गाउँपालिकाले चढायो बालबालिकालाई बस

गाउँगाउँमा पनि हिजोआज सडक बनेका छन् । त्यहाँ, साना–ठूला गाडी पनि गुड्छन् । तर सामुदायिक या सरकारी विद्यालयमा पढ्ने बालबालिकाहरू तिनै गाडीले उडाएको धूलो खाँदै पुस्तक च्यापेर स्कूल गइरहेका या स्कूलबाट घर फर्किरहेको दृश्य जताततै देखिन्छ । निजी र मालबाहकको त कुरै भएन, स्थानीय रुटमा चल्ने सार्वजनिक यातायात अथवा भाडाका गाडीले पनि विद्यार्थीलाई सकेसम्म चढाउन मान्दैनन् । यसमा गाडीवालाका आफ्नै तर्क हुने गर्छन्— विद्यार्थीले पैसा तिर्दैनन्, उनीहरूलाई धेरै नजिक–नजिक नै चढाउने र ओराल्नुपर्ने हुन्छ; विद्यार्थीको झुण्डका कारण अरू यात्रीलाई असुविधा हुन्छ आदि । त्यसमा पनि तल्लो कक्षामा पढ्ने साना बालबालिकाहरू सबैभन्दा बढी मर्कामा परेका देखिन्छन् । उनीहरूले हात दिंदा न कुनै गाडी रोकिन्छ न त उनीहरूसँग पैसा नै हुन्छ । परिणामतः थुप्रै ग्रामीण भेगका सडक र यातायातको सुविधा पुगेर पनि स्थानीय विद्यालय र बालबालिकाले त्यसको लाभ पाउन सकिरहेका छैनन् । आवागमनको असुविधाकै कारण विद्यार्थी संख्या अत्यन्त न्यून हुँदाहुँदै पनि गाउँपिच्छे, टोलैपिच्छ स्कूलहरू चलाइरहनु परेको अवस्था छ । लामो र कष्टसाध्य हिंडाइको थकानबाट बालबालिकाको स्वास्थ्य र पढाइमा परेको प्रतिकूल असर त अलग छँदैछ !

गाउँपालिकाले उपलब्ध गराएको बस सेवा उपयोग गर्दै जनता माविका छात्रछात्रा, सरुमारानी गाउँपालिका, प्यूठान ।

तर, खुशीको कुरा; प्यूठानको सरुमारानी गाउँपालिकाले यो विडम्बनापूर्ण स्थितिको अन्त्य गर्ने एउटा विवेकसम्मत पहल गरेको छ । सो गाउँपालिकाले बड्डा बजारस्थित जनता माविका विद्यार्थी ओसार–पसार गर्न छुट्टै बसको व्यवस्था गरिदिएको छ ।

अघिल्लो महीना यो संवाददाता उक्त विद्यालयछेउ उभिरहँदा एउटा बसबाट पालैपालो विद्यार्थी मात्रै ओर्लिएका देखिए । बसका चालक जानबहादुर बुढालाई सोध्दा थाहा भयो— त्यो बसले सधैं विद्यार्थी ल्याउने र लैजाने गर्दोरहेछ र बसको भाडा चाहिं गाउँपालिकाले तिरिदिने रहेछ ।

बसबाट ओर्लंदै गरेकी जनता मावि कक्षा–९ की छात्रा पार्वती पुनले आफूहरू धेरै टाढाबाट हिंडेर आउनुपर्ने भएकाले गाउँपालिकाले बसको व्यवस्था गरिदिएको जानकारी दिइन् । खाडीचौर घर बताउने पार्वतीले स्कूलसम्म आउनका लागि एकतर्फी पैदल करीब दुई घण्टासम्म लाग्ने बताइन् । तर बसबाट २० मिनेटमै आइपुग्ने गरेको सुनाउँदै उनले थपिन्, “अहिले त सजिलो भएको छ, खुट्टा पनि दुख्दैन, स्कूल पनि छुटेको छैन ।”

प्रधानाध्यापक योगबहादुर पाण्डेका अनुसार हाल सो विद्यालयका कक्षा–३ देखि कक्षा १० सम्मका १०७ जना बालबालिकाले बसको सुविधा लिइरहेका छन् । उनले भने, “गाउँपालिकाले बसको व्यवस्था गरिदिएपछि विद्यार्थी पनि नियमित भएका छन् ।” बसका कारण भान्द्र, दान्सिङ, सिरवारी, छत्तीवन दमार, मोतिपुर, थक्लेनी लगायतका बालबालिकालाई सजिलो भएको उनको भनाइ थियो । गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण आचार्यले गत आर्थिक वर्षदेखि गाउँपालिकाले शिक्षाको बजेटबाट बस सेवा दिएको बताए । बसको भाडाका निम्ति गत साल रु.४ लाख ४५ हजार खर्च भएको र चालु आर्थिक वर्षका लागि रु.७ लाख छुट्याएको जानकारी पनि आचार्यले दिए ।

सरूमारानी गाउँपालिकाको यति राम्रो अभ्यासबाट अरू पालिकाले पनि विद्यार्थी र बालबालिकाको पक्षमा केही पहल गर्लान् कि !


शैक्षिक सामग्री बनाउँदै मौलवी !

शैक्षिक सामग्री बनाउँदै मदरसाका शिक्षक–कर्मचारी ।

भर्खर बनेको नयाँ गेट, गेटसँगको पर्खाल मात्र रङ्गरोगन गर्न बाँकी । विद्यालय हो कि भन्ने अनुमान लगाउँदै भित्र पसियो । कक्षाहरू बिहान चल्ने भएका कारण बालबालिका भेटिएनन् । तर शिक्षकहरू भने एउटै कोठामा शैक्षिक सामग्री बनाउँदै गरेको भेटिए ।

दुई पहाडी मूलका र तीन मुस्लिम समुदायका शिक्षक देखिएपछि मनमा जिज्ञासा आयो, यो सामुदायिक विद्यालय हो कि मदरसा ? सोधेपछि जानकारी मिल्यो— मदरसा हिमायते इस्लामिया गौसुल उलुम प्रावि, गुलरिया नपा–११, मोहम्मदपुर; बर्दिया । सामान्यतया अन्य मदरसामा मौलवीहरूले अरूलाई निर्देशन दिई काम गराइरहेको देखिएकोमा यहाँ भने अन्य शिक्षकसँगै मौलवी पनि शैक्षिक सामग्री बनाउँदै थिए । “यहाँ त मौलवी’सापले नि काम गर्नु हुँदोरै’छ, कति रमाइलो !” मेरो जिज्ञासामा शिक्षक चमेली जि.सी.को जवाफ आयो, “हामी त सधैं यस्तै हो । सबैले मिलेर काम गर्नुपर्छ नि !”

कक्षा–३ सम्म संचालित उक्त मदरसामा शिक्षक–कर्मचारी पाँच जनामध्ये एक जना राहत शिक्षक रहेछन् । बाल विकास केन्द्र समेत गरी १२४ जना बालबालिका रहेको मदरसामा वार्षिक करीब रु.२ लाख अनुदान र पीसीएफको केही रकम आउँदो रहेछ । कसरी तलब खाने त भन्ने अर्को जिज्ञासामा जिसीले थपिन्, “हामी सबैको तलब थोरै छ, चन्दा उठाउँछौं । मिलेर काम गर्छौं, जम्मा भएको पैसा बाँडेर तलब खान्छौं ।”


समयमा आऊ, समयमा जाऊ !

छात्रासँग रामनरेश माविका प्रअ रामजित चौधरी ।

रूपन्देहीको दक्षिण पूर्वी क्षेत्रलाई नै ‘शिक्षामा पछाडि परेको’ भनेर यहाँका विद्यालयलाई हेर्ने सरकारी अधिकारीहरूको दृष्टिकोण नै फरक छ । पठन–पाठन नहुने, विद्यालय कम दिन खुल्ने, शिक्षकले कक्षाकोठामा कम समय बिताउने र नतिजामा समेत विश्वास नगर्ने परिपाटीलाई यस क्षेत्रको विशेषताको रूपमा चित्रण गरिन्छ । यस्तै परिवेशमा रहेको रोहिणी गाउँपालिकास्थित रामनरेश मावि भने यता आएर आफूलाई बदल्न र अरूका लागि नमूना बन्ने प्रयत्नमा लागेको छ ।

कक्षामा ढिला आउने र चाँडो जाने विद्यार्थी र शिक्षकलाई सुधार्न रामनरेश माविले यो शैक्षिक सत्रदेखि विशेष प्रयास शुरू गरेको छ । ढिलो विद्यालय आउनेलाई चौकीदारले गेटमै रोकिदिन्छन् र विद्यालय–प्रशासनको लिखित स्वीकृति आएपछि मात्र प्रवेश गर्न दिन्छन् । विद्यालयको कम्पाउण्ड छाड्दा पनि विद्यार्थी, शिक्षकले कक्षा शिक्षकको सिफारिशमा विद्यालय प्रशासनबाट चिट लिनुपर्ने व्यवस्था गरिएको छ ।

यसरी विद्यालय आउने र जाने समयमा कडाइ गरिएपछि टिफिन–समयपछि विद्यार्थी र शिक्षक भाग्ने समस्या नियन्त्रण भएर विद्यालयमा पूरै समय पढाइ हुन थालेको प्रअ रामजित चौधरीको दाबी छ । कक्षाकोठामा पठन–पाठनका क्रियाकलाप पनि बढेको पाइन्छ । प्रअ चौधरी समय–अनुशासनका नियम लागू गर्न शुरूमा कठिनाइ भए पनि अहिले क्रमशः नियम कार्यान्वयनमा सहजता आएको बताउँछन् । “अहिले सबै एक भएर विद्यालय सुधार गर्ने काममा लागिरहेका छौं”, उनले भने ।

विद्यालयले आफूलाई सुधार्ने क्रममा कक्षा शिक्षक, तह इन्चार्ज, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीहरू समेत नियुक्त गरेको छ । विद्यालय र यसको पठन–पाठन सुधार्ने कार्यमा विद्यार्थीलाई पनि उत्तिकै महत्व दिएर सहभागी गराउने गरिएको छ । त्यसनिम्ति बालक्लब गठन गरिएको छ । नियम बनाउने र तिनलाई कार्यान्वयन गर्ने सवालमा बालक्लबले उल्लेख्य मात्रामा सहयोग पुर्‍याउने गरेको छ । परिणामतः विद्यालयमा अनुशासन पालना गर्ने, कामको जिम्मेवारी लिने र एक–आपसमा सहयोग आदान–प्रदान गर्ने वातावरण बनेको छ ।


मिसका सहयोगी धराले !

केही महीना पहिले रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको देवी मन्दिर आधारभूत विद्यालयमा पुग्दा देखिएको दृश्य हो । चिसो मौसममा एक बालिका बच्चा बोक्दै थिइन् भने अर्की बालिका ती बच्चीलाई बोक्न र पछ्यौरी ओढाउनमा सहयोग गर्दै थिइन् ।

क्यामेराले पछ्याउँदै जाँदा उनीहरू बच्चा बोकेरै कक्षाभित्र प्रवेश गरे । कक्षामा पुगी सोध्दा ती बालिकाले आफ्नो परिचय ‘पूर्णिमा पुन मगर, कक्षा–५’ भनेर दिइन् ।
पूर्णिमालाई ‘यो तिम्रो भाइ हो ?’ भन्ने जिज्ञासामा कक्षाका बालबालिकाहरू एकैपटक गलल्ल हाँसे अनि जवाफ दिए, ‘होइन, यो त मेडमको बच्चा हो ।’ किन बोकेको त बच्चा ? पूर्णिमाले भनिन्, ‘हाम्रो पिरियड खाली भएको हुँदा मेडमको बच्चालाई हेरचाह गरिदिएको हो सर !’
पछि थाहा भयो– बच्चाकी आमा बेन्जु सुवेदी अर्को कक्षामा पढाउँदै रहिछन् ।



 

commercial commercial commercial commercial