स्थानीय सरकारलाई विद्यालय शिक्षा हतार गर्नुहुन्न !

म शिक्षक मासिकको नियमित पाठक हुँ । हाल म एउटा सामुदायिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पनि वहन गरिरहेछु । शिक्षक मासिकको २०७६ मंसीर अङ्कमा डा. मनप्रसाद वाग्लेको ‘स्थानीय सरकार: विद्यालय शिक्षाको एकल अधिकार उपयोग गर्न पाउलान् ?’ भन्ने लेख पढेपछि लाग्यो— उनी दुनियाँका माहिर शिक्षाविद् त होलान्, तर तर्क गर्न जान्दैमा कोही विद्वान् नहुने रहेछ ! मैले भोगेका केही तीता र डा. वाग्लेका स्थानीय सरकारका पक्षका जिकिर तुलना गरी हेरौं है त !

  • संविधानमा उल्लेख भएझैं विद्यालय शिक्षाको एकल अधिकार स्थानीय सरकारलाई दिने हो भने शिक्षा क्षेत्र तहस–नहस हुन्छ । किनभने, जनप्रतिनिधिसँग शिक्षा क्षेत्र सञ्चालन गर्ने आवश्यक दक्षता, सीप तथा व्यवस्थापकीय कुशलताको अभाव छ ।
  • कुनै पत्रिकामा प्रकाशित सूचनाको वास्तविक मर्म बुझने र तदनुरूपको कार्य प्रक्रियामा लाग्ने क्षमता अधिकांश जनप्रतिनिधिसँग छैन ।
  • काभ्रेको दोलालघाट सहितको क्षेत्र समेटिएको स्थानीय तहको एउटा माध्यमिक विद्यालयमा म कार्यरत छु । त्यहाँको अवस्था त मैले अघिल्लो बुँदामा उल्लेख गरेजस्तो छ भने देशका अन्य दूरदराजका स्थानीय तहको हाल के होला ?
  • संघीय सरकारले संघीय शिक्षा ऐन नै ल्याई नसकेको अवस्थामा डा. वाग्लेको हतारोको औचित्य के ?
  • विस्तारै स्थानीय सरकार र जनप्रतिनिधिलाई सबलीकरण गर्दै शिक्षा क्षेत्र चलाउने जिम्मा दिंदा श्रेयस्कर होला ।
  • जनप्रतिनिधिहरू राजनीतिक पक्षपातका हिसाबले लागिपरेका उदाहरण बग्रेल्ती छन् । त्यसको जिम्मा कसले लिने ?
  • परिवर्तन विस्तारै हुन्छ । डा. वाग्लेले स्वीच थिच्नासाथ बत्ती बलेजस्तो चाहेर मात्रै होला र !
  • टाढा जानु पर्दैन, काभ्रे जिल्लाका स्थानीय सरकार र तिनको कार्यशैलीको केही महीना अध्ययन गरे थाहा हुन्छ, वास्तविकता के रहेछ भनेर । नत्र डा. वाग्लेका मनगढन्ते तर्कको कुनै अर्थ छैन ।
  • डा. वाग्लेले बारम्बार राहत शिक्षकमाथि प्रश्न उठाउँदै आएका छन् । आम राहत शिक्षकसँग उनको लेनदेना के छ ? हैन भने म जस्ता कैयौं राहत शिक्षक प्रअको जिम्मेवारीमा छौं । लबिङ्ग गरिदिनुहुन्छ कि राहत शिक्षकलाई प्रअको जिम्मेवारी दिनुहुन्न भनेर !
  • शिक्षक संघ, संगठनप्रति उनले प्रश्न गर्नुभन्दा पहिले हाम्रा हकहितका लागि बोलिदिने, लडिदिने अन्य आधार देखाइदिने हो कि ! निजामती सेवाको सन्दर्भका बारेमा उनको धारणा के हो ?

अझै धेरै वास्तविकता छन्, जसलाई यहाँ उल्लेख गर्न गाह्रो छ । डा. वाग्लेले आफैं दुईचार महीना कुनै एउटा सामुदायिक विद्यालयको एउटा विषय शिक्षक भएर सूक्ष्म अध्ययन गरे उत्तम हुन्थ्यो, अनि सँगै बसेर चिया खाँदै बहस गरौंला !

इन्द्रप्रसाद घिमिरे, बनेपा, काभ्रे

मनाङ: कसैलाई विद्यार्थी छैनन्, कसैलाई फुर्सद छैन !

मनाङ जिल्लाका चारवटा गाउँपालिकामा पाँचवटा विद्यालय मात्र सञ्चालनमा छन् भन्दा फरक नपर्ला । नासोङ गाउँपालिकामा भानु मावि बाहेक त्यहाँका सबै आधारभूत विद्यालयहरू प्रकाशज्योति मावि, थोंचे मनाङमा मर्ज भइसकेका छन् । अन्य आधारभूत विद्यालयहरूमा ईसीडी कक्षा मात्र चलेको अवस्था छ । तर ती आधारभूत विद्यालयका सबै शिक्षकहरू मर्ज भएको विद्यालयमा गई अध्यापन गराएको अवस्था भने छैन । त्यस्तै नेंस्याङ गाउँपालिकामा भौगोलिक विकटता; विभिन्न किसिमका चुनौती एवं अप्ठ्यारा भएर पनि विद्यालयहरू मर्ज भएका छैनन् । ती आधारभूत विद्यालयहरू ‘विद्यार्थी विनाका विद्यालय’ हुने अवस्थामा पुगिसकेका छन् । त्यहाँ एउटा अन्नपूर्ण माध्यमिक विद्यालय मात्र सञ्चालनमा रहेको छ । उता अझ् विकट ठाउँमा रहेको नार्फाभूमि गाउँपालिकाका आधारभूत तहका दुईवटा विद्यालय पनि दुई/तीन जना शिक्षकले प्राणसम्म धानेको अवस्था छ ।

यता चामे गाउँपालिकामा पनि गौरीशंकर आधारभूत विद्यालय तिमाङ बाहेक अरू विद्यालयहरू मर्ज भइसकेको अवस्था छ । मर्ज भएका विद्यालयका केही शिक्षकहरू गाउँपालिकाका वडाहरूमा काजमा गई काम गरिरहेका छन् । यता; गौरीशंकर आधारभूत विद्यालय, दिनदयालु आधारभूत विद्यालय; थान्चोकका निमावि तहका तीन दरबन्दीमध्ये एक जना स्थायी, २०७६ वैशाखमा नियुक्त दुईजना गरी तीन जना शिक्षक काजमा र बाँकी सोही विद्यालयको दरबन्दीका शिक्षकहरूले अध्यापन गराउँदै आएका छन् ।

सर्सर्ती हेर्दा मनाङ जिल्लामा विद्यालयको तुलनामा शिक्षकहरू बढी भएको अवस्था देखिन्छ । यसो हुनुको प्रमुख कारण मनाङमा विद्यार्थी संख्या नै कम हुनु हो ।
यसरी, हाल चालु अवस्थामा रहेका चारवटा माध्यमिक विद्यालयमा एक शिक्षकले दैनिक दुईदेखि चार पिरियडभन्दा बढी पढाउनुपर्ने अवस्था छैन । तर शिक्षकहरू प्रशस्त हुँदाहुँदै पनि आधारभूत विद्यालयमध्ये चालु अवस्थामा रहेको भनिएको मनाङको यस गौरीशंकर आधारभूत विद्यालयमा सहज रूपले स्थायी शिक्षक आई अध्यापन गराउन चाहँदैनन् । परिणामतः यस विद्यालयका प्रअ तथा शिक्षकहरू विश्राम विना नै प्रत्येक कक्षामा झुण्ड्याइराखेको घडीको भरमा कक्षा–१ बाट अर्को कक्षामा विना थकावट सात पिरियड आफ्नै; अझ् खाली पिरियड भएमा त्यो पनि खप्टेर फुर्सद नै नलिई आठै पिरियड अध्यापन गराइरहेका छन् । यसो हुँदा पनि न यो विद्यालय पुरस्कृत हुनसकेको छ न त यस विद्यालयका प्रअ एवं शिक्षकहरू नै !

विद्यालय, प्रअ तथा शिक्षकहरूलाई कुनै पुरस्कार नदिइए पनि यस विद्यालयको अस्तित्व जोगाइराख्नुपर्ने तर्फ भने सम्बन्धित सरोकारवाला पक्षहरू बेलैमा सजग रहन सकुन् !

सुरेन्द्रबहादुर थापा, गौरीशंकर आधारभूत विद्यालय, तिमाङ, मनाङ

commercial commercial commercial commercial