जिज्ञासा र जवाफ

बढुवाका लागि कसलाई भनसुन गर्नुपर्छ ?

म २०४७ कात्तिक १० गते श्री विद्या प्रदान प्रावि, भोगटेनी–२, मोरङमा निजी स्रोतबाट मासिक रु.३०० तलब खाने गरी प्रावि चतुर्थ श्रेणीको शिक्षकमा नियुक्त भएँ । २०५० माघ ६ गतेदेखि सोही तहको रिक्त दरबन्दीमा अस्थायी नियुक्ति पाएँ । २०५२ सालको विज्ञापनबाट छानिएर २०६० चैत ३० देखि प्रावि तृतीय श्रेणीको स्थायी दरबन्दीमा नियुक्ति लिएँ । त्यसवेलादेखि हालसम्म उही पदमा छु ।

अहिले म मोरङकै सुन्दर हरैचा–६ स्थित श्री बुद्ध आधारभूत विद्यालयमा कार्यरत छु । मसँगै नियुक्ति पाएका सबै साथीहरूको बढुवा भयो । मभन्दा पछि २०६३ सालको आन्तरिक परीक्षाबाट स्थायी भएकाहरूले पनि बढुवा पाइसके । मैले कासमू फारम भरिरहेकै छु । तर मेरो अहिलेसम्म किन बढुवा भएन ? यसबारे साथीभाइसँग बुझदा सोर्स–फोर्स र आफ्नो मान्छे चाहिन्छ भन्छन् । उनीहरूका अनुसार अलिअलि पैसा पनि दिनुपर्छ रे ! के यो सत्य हो ? हो भने मेरो बढुवाको लागि कहाँ के कति रकम बुझाउनुपर्छ र कसलाई भनसुन गर्नुपर्छ ?

युवराज आचार्य, श्री बुद्ध आभूवि, सुन्दर हरैचा–६, मोरङ

बढुवा हुन कसैको सोर्सफोर्स चाहिंदैन । पैसा खर्च गर्नु पनि पर्दैन । नियुक्ति पाएका जति सबै बढुवा हुन्छन् भन्ने चाहिं हुँदैन । यसको निश्चित सिट हुन्छ । खुलातर्फको बढुवामा लिखित परीक्षा मार्फत प्रतिस्पर्धा गरेर आउनुपर्छ । कार्यसम्पादन मूल्याङ्कन तर्फको बढुवा हो भने नोकरीको ज्येष्ठता, शैक्षिक योग्यता, कार्यरत भौगोलिक क्षेत्र लगायतका विभिन्न शीर्षकमा पाउने नम्बर नियमावलीमै प्रष्टसँग तोकिएको छ । मूल्याङ्कनको मापदण्ड पारदर्शी भएकाले आफू र अरू शिक्षकले पाउने नम्बर तपाईं आफैंले पनि हिसाब गरेर निकाल्न सक्नुहुन्छ ।

अर्को कुरा, बढुवाको विज्ञापन खुल्दा आवेदन फारम भर्नुपर्छ । त्यसरी आवेदन दिंदा र कासमू अनुसार आफूले पाउने अंक बढी हुँदाहुँदै पनि त्योभन्दा कम अंक ल्याउने अर्को कुनै शिक्षकको बढुवा भएर आफ्नो भएन भने चित्त नबुझेको कारण खुलाएर शिक्षक सेवा आयोगमा उजुरी दिन सकिन्छ । त्यसपछि तपाईंको मूल्याङ्कन फाइल दोहो र्‍याएर अध्ययन गर्ने र त्रुटि देखिए सच्याउने व्यवस्था छ । आफ्नो शैक्षिक योग्यता नपुगेर, कार्यसम्पादन कमजोर भएर या मूल्याङ्कनमा त्रुटि भएर मध्ये के कारणले तपाईंको बढुवा नभएको हो, त्यसको खोजतलास गरेमा वास्तविकता पत्ता लागिहाल्छ । तसर्थ यसमा त्यस्तो अन्योलग्रस्त हुनुपर्ने अवस्था छैन ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग), सानोठिमी, भक्तपुर

तलब समान हुँदैमा तल्लो तहमा पढाउन पाइँदैन

म १६ वर्षदेखि निम्नमाध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक हुँ । मेरो र प्रावि तहको द्वितीय श्रेणीको शिक्षकको तलबमान बराबर छ । इन्जिनियर बन्ने उद्देश्यले आई.एस्सी. पूरा गरे पनि त्यसपछि शिक्षण पेशामा आइपुगें । मैले पाउने तलब एसएलसी मात्र उत्तीर्ण गरेर मसँगै पढाइरहेका साथीको भन्दा फरक नभएपछि मलाई कक्षा–८ सम्म विज्ञान र गणित विषय पढाउने उत्साह छैन । अब मैले एउटै तलबमानमा कार्यरत साथीहरूसँगै प्रावि तहमा पढाएर शिक्षण सेवालाई निरन्तरता दिन पाउँछु कि पाउँदिनँ ?

सुरेन्द्रबहादुर थापा, श्री गौरीशंकर मावि, तिमाङ, मनाङ

तपाईंले निमावि तहमा नियुक्ति लिनुभएको हो भने आफ्नै तहमा पढाउनुपर्छ । प्रावि र निमावि शिक्षकको शुरू स्केल फरक छ । तर बढुवा भएर माथिल्लो श्रेणीमा पुगेपछि समान पनि हुन सक्छ । उदाहरणको लागि प्रावि प्रथम श्रेणीको तलब मावि शिक्षकको बराबर छ । त्यसो भन्दैमा प्रावि तहको शिक्षकसँग तलब स्केल मेल खाएकै कारण मावि शिक्षकले म पनि माविमा पढाउन्न, प्राविमा जान्छु भन्न मिल्दैन । यसैगरी तहगत श्रेणी विभाजनकै कारण निमावि द्वितीय श्रेणीका शिक्षकको तलबभत्ता मावि तृतीयको सरह र मावि प्रथम श्रेणीका शिक्षकको तलब सहसचिवको समान छ । तथापि न मावि शिक्षकले म सहसचिवको काम गर्छु भन्न मिल्छ, न त सहसचिवले मेरो तलब मावि शिक्षकको बराबर भएछ, अब म पनि माविमा पढाएर बस्छु भन्न नै पाउँछ ।

तसर्थ, यो प्रश्नको सरल जवाफ के हो भने कुनै पनि शिक्षकले जुन तहमा पढाउँछु भनेर त्यसका सेवा शर्त स्वीकार गरी नियुक्ति लिएको छ र त्यसबापत तलबभत्ता खाइरहेको छ, उसले त्यही तहमा पढाउनुपर्छ । अर्थात् माथिल्लो तहको शिक्षकलाई समान तलब भएको तल्लो तहमा झ्रेर पढाउने छुट र तल्लो तहमा नियुक्ति लिएकालाई माथिल्लोमा पढाउनै पर्ने बाध्यता दुवै छैन । आफ्नो योग्यता पुगेको छ र विद्यालयमा शिक्षकको अभाव छ भने नियुक्ति पाएभन्दा माथिल्लो तहमा पढाएर योगदान गर्नु चाहिं स्वेच्छाको विषय हो ।  

दीपक शर्मा, प्रवक्ता, साविकको शिक्षा विभाग

सुत्केरी स्याहार विदा र सुत्केरी भत्ताबारे दुई प्रश्न
१. शिक्षा नियमावली २०५९ मा शिक्षकको विदा सम्बन्धी नियम १०६ को घ (१) मा सुत्केरी स्याहार विदा १५ दिन उल्लेख छ । त्यसैको व्याख्यामा पुरुष शिक्षकको हकमा निजको पत्नी सुत्केरी भएको अघि वा पछि गरी १५ दिन विदा पाइने लेखिएको छ । तर आजभोलि सुत्केरी हुने महिलालाई सामान्य समस्या देखिनासाथ अस्पताल लैजाने चलन छ । कसैलाई त्यसरी जाँदा सुत्केरी हुने दिन पर्खेर लामो समयसम्म अस्पतालमै बस्नुपर्छ भने कोहीलाई स्वास्थ्यमा सुधार हुँदै गएर तत्कालका लागि घर फर्किन मिल्छ, तर ८–१० दिनपछि फेरि जानुपर्छ ।

व्यक्तिपिच्छे समस्या फरक हुने यस्तो अवस्थामा सरकारले दिएको सुत्केरी स्याहार विदा भनेर कुन अवधिलाई मान्ने ? यस्तो विदा पटक–पटक गरी १५ दिन लिन पाइन्छ कि लगातार एकै पटक लिनुपर्छ ? महिलाको प्रसूति विदा ९८ दिन हुने भनिएको छ । पुरुष शिक्षकले त्यसभित्रकै कुनै १५ दिन पारेर विदा लिन पाउने हो वा बच्चा जन्मेको अघि र पछिको मिलाएर लगातार १५ दिन लिनुपर्ने हो ? त्यसवेला विदामा बस्न जरूरी नभएमा आवश्यकता अनुसार पत्नी सुत्केरी हुनुअघि वा पछि विदा लिन पाइन्छ कि पाइँदैन ? यो समस्यामा धेरै शिक्षक परेकाले स्पष्ट जवाफ पाऊँ ।

२. राष्ट्रसेवक निजामती कर्मचारीलाई सुत्केरी स्याहार खर्च बापत सम्बन्धित कार्यालयले रु.५००० दिने गरेको पाइन्छ । यस्तो सुविधा शिक्षकहरूले पाउँछन् कि पाउँदैनन् ? पाउने भए यो खर्च कहाँबाट र कसरी लिन सकिन्छ ? देशभरका विद्यालयमा यसबारे स्पष्ट जानकारी सहितको निर्देशन पत्र जारी गर्न मिल्दैन ?

सन्तोषकुमार काफ्ले, कोशी मावि, कोशी–२, सुनसरी

१. विदा अधिकार होइन, सहुलियत हो । पुरुष शिक्षकले आफ्नी पत्नी सुत्केरी हुँदा त्यस्तै सहुलियत स्वरुप १५ दिन सुत्केरी स्याहार विदा पाउँछन् । यो विदा कहिले पाइन्छ भन्दा पनि लिनुपर्ने सबैभन्दा बढी आवश्यक समय कुन हो भन्ने कुरा आउँछ । सामान्यतया सुत्केरी हुनुभन्दा एक–दुई दिन अघिदेखि केही दिन पछिसम्म पत्नीलाई खाना बनाएर खुवाउन र स्याहारसुसार गर्न पुरुष शिक्षकलाई समय चाहिन सक्छ भन्ने मनसायले यस्तो विदाको सुविधा दिइएको हो । त्यसकारण यस सुविधालाई अघिपछि बिरामी हुँदा आइपर्ने आकस्मिकतासँग तुलना गर्नु वा आफूलाई अनुकूल हुने गरी लिन पाइएला कि नपाइएला भनी द्विविधामा पर्नु उचित हुँदैन । तसर्थ पुरुष शिक्षकका लागि दिइने सुत्केरी स्याहार विदा भन्नाले पत्नी सुत्केरी हुनुभन्दा एक–दुई दिन अघिदेखि लगातार १५ दिनको अवधिलाई नै बुझनुपर्छ ।  
२. सुत्केरी स्याहार खर्च (भत्ता) बापत्को रकम नेपाल सरकारको अनुदानबाट तलब खाने सबै कर्मचारीले समान रूपमा पाउँछन् । निजामति कर्मचारीले पाएपछि शिक्षकले नपाउने भन्ने हुँदैन । तर राष्ट्रसेवकहरूलाई दिइने यस्तो सुविधाबारे पछि निर्णय भएकाले शिक्षा नियमावलीमा नपरेको कारण कार्यान्वयनमा आउन ढिला भएको हो । शिक्षकका लागि यो सुविधा कार्यान्वयनमा आउन नियमावलीमै संशोधन हुनुपर्ने मौजूदा शिक्षा नियमावलीमा संशोधन वा यो व्यवस्था सहितको नयाँ शिक्षा नियमावली नआउँदासम्म पर्खिनु पर्ने देखिन्छ ।

दीपक शर्मा, प्रवक्ता, साविकको शिक्षा विभाग

कक्षा ११–१२ पढाउनु अतिरिक्त सेवा होइन

कक्षा ११ र १२ को कक्षा दिवा सत्रमा सञ्चालन हुने भएपछि ती कक्षाहरू अर्थात् साविकको उच्च मावि तहमा शिक्षण गर्ने मावि दरबन्दीका शिक्षकहरूलाई दोहोरो सुविधा लिन रोक लगाइएको छ । यदि यो निर्णय न्यायपूर्ण छ भने सम्बन्धित निकायले निम्न प्रश्नको उत्तर दिनुपर्छ ।

१. मास्टर डिग्री नगरेका मावि शिक्षकले शैक्षिक योग्यता नपुगेको कारण कक्षा ११–१२ मा शिक्षण गर्न बाध्य हुँदैन र पाउँदैन पनि । तर उही तहको शिक्षकले मास्टर डिग्री गर्दैमा विना सुविधा किन ११–१२ कक्षामा पढाउनुपर्ने ?

२. योग्यता उही, काम उही भए पनि उमावि दरबन्दीमा रहनेले मावि द्वितीय सरह तलबभत्ता पाउने तर साविकको मावि दरबन्दीमा रहनेले थप सुविधा नपाई किन अतिरिक्त काम गर्न बाध्य हुनुपर्ने ?

बलराम भण्डारी, श्री भवानी मावि, पालुङटार, गोरखा

वर्तमान शैक्षिक संरचना अनुसार मावि तह भनेको कक्षा–९ देखि १२ सम्म हो । कक्षा–१० सम्म अध्यापन गर्ने शिक्षकको स्नातक र कक्षा ११–१२ मा पढाउनेको स्नातकोत्तर न्यूनतम शैक्षिक योग्यता तोकिएको छ । शैक्षिक योग्यता र नियुक्ति हुँदाको जिम्मेवारी अनुसार मावि तहमा यी दुई थरी शिक्षक छन् । त्यसमध्ये आफू कुन तहलाई पढाउने गरी नियुक्त भएको हो त्यही जिम्मेवारी पूरा गर्नु शिक्षकको दायित्व हुन आउँछ । उनीहरूको योग्यता अनुसारको सेवा शर्त नियुक्तिमै तोकिएको हुन्छ । विद्यालयमा काम गर्ने समय सबैलाई बराबर हुन्छ । त्यस बाहेक थप जिम्मेवारी लिन कोही पनि बाध्य हुनु पर्दैन । तर कक्षा ११–१२ पनि मावि तहभित्रै पर्ने भएकाले योग्यता पुगेका शिक्षकले विद्यालय समयभित्र ती कक्षामा पढाउनुलाई अतिरिक्त सेवा मान्न र त्यस वापत् दोहोरो सुविधा लिन/दिन मिल्दैन ।

दीपक शर्मा, प्रवक्ता, साविकको शिक्षा विभाग

फेरि पनि ग्रेडमै अन्योल

म २०५१/८/१३ मा निम्नमाध्यमिक तहको तृतीय श्रेणीमा स्थायी नियुक्ति पाई २०६५/५/२७ मा निमावि द्वितीय तहमा बढुवा भएको शिक्षक हुँ । हाल मैले पाउने ग्रेड संख्या कति हुन्छ ?

ईश्वर दाहाल, भूमेश्वरी मावि, हेलम्बु–२, किउल, सिन्धुपाल्चोक

तपाईंको प्रश्नमा आफूले अध्ययन गरेको संकायगत शैक्षिक योग्यता खुलेको रहेनछ । यदि तपाईंले २०५७ साल साउन १ गतेअघि शिक्षाशास्त्र संकायबाट त्यतिवेलाको प्रवीणता प्रमाणपत्र तह (आई.एड.) उत्तीर्ण गर्नुभएको हो भने हाल तपाईंको ग्रेड संख्या ६ पुगेको हुनुपर्छ । तर तपाईंले नियुक्तिका वेला अन्य संकायबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरी २०५७ साउन अघिसम्म आई.एड. गर्नुभएको थिएन भने अहिले तपाईंले पाउने ग्रेड ५ हुन जान्छ ।

उल्लिखित ग्रेड पाइराख्नुभएको छैन भने उपर्युक्त दुईमध्ये आफ्नो जुन अवस्था हो, त्यसको प्रमाण लिएर आफू कार्यरत विद्यालय रहेको स्थानीय तहमा सम्पर्क गर्न‘होला । अहिलेको प्रचलित व्यवस्था अनुसार स्थानीय तहको सरकारले स्थायी शिक्षकको तलबी प्रतिवेदन तयार पार्छ । प्रतिवेदनमा प्रत्येक शिक्षकको सिट रोल नम्बर र निजले पाउने ग्रेड संख्या समेत स्पष्टसँग प्रस्ताव गरेर विद्यालय शिक्षक किताबखानामा पठाउनुपर्छ । त्यसरी आधिकारिक तवरबाट प्रस्तावित ग्रेड कायम हुने गरी किताबखानाले तलबी प्रतिवेदन पारित गरेपछि मात्र तपाईंले पाउने ग्रेड पक्का हुन्छ ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक (सूचना अधिकारी), विद्यालय शिक्षक किताबखाना, काठमाडौं

शिक्षक विव्यसको पदाधिकारी हुन पाउँदैनन्

कक्षा–१० सम्म चलेको कुनै माध्यमिक विद्यालयको प्रावि तहमा कार्यरत शिक्षक कक्षा–१२ सम्म सञ्चालन भएको अर्को विद्यालयको अभिभावक छ भने निज शिक्षक दोस्रो विद्यालयको विव्यस पदाधिकारी बन्न मिल्छ कि मिल्दैन ?

कमल घिमिरे, त्रिवेणी मावि कटारी–४, उदयपुर

प्रचलित शिक्षा ऐन र नियमावलीले शिक्षकहरूको प्रतिनिधित्व गर्दै आफ्नै विद्यालयको व्यवस्थापन समितिको सदस्य हुने बाहेक अन्य कुनै पनि अवस्थामा शिक्षकले व्यवस्थापन समितिको पदाधिकारी हुन पाउने व्यवस्था गरेको छैन । त्यसकारण फरक विद्यालयको अभिभावक हुँदैमा शिक्षकले विव्यसको पदाधिकारी बन्न पाउँदैनन् ।   

दीपक शर्मा, प्रवक्ता, साविकको शिक्षा विभाग

commercial commercial commercial commercial