन लागोस् र असल कर्म गरी जीवन बिताउन पाइयोस्, दुःखी, सहयोगापेक्षीहरूलाई सेवा–सहयोग गर्ने अवसर जुटोस् भनी इच्छा राख्नुपर्छ ।

मध्यम प्रदक्षिणा
मध्यम प्रदक्षिणाको प्रारम्भ गौरीघाटको स्नानबाट हुन्छ । त्यसरी स्नान गरेपछि गौरी, हनुमान, किरातेश्वर, इनायगणेश हुँदै गुह्येश्वरी, गोरखनाथ, विश्वरूपा, श्लेष्मान्तकेश्वर, विष्णु मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, मङ्गलागौरी, वत्सलेश्वरी, अनन्त नारायण, पार्थिवशिला, वाग्मती स्नान, गङ्गामाई, आदि पशुपति, विरुपाक्ष, कोटिलिङ्गेश्वर, राघवेश्वर, अष्टमातृका, नवग्रह, सङ्कटमोचन हनुमान, नटेश्वर, भृङ्गेश्वर, वासुकी, यमराज, गुप्तेश्वर, जलशयन नारायण, ढुण्डिगणेश, ज्वरेश्वर, सूर्य, जलशयन नारायण, गरुडनारायण, सरस्वती, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, शितला, भैरवेश्वर र उन्मत्त भैरवको दर्शनपछि धर्मशिलाबाट पशुपतिनाथ मन्दिरको दक्षिणद्वारबाट प्रवेश गरी पशुपतिनाथको दक्षिणतर्फको अघोर मुहार, र पूर्वतफको तत्पुरुष मुहारको दर्शन पश्चात् मन्दिरको अर्धपरिक्रमा गरी पश्चिम ढोकाबाट सद्योजात मुहारको दर्शनपछि अन्त्यमा वामदेव अर्थात् उत्तरतर्फको मुहारको दर्शन गरेपछि पशुपतिनाथको मध्यम परिक्रमा सकिन्छ । यसको लागि जमेर हिंड्ने हो भने करीब एक घण्टा जति लाग्छ । मतापमा हिंड्ने हो भने डेढदेखि दुई घण्टा लाग्छ । परिक्रमा गर्दा सकेसम्म मानसिक रूपले तत्तत् देव–देवीको स्तुति एवं प्रार्थना गर्न सके फलिफाप हुन्छ ।

वैज्ञानिक दृष्टिबाट हेर्दा पनि तीर्थस्थलको भ्रमण फलदायी छ । परिभ्रमणमा हुने नयाँ दृश्य, विभिन्न अनुभव र अनुभूतिहरूले मनलाई प्रफुल्ल तुल्याउँछ । मनमा भएका उदासी, बोझहरू हल्का हुन्छन् जसले गर्दा शरीरमा ऊर्जा, ताजगी र उत्साह थपिन्छ । यसले भावी दिनलाई ऊर्जावान तुल्याउन मद्दत गर्दछ ।

अन्तरङ्ग परिक्रमा
अन्तरङ्ग अथवा भित्री परिक्रमाको क्रममा हिजोआज भक्तजनहरू धेरैजसो पश्चिमपट्टिबाट मन्दिर प्रवेश गरेको देख्न पाइन्छ । पहिले–पहिले, वाग्मती नदी सफा, स्वच्छ र निर्मल भएको वेला भक्तजनहरू सर्वप्रथम आर्यघाटस्थित वाग्मती नदीमा पुग्दथे । त्यहाँ जलसेचन या स्नान गरेर उनीहरू वत्सलेश्वरी प्राङ्गणका देवीदेवताहरूको दर्शन–स्पर्श सकेर दक्षिणपट्टिको ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्दथे र दक्षिणावर्त ढङ्गले अर्थात् मन्दिर र देवमूर्तिहरूलाई दाहिने पारेर सप्तमातृका, नवग्रह, हनुमान‌जी, नटराज मन्दिर, वासुकी मन्दिरको परिक्रमा गर्दै बाटोमा पर्ने मूर्तिहरूलाई अभिवादन गर्दै शेषशायी नारायण, ढुण्डिगणेश, सूर्यनारायणको दर्शन गर्दै गरुडनारायण, सरस्वती, मुक्तिमण्डपको बार्दलीबाट वाग्मतीको दर्शन गर्दै त्यहीबाट गङ्गा मन्दिरको शिरमाथि रहेको श्रीयन्त्रको दर्शनको लगत्तै पशुपतिनाथ मन्दिरको गजुरको दर्शन गर्नुपर्छ । त्यति गरेपछि शिवशक्तिको दर्शन गर्ने र मुक्तिमण्डपमा केहीबेर बसी पारिपट्टिको कलियुगेश्वरको दर्शन गर्ने तत्‌पश्चात् सन्तापहरेश्वरको दर्शन गरी क्रमशः कीर्तिमुख भैरव, शितलामाता, चौसठ्ठीलिङ्ग नामले चिनिने कोटिलिङ्गेश्वरको दर्शन गरी फर्केर उन्मत्त भैरवको दर्शन पछि त्यहीबाट पशुपतिनाथ मन्दिरको दक्षिणद्वार खुलेको छ भने दक्षिणद्वारबाट प्रवेश गरी अघोर मुहारको दर्शन, त्यहीबाट पूर्वमुहार गई तत्पुरुष मुहारको दर्शन र त्यहाँबाट फर्की पुनः दक्षिण मुहारको दर्शन गरी त्यहाँबाट पश्चिमतर्फ गई सद्योजात मुहारको दर्शन गरी त्यतैबाट उत्तरतर्फको वामदेवको दर्शन गर्न गई मन्दिर पूरा नघुमी पश्चिमतर्फ लागी हनुमान, सत्यनारायणको दर्शन गर्दै बाहिरपट्टिको पश्चिम मूलढोका पुग्ने चलनलाई अन्तरङ्ग परिक्रमा मानिन्छ ।


पशुपति क्षेत्रमा चौबीसै घण्टा भनेजसो मानिसले आ–आफ्ना रीति–परम्परा अनुसार गरिरहेका कृत्यहरूले सनातन जीवनदर्शनको अद्‌भुत झाँकीको त अवलोकन गरिरहेका छैनौं भन्ने अनुभूति जो कोहीलाई यहाँ आएपछि हुन्छ।

अन्तरङ्ग परिक्रमाको क्रममा भगवान‌को स्तुति मनमनै जप्दै, भगवान‌मा पूरै मन लगाई शान्तसँग परिक्रमा गरियो भने त्यसबाट धेरै आनन्द प्राप्त हुन्छ । त्यहाँ पुगेर चन्दन पाइएन, माला पाइएन भनेर मनलाई कुण्ठित बनाउन थालियो भने मन्दिर दर्शनको कुनै फल प्राप्त हुँदैन । पश्चिमपट्टिको मूलढोकाबाट सीधै मन्दिर प्रवेश गर्नेहरूले नटराजको मन्दिरलाई दर्शन गर्दै अरू जसरी दक्षिणपट्टिबाट प्रवेश गर्छन् त्यसैगरी दर्शन गर्दा अन्तरङ्ग परिक्रमाको विधि पुग्दछ । मन्दिर दर्शनको सबैभन्दा मुख्य कुरा भनेकै त्यहाँ प्राप्त हुने शान्ति, आनन्द र एकाकार हो । ती विषयलाई छोडेर बाहिरी विषयतिर लाग्यौं भने मन्दिर दर्शनबाट हुने अनुपम आनन्दको प्राप्ति हुन सक्दैन ।

श्मशानघाट र वाग्मती नदी
काठमाडौं उपत्यकाको उत्तरतर्फ, शिवपुरी डाँडामा रहेको वाग्द्वारबाट निसृत वाग्मती नदी पशुपतिनाथ मन्दिरको प्राङ्गणको पूर्वपट्टि भई बहन्छिन् । वाग्मती नदीलाई अत्यन्त पवित्र र पावन मानिन्छ । वाग्मतीको महिमा नेपाल माहात्म्य, हिमवत्खण्ड तथा पशुपतिपुराण आदि पौराणिक साहित्यहरूमा विशद रूपमा गाइएको छ । यद्यपि हाम्रै गलत क्रियाकलापका कारण पवित्र वाग्मती नदी अहिले अत्यन्तै प्रदूषित र अतिक्रमित छ । हिमवत्खण्डमा वाग्मती नदीलाई नदीहरूमा सर्वश्रेष्ठ, लोकपावनी, सर्वदुःखहारिणी, जीवनदायिनी र पावनी बताइएको छ ।

वाग्मतीको किनारमा आर्यघाट, भष्मेश्वरीघाट जस्ता श्मशानघाटहरू छन् । अस्पतालमा लामो समय बिरामी राख्न साँव–गाँस नपुग्नेहरू र पशुपतिनाथकै चरण–कमलमा आफ्नो जीवनको अन्त होस् भन्न चाहनेहरूलाई आफन्तजनले आर्घघाट छेउका सत्तलमा ल्याएर राख्ने गर्छन् । बिरामीको अन्तिम वेला थाहा पाउने ‘घाटेवैद्य’ ले नाडीको चालको अध्ययन गरेर मृत्यु नजिकै छ भन्ने जानकारी दिएपछि बिरामीलाई आर्यघाटको ब्रह्मनाल छेउमा (जहाँ भगवान् पशुपतिनाथलाई स्नान गराइएको पवित्र जल आएर वाग्मतीमा मिसिन्छ) रहेको प्रस्तर शøया (जसलाई ‘ब्रह्मनाल’ भनिन्छ) मा राखिन्छ । ब्रह्मनालमा सुताइएका बिरामीका खुट्टाले वाग्मतीलाई छोइरहेका हुन्छन् । यसरी बिरामीलाई लमतन्न ब्रह्मनालमा सुताएर स्वजनहरू विष्णुसहस्रनाम या भगवान‌को नाम बिरामीको कानमा पुर्‍याउने प्रयास गर्छन् । यसो गर्नुको मुख्य ध्येय कानमा भगवान‌को नाम परोस् र अन्तिम वेलाको चिन्तन सांसारिकतामा नअल्मलियोस् भन्ने हुन्छ ।

पशुपतिनाथको सान्निध्यमा जीवनलीला समाप्त गर्न पाइयो वा त्यहीं रहेको चितामा शरीरको अन्तिम संस्कार भयो भने शिवसायुज्य प्राप्त हुन्छ भनी नेपाल माहात्य, हिमवत्खण्ड एवं पशुपतिपुराण मा उल्लेख भएकोले नेपालीहरूको चाहना अन्तिम अवस्थामा पनि पशुपति क्षेत्रस्थित आर्यघाट, भष्मेश्वरघाटै हुन्छ । जतिसुकै मै हुँ भन्ने, ईश्वर नमान्ने, घोर कम्युनिष्ट हुँ भन्नेहरूको पनि आखिरी सद्‌गत हुने ठाउँ अन्तमा पशुपतिका घाटहरू नै हुने गरेका छन् ।

पशुपति क्षेत्रको विलक्षणता
पशुपति क्षेत्र हरेक प्रकारका मानिसको लागि स्वाभाविक गन्तव्य हो । यो क्षेत्र सनातन हिन्दू धर्म–संस्कृतिको जीवन्त स्थल हो । यहाँ धार्मिकताको स्वरूप र जनमानसलाई आकर्षित गर्ने अनेक प्रकारका मूर्त–अमूर्त सम्पदाहरू विद्यमान छन् । यो क्षेत्र धार्मिक व्यक्तिहरूको लागि पावन स्थल, जीवन, जगत र ईश्वर तत्वलाई बुझने पाठशाला, पर्यटकहरूको लागि पर्यटकीय स्थल, कलापारखीहरूको लागि विभिन्न प्रकारका मूर्ति, मन्दिर र अनेक प्रकारका वास्तुशैलीले सुशोभित स्थल, इतिहास, संस्कृति, पुरातत्वका अनुसन्धानकर्ताहरूलाई अन्वेषणीय स्थल एवं सर्वसाधारणहरूको लागि मठ, मन्दिर, स्तूप, चैत्य, गुरुद्वार, नदी, बाग–बगैंचाहरूले सुसज्जित स्थल एवं जात्रा–पर्व आदि अनेक प्रकारका उत्सवहरू बराबर भइरहने स्थलको रूपमा पनि चिनिन्छ ।

वाग्मती नदी प्रदूषित हुनुभन्दा अगाडि चन्द्रग्रहण, सूर्यग्रहण, ऋषितर्पणी, ऋषिपञ्चमी जस्ता पर्वहरूमा इच्छुक दर्शनार्थी एवं तीर्थयात्रीहरूको वाग्मती नदीमा स्नान गर्न भीड लाग्थ्यो । त्यो दृश्य साँच्चैको मनमोहक हुन्थ्यो । महाशिवरात्रि, सद्‌बीजारोपण (बाला चतुर्दशी), तीज जस्ता पर्वहरूमा पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको अहिले पनि ठूलो भीड लाग्छ । महाशिवरात्रिमा विश्वका विभिन्न ठाउँबाट लाखौंको संख्यामा दर्शनार्थी आउने गर्छन् । वत्सलेश्वरी जात्रा, गणेश जात्रा, गङ्गामाई जात्रा, देशोद्धार पूजा, त्रिशूल जात्रा जस्ता जात्राहरूमा स्थानीयहरूको ठूलो सहभागिता रहन्छ । यहाँ हुने गाईजात्रा, खड्ग‌जात्रा, रोपाइँजात्रा पनि निकै आकर्षक र अरू ठाउँको भन्दा भिन्नै हुन्छ ।

संसारको क्षणभङ्गुरता र जीवनमा असल कर्म गर्न अभिप्रेरित गर्न पशुपति मन्दिर छेउमा भएको घाटले जो कसैलाई उत्प्रेरित गरिरहेको भान हुन्छ । मन्दिरहरूबाट बज्ने घण्टको सुमधुर ध्वनिले अन्तरहृृदयलाई नै आल्हादित तुल्याइदिन्छ । पशुपति क्षेत्रमा चौबीसै घण्टा जसो मानिसले आ–आफ्ना रीति–परम्परा अनुसार गरिरहेका कृत्यहरूले सनातन जीवनदर्शनको अद्‌भुत झँकीको त अवलोकन गरिरहेका छैनौं भन्ने अनुभूति जो कोहीलाई यहाँ आएपछि हुन्छ । त्यसको लागि कमसे कम पाँच रात्रि पशुपति क्षेत्रमा बिताउनुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । बिहान सबेरै ३ बजेदेखि नै ‘जय शम्भो’ ‘जय भोलेनाथ’ ‘ॐ नमः शिवाय’ आदि पावन नामले यो क्षेत्र गुञ्जयमान हुन्छ । चिने–जानेका जो भेटे पनि यही शब्दले अभिवादन, प्रणाम गर्ने परिपाटीले निरन्तरता पाइरहेको छ ।

आर्यघाट, भष्मेश्वरघाट कहिल्यै पनि निर्जन बन्दैनन् । यहाँका १२ वटा चिता प्रायः चौबीसै घण्टा जस्तो व्यस्त रहन्छन् । पहिले–पहिले कुनै दिन चितामा मानिसको लास जलाउन पाइएन भने माछाको सिद्रालाई भए पनि जलाउने प्रचलन थियो । तीन वर्ष यता यहाँ बिजुलीले जलाउने ‘विद्युतीय शवदाह’ केन्द्र पनि सञ्चालनमा आइसकेको छ । खुला चितामा दनदनी कसैको पार्थिव शरीर जलिरहेको छ, धुँवाले आकाश रङ्मङगिएको छ, आफन्तजनहरू नजिकै निन्याउरो मुख लगाएर, कोही डाँको छाडेर छाती पिटिरहेका छन्, कोही चितामै गएर सँगै आगोमा होमिऊँ जस्तो गरिरहँदाको विचित्र व्यवहारले जीवनको क्षणभङ्गुरता, नियति र वास्तविकताले जीवनको परमसत्यलाई बताइरहेको अनुभूति जो कसैले यहाँ गर्न सक्छन् ।

भनिन्छ— ‘संसारमा बस्ने तर सांसारिकतामा नअल्मलिने’ जस्तो महान् पाठ चितामा जलिरहेको लासले पढाइरहेको हुन्छ । सनातन हिन्दू धर्म–संस्कृतिमा श्मशानघाट नदीको छेउछाउ र मन्दिरको वरपर, जहाँ धेरै मानिसको आउजाउ हुन्छ, त्यहीं चयन गरिन्छ । तर यी घाटमा सबैलाई यहाँ जलाइँदैन; दाँत नआएका केटाकेटी र सन्न्यासीहरूलाई पारिपट्टिको जङ्गलमा जमीनमुनि समाधिस्थ गर्ने चलन छ ।

वाग्मती नदी किनाराको दुवैतर्फ विभिन्न तीर्थस्थलहरू भएकोले कतिपय आस्तिकजनहरू आ–आफ्ना रीति–परम्परा अनुसारको देवकार्य, पितृकार्य यही घाटको किनारामा या प्रस्तर निर्मित आसनी, जसलाई नेपालीमा ‘भकारी’ भनिन्छ, त्यहाँ गर्छन् ।

साधुको भेषमा पशुपति मन्दिर वरपर रहने लामा–लामा कपाल भएका, जिङ्ग्रिङ्ग दाह्री–जुँगा नकाटेका, हेर्दै अस्वाभाविक जस्ता लाग्ने व्यक्तिहरू पनि यदाकदा देखिन्छन् । कोही आफूलाई अघोरीबाबा भन्छन्, उनीहरू त्यही चिताकै नजिकतिर खुला ठाउँ या कतै टाउकोसम्म लुकाउन मिल्ने ठाउँमा आश्रित भई लास जलाइसकेर बाँकी भएको दाउरा र अग्निमा आफ्नो बिहान–बेलुकाको खाना पकाउनेदेखि लिएर धुनी जगाएर बसेको देखिन्छ । साथै त्यहीं चितामा हुने भष्म आफ्नो शरीरमा घसेर आफ्नो जीवन र जगत्प्रतिको उदासीनता अभिव्यक्त गरेर, कालो बस्त्र धारण गरेर, खप्परलाई नै खाने–पिउने भाडा बनाई त्यसैमा भोजन गर्ने, कुकुरलाई आफ्नो साथमा राखी गाँजा, भाङ र रक्सीमा जीवन व्यतीत गरेको देखिंदा विचित्र जस्तो लाग्न पुग्छ ।

केही साधु भेषमा आफ्नो स्वरूपलाई नै रङ्गीविरङ्गी तुल्याएर मन्दिरको छेउछाउ मानौं उनीहरू नै ठूला साधु–महात्मा हुन् कि भने जस्तो गरी आउने पर्यटकहरूलाई आकर्षित बनाइरहेका व्यक्तिहरू पनि देखिन्छ । वास्तवमा कैयन् यस्ता व्यक्तिले साधुको भेषलाई पेशा बनाइरहेका हुन्छन् । र आफ्नो जीवनयापन गरिरहेका हुन्छन् ।

विश्वकै अनुपम सम्पदा
पशुपति क्षेत्रको केवल राष्ट्रिय महत्व मात्र नभई अन्तर्राष्ट्रिय महत्व समेत रहेको कुरा संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोले विश्व सांस्कृतिक सम्पदा सूचीमा पशुपति क्षेत्रलाई पनि समावेश (२०३६ साल) गरेकोबाट थाहा हुन्छ । पशुपति क्षेत्र एक किसिमले खुला संग्रहालय पनि हो । यहाँ विभिन्न शैलीका मठ–मन्दिर, नेपाली कलाको प्रतिनिधित्व गर्ने प्रस्तर मूर्तिहरू, विभिन्न यात्रा–पर्व तथा बिहानदेखि बेलुकासम्म प्रत्येक दिन एवं तिथि पर्वहरूमा केही न केही कार्यहरू यहाँ भइरहेका हुन्छन् जसले पशुपति क्षेत्रको जीवन्ततालाई स्पष्ट पार्दछ । चौबीसै घण्टा भनेजसो मानिसको जीवनसँग सम्बन्धित अनेक धार्मिक, सांस्कृतिक एवं सामाजिक कृत्यहरूमा निरन्तर व्यस्त पावन ठाउँको रूपमा परिचित भएको हुनाले विश्वकै लागि यो एउटा जीवन्त सांस्कृतिक स्थल पनि हो ।

पशुपति क्षेत्र केवल मठ, मन्दिर, स्तूप, विहार एवं धर्मशाला, सत्तल, ढुङ्गेधारा जस्ता मूर्त (Tangible) सम्पदाहरूले मात्र वेष्टित स्थल नभई नयाँ–पुराना अनेकौं बस्तीहरूले ढाकिएको क्षेत्र पनि हो । साथै अनेकौं अमूर्त (Intangible) सम्पदाहरू पनि यहाँ छन् ।

पशुपति क्षेत्रको सांस्कृतिक पक्षमा विद्यावारिधि गरेका सम्पदाविज्ञ डा. टण्डनले विभिन्न कालखण्डमा पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष र सदस्यसचिवका रूपमा त्यस क्षेत्रको विकास एवं संरक्षणमा उल्लेख्य योगदान गरेका छन् ।

शिक्षक  मासिक, २०७६ पुस अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial