विज्ञान केही परिभाषा, केही विचार

आधुनिक विज्ञानको इतिहास करीब साढे चार सय वर्ष पुरानो छ । भौतिक र जैविक दुनियाँका बारेमा मानिसको ज्ञान बढाउन यसको अहम् भूमिका रहेको छ । यसैले मानव सभ्यतालाई विज्ञानले व्यापक रूपमा प्रभावित गरेको छ । विज्ञानका बीज विश्वका कैयौं संस्कृतिहरू, जस्तै यूनानी, भारतीय, चिनियाँ र इस्लाममा पनि रोपिए तर तिनको सबैभन्दा पहिले अंकुरण यूरोपमा भयो र त्यहींबाट दुनियाँका अन्य भागमा यसको विस्तार भयो ।

दुर्भाग्यवश १६औंदेखि १९औं शताब्दीका बीच यूरोपले पूर्व एवं पश्चिमका कैयौं मुलुक र त्यहाँका मानिसलाई गुलाम बनायो । हुन त, बितेका झ्ण्डै डेढ सय वर्षमा विज्ञान पश्चिमबाट गैर–पश्चिमी मुलुकहरूमा पनि फैलेको छ, तर पश्चिमी उपनिवेशवादका विरुद्ध इतिहासजन्य आक्रोशका कारण त्यहाँका कैयौं मानिसको मन–मस्तिष्कमा आधुनिक विज्ञानप्रति नकारात्मक दृष्टिकोण पैदा भएको छ । उनीहरू आधुनिक विज्ञानलाई उपनिवेशवादी सृजना मानेर ठाडै नकारिदिन्छन् अथवा आफ्ना प्राचीन परम्पराहरूमा विज्ञान खोज्छन् । यी प्रतिक्रियाहरू यद्यपि स्वाभाविक हुन्, तर यसबाट के पनि थाहा पाइन्छ भने, वास्तवमा विज्ञान के हो भन्ने कुरा उनीहरूलाई थाहा छैन । आधुनिक विज्ञान न पश्चिमी हो, न उपनिवेशवादी नै, बरू यो त यस्तो मानव उद्यम हो, जो भौतिक संसारका हरेक पक्षलाई उद्घाटित गर्न चाहन्छ । विज्ञानलाई केवल प्राविधिक कुरा मान्नुको सट्टा मानव उद्यम र मानवीय भावनाहरूको उत्कृष्ट अभिव्यक्ति मान्नुपर्छ । यो दृष्टिकोण कलेज र विश्वविद्यालयहरूमा हुर्किंदै गरेको भावी वैज्ञानिक पुस्ताका लागि सहयोगी हुनेछ ।

‘विज्ञान’ शब्द
संस्कृत भाषाको ‘विज्ञान’ शब्द (जो भारत, नेपाल, बंगलादेश लगायत दक्षिण एशियाली मुलुकमा प्रचलित छ) का लागि अंग्रेजीमा ‘साइन्स’ (Science) को प्रयोग हुन्छ । अंग्रेजीमा यो शब्द प्रयोग हुन थालेको लामो समय भएको छैन । मध्ययुगीन अंग्रेजीमा यसलाई सिन्ज, सायेन्स, सिएन्स इत्यादिका रूपमा लेखिन्थ्यो, जसको अर्थ हुन्थ्यो– ‘ज्ञान’ । जर्मन र डच भाषा पनि त्यही भाषा परिवारसँग सम्बन्धित छन्, जोसँग अंग्रेजीको सम्बन्ध छ । यी दुवै भाषामा विशेन्साफ्ट (Wissenschaft) र वेटन्शाप (Wetenschap) शब्दको प्रयोग गरिन्छ, जो ‘जान्नु’ क्रियाकै संज्ञा रूप हुन् । अंग्रेजीमा ‘साइन्स’ शब्दको उत्पत्ति ल्याटिनमा प्रचलित शब्द साइन्टिया (Scientia) बाट भएको मान्न सकिन्छ, जसको अर्थ हो— ‘ज्ञान’ ।

पहिले–पहिले ‘वैज्ञानिक खोजतलाश’ को अर्थ ‘प्राकृतिक वस्तुहरूको अध्ययन’ भन्ने लगाइन्थ्यो । विज्ञानको यही व्याख्याका कारण यसमा ज्ञानका सबै शाखाहरूलाई सम्मिलित गर्न थालियो । तर, यसका साथसाथै, बिस्तार–बिस्तारै के सोच पनि बन्न थाल्यो भने, जो विज्ञानको अंग होइन त्यो अत्यन्तै निम्नस्तरीय अथवा महत्वहीन कुरा हो । विज्ञान र धर्मका बीच चलेको संघर्ष र विवादको जरो यही सोचमा निहित छ । बिर्सनु नहुने कुरा के हो भने, संस्कृतमा ‘साइन्स’ का लागि प्रयोग गरिएको शब्द ‘विज्ञान’ को अर्थ विवेक र समझदारीसँग जोडिएको छ ।

१६औं र १७औं शताब्दीमा आधुनिक विज्ञानको विकास सँगसँगै त्यसका लागि ‘प्राकृतिक दर्शनशास्त्र’ शब्दको प्रयोग हुन थालेको थियो । अर्को शब्दमा भन्ने हो भने, त्यस बखत विज्ञानको अर्थ थियो, ‘प्रकृतिको दर्शन अथवा प्रकृतिको व्यवस्थित ढंगले गरिने खोज ।’ आधुनिक विज्ञानको इतिहासमा कोशेढुंगा मानिने आइज्याक न्यूटनको शोधपत्रको शीर्षक थियो, ‘म्याथमेटिकल प्रिन्सिपल्स अफ नेचुरल फिलोसफी’ । ‘फिलोसफी’ शब्द ग्रीक भाषाका दुई शब्द ‘फिलोज’ अर्थात् प्रेम र ‘सोफिया’ अर्थात् ज्ञान वा विवेक मिलेर बनेको हो, जसको अर्थ हुन्छ— ज्ञान वा विवेकप्रतिको प्रेम । ‘साइन्स’ को तुलनामा ‘नेचुरल फिलोसफी’ शब्द बढी सार्थक र विवरणपूर्ण छ, किनभने वैज्ञानिक खोजको मामिलामा ज्ञानको पिपासा जति महत्वपूर्ण छ, ज्ञानप्रतिको प्रेम वा अनुराग पनि उत्तिकै महत्वपूर्ण छ ।

१८औं शताब्दीमा लेखकहरूले कुनै पनि क्षेत्रको व्यवस्थित अध्ययनका लागि साइन्स (Science) शब्दको प्रयोग गर्न थालेका थिए । तर सन् १८३१ मा ‘ब्रिटिश एसोसिएशन फर द एडभान्समेन्ट अफ साइन्स’ को स्थापना पश्चात् यो शब्द क्रमशः त्यस रूपमा प्रयुक्त हुन थाल्यो, जसरी आज प्रयोग हुन्छ । यसको लगत्तै जसो विज्ञानका ब्रिटिश दार्शनिक विलियम वेवेलले विज्ञानका क्षेत्रमा कार्यरत व्यक्तिका निम्ति ‘साइन्टिस्ट’ (Scientist) शब्द प्रस्तुत गरे । विज्ञानको विभिन्न शाखामा वर्गीकरण र विशेषताको आवश्यकता पनि १९औं शताब्दीमै पहिल्याइएको थियो ।

केही परिभाषा
विज्ञान के हो भन्नेबारे वैज्ञानहरूबीच कुनै असहमति छैन । तर, यसका बावजूद, आजसम्म विज्ञानको कुनै यस्तो सन्तोषजक परिभाषा बन्न सकेको छैन, जो सबै वैज्ञानिकलाई मान्य होस् । कैयौं वैज्ञानिक र दार्शनिकहरूले आआफ्नो तर्फबाट यसको परिभाषा दिएका छन् । अधिकांशले विज्ञानको ज्ञान पक्षमा जोड दिएका छन् ।


सामान्यतः मानिसलाई के लाग्छ भने, यदि कुनै सिद्घान्तलाई ‘वैज्ञानिक’ भनेर वर्णन गरियो भने त्यसको विश्वसनीयता थप बढ्छ। आज जसरी कसैले आफूलाई नस्लवादी अथवा नारीविरोधी भन्ने हिम्मत गर्न सक्तैन, त्यसैगरी आफूलाई ‘अवैज्ञानिक’ पनि भन्न सक्तैन ।

हर्बर्ट स्पेन्सर विज्ञानको परिभाषा दिंदै भन्छन्, ‘व्यवस्थित ज्ञान नै विज्ञान हो ।’ अर्थात् छरिएका सूचना विज्ञान होइनन्, कुनै पनि क्षेत्र–विशेषसँग सम्बद्ध व्यवस्थित सूचनाहरू नै विज्ञान हुन् । यस दृष्टिले टेलिफोन डाइरेक्टरी र पुस्तकालयको क्याटलग पनि विज्ञान हो । थोमस हक्सले ज्ञानको गुणवत्ताको सट्टा त्यसको गहिराइमा जोड दिंदै भन्छन्, ‘विज्ञान भनेको प्रशिक्षित एवं सुव्यवस्थित सहज बुद्धि हो, अरू केही होइन ।’ यस परिभाषामा ज्ञान हासिल गर्न, त्यसलाई सुव्यवस्थित गर्न तथा त्यसको मूल्यांकन गर्न प्रशिक्षणमा जोड दिइएको छ । जी एन लेभिसको परिभाषाले भन्छ, ‘विज्ञान अनुभवहरूको व्यवस्थित वर्गीकरण हो ।’ तर, प्रत्येक अनुभवको व्यवस्थित वर्गीकरणलाई पनि विज्ञान मान्न सकिंदैन । विज्ञान सूचनाहरूको वर्गीकरण भन्दा पनि परको कुरा हो ।

यी परिभाषाहरूबाट के पनि प्रतिध्वनित हुन्छ भने, विज्ञान यस्तो ‘गोदाम’ हो, जहाँ सूचनाहरूलाई सावधानीपूर्वक, मिलाएर राखिन्छ । यद्यपि, हक्सले आफ्नो परिभाषामा मानव मस्तिष्कको भूमिकातर्फ पनि इंगित गर्छन् । जी डे सेन्टिलानाका अनुसार पनि विज्ञान अरू केही होइन, ‘विकसित बोध, व्याख्यायित आशय र सहज बुद्धिको स्पष्ट अभिव्यक्ति हो ।’ तर, विज्ञानको यो परिभाषा कला वा मानविकीमा पनि लागू हुन सक्छ । त्यति मात्र होइन, धार्मिक मामिलाहरूमा पनि यो परिभाषा सटीक रूपले फिट हुन सक्छ ।

अन्ततः एउटा मानक शब्दकोशमा दिइएको विज्ञानको परिभाषा हेरौं, जसमा खोजतलाशको भूमिका, परिकल्पनाहरूको सृजन र नियम पनि समाहित छन्ः ‘विज्ञान ज्ञानको यस्तो विभाग हो, जसमा खोजतलाशका परिणामहरूलाई तर्कपूर्ण तरीकाले परिकल्पना र सामान्य नियमहरूका रूपमा व्यवस्थित अनि तिनको सत्यापन गरिन्छ ।’

वैज्ञानिक सोच, चिन्तन
विज्ञान बारेको अर्को दृष्टिकोणले यसलाई केवल ज्ञान र सूचनाहरूमा सीमित मान्न इन्कार गर्छ । यसका अनुसार, विज्ञान अत्यन्तै परिष्कृत तरीकाबाट ज्ञान हासिल गर्ने मानवीय प्रयासहरू भन्दा पनि परको क्षेत्र हो । यस दृष्टिकोणका अनुसार, नैसर्गिक आवश्यकताको फलस्वरूप उत्पन्न हुने मानवीय गतिविधिहरू नै ‘विज्ञान’ हो । जस्तो कि, जर्ज सार्टन भन्छन्, ‘जब कुनै पनि समस्याको समाधानको प्रयास अत्यन्तै व्यवस्थित ढंगले, पूर्वनिर्धारित योजना अनुसार गरिन्छ त्यसवेला र त्यहाँ हामीलाई विज्ञानको विकासको दर्शन हुन्छ ।’

यहाँनेर ‘वैज्ञानिक सोच’ लाई बुझनु अत्यन्त आवश्यक हुन्छ । यसलाई हामी अनुभवहरूको दुनियाँलाई जान्न–बुझन प्रयास गर्ने मानवीय चरित्रका रूपमा हेर्न सक्छौं, जो प्रत्येक सामान्य मानिसमा पाइन्छ । त्यसैले सबै संस्कृति र सभ्यताहरूमा यसको अभिव्यक्ति महसूस गर्न सकिन्छ । दुनियाँमा हुने वा देखिने अचम्महरूबाट यस्तो मानस उत्पन्न हुन्छ । जस्तै, ताराहरूले भरिएको आकाश देखेर हाम्रो मनमा आश्चर्यको भाव पैदा हुन्छ र त्यो वैज्ञानिक मानस या चिन्तनको आधार बन्छ । उत्तुंग पहाड र विशाल नदीहरूलाई देखेर हामी चकित हुन्छौं र साथसाथै त्यसको कारण जान्ने चेष्टा गर्छौं । हामीलाई दुनियाँका बारेमा जति जानकारी छ, हामी त्योभन्दा बढी जान्न चाहन्छौं । हामी के पनि जान्न चाहन्छौं भने, संसार कहिले, कसरी र किन बन्यो ? यी सबै वैज्ञानिक मानस या सोचका अभिव्यक्ति हुन् ।

प्राचीन मनीषीहरू विविध विषयबारे बढीभन्दा बढी जान्न चाहने मानवीय प्रवृत्तिसँग राम्ररी परिचित थिए । वैदिक कालका कविहरूका रचनामा यसको झ्लक पाउन सकिन्छ । आदम र इभको कथामा एक खालको खोजको सन्देश पाउन सकिन्छ । जिज्ञासावश नै इभले आदमलाई स्याउ खान प्रेरित गरेकी थिई । यो ज्ञानको खोजको दिशामा अग्रसर हुनुको एउटा प्रतीक हो । जिज्ञासाले मानिसलाई पाप र कठिनाइतिर पनि धकेल्न सक्छ, तर अन्ततः त्यसैबाट विज्ञान पैदा हुन्छ । मनुष्य यति जिज्ञासु किन छ भन्ने कुराको व्याख्या मनोवैज्ञानिकले गर्न सक्छन् । जीववैज्ञानिक यसको थप विस्तारमा जान सक्छन् । कतिपय धार्मिक विचारकले हामीलाई जिज्ञासामा लगाम कस्ने उपदेश दिन सक्छन् । तर यही त्यो चीज हो, जसले उद्यमका लागि प्रेरित गर्छ र जसलाई विज्ञान भनिन्छ ।

गतिशील दृष्टिकोण
कुनै पनि विज्ञानको मूल्यांकन गर्न सबैभन्दा आवश्यक ती पद्धति हुन्छन्, जसबाट कुनै निष्कर्षमा पुगिन्छ । हामीलाई सूर्य पृथ्वीबाट १५ करोड किलोमिटर टाढा छ भनियो भने हामी विज्ञानको कल्पना गर्न थाल्छौं । उता, सम्राट अशोक आजभन्दा दुई हजार वर्ष अघि राजगद्दीमा बसेका थिए र उनले भिक्षुहरूलाई धर्म प्रचार गर्न पठाएका थिए भनियो भने हामीलाई इतिहासको आभास हुन्छ । दुवै कुरामा कुनै विशेष अन्तर छैन, किन भने दुवैमा सूचना छन् र दुवै स्वयंमा विज्ञान होइनन् । आखिर, यो कुरा कसरी पत्ता लगाउन सकियो कि पृथ्वीबाट सूर्यको दूरी कति छ, अथवा अशोक नामको सम्राट उसवेला भएको थियो र उसले के–के गरेको थियो । आखिर कुन आधारमा हामी दाबी गर्न सक्छौं यी कुरा सही हुन् भनेर ? यी प्रश्नको उत्तर नै विज्ञान हो ।

ती सारा पद्धतिहरू, जसबाट हामी पृथ्वीको उमेर तय गर्छौं; सन्तहरूका अत्यधिक प्रचारित चमत्कारहरूको ऐतिहासिकता, आकाशीय स्पन्दन सुन्ने कविको विश्वसनीयता अथवा ईश्वरबाट कुनै देवदूतलाई सन्देश प्राप्त भएको दाबीको विश्लेषण गर्छौं, ती सबै विज्ञानका उदाहरण हुन्— भलै आजको विज्ञानको मापदण्डमा खरा नदेखिउन् । मानिस आफू वरिपरिको दुनियाँसँग अलग–अलग तरीकाले अलग–अलग स्तरमा संवाद स्थापित गर्छ; भावना र मस्तिष्कका साथ । व्यक्ति चाहे कवि होस् वा दार्शनिक, तर्कशील होस् वा कुनै धर्मावलम्बी वा रहस्यवादी, दुनियाँका अनुभव प्रति प्रतिक्रिया जनाउँछ नै । हामीमध्ये प्रत्येक व्यक्तिमा अलिअलि सबैथोक छ । हामी अलग–अलग मौकामा वैज्ञानिक र दार्शनिक, कवि र रहस्यवादी, प्रेमी र आलोचक हुन सक्छौं । यीमध्ये केही काम व्यक्तिगत तवरमा गर्छौं त केही सामूहिक तवरमा ।

यसैगरी विज्ञान पनि एक विशेष प्रकारको माध्यम हो, जसमा हामी संसारका अनुभवहरूप्रति प्रतिक्रिया व्यक्त गर्छौं । विज्ञान दुनियाँका परिदृश्यहरूको, विशेष गरी बुद्धि मार्फत, आकलन गर्ने सामूहिक प्रयास हो । अन्य शब्दमा भन्दा, दुनियाँलाई कारण, सम्बन्ध र सन्दर्भहरूको आलोकमा हेर्नुको नाम नै विज्ञान हो । यसैले विज्ञानको अस्तित्व त्यसैवेलादेखि सबै संस्कृति र समाजहरूमा रहेको छ, जुन वेलादेखि उनीहरूले दुनियाँका अनुभवहरूलाई बुझने र तिनको व्याख्या गर्ने प्रयास प्रारम्भ गरेका थिए ।

दुनियाँको जटिलतालाई बुझने मानवीय प्रयास प्रत्येक देश–कालमा एकसमान रहेन । इतिहास साक्षी छ, समयसँगै स्थानीय विज्ञानको पनि विकास भयो । त्यसैले प्राचीन कालको विज्ञान स्थानीय संस्कृति र परम्पराहरूबाट प्रभावित रह्यो । तर १६औं र १७औं शताब्दीमा जुन विज्ञानको उदय भयो, त्यो एकदमै नयाँ पद्धतिमा आधारित थियो । यद्यपि, यस विज्ञानका पनि जरा प्राचीन विज्ञानको जमीनबाटै निस्केका हुन्, तर पनि यो आफ्नो संरचना, दृष्टिकोण र नतीजाहरूमा पुरातन विज्ञान भन्दा अलग थियो । आधुनिक विज्ञानलाई आज पनि गल्तीले ‘पश्चिमी विज्ञान’ भनिन्छ जबकि सत्य के हो भने, यो केवल आफ्नो विकासको भौगोलिक पृष्ठभूमिका रूपमा पश्चिमी हो, आन्तरिक रूपमा पश्चिमी होइन ।

विज्ञानसम्मत
विभिन्न परिभाषाका बावजूद ‘विज्ञान’ शब्दको कैयौं सन्दर्भमा दुरुपयोग पनि गरिएको छ । उत्पादनको विज्ञापनमा मात्र होइन, आपसी संवादमा आफ्नो कुरालाई तर्कसंगत ठह¥याउन पनि यसको ढुक्कैसँग प्रयोग हुँदै आएको छ । ज्योतिष सम्बन्धी भविष्यवाणीहरूमा पनि वैज्ञानिक शब्दको दुरुपयोग गरिन्छ । वरुण (नेपच्युन) अथवा अरुण (युरेनस) जस्ता ग्रहको स्थितिका आधारमा भविष्यवाणी गर्ने दाबी गरिन्छ, जबकि प्राचीन ज्योतिषशास्त्रका प्रवर्तकहरूलाई यी ग्रहका बारेमा अत्तोपत्तो नै थिएन । सामान्यतः मानिसलाई के लाग्छ भने, यदि कुनै सिद्धान्तलाई ‘वैज्ञानिक’ भनेर वर्णन गरियो भने त्यसको विश्वसनीयता थप बढ्नेछ । आधुनिक युगमा जसरी कसैले आफूलाई नस्लवादी अथवा नारीविरोधी भन्ने हिम्मत गर्न सक्तैन, त्यसैगरी आफूलाई ‘अवैज्ञानिक’ पनि भन्न सक्तैन ।

कसरी कुनै धार्मिक पुस्तकमा कुनै वैज्ञानिक सिद्धान्त पाइन्छ र कसरी कुनै धर्मविशेषको कुनै मत आधुनिक विज्ञानको ढाँचामा सटीक सिद्ध हुन्छ जस्ता कुरा अनेकौंपल्ट लेखिसकिएका छन् । यसैगरी अलग–अलग लेखकहरू आआफ्नो आस्थाका अनुसार तपाईंलाई के बताइरहेका भेटिन्छन् भने, क्वान्टम भौतिकी र ब्रह्माण्ड–विज्ञानका कैयौं प्रमुख सिद्धान्त मात्र होइन ऊष्मा–गतिकी जस्ता नियम पनि बाइबल, उपनिषद अथवा कुरानमा युगौं युगदेखि विद्यमान रहिआएका छन् । यद्यपि, उनीहरू के बुझउन चाहिं सदैव विफल हुन्छन् भने, यतिका वर्ष वा शताब्दीसम्म यी सिद्धान्त किन उजागर हुन सकेनन् र १६औं शताब्दीपछि मात्रै अचानक यिनको सम्झ्ना कसरी आउन पुग्यो ? उनीहरू के पनि बताउन सक्तैनन् भने, आखिर यी सिद्धान्त तिनले कसरी खोजे, जसको ती धार्मिक पुस्तकहरूसँग कुनै लिनुदिनु थिएन— जसमा कथित तवरमा ती सिद्धान्त लुकेर बसेका थिए । यस्तो अवस्थामा, आधुनिक विज्ञानका कैयौं सिद्धान्तका आधार प्राचीन पुस्तकहरू नै हुन् भन्ने दावी हास्यास्पद नै लाग्छ । वास्तवमा, यो आधुनिक विज्ञानका सन्दर्भमा पश्चावलोकनको परिणाम हो ।

वर्णनात्मक परिभाषा
एकजना आधुनिक विज्ञान–दार्शनिकले विज्ञानलाई परिभाषित गर्दै लेखेका छन्— वैज्ञानिकले जे–जे काम गर्छन् त्यही विज्ञान हो । यो ख्यालठट्टामा भनिएको कुरा होइन । यो परिभाषाले ती गतिविधितर्फ इशारा गर्छ, जसमा वैज्ञानिक संलग्न रहन्छन् । जस्तै, वैज्ञानिकहरू तथ्य भेला गर्छन्, तिनको परीक्षण गर्छन्, तिनका नतीजाको विश्लेषण गर्छन्, गणितको प्रयोग गर्छन्, आफ्नो विचार अन्य साथी वैज्ञानिकहरूको टिप्पणी र समालोचनाका लागि प्रस्तुत गर्छन्, शोधपत्र लेख्छन्, त्यसलाई सम्मेलनमा पेश गर्छन् । यस्ता अरू पनि काम वैज्ञानिकहरू गर्छन् । विज्ञानका कटु आलोचक तिनै मानिस हुन्छन् जसले कहिल्यै व्यावहारिक रूपले विज्ञान सम्बन्धी गतिविधिमा भाग लिएका हुँदैनन् । उनीहरूले विज्ञान ‘जानेको’ भए पनि त्यो केवल कुनै वेला कुनै पाठ्यक्रममा, कुनै पत्रमा पढेको विज्ञान हुन्छ; तिनले कुनै प्रयोग गरेका हुँदैनन्, कुनै गणना गरेका हुँदैनन्, कुनै शोधपत्र लेखेका हुँदैनन् । यो अनुभव विना, वैज्ञानिकले आफ्नो लक्ष्य प्राप्त गर्न के–के गर्छन् भन्ने जान्न कसैका लागि पनि ज्यादै मुश्किल हुन्छ । यस परिप्रेक्ष्यमा विज्ञानको विवरणात्मक परिभाषा यसरी दिन सकिन्छः

‘परिकल्पनाहरूको ऐनामा आभासित यथार्थको दुनियाँका सबै पक्षहरूलाई बुझन मानव मस्तिष्कद्वारा गरिएको सामूहिक बौद्धिक प्रयास नै विज्ञान हो । यसका निम्ति सम्भव भएसम्म गणितीय विश्लेषण र उपकरणहरूको सहयोग लिइन्छ ।’

यस परिभाषामा केही यस्ता महत्वपूर्ण गुणधर्महरूको उल्लेख भएको छ, जसलाई विज्ञान भनिन्छ । यो कुरा राम्ररी बुझन हामीले ती शब्दहरूमा ध्यान दिनुपर्छ, जसको यसमा प्रयोग गरिएको छः

सामूहिकः विज्ञानको त्यस्तो एउटै शाखा छैन, जसमा केवल व्यक्तिगत स्तरमा कार्य गरिन्छ । विज्ञानको काममा अलग–अलग तरीकाले कैयौं मानिसलाई शामेल गर्नैपर्छ । विज्ञान र कला (मानविकी) का बीच यो ज्यादै महत्वपूर्ण अन्तर छ । कलामा लेखन, चित्रकारिता अथवा संगीत जस्तो कुनै पनि सृजन व्यक्तिगत प्रयासको परिणाम हुन्छ । कुनै कलाकार अर्को कुनै कलाकारबाट प्रभावित हुन सक्छ, तर उसले जे सृजना गर्छ त्यो उसको व्यक्तिगत हुन्छ । जस्तै, कालिदासको नाटक कालिदासकै कहलिन्छ, त्यसका लागि उनैलाई श्रेय दिइन्छ । तर विज्ञानमा यस्तो हुन सक्तैन । यदि कुनै वैज्ञानिकले उसका क्षेत्रमा पूर्ववर्ती वैज्ञानिकहरूद्वारा गरिएका शोधकार्यको उपेक्षा गर्छ अथवा त्यसबारे उसलाई थाहा छैन भने उसबाट कुनै महŒवपूर्ण परिणामको आशा गर्न सकिंदैन । आफूलाई अरूभन्दा पृथक्, अरूसँग असम्पृक्त ठान्ने वैज्ञानिकले कहिल्यै कुनै ठूलो शोध गर्न सक्तैन । त्यसैले विज्ञानमा भनिएको उचित नै होः हरेक वैज्ञानिकले अलिक बढी अगाडिका कुरा देख्न र अलिकति सार्थक परिणाम हासिल गर्न अर्काको काँधमा चढ्नैपर्छ ।

वास्तवमा, प्राचीन र आधुनिक विज्ञानका बीच पनि यो ठूलो अन्तर रहिआएको छ । प्राचीन कालका विचारहरूले दुनियाँको कुनै पनि घटनाका सन्दर्भमा जेजति सिद्धान्त प्रस्तुत गरे, ती उनीहरूका नितान्त व्यक्तिगत दृष्टिकोणमा आधारित थिए । प्लेटो, अरस्तू, ब्रह्मगुप्त, अल्हाजेन आदि विचारकका सिद्धान्त यस्तै थिए । आधुनिक विज्ञानमा भलै व्यक्तिगत बौद्धिक क्षमताका आधारमा कतिपय आकलन गरिंदा होलान्, तर तिनले तबसम्म कुनै वैज्ञानिक भाउ पाउँदैनन्, जबसम्म त्यसै क्षेत्रका अन्य वैज्ञानिकका कार्यको सन्दर्भमा तिनलाई प्रस्तुत गरिंदैन ।

विज्ञान त्यो भवन जस्तो हो, जसमा हरेक जानकार व्यक्तिले तलैपिच्छे आफ्नो योगदान दिंदै जान्छ । धर्म अथवा पन्थ÷सम्प्रदायको स्थापना व्यक्तिगत स्तरमा हुन्छ र त्यसपछि संस्थापकका चेलाहरूले त्यसको पालन गर्दै जान्छन् । त्यसका प्रवर्तकहरूले जे भनेका हुन्छन्, त्यो ‘ब्रह्मवाक्य’ हुन पुग्छ । चेलाहरूले त्यसैको समर्थन र प्रचार–प्रसार गर्छन् अनि गुरुका कार्य र विवेकको प्रशंसा बढाई–चढाई गरिरहन्छन् । तर विज्ञानमा यस्तो हुँदैन । यदि कुनै वैज्ञानिकले कुनै सिद्धान्त प्रस्तुत ग¥यो भने अन्य वैज्ञानिकहरू त्यसभन्दा अगाडिको खोजमा जुट्छन् । आवश्यकता अनुसार त्यसमा संशोधन गर्छन् अथवा त्यसलाई खारेजै पनि गरिदिन्छन् । विज्ञान नै यस्तो क्षेत्र हो, जसमा कुनै पनि छात्रले आफ्नो शिक्षकको मान्य सिद्धान्तलाई अमान्य बनाइदिन सक्छ ।


आफूलाई अरूभन्दा पृथक्, अरूसँग असम्पृत्ताm ठान्ने वैज्ञानिकले कहिल्यै कुनै ठूलो शोध गर्न सक्तैन । त्यसैले विज्ञानमा भनिएको उचित नै होः हरेक वैज्ञानिकले अलिक बढी अगाडिका कुरा देख्न र अलिकति सार्थक परिणाम हासिल गर्न अर्काको काँधमा चढ्नैपर्छ।

बौद्धिकताः यहाँ यस शब्दको प्रयोग केही निश्चित, महत्वपूर्ण मानसिक क्षमताहरूका सन्दर्भमा गरिएको छ । मानव मस्तिष्क कैयौं कुरा गर्न सक्षम हुन्छ । तिनमा निम्न कुराहरू समाविष्ट हुन्छन्ः
क. तर्क–वितर्क गर्ने क्षमता । यसमा तर्कका आधारभूत नियमहरूका साथ व्यक्तिको सोच शामेल हुन्छ ।
ख. कल्पना शक्ति । यसमा व्यक्तिले आफ्ना अनुभवहरूको व्याख्या गर्न कुनै निराकार अवधारणाको विकास गर्छ ।
ग. विश्लेषण । यसमा व्यक्तिले प्रस्तुत गरिएको परिकल्पनाको महत्वको छानबीन गर्छ ।
घ. समालोचना । विचारमा लुकेका तार्किक त्रुटिहरू पत्ता लगाउने काम ।
ङ. सन्दर्भ व्यवस्थाको गठन । आफ्नो ज्ञानलाई सही सन्दर्भहरूमा व्यवस्थित गर्नु ।
यी सबै कुराले विज्ञानका कार्यमा अहम् भूमिका खेल्छन् । यहाँ ध्यान दिनुपर्ने एउटा कुरो के छ भने, बौद्धिक संवादको तुलनामा चारैतिर घटित भइरहेका मानवीय अनुभव बढी महत्वका हुन्छन् । जीवनका लागि आध्यात्मिक, सौन्दर्यमूलक र भावनात्मक आयामहरूको महत्ता कम छैन । यी सबै तत्व विज्ञानमा पनि हुन्छन् भने धर्म, कला र साहित्यमा पनि बौद्धिक तत्वहरूको कमी हुँदैन । तर हरेक क्षेत्रमा यस्तो एउटा तत्व जरूर हुन्छ, जो अरूभन्दा भारी वा विशेष–प्रभावी हुन्छ । विज्ञानमा बौद्धिकता सदैव अन्य तत्वहरूभन्दा अगाडि हुन्छ ।

मानव सोचः सोच्नु मानिसको दिमागका कैयौं कार्यमध्ये एक हो । विज्ञान मानव मस्तिष्कद्वारा महसूस गरिएका अनुभवको अभिव्यक्ति हो । विज्ञानले विशेष गरी यी अनुभवहरूलाई बुझने र तिनको व्याख्या गर्ने प्रयास गर्छ । यसबाट विज्ञान मानव उद्यमका रूपमा अगाडि आउँछ, तर यहींनेर केही दार्शनिक प्रश्न पनि खडा हुन्छन् । यदि मानव मस्तिष्कले विज्ञानमा अहम् भूमिका खेल्छ भने, वैज्ञानिक ज्ञानलाई कति हदसम्म पूर्णरूपले वस्तुनिष्ठ मान्न सकिन्छ ? यही प्रश्न यसरी पनि सोध्न सकिन्छ— बाहिरी दुनियाँ बारेको ज्ञान मानव मस्तिष्कबाट कसरी स्वतन्त्र हुन्छ ? यदि बाहिरी दुनियाँ जस्तो कुनै वस्तु छ भने विज्ञान मानव मस्तिष्कमा त्यस दुनियाँको प्रतिबिम्ब मात्र होइन र ?

सबै पक्षः विज्ञानको उद्देश्य प्रत्येक मानवीय अनुभवहरूलाई बुझनु हो भनेर भर्खरै उल्लेख गरियो । दार्शनिकहरू प्रायः प्रश्न उठाइरहन्छन्— आखिर विज्ञान आफ्नो यस लक्ष्यप्राप्तिमा कति सफल हुने गर्छ ? यस दुनियाँमा जटिलताहरूको भरमार छ । जस्तो कि, तमिल कवि अयूवैयार भन्छन्, ‘हामीले जे सिकेका छौं त्यो एक मुठी हो, हामीले जे सिक्नु छ त्यो अपार छ ।’ हामी जति बढी जान्दै जान्छौं, यो दुनियाँ उति नै रहस्यमय बन्दै जान्छ ।

के विज्ञानले त्यस तन्त्रको पूर्णरूपेण समाधान पेश गर्न सक्छ, जसका माध्यमबाट विचार, मूल्य, खुशी, दुःख, हास्य इत्यादि पैदा हुन्छन् ? विज्ञान आफ्नो लक्ष्यसम्म पूर्णरूपेण शायदै कहिल्यै पुग्न सक्ला । विज्ञान कुनै वेला दुनियाँका सम्पूर्ण आयामहरूको व्याख्या गर्न सफल हुन सक्नेछ भन्ने कुरामा कैयौं वैज्ञानिकलाई नै पनि सन्देह छ । तथापि, अधिकांशले के मान्छन् भने, विज्ञानले हरेक आयाममाथि ध्यान दिन त अवश्यै सक्छ ।

आभासित यथार्थको दुनियाँः हामी दुनियाँलाई आफ्ना संवेदनाहरूद्वारा नै जान्दछौं । यस्ता कैयौं तत्व छन्, जसलाई हामी प्रत्यक्ष चिन्न सक्तैनौं । जस्तै, कैयौं किसिमका ग्याँस, सूक्ष्म जीव, सूक्ष्म तरंग इत्यादि । हामी विभिन्न प्रकारका उपकरण आदिको माध्यमबाट त्यस्ता ग्याँस, सूक्ष्म जीव अथवा सूक्ष्म तरंगहरूको अस्तित्व छ भनेर केवल अनुमान लगाउँछौं । अब, यसैगरी ईश्वर, देवता, गन्धर्व, अप्सराहरूको पनि अस्तित्व छ तर तिनलाई हामीले देख्न सक्तैनौं भनेर कसैले कल्पना गर्छ भने, त्यसमा विज्ञानले केही गर्न सक्तैन । विज्ञानले केवल तिनै आयामहरूको कुरा गर्छ, जसको प्रत्यक्ष वा परोक्ष रूपले मानव संवेदना तन्त्रद्वारा अनुभव गर्न सकिन्छ । यसैकारण, भूत हुन्छन् कि हुँदैनन् भन्ने कुरामा विज्ञानको कुनै रुचि छैन, किन भने यिनको अनुभव सामान्य ढंगले गर्न सकिंदैन ।
परिकल्पनाहरूः विज्ञान सावधानीपूर्वक तयार गरिएका परिकल्पनाहरू र स्पष्ट रूपले परिभाषित शब्दावलीमा विश्वास गर्छ । विज्ञानको सफलता र प्रगतिका लागि परिकल्पना आवश्यक छन् ।

परिकल्पना ती छवि हुन्, जसको सृजन मस्तिष्कले गर्छ । कतिपय परिकल्पनाहरूलाई चित्रित अथवा व्याख्यायित गर्न सकिन्छ भने कतिपयलाई सकिंदैन । उदाहरणका लागि, गति, बल र ऊर्जा सम्मलाई पनि व्याख्यायित गर्न सकिन्छ । तर हेमिल्टोनियन, आइसोटोपिक स्पिन अथवा वेव फंक्शनको सजीव कल्पना गर्न सकिंदैन, यद्यपि भौतिकशास्त्रमा यिनको विशेष भूमिका छ । अरू त अरू, यिनको आभास पनि गर्न सकिंदैन, तथापि यिनलाई कुनै आभासित वास्तविकताको कुनै आयामसँग सम्बन्धित अवश्य गर्न सकिन्छ ।

गणितीय विश्लेषणः विज्ञानको सफलताका लागि आकलित तथ्यहरूलाई संख्याका रूपमा प्रस्तुत गर्न सबैभन्दा बढी जरूरी हुन्छ । यसैलाई गणितीय विश्लेषण भनिन्छ ।

वास्तवमा, यदि कुनै कुरालाई मात्रात्मक रूपमा प्रस्तुत गरियो भने, त्यसबाट हामी एउटा स्पष्ट नतीजामा पुग्यौं भन्ने मानिन्छ । यसप्रकार, प्रकृतिका नियमलाई पनि गणितीय भाषामै प्रस्तुत गर्नु अनिवार्य हुन पुग्छ । अन्तरिक्षका कक्षहरूमा घुमिरहेका विभिन्न आकारका पिण्डहरू र परमाणु भौतिकीको ज्ञान गणित विना हासिल गर्न असम्भव थियो । यसो भन्दा पटक्कै अतिशयोक्ति हुँदैनः गणित नभएको भए आधुनिक विज्ञानको जन्म पनि हुने थिएन ।

उपकरणः विभिन्न प्रकारका उपकरण र डिभाइस मानिसको ज्ञानलाई नयाँ–नयाँ आयाम दिन सहयोगी साबित भएका छन् । यस्ता अनगिन्ती उपकरण छन्, जसले विज्ञानको सेवा गर्छन् ।

कुनै कुरालाई भौतिक रूपमा ग्रहण गर्ने मानवीय क्षमताहरू सीमित छन् । जस्तै, अत्यन्तै क्षीण प्रकाशलाई हामी देख्न सक्तैनौं, अत्यन्तै न्यून आवाजलाई सुन्न सक्तैनौं । यस्तो प्रकाशलाई देख्न र यस्तो आवाजलाई सुन्न हामी एम्प्लिफाइङ उपकरणहरूको प्रयोग गर्छौं । यस्ता उपकरणहरूले मानिसका सीमालाई विस्तारित गर्छन् ।

रचेस्टर इन्स्टिच्यूट अफ टेक्नोलोजी (न्यूयोर्क, अमेरिका) मा भौतिकी र मानविकीका निवृत्त प्रोफेसर वरदराज वेंकट रमणका विज्ञान र धर्म सम्बन्धी थुप्रै पुस्तक प्रकाशित छन् । उनी खासगरी हिन्दू धर्म आधुनिक विज्ञानसँग कसरी जोडिन्छ भन्ने विषयका विशेषज्ञ मानिन्छन् ।
साभारः सन्दर्भ, अंक ११९ (२०१९)

भाषान्तरः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial