कला, वास्तुकला र भ्रम

विद्यालयमा पढाइने पाठ्यपुस्तक अन्य पुस्तकभन्दा कैयौं दृष्टिले फरक हुन्छन्, हुनुपर्छ । विद्यार्थीको कलिलो मस्तिष्कमा पर्ने पाठ्यपुस्तकको प्रभाव जीवनभरि रहिरहने हुन्छ । कतिपय अवस्थामा त यस्ता कुराहरू मानक नै भएर दिमागमा बस्छन् । तसर्थ विद्यालयको पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण गर्दा बडो होशियारी अपनाउनुुपर्छ, पाठ्यपुस्तक निर्माताहरू विषयवस्तुमा विशेष रूपले गम्भीर र संवेदनशील हुनुुपर्दछ । तर हाम्रा कतिपय पाठ्यपुस्तकका पाठ्यसामग्रीमा लेखहरू सचेत भएको पाइँदैन । लापरबाही र असंवेदनशील भएको दृष्टान्तको रूपमा यसपटक पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा–७ को ‘नेपाली’ पुस्तकमा रहेको ‘नेपालको धार्मिक वास्तुकला’ (लेखकः डा. जीवराज पोखरेल) लाई लिइएको छ । यसमा थुप्रै गल्ती तथा भ्रम उत्पादक सामग्री छापिएका छन् । यस्तो त्रुटिलाई तत्काल सुधार, परिमार्जन, सम्पादन वा हटाउनु आवश्यक छ ।

कला के हो ?
कलाका अनेक भेदहरूमा वास्तुकला एउटा हो । प्रयोजनका हिसाबले वास्तुकलालाई पनि अनेकौं वर्गमा विभाजन गर्न सकिन्छ । कक्षा–७ को उक्त पाठमा धार्मिक वास्तुकलालाई चिनाउने जमर्को गरिएको छ । पाठको थालनी ‘मानिसलाई मुग्ध बनाउने कुुनै पनि आकृतिलाई कला भन्दछन्’ भन्ने वाक्यबाट गरिएको छ । तर यो वाक्य कलाको परिभाषाभित्र पर्दैन । कला के हो, के होइन भन्ने सन्दर्भमा थुप्रै छलफल भएको पाइन्छ । सामान्यतः मानव निर्मित सिर्जनालाई कला भनेर बुुझने गरिन्छ । तर उक्त पाठ्यसामग्रीको शुरूको वाक्य अनुसार ‘मानिसको मनमस्तिष्कलाई मुुग्ध बनाउने’ प्राकृतिक सौन्दर्य लगायत सबै कुरालाई कला भनेर बुुझानुपर्ने हुन्छ । यही बुुझाइलाई स्थापित गर्न लेखकले अगाडि लेखेका छन्— ‘यो प्राकृतिक तथा मानव निर्मित दुवै हुन्छ । फूलबारीमा फुलेको फूल प्राकृतिक कला हो । चित्रकारले बनाएको फूलको हेरुँ–हेरुँ लाग्ने चित्र चाहिं मानव सिर्जित कला हो । खोटाङको हलेसी गुफा प्राकृतिक कला हो भने त्यहाँको गुम्बा मानव सिर्जित कला हो ।’

मानिसको कल्पना, शिल्प, विचार, सौन्दर्य चेत लगायतका कुराहरूबाट बनेको सिर्जनालाई मात्र कला भनिने मान्यता विपरीत ‘प्राकृतिक कला’ को अवधारणा आफैंमा नौलो र विवादको विषय हो । यस्तो विवादको कुरा विद्यालय तहको पाठ्यसामग्रीमा पार्नु गम्भीर असावधानी हो ।

त्यस्तै, सो पाठमा धार्मिक वास्तुकला अन्तर्गत मन्दिरलाई चिनाउने क्रममा मन्दिरहरू ‘ढुङ्गा या इँट छापेको प्राङ्गणमा बनेका हुन्छन्’ भनिएको छ, जुन आफैंमा युक्तिसंगत लाग्दैन । बरू मन्दिरको प्राङ्गणमा ढुुङ्गा या इँट छापेको हुन्छ भनेर सम्पादन गरिएको भए बेस हुन्थ्यो । यसरी नै ‘मन्दिर सामु स्तम्भ र स्तम्भको टुप्पामा देवीदेवताका वाहनको मूर्ति हुन्छ’ भनेर कुनै खास मन्दिरको विशेषतालाई सामान्यीकरण गर्न खोजिएको छ । वास्तवमा, सबै मन्दिरका सामुु स्तम्भ र स्तम्भमाथि देवीदेवताका वाहन हुँदैनन् । कुनै मन्दिर क्षेत्रमा एकभन्दा बढी स्तम्भ हुन सक्छन् भने कुनैमा हुँदै नहुन पनि सक्छन् । यसरी नै स्तम्भको माथि देवीदेवताका वाहन मात्रै नभएर देवता नै अथवा दाताका मूर्ति पनि रहेका हुन सक्छन् ।

नेपाली सन्दर्भमा डबली भन्नाले नाचगान, वाद्यवादन तथा भाषण आदि कर्म गर्न जमीनको सतहबाट केही उँचाइमा उठाइएको सम्म परेको मञ्च, मण्डप प्रकृतिको संरचना भन्ने बुझिन्छ । मन्दिरहरू जमीनको सतहमा नै अथवा एक वा एकभन्दा धेरैवटा पेटी उठाएर निर्माण गरिएको हुुन्छ । तर सो पाठमा भने ‘मन्दिरको प्रवेशद्वारसम्म पुग्न विभिन्न तहका डबलीहरू बनाइएका हुन्छन्’ भनिएको छ । यसले लेखक पेटी र डबलीमै अलमलिएको बुझिन्छ। यसरी नै ‘माथिल्लो डबलीमा चढ्ने खुट्किलाका दुवैतिर हात्ती, बाघ आदिका आकर्षक मूर्ति सजाइएका हुन्छन्’ भन्नुले पनि केही मन्दिरलाई सामान्यीकरण गरेर त्यसलाई नै मन्दिर–वास्तुकलाको मापदण्डका रूपमा प्रस्तुुत गर्न खोजिएको देखिन्छ । तर यी कुराहरू मन्दिरको मान्यता वा आधारभूत विशेषता नभएर त्यस मन्दिरको आवश्यकता अथवा दाताको क्षमता तथा चाहना अनुसार निर्धारण हुुन्छन् ।

यसरी नै ‘सत्तल शैली’ भनेर पाठमा नयाँ शब्दावलीको प्रयोग गरिएको छ । देवस्थल वरिपरि तथा अन्यत्र नै भए पनि तीर्थयात्रीहरू बास बस्न वा अन्य सुविधाका लागि बनाइएको भवन, घरलाई सामान्यतः सत्तल भनिन्छ । यसको निर्माण धर्मचित्त उत्पन्न भएका जो कोहीबाट सार्वजनिक हितका लागि जहाँकहीं पनि हुन सक्छ । सत्तलहरू व्यक्तिगत सम्पत्ति हुँदैनन् । सत्तल ठूला–साना तथा कुनै पनि आकार–प्रकारका हुन सक्छन् । काठमाडौं उपत्यका वा यहाँको वास्तुकलाको प्रभाव परेका ठाउँहरूमा सत्तलहरू सामान्यतः दुुई तल्ला र लाम्चो पारेर बनाइएका पाइन्छन् । प्रायः सत्तलको तल्लो तलालाई खुला राखी माथिल्लो तलामा बास बस्न ठाउँ बनाइएको हुन्छ । तल्लो तला भोजभतेर, भजनकीर्तन तथा कतिपय अवस्थामा बस्नलाई पनि प्रयोग गरिन्छन् । काठमाडौं उपत्यकामा विकसित वास्तुुकलाको शैलीमा बनेका सत्तलहरू प्रायः विशिष्ट प्रकारका हुने भएकाले यसैलाई जनाउन ‘सत्तल शैली’ भनिएको हुनसक्छ । तर यस्तो शैलीका भवन सबै सत्तल नभएर देवीदेवता राख्ने तथा दैनिक पूजापाठ गर्ने मन्दिरकै रूपमा पनि रहेका हुन्छन् । तर, कक्षा–७ को उक्त पाठमा भनिए जस्तो यस्ता संरचनाहरू तलै तलाका भने हुुँदैनन् ।

उक्त पाठमा बौद्ध धर्म–संस्कृतिका स्तूप र चैत्यलाई अलग–अलग अर्थ दिन खोजिएको छ । स्तूपका लागि ‘अर्धगोलाकार आकृतिमाथि प्रज्ञाचक्षु, १३ लोक जनाउने सिंढी, छत्र र गजुर हुने बौद्ध देवालय’ भनिएको छ भने चैत्य शब्दको अर्थ ‘विभिन्न तहको चारपाटे जगमाथि ढुङ्गामा बुद्धमूर्तिहरू कुँदिएको बौद्ध देवालय’ भनिएको छ । तर यथार्थमा स्तूूप र चैत्य आजभोलि पर्यायवाचीका रूपमा प्रयुुक्त हुन्छन् । बुुद्ध, धर्मगुुरुविशेष वा व्यक्तिविशेषको सम्झनामा बनाइने वास्तुलाई स्तूप वा चैत्य भनिन्छ । यो श्रद्धाको कुरा हुन्छ । तर पाठमा ठूला संरचनालाई स्तूप र साना–सानालाई चैत्य भनेर बुुझाउन खोजेको देखिन्छ, जुन गलत बुुझाइ हो । स्वयम्भूू र खास्ति (बौद्ध) को आकार निकै ठूलो छ, तर यिनीहरूलाई स्तूप र चैत्य दुवै शब्द प्रयुक्त हुन्छ । विभिन्न बौद्ध स्थलहरूमा असरल्ल छरिएर रहेका ढुुङ्गाका साना–साना स्तूपहरूलाई चैत्य भन्न खोजिएको हो भने बरू त्यस्तालाई ‘चीभाः’ भन्दा हुन्छ । शैलीका दृष्टिले चीभाः केही फरक हुुन्छन् । पाठ्यसामग्रीमा हिमाली क्षेत्रमा प्रचलित ‘छोर्तेन’ लाई पनि समावेश गरिएको भए हुन्थ्यो । नेवार समाजमा चीभाःले बेग्लै पहिचान बनाए जस्तै हिमाली बौद्ध समाजमा ‘छोर्तेन’ को भिन्न पहिचान रहेको छ । तर, समग्रमा ती पनि स्तूप वा चैत्य नै हुुन् ।

तिब्बती वा हिमाली क्षेत्रमा प्रचलित बौद्ध धर्मलाई अज्ञानतावश ‘लामा धर्म’ वा ‘लामा बौद्ध धर्म’ भन्ने गरेको पाइन्छ । त्यस क्षेत्रमा प्रचलित बौद्ध धर्म अन्य नभएर बज्रयानी बौद्ध सम्प्रदाय मात्र हो । संस्कृतको गुरु शब्दलाई तिब्बती भाषामा ‘लामा’ भनिन्छ । कोही व्यक्ति लामा हुँदैमा ऊ बौद्ध भिक्षु हुुनैपर्छ भन्ने छैन । तर सबै भिक्षुलाई लामा (गुुरु) भनेर सम्बोधन गर्न सकिन्छ । यसर्थ ‘लामा धर्म’ भन्नु धार्मिक तथा दार्शनिक दृष्टिले गल्ती हो । यस्तो गल्ती यो पाठ्यपुुस्तकमा पनि परेको छ ।
तिब्बती वा हिमाली बौद्ध सम्प्रदायले विहारलाई नै गोम्पा वा गुम्बा भन्ने हो । जसरी एउटा विहार अर्को विहारसँग फरक रहेको हुन्छ, त्यसैगरी गुम्बाहरूको निर्माण संरचना पनि फरक–फरक नै रहेका हुन्छन् । उक्त पाठमा विहार भनेर काठमाडौं उपत्यकाको नेवार–बौद्ध समाजमा प्रचलित बहाः र बही (विहार) वास्तुुकलालाई मात्र चिनाउन खोजेको पाइन्छ । यी विहारहरूमा गौतम बुद्धका अलावा पञ्चध्यानी बुद्धमध्ये कुनै पनि बुद्धलाई प्रधानता दिइएको हुनसक्छ । पाठ्यपुस्तकमा थेरवादी बौद्ध सम्प्रदायको विहारबारे पनि उल्लेख भए राम्रो हुनेथियो ।

पाठमा गुम्बाको वर्णन गर्ने क्रममा ‘भगवान बुद्धको एउटा विशाल सुनौलो मूर्ति हुन्छ । सो मूर्तिको दायाँ–बायाँ विभिन्न बुद्धका ससाना मूर्तिहरू राखिएका हुन्छन्’ भनिएको छ । तर यस्तो व्याख्याले पनि भ्रम उत्पन्न गर्न सक्छ । हिमाली क्षेत्रका गुम्बा (विहार) मा गौतम बुद्धका साथै अन्य बुद्धका मूर्तिलाई पनि प्राधान्यता दिएर ठूलो बनाउने चलन छ । सामान्यतः एउटा बुद्धलाई प्राधान्यता दिएर मूर्ति बनाइसकेपछि अन्य बुद्धका मूर्ति दायाँ–बायाँ राखिंदैनन् । यसरी दायाँ–बायाँ राखिने साना–साना मूर्तिहरू धर्मगुरु तथा देवीदेवताका हुने गर्छन् । तर सो पाठका लेखकले त्यस्ता सबै मूर्तिलाई बुद्ध मूर्तिका रूपमा बुझेकाे देखिन्छ, जुन सच्याउनुपर्दछ । कतिपय गुम्बाहरूमा बुद्धका अलावा ‘गुुरु रिम्पोछे’ भनेर लोकप्रिय धर्मगुरु आचार्य पद्मसंभवको मूूर्तिलाई प्राधान्यता दिएर ठूलो बनाउने गरेको पाइन्छ ।

सजावट मात्रै होइन, छायाँछवि
विद्यालय तहका पाठ्यसामग्रीमा चित्रकला वा छायाँछविको प्रयोगले पाठका जटिल प्रसङ्गहरू बुुझउनमा ठूलो सहयोग पुर्‍याउँछन् । फोटो, चित्र आदि किताबमा सजाउने कुरा मात्रै होइनन् । यहाँ चर्चा गरिएको कक्षा–७ को उक्त पाठमा पाटन दरबार क्षेत्रको दरबार सहित एउटा तले शैलीको मन्दिर र पशुपतिनाथ मन्दिरका दुुईवटा रेखाचित्रहरू मात्रै समावेश गरिएको, जुन एकदमै अपर्याप्त छ । उल्लिखित सबै धार्मिक वास्तुकलाका प्रतिनिधि चित्रहरू पनि त्यहाँ समावेश गरिनु पर्दथ्यो ।

कसको वास्तुुकला ?
उक्त पाठको शीर्षक ‘नेपालको धार्मिक वास्तुुकला’ रहेको छ । यसको सोझे अर्थ मौलिक नेपाली वास्तुकला भन्ने हुन्छ । नेपाली मौलिक वास्तुुकला भनेर प्यागोडा पनि भनिने तलेशैलीका मन्दिरलाई मात्र लिने गरिन्छ । शिखर र गुम्बज शैलीलाई नेपाली भन्न सकिन्न । यसरी नै काठमाडौंमा प्रचलित बज्रयानी बौद्ध विहारले बाहेक अन्यले शैलीगत रूपमा नेपालको प्रतिनिधित्व गर्दैनन् । मस्जिद तथा गिर्जाघरको शैली पनि बाहिरबाटै आएको हो । यस अवस्थामा ‘नेपालको धार्मिक वास्तुुकला’ शीर्षक दिनुभन्दा ‘नेपालमा प्रचलित धार्मिक वास्तुकला’ भन्नु उचित र यथार्थपरक हुने देखिन्छ ।

शिक्षक  मासिक, २०७६ मंसीर अंकमा प्रकाशित ।

commercial commercial commercial commercial