शिक्षकको तलब र सम्मान कुन देशमा कति ?

शिक्षण पेशालाई सामाजिक सम्मान दिनेमा चीन र शिक्षकलाई राम्रो पारिश्रमिक दिनेमा स्विट्जरल्यान्ड संसारकै अग्रणी देश ठहरिएका छन् ।

विद्यालय तहका शिक्षकको लागि पेशागत दृष्टिले सबैभन्दा आकर्षक देश कुन होला ? शिक्षकको पेशागत दक्षता अभिवृद्धि र त्यस सम्बन्धी अध्ययन–अनुसन्धानमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय संस्था वार्की फाउन्डेसन (Varkey Foundation) ले सार्वजनिक गरेको विश्वव्यापी सर्वेक्षणको सूचकांकले यसको जवाफ दिएको छ । सामान्यतया कुनै पनि पेशामा आकर्षण थप्ने प्रमुख दुई विशेषता हुन्– उच्च सम्मान र यथेष्ट तलब । यी दुवै कुरामा अब्बल बन्ने सौभाग्य एकै देशका शिक्षकले भने पाएका छैनन् । अर्थात् पेशागत सम्मानमा एउटा र पारिश्रमिकमा अर्को देशका शिक्षकले उच्चता हासिल गरेका छन् ।

उक्त सर्वेक्षणको नतिजाले चीनमा शिक्षण पेशाले समाजबाट संसारमै सर्वाधिक सम्मान पाइरहेको देखाएको छ । त्यसकै हाराहारीमा शिक्षकको पेशाप्रति सम्मान गर्ने अर्को राष्ट्र मलेशिया हो । यी दुवै देशका नागरिकले शिक्षक र डाक्टरलाई एउटै कोटिमा राखेर आदर गर्ने गरेको देखिएको छ । शिक्षणप्रति उच्चतम सम्मान गर्ने दुवै देश एशिया महादेशमै हुनु नेपाली शिक्षकहरूका लागि गर्व गर्न लायकको खबर हुन सक्ला । तर नेपाल स्वयं भने सर्वेक्षणमा परेको थिएन । समाजबाट प्राप्त मान–सम्मानको त्यस किसिमको सूचकांकमा नसमेटिए पनि यति चाहिं अवश्य भन्न सकिन्छ— नेपालमा शिक्षण पेशाले उपल्लो तहको सामाजिक सम्मान पाउन चढ्नुपर्ने सिंढी अझै बाँकी छ ।

सर्वेक्षणमा समेटिएका ३५ राष्ट्रमध्ये सम्मान सूचकांकमा सबैभन्दा माथि रहेको चीनले १०० पूर्णाङ्कमा १०० नै अङ्क ल्याएको छ । शिक्षण पेशाप्रति उच्च सम्मान गर्ने प्रमुख पाँच देशमा चीनपछि क्रमशः मलेशिया, ताइवान, रसिया र इण्डोनेशिया छन् । यीमध्ये मलेशियाले ९३.३, ताइवानले ७०.२, रसियाले ६५ र इण्डोनेशियाले ६२.१ अङ्क प्राप्त गरेका छन् । शिक्षण पेशालाई सबैभन्दा बढी हेयभावले हेरिने देशमा ब्राजिल परेको छ, जसले यो सूचकांकको १०० मा केवल १ अङ्क पायो । अन्तिम पाँचमा परेकामध्ये बाँकी चार देशमा तलबाट क्रमशः इजरायल (६.६), इटली (१३.६), घाना (१८.९) र अर्जेन्टिना (२३.६) रहेका छन् । सम्मान सूचकांकमा छिमेकी देश भारत ५८ अङ्कका साथ आठौं स्थानमा छ भने बेलायत ४६.६ अङ्कका साथ १३औं र अमेरिका ३९.७ अङ्कका साथ १६औं भएको छ ।

प्रत्येक देशका अधिकांश उत्तरदाता समाजमा विभिन्न पेशा–व्यवसाय गरिरहेका सामान्य नागरिक थिए भने थोरै संख्यामा शिक्षक पनि समेटिएका थिए । उनीहरूलाई सोधिएको प्रश्नावलीमा डाक्टर, वकिल, इन्जिनियर, नर्स, प्रहरी अधिकृत, व्यवस्थापन प्रमुख, लाइब्रेरियन, लेखापाल लगायतका विभिन्न १४ वटा पेशामध्ये शिक्षणको स्थान कहाँ पर्छ भनी मूल्यांकन गर्न पनि दिइएको थियो । सबै देशहरूबाट आएको नतिजा अनुसार शिक्षणले औसतमा सातौं स्थान पाएको छ । अर्थ र चेतनामा अग्रणी मानिएका अमेरिकीहरूले शिक्षक (खासगरी मावि तहका) लाई सम्मानका हिसाबले १४ पेशाकर्मीमध्ये १२औं स्थानमा राखेका छन् । यसले अमेरिकी समाजमा शिक्षण पेशाको मूल्य खस्किंदै गएको देखाउँछ । धेरैजसो देशहरूमा शिक्षक र सामाजिक कार्यकर्तालाई समानस्तरमा राखेको पाइयो ।
भारत, घाना र मलेशियामा आधाभन्दा बढी अभिभावकले आफ्ना छोराछोरीलाई शिक्षक बनाउने चाहना व्यक्त गरेका थिए । यस मामिलामा इजरायल र रसिया त्यस्ता देश ठहरिए जहाँ आफ्ना सन्ततिले शिक्षण पेशा गरेको रुचाउने अभिभावकको संख्या ८ प्रतिशत भन्दा कम छ । शिक्षकलाई कम तलब दिइएको ठान्ने अमेरिकीहरूमा चाहिं भावी पुस्ता यही पेशामा आऊन् भन्ने चाहना राख्नेहरूको संख्या ४२ प्रतिशत देखियो ।

शिक्षण पेशाले समाजबाट पाएको सम्मानलाई जनमतका आधारमा अङ्क दिएर गरिएको तुलना वस्तुगत नलाग्न पनि सक्ला । तर शिक्षकलाई आ–आफ्ना राष्ट्रले दिने गरेको पारिश्रमिकको हिसाब–किताब भने सजिलैसँग निकाल्न सकिने भयो । वार्की फाउन्डेसन  को सर्वेक्षणबाट त्यस्तो तुलनात्मक नतिजा पनि आएको छ, जसअनुसार स्विट्जरल्याण्डका शिक्षकको पारिश्रमिक संसारमै सबैभन्दा उच्च छ । त्यहाँ शिक्षकले औसतमा वार्षिक ७७,४९१ अमेरिकी डलर पाउँछन् । अत्यन्त न्यून पारिश्रमिकमा चित्त बुझाउन बाध्य शिक्षकहरू युगान्डाका हुन् । उनीहरूको वार्षिक कमाइ औसत ४,२०५ डलरमा सीमित छ ।

शिक्षकको स्थिति कस्तो होला भनी निक्र्योल गर्दा सबैभन्दा पहिले तलबको परिमाणबारे नै सोचिन्छ । यद्यपि कुनै खास देशमा शिक्षकले पाउने तलब त्यहाँका अरू पेशाकर्मीको तलबसँग तुलना गरेपछि मात्र कम वा बेसी भनेर विश्लेषण गर्न सकिन्छ । किनभने त्यस्तो तुलनाले मात्र कोही व्यक्ति अन्य पेशा छाडेर शिक्षक बन्न चाहने अवस्था छ वा अन्यत्र पाएसम्म शिक्षण पेशा समेत छाडेर जाने अवस्था छ त्यो हेर्ने आधार बन्छ । समान योग्यताका अन्य पेशाकर्मीले भन्दा बढी पारिश्रमिक लिएर पढाइरहेका राम्रा शिक्षकले पक्कै पनि अन्तको जागिरमा ज्यादा आकर्षण देखेर आफ्नो पेशा त्याग्दैनन् ।


शिक्षण पेशालाई उच्च सम्मान दिने चीनका शिक्षकले पाउने औसत पारिश्रमिक वर्षको १२,२१० डलर मात्र छ। जबकि सामाजिक सम्मानका हिसाबले चौधौं नम्बरमा पर्ने स्विट्जरल्याण्डका शिक्षकले सर्वाधिक तलब पाउँछन्।

अध्ययनले समाजबाट शिक्षण पेशाप्रति गरिने सम्मान र शिक्षकलाई राज्यले दिने पारिश्रमिक फरक विषय हुन् भन्ने पनि देखाएको छ । उदाहरणको लागि शिक्षण पेशालाई विश्वकै सबैभन्दा उच्च सम्मान दिने देश चीनका शिक्षकले पाउने पारिश्रमिक औसतमा वर्षको १२,२१० डलर मात्र छ । पारिश्रमिकका हिसाबले ३५ देशमध्ये उसको स्थान ३०औं नम्बरमा पुगेको छ । यस्तै शिक्षण पेशाको सम्मान सूचकांकमा दोस्रो र तेस्रो स्थानमा रहेका मलेशिया र ताइवानका शिक्षकहरूको वार्षिक पारिश्रमिक क्रमशः १८,१२० र ४०,८२१ डलर छ । पारिश्रमिकका आधारमा ताइवान आठौं र मलेशिया २४औं स्थानमा झ्रेका छन् । सम्मान जित्नमा चौथो भएको रसिया त अझ् शिक्षकको तलबमा अन्तिमबाट दोस्रो अर्थात् ३४औं नम्बरमा धकेलिएको छ, जहाँका शिक्षकले वर्षमा औसत ५,९२३ डलर मात्र पाउँछन् । जबकि शिक्षण पेशालाई दिने सामाजिक सम्मानमा चौधौं नम्बरमा परेको स्विट्जरल्याण्डले आफ्ना शिक्षकलाई विश्वमै एक नम्बरको तलब खुवाइरहेको छ । यसैगरी सामाजिक सम्मानमा १०औं भएको सिङ्गापुरले शिक्षकलाई दिएको तलब रकम ५०,२४९ डलर छ भने सम्मानको स्तर २१औं नम्बरमा पुगेको जर्मनीले शिक्षकलाई वार्षिक औसत ६५,२९६ डलर दिएर पारिश्रमिकतर्फ दोस्रो स्थान सुरक्षित गरेको छ । सर्वेक्षण गर्दा विद्यालय तहका सबै श्रेणीका शिक्षकले सेवा प्रवेश गर्दा पाउने पारिश्रमिकलाई आधार मानेर त्यसको औसत निकालिएको अध्येता संस्थाले जनाएको छ ।

सर्वेक्षणमा ३५ वटै देशमा एक/एक हजार उत्तरदाता समावेश थिए । उनीहरूलाई आफ्नो देशका विद्यालयहरूमा कार्यरत विभिन्न तहका शिक्षकले पाइरहेको आधारभूत पारिश्रमिक अनुमान गर्न लगाई त्यस्तो रकम साह्रै कम, ठीकठीकै वा अति धेरैमध्ये के लाग्छ भनी तीन विकल्पमा एउटा रोज्न अनुरोध गरिएको थियो । सँगसँगै शिक्षकलाई तलब वापत वर्षमा कति दिइनु उचित हुन्छ भनी उनीहरूको विवेकले देखे अनुसार खुला जवाफ दिन मिल्ने प्रश्न पनि सोधिएको थियो । ती दुई थरी प्रश्नका जवाफलाई शिक्षकहरूको वास्तविक तलब रकमसँग तुलना गरेर नतिजा सार्वजनिक गरियो ।

आश्चर्यलाग्दो नतिजा के आयो भने ३५ मध्ये ८० प्रतिशत अर्थात् २८ देशका शिक्षकले पाइरहेको पारिश्रमिक ती देशका सर्वसाधारण नागरिकले उचित ठह¥याएको अङ्कभन्दा कम रहेको देखियो । यद्यपि बाँकी सात देशका शिक्षकले त्यहाँका आम नागरिकले उपयुक्त ठाने भन्दा बढी तलब खाइरहेका रहेछन् भन्ने पनि अध्ययनले देखायो । ती भाग्यमानी शिक्षकहरू फिनल्यान्ड, इटली, पोर्चुगल, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन र सिङ्गापुरका हुन् । पारिश्रमिकतर्फ पाँचौं स्थानमा रहेका अमेरिकी शिक्षकले औसतमा वार्षिक ४४,२२९ डलर (प्रचलित विनिमय दर अनुसार रु ५० लाख ४२ हजार) तलब बुझछन् । तर सर्वेक्षणमा सहभागी अमेरिकी नागरिकहरूले आफ्नो देशका शिक्षकले कम्तीमा औसत ५१,५०० डलर (रु.५८ लाख ७१ हजार) पाउनुपर्ने अभिमत राखेका थिए । कुल उत्तरदातामध्ये आधा अमेरिकीहरूले शिक्षकलाई विद्यार्थीको उपलब्धि हेरेर पारिश्रमिक तोक्नुपर्ने सुझव दिएका थिए ।


सबैभन्दा बढी काममा खटिनेन्यूजिल्यान्ड र सिंगापुरका शिक्षकहरू सातामा ५२ घण्टा व्यस्त रहन्छन्। काममा सबैभन्दा कम समय दिएर आकर्षक पारिश्रमिक पाउने चाहिं मलेशियाली शिक्षक हुन्।

वार्की फाउन्डेसन  ले गरेको सर्वेक्षणबाट कुन देशका शिक्षकको कार्यसमय कति छ भन्ने जानकारी पनि लिइएको थियो । त्यसअनुसार अमेरिकी शिक्षकहरू हप्तामा ५० घण्टा काम गर्छन् । तर सर्वेक्षणका सहभागीहरूले ४५ घण्टा मात्र काम गर्दा हुन् भनी अनुमान लगाएका थिए । सर्वेक्षणमा परेका देशहरूको तुलनामा अमेरिकी शिक्षकहरूको कार्यावधि सबैभन्दा बढी घण्टा काम गर्ने देशका शिक्षकको क्रमानुसार छैटौं नम्बरमा पर्छ । न्यूजिल्यान्ड र सिङ्गापुर त्यस्ता देशहरू हुन् जहाँका शिक्षक सबैभन्दा बढी काममा खटिन्छन् । उनीहरू सातामा ५२ घण्टा व्यस्त रहने गर्छन् । सबैभन्दा कम समय काममा दिएर आकर्षक पारिश्रमिक पाउने शिक्षकहरू बन्ने सौभाग्य मलेशियाली शिक्षकहरूलाई मिलेको देखिएको छ । उनीहरूको कार्यावधि सातामा ३० घण्टा भन्दा कम छ ।

सबै देशका उत्तरदातामध्ये अमेरिकीहरूले शिक्षण पेशालाई उच्च अध्ययन आवश्यक पर्ने मर्यादित पेशाको वर्गीकरणमा व्यवस्थापकीय परामर्शदाता तथा स्थानीय शासन व्यवस्थापकभन्दा तल र वेब डिजाइनर तथा सामाजिक कार्यकर्ता भन्दा माथिको श्रेणीमा राखेको पाइयो । सर्वेक्षणमा भाग लिएकामध्ये ४२ प्रतिशत अमेरिकीले आफ्ना सन्तानलाई पनि शिक्षण पेशामा लाग्न प्रोत्साहन गर्ने बताए । अभिभावकका लागि आकर्षक लाग्ने पेशाका रूपमा अमेरिकी शिक्षकले पाएको यस्तो सम्मान अन्य देशहरूको तुलनामा लोकप्रियताको पाँचौं नम्बरमा आउँछ ।

यहाँ प्रस्तुत दुई अलग–अलग रेखाचित्रले कुन देशमा शिक्षकको सम्मान कस्तो छ र कहाँका शिक्षकले कति पारिश्रमिक पाउँछन् भन्ने जानकारी समेटेका छन् । (हे. दुई चार्ट)

वार्की फाउन्डेसन  ले यस्तै सर्वेक्षण सन् २०१३ मा पनि गरेको थियो । त्यसवेला २१ वटा देश मात्र अध्ययनमा समेटिएका थिए । त्यतिवेला पनि समाजमा शिक्षण पेशाले पाएको सम्मान, अन्य पेशासँगको तुलना, शिक्षकले पाइरहेको पारिश्रमिक र आफ्ना सन्तानलाई शिक्षक बन्न प्रेरित गर्ने सम्बन्धमा अभिभावकहरूले व्यक्त गर्ने धारणाका आधारमा फाउन्डेसनले अध्ययनका निष्कर्षहरू निकालेको थियो । उक्त सर्वेक्षणबारे २०१३ अक्टोबर ३ तारिखको द गार्जियन अखबारमा छापिएको एक सामग्री अनुसार त्यसवेला शिक्षकले पाउने पारिश्रमिकमा युनियनसिप अर्थात् सांगठनिक शक्तिको प्रभाव कत्तिको पर्दछ भन्ने प्रश्नमा समेत जनमत लिइएको थियो । त्यसवेला पनि विश्वमै शिक्षण पेशालाई सबैभन्दा बढी सम्मान दिने राष्ट्रमा चीन परेको थियो । अधिकांश देशमा त्यस्तो उच्च सम्मान डाक्टर र सामाजिक अभियन्ताहरूले पाउने गरेको देखिएको थियो । अमेरिका, ब्राजिल, फ्रान्स र टर्कीमा भने शिक्षक र लाइब्रेरियनलाई समानस्तरमा राख्ने गरेको पाइएको थियो । ६ वर्षअघिको सर्वेक्षणमा समेटिएका २१ देशमध्ये इजरायलका शिक्षकहरूको पेशागत सम्मान सबैभन्दा पुछारमा देखिएको थियो । त्यसवेलाको सर्वेक्षणबाट प्राप्त भएका केही रोचक तथ्य यस्ता थिएः

१. चीन, दक्षिण कोरिया, टर्की र इजिप्टका अधिकांश नागरिकको पहिलो सपना आफ्ना छोराछोरी शिक्षक बनून् भन्ने थियो । त्यसको ठीक विपरीत इजरायल, पोर्चुगल, ब्राजिल र जापानका अभिभावकहरू सन्तानलाई शिक्षण पेशाबाट टाढै राख्न चाहन्थे । अमेरिका, बेलायत जस्ता बलिया देशका अभिभावक यी दुई थरीका बीचतिर पर्थे ।
२. त्यसवेला सबैभन्दा बढी तलब सिङ्गापुरका शिक्षकले (औसतमा वार्षिक ४५ हजार ७५५ अमेरिकी डलर) पाउँथे । त्यसपछिको तहमा दक्षिण कोरिया, अमेरिका, जर्मनी र जापानका शिक्षक पर्दथे जसको कमाइ वर्षमा ४० हजार डलरभन्दा बढी हुन्थ्यो ।
३. संसारकै सबैभन्दा उच्च हैसियत प्राप्त गर्ने प्रधानाध्यापक बेलायतका थिए । बेलायती शिक्षकको औसत पारिश्रमिक भने मध्यमस्तरको अर्थात् वार्षिक ३३ हजार ३७७ डलर थियो ।
४. सर्वेक्षण गरिएका २१ मध्ये १८ देशका नागरिकले शिक्षकको पारिश्रमिक बढाउनुपर्ने कुरामा समर्थन गरेका थिए । तर त्यतिवेला जापान, फ्रान्स र अमेरिकी जनताले चाहिं शिक्षकलाई राज्यले खुवाइरहेको तलब नै बढी भएको बताएका थिए ।
५. चीनका ७५ प्रतिशत उत्तरदातामा शिक्षकले विद्यार्थीहरूबाट सम्मान पाउँछन् भन्ने विश्वास रहेको पाइयो । जबकि, औसतमा प्रत्येक देशका २७ प्रतिशत अभिभावकमा मात्र त्यस्तो विश्वास देखिएको थियो । एशिया र मध्यपूर्वका देशहरूमा शिक्षकलाई विद्यार्थीले गर्ने सम्मान उच्च रहेको पाइयो भने शिक्षकको मान–सम्मानमा युरोपभरका विद्यार्थी सबैभन्दा बढी उदासीन देखिए ।
६. सबै देशका गरी ७५ प्रतिशत उत्तरदाताको मत शिक्षकलाई विद्यार्थीले हासिल गर्ने उपलब्धिका आधारमा पारिश्रमिक दिनुपर्ने पक्षमा देखिएको थियो ।
७. बेलायत लगायतका अधिकांश युरोपेली देशका नागरिकले आफ्नो देशभित्र शिक्षकको सम्मान बढाउन पेशागत युनियनको प्रभावकारी भूमिका हुनुपर्ने कुराको समर्थन गरेका थिए । शिक्षक संघर्ष चलिरहेका जापान, ग्रीस, फ्रान्स, अमेरिका जस्ता देशहरूका नागरिकले भने पेशागत युनियनको प्रभाव अति बढी भएको बताएका थिए ।
८. राष्ट्रिय शैक्षिक प्रणालीप्रति नागरिकको विश्वास जित्न सफल देशहरूमा फिनल्यान्ड, स्विट्जरल्यान्ड र सिङ्गापुर गनिएका थिए भने दक्षिणकोरिया, इजिप्ट र जापानका जनता स्वदेशी शिक्षा पद्धतिप्रति असन्तुष्ट रहेको पाइएको थियो ।
९. शिक्षकले सही तरिकाबाट पढाइरहेका छन् भन्नेमा फिनल्यान्ड र ब्राजिलका नागरिक सबैभन्दा बढी विश्वस्त थिए भने इजरायल, दक्षिणकोरिया, इजिप्ट र जापानमा शिक्षकप्रति जनताको विश्वास कमजोर देखिएको थियो ।
त्यसबाहेक जेम एजुकेशन सोलुसन नामको अर्को संस्थाले सन् २०१७ मा विश्वका विभिन्न ३० मुलुकमा गरेको एक अध्ययन शिक्षक–विद्यार्थी अनुपात र कक्षाकोठाको आकारबारे पनि केन्द्रित थियो । अध्ययनको नतिजा अनुसार शिक्षक–विद्यार्थी अनुपात सबैभन्दा बढी देखिएको ब्राजिलमा प्रत्येक शिक्षकले ३२.१ विद्यार्थी पढाउनु परेको देखायो । यसैगरी सबैभन्दा कम अनुपात रहेको पोर्चुगलमा एक शिक्षक बराबर ७.६ जना विद्यार्थी मात्र रहेको देखियो । उक्त अध्ययनले थोरै विद्यार्थी संख्या सहितका साना कक्षा कोठाका कारण शिक्षकले आरामदायी तवरले पढाइरहेका देशहरू पोर्चुगल, नर्वे, ग्रीस र बेल्जियम रहेको तथा ब्राजिल, चिली, दक्षिणकोरिया र इण्डोनेशियाका कक्षाकोठाहरू ज्यादा भीडभाडयुक्त रहेको तथ्य सार्वजनिक गरेको थियो ।

(अमेरिकाको एजुकेशन साप्ताहिक, द वासिङ्टन पोस्ट दैनिक तथा स्टडी डटकम अनलाइन र बेलायतको द गार्जियन दैनिक पत्रिकामा प्रकाशित विभिन्न सामग्रीहरूमा आधारित)

शिक्षक  मासिक, २०७६ मंसीर अंकमा प्रकाशित ।

commercial commercial commercial commercial