धेरै भएन स्कूल विदा ?

स्कूल विदाको योजना विद्यालयले नै तयार गर्ने र त्यस बमोजिम शिक्षक, अभिभावक र विद्यार्थी मिलेर कार्यान्वयन गराउन सक्ने हो भने मात्र विदाको सदुपयोग हुनसक्छ। अन्यथा विद्यालयमा दिइने लामा विदाहरू प्रत्युत्पादक बन्न पुग्छन् ।

- राजकुमार बराल

विद्यालयमा हुने विदा, छुट्टी अथवा विद्यालय सञ्चालन हुने अवधिले विद्यालयको शैक्षिक उपलब्धिमा महत्वपूर्ण अर्थ राख्छ । उपयोगका दृष्टिले हेर्दा नेपालका सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर बढ्न नसक्नुमा परम्पराको रूपमा दिइने अनुत्पादक ‘विद्यालय विदा’ पनि एउटा प्रमुख कारण हो । तर, यो सवालबारे पर्याप्त छलफल हुनसकेको छैन ।

विशेषगरी नेपाल जस्ता विकासोन्मुख देशमा शिक्षकलाई ‘विदा’ र विद्यार्थीले बुझने ‘छुट्टी’ आकर्षणको विषय बन्ने गरेको पाइन्छ । एक–डेढ महीने बर्खे विदा, दशैंदेखि तिहार–छठसम्मको विदा, अन्य भैपरी आउने विदाहरू सार्वजनिक विद्यालयका शिक्षक–विद्यार्थीका लागि उल्लासको विषय हुन्छ ।

धेरै दिन विदा पाउँदा नेपाली शिक्षक–विद्यार्थी किन खुशी हुन्छन् भन्ने प्रश्नको ठोस जवाफ खोज्न बाँकी नै छ । तर, यसैगरी विदा अथवा छुट्टी दिइरहने हो भने आक्रामक रूपमा बजार विस्तार गरिरहेका निजी विद्यालयसँग सार्वजनिक विद्यालयले कसरी प्रतिस्पर्धा गर्न सक्लान् र तिनको शैक्षिक गुणस्तर कसरी सुध्रेला भन्ने चिन्ता टड्कारो रूपमा देखा परेको छ ।

विदाको पृष्ठभूमि
नेपालको सन्दर्भमा सार्वजनिक विद्यालय विदाका आर्थिक, भौगोलिक तथा वातावरणीय आदि अनेक पाटा छन् । सबैभन्दा मुख्य आर्थिक पाटो नै हो । विद्यालय विदाको ऐतिहासिक आधार कृषि पेशा हो । विश्वका अरू देशमा पनि विद्यालय विदा मूलतः कृषि पेशासँगै जोडिएको देखिन्छ । कृषिप्रधान सभ्यताको समयमा अधिकांश अभिभावक कृषि पेशामा हुन्थे । अभिभावक मात्र नभएर शिक्षक समेत कुनै न कुनै रूपमा कृषि पेशामा जोडिन्थे । खास कालखण्डसम्म शिक्षकलाई पारिश्रमिक स्वरुप गाउँलेले अन्न उठाएर दिने चलन नेपाली भूगोलमा मात्र नभएर संसारभरि नै प्रचलित थियो । पछि अर्थतन्त्रमा आएको परिवर्तनसँगै विद्यालयको विदामा फेरबदल हुँदै आएको देखिन्छ ।

यताका दिनमा, नेपालको आर्थिक–सामाजिक बनोटमा पनि ठूलो फेरबदल आइसकेको छ । कृषिमा आश्रित जनसंख्या विप्रेषण (रेमिटेन्स) तर्फ स्थानान्तरित हुँदै गएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिको हिस्सा ७०–८० प्रतिशतबाट ३१.७ प्रतिशतमा झरेको छ । हिजो बाली लगाउने र भित्रयाउने समयमा विद्यालयमा विदा दिने गरिन्थ्यो । तर कृषिको त्यो पाटो अहिले धेरै बदलिएको छ । कृषि कर्ममा विद्यार्थी र तिनका अभिभावकको सहभागिता घटेको छ । परम्परागत कृषि र अर्थतन्त्रमा आएको फेरबदलको परिणामस्वरुप स्कूल विदाको समयमा बच्चालाई कसरी सम्हाल्ने भन्ने बारे कामकाजी अभिभावकहरू चिन्तित देखिन्छन् । यस्ता अभिभावकको संख्या दिनदिनै बढ्दै गएको छ ।

नेपालमा विद्यालय विदाको पृष्ठभूमि हेर्दा देशको भौगोलिक एवं मौसमी पाटोलाई पनि हेर्नुपर्ने हुन्छ । धेरै जाडो हुने, धेरै गर्मी हुने क्षेत्रहरूमा प्रतिकूल मौसमका कारण विद्यालय विदा गर्नु अहिले पनि अनिवार्य हुन्छ । तर हिजोका दिनमा जाडो गर्मीभन्दा पनि भौगोलिक विकटता, बाटो तथा पुलको अभाव, बाढी–पहिरोका कारण आवागमनमा पुग्ने बाधा आदि कारणले विदाको पद्धति बसेको थियो । काठमाडौं उपत्यकामा मीन पचासको छुट्टी, बर्खे विदा, गर्मी विदा, जाडो विदा, तराईमा शीतलहर चल्दा हुने विदामा यिनै पृष्ठभूमिले काम गरेका थिए ।

तर आजको बदलिएको सन्दर्भमा विद्यालयमा दिइने विदाहरूको औचित्य र उपयोगिताबारे गम्भीर विमर्श जरूरी देखिएको छ । सामुदायिक विद्यालयमा हुने विदाहरूको सदुपयोगको योजना समेत विद्यालयले तयार गर्ने र सोही बमोजिम शिक्षक, अभिभावक र विद्यार्थी मिलेर कार्यान्वयन गराउन सक्ने हो भने मात्र विदाको सदुपयोग हुनसक्छ । अन्यथा विद्यालयमा दिइने लामा–लामा विदाहरू स्वतः प्रत्युत्पादक बन्न पुग्छन् ।

विदाको प्रभाव
विद्यालय धेरै दिन विदा हुँदा गरीब परिवारका बालबालिकाको सिकाइमा धेरै असर गर्ने कुरा विभिन्न अनुसन्धानले देखाएका छन् । शिक्षित र सम्पन्न परिवारका बालबच्चालाई विदाका दिनमा पनि उनीहरूका अभिभावकले पढाइका लागि उत्प्रेरित गर्ने परिवेश रहन्छ । विकसित देशमा अभिभावकले लामो विदाका वेला आफ्ना बालबच्चालाई विदाको वेलामा मात्रै चल्ने (Summer school)  स्कूलमा पठाउँछन् । खेल्ने, घुम्ने, स्वयंसेवा गर्ने, विद्यालयले विदाको समयका लागि भनेर दिएका ‘असाइन्मेन्ट’ हरू पूरा गर्ने लगायत क्रियाकलापका अतिरिक्त पढाइलाई समेत निरन्तरता दिइएको हुन्छ । विदाको वेला घुम्ने, डुल्ने अवसर पाउने बालबच्चाको सिकाइ राम्रो हुन्छ भने त्यस्तो कार्यमा खर्च गर्न नसक्ने अभिभावकका बच्चाले लामो विदाका कारण पहिला सिकेका कुरा समेत बिर्सने अवस्था बन्छ । उनीहरूले नयाँ कुरा सिक्ने अवसर पनि पाएका हुँदैनन् । परिणामतः उनीहरूको निम्ति लामो विदा ज्यादै अनुत्पादक बन्छ ।

यताका दिनमा बेलायत, अमेरिका जस्ता विकसित देशहरूमा समेत विद्यालय–विदा घटाउनुपर्ने आवाज उठ्न थालेको छ । बेलायतका पूर्व शिक्षा सचिव तथा कन्जरभेटिभ पार्टीका नेता माइकल गोभले केही वर्षअघि विद्यालय विदाको सन्दर्भमा पुनर्विचार गर्नुपर्ने आवाज उठाएका थिए । सन् २०१४ देखि नै बेलायतका प्रअहरूको संस्था नेशनल एशोसिएसन अफ हेड टिचर्स ले विद्यालय विदाको सान्दर्भिकता सम्बन्धमा बहस शुरू गरेको छ । बेलायतमा अन्य विदाका अलावा ६ हप्ताको गर्मी विदा हुने गर्छ ।

लामो विद्यालय–विदा अनुत्पादक हुनुको एउटा प्रमुख कारण हो, विद्यार्थीले धेरै दिनसम्म लेखपढमा ध्यान नदिनु । यो विश्वव्यापी समस्या हो । अमेरिकामा पनि लामो छुट्टीमा विद्यार्थीको पढ्ने बानी छुट्न जाँदा सिकाइ उपलब्धि खस्कने गरेको विश्लेषण छ । विदामा बच्चाहरूले पटक्कै नपढ्ने समस्यालाई अमेरिकामा ठूलै चुनौतीको रूपमा अथ्र्याइएको छ । केटाकेटीको पढ्ने बानी सुधार्न तत्कालीन ‘फस्ट लेडी’ राष्ट्रपतिकी पत्नी मेसेल ओवामाले ‘पढौं र घुमौं’ ('Let's Read, Let's Move') अभियान चलाएकी थिइन् । त्यस्तै, तत्कालीन राष्ट्रपति बाराक ओबामाले पनि विदाका दिनमा बच्चाहरूले सिकेका कुरा बिर्सिरहेको एउटा टेलिभिजन अन्तर्वार्तामा उल्लेख गरेका थिए । उक्त अन्तर्वार्तामा उनले अन्य देशमा भन्दा अमेरिकामा एक महीना जति बढी पढाइ भए पनि अमेरिकी स्कूलको विदा अझै घटाउनुपर्ने धारणा राखेका थिए ।

हुनत अनुसन्धानहरूले विद्यालय सञ्चालनको अवधिले  सिकाइमा कस्तो प्रभाव पार्छ भन्ने बारे धेरै प्रष्टसँग भन्न सकेका छैनन् । फिनल्याण्डमा निकै कम दिन मात्र विद्यालय चल्छन् । त्यहाँ १० देखि ११ हप्ताको गर्मी विदा हुन्छ । तर फिनल्याण्ड सिकाइ उपलब्धिमा विश्वकै उत्कृष्ट देशमध्ये पर्छ । यो पाटोबाट हेर्दा विद्यालय धेरै दिन खोलेर मात्र विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने हैन, बरू सिकाइ उपलब्धि बढाउनमा अन्य पक्षहरू निर्णायक हुन्छन् भन्ने देखिन्छ । ती पक्षमध्ये दक्ष, अनुभवी र उत्प्रेरित शिक्षकको भूमिका प्रमुख भएर आउँछ । गतिला शिक्षक भएनन् भने विदा कटौती गरेर जति धेरै दिन विद्यालय सञ्चालन गरे पनि सिकाइ उपलब्धिमा सुधार आउन सक्दैन । यस आधारमा, विद्यालय विदाको प्रसङ्गलाई गतिला शिक्षकसँग पनि जोडेर हेर्नु जरूरी देखिन्छ ।

सन् २०१६ मा इन्टर अमेरिकन बैंकले रुवाण्डामा गरेको अध्ययनले कम आय हुने परिवारका बच्चामा विद्यालय विदा धेरै हुँदा सिकाइ उपलब्धिमा नकारात्मक प्रभाव पार्ने निष्कर्ष निकालेको छ । अर्थात् गरीबका बच्चाले विद्यालय खुल्दा नै सिक्ने अवसर बढी पाउँछन् । अमेरिकन इन्ष्टिच्यूट फर रिसर्चले सन् २०१४ मा विद्यालय समय बढ्दा विद्यार्थीको सिकाइमा कस्तो प्रभाव पर्छ भन्ने सन्दर्भमा गरेको अध्ययनले चाहिं गतिला शिक्षक भए मात्रै विद्यालयको समय बढाउनु प्रभावकारी हुने अन्यथा विद्यालय समय बढाएर मात्र उपलब्धि हासिल नहुने निष्कर्ष निकालेको छ । बेन्जामिन हेन्सनको २०११ मा प्रकाशित स्कूल इयर लेन्थ एण्ड स्टुडेन्ट परफरमेन्सः क्वासी एक्सपिरियन्स इभिडेन्स पुस्तकले पनि यसै निष्कर्षलाई पुष्टि गरेको थियो ।

इन्टरनेशनल जर्नल अफ इन्भाइरोन्मेन्टल रिसर्च एण्ड पब्लिक हेल्थ मार्च, २०१९ मा प्रकाशित अध्ययनमा आधारित लेख अनुसार पनि विद्यालयको लामा विदामा गरीब अथवा कम आय भएका परिवारका बच्चाले पहिला सिकेका कुरा बढी बिर्सने र त्यो पूरा गर्न थप समय लाग्ने उल्लेख गरेको छ । साथसाथै अमेरिकामा सन् २०११ मा गरिएको मेकिङ समर काउण्ट ः हाउ समर प्रोग्राम क्यान बुस्ट चिल्ड्रेन्स लर्निङ अध्ययन प्रतिवेदनले लामो विदाले विशेषगरी गणितको सिकाइ उपलब्धिलाई प्रभाव पार्ने र त्यसमा पनि कम आम्दानी हुने परिवारका बच्चाको सिकाइमा असर गर्ने उल्लेख गरेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा यताका वर्षहरूमा शीतलहर, बाढी, डुबान, जाडो, गर्मी, राष्ट्रिय तथा स्थानीय चाडपर्व, स्थानीय राजनीति आदि अनगिन्ती कारणबाट विद्यालयहरू विदा गर्ने, पठन–पाठन अवरुद्ध गर्ने क्रम बढ्दैछ । जायज कारणमा विद्यालयमा विदा दिनु स्वाभाविक कार्य नै हो । तर आजको नेपालमा बाटो र पुलहरूको पर्याप्त व्यवस्था हुँदै गएको छ, पहिले जस्तो दुरुहता बाँकी छैन । आधा घण्टाको दूरीमा प्रत्येक बालबालिकाको विद्यालयसम्म पहुँच छ । यो सन्दर्भमा एक डेढ महीनाको बर्खे विदा, त्यस्तै लामो जाडो विदा दिनुको सट्टा आवश्यकता अनुसार स्थानविशेष अनुसार फरक फरक विदाको पद्धति बसाल्नु उपयुक्त देखिन्छ । मौसमको प्रतिकूलता हेरेर विद्यालयले आ–आफ्नो ठाउँमा विदा दिनु उचित नै हुन्छ, तर त्यस्तो केही नहुँदा पनि महीनौंको विदा दिइरहनु भने अब असान्दर्भिक छ ।

नेपालमा सार्वजनिक विद्यालय खुम्चँदा र निजी विद्यालय फस्टाउँदा छन् । अधिकांश निजी विद्यालयमा जाडो वा गर्मीमा बढीमा एक हप्ताको विदा दिइन्छ । प्रायः निजी विद्यालयहरू दशैं र तिहारका बीचमा पनि खुल्छन् । एक–डेढ महीनादेखि ताला लागिरहेको सार्वजनिक विद्यालयको छेउकै निजी विद्यालयमा पढाइ भइरहेको हुन्छ । यस्तो परिवेशमा सार्वजनिक विद्यालयको गुणस्तर सुधार्ने हो भने यस्ता विदामा पुनर्विचार गर्न जरूरी भइसकेको छ ।

शिक्षक  मासिक, पुस अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial