शिक्षक राख्न नमान्दा दरबन्दी नै चट् !

सामाजिक विषयको माध्यमिक शिक्षक पदमा सिफारिश भएकी एक उम्मेदवार पदबहालीका लागि दशैं अघि बाफल, काठमाडौंको ज्ञानोदय माविमा पुगिन् । विद्यालयले अन्य कुराका अतिरिक्त त्यहाँ नेपाली बाहेक सबै विषय अंग्रेजीमा पढाउने पद्धति रहेको जानकारी गरायो । अंग्रेजी माध्यममा पढाउनुपर्ने थाहा पाएपछि ती उम्मेदवार ज्ञानोदयमा हाजिर नभई काठमाडौं महानगरपालिकाको शिक्षा विभागमै फर्किन् । यस सम्बन्धमा ज्ञानोदय माविका प्रअ नातिकाजी महर्जन भन्छन्, “नियुक्ति पत्र लिएर उहाँ आउनुभएको थियो । तर अंग्रेजी माध्यममा त पढाउन सक्दिनँ भनेर आफैं जानुभयो । त्यसपछिको कुरा थाहा भएन ।” प्रअ महर्जनका अनुसार ती शिक्षकसँगै आएकी नेपाली विषयकी शिक्षकले भने ज्ञानोदयमा नै पढाउन थालेकी छन् । ज्ञानोदयमा सामाजिक विषयको दरबन्दी भने अझै खाली नै छ ।

हामीलाई प्राप्त जानकारी अनुसार सामाजिक विषयकी ती शिक्षकलाई काठमाडौं महानगरपालिकाको शिक्षा विभागले काठमाडौंकै न्योखास्थित कन्या मन्दिर माविमा रिक्त रहेको नेपाली विषयको दरबन्दीमा राख्नु भन्यो । तर कन्या मन्दिरले महानगरको कुरा मानेन । बरु, कन्या मन्दिरले रिक्त नेपाली दरबन्दीलाई अंग्रेजी विषयको दरबन्दीमा बदली दिन आग्रह गर्‍यो । तर महानगरपालिकाले कन्या मन्दिर माविको यो आग्रहलाई अस्वीकार मात्रै गरेन, नेपाली विषयको सो रिक्त दरबन्दी नै त्यहाँबाट झिकेर अर्कै विद्यालयमा पुर्‍याइदियो र ज्ञानोदयबाट फिर्ता आएकी सामाजिक विषयकी शिक्षकलाई त्यसमा राखिदियो ।
महानगरले नेपाली विषयको दरबन्दी कटौती गर्ने सम्बन्धमा पठाएको पत्र कन्या मन्दिरले बुझेकाे छैन । त्यसको व्यवस्थापन समितिले सो दरबन्दीमा जिल्लान्तर सरुवा गरेर शिक्षक ल्याउने सम्बन्धमा गरेको निर्णय पनि अड्किएको छ ।


प्रचलित विद्यार्थी–शिक्षक अनुपातका आधारमा काठमाडौं महानगरपालिकाका प्रावि तहमा ६३७, निमावि तहमा २७३ र मावि तहमा २६२ गरी करीब ११०० भन्दा बढी दरबन्दी देखिन्छ।

काठमाडौं महानगरपालिका, शिक्षा विभागकी प्रमुख निर्मला केसीका अनुसार कन्या मन्दिरले पत्र बुझन नमाने पनि शिक्षा समितिबाट अनुमोदन भइसकेको छ । शिक्षा प्रमुख केसी भन्छिन्, “सामाजिक शिक्षक राख्न कन्या मन्दिरका प्रअ मान्नु भएन । कन्या मन्दिरमा दरबन्दी बढी थियो । त्यसैले त्यहाँको दरबन्दी अर्को विद्यालयमा लगियो । आयोग पास गरेर आएका शिक्षकलाई कहीं त पदस्थापन गर्नैपर्छ ।”

कन्या मन्दिर विद्यालयका अनुसार त्यहाँ करीब ५०० विद्यार्थी छन् । प्राविमा ८, निमाविमा ७ र १ दरबन्दी काटिएपछि अहिले माविमा १२ गरी जम्मा २७ दरबन्दी छन् । तर उक्त विद्यालयका एक पदाधिकारी भन्छन्, “विद्यार्थीको अनुपातमा दरबन्दी बढी भएका अरू पनि थुप्रै विद्यालय छन् । तर महानगरले भनेको मान्छे नराख्दा हाम्रो दरबन्दी काटियो । राखेको भए दरबन्दी काटिंदैनथ्यो ।”

काठमाडौं मनपामा मापदण्डभन्दा ११०० बढी दरबन्दी
काठमाडौं महानगरपालिकाका ९१ वटा सामुदायिक विद्यालयमा ३१ हजार ९६ जना विद्यार्थी छन् । यसमध्ये प्राविमा १२ हजार ५५८ र निमाविमा १० हजार ६१७ विद्यार्थी छन् । यस्तै माविमा ७ हजार ९२१ विद्यार्थी छन् । शिक्षकका कुल १,७९४ दरबन्दीमध्ये प्रावि ८८८, निमावि ४८६ र माविका ४२० दरबन्दी छन् ।
यस हिसाबले प्राविमा १ शिक्षक बराबर १४ जना निमाविमा १ शिक्षक बराबर २२ र माविमा १ शिक्षक बराबर १९ जना विद्यार्थी पर्छन् । दरबन्दी मिलानका लागि काम अघि बढिरहेको बताए पनि कहाँ के कस्तो  अवस्था छ भन्ने बारेमा कामनपाले जानकारी दिन मानेको छैन । तर उसले उपलब्ध गराएको तहगत विद्यार्थी संख्या र शिक्षक संख्या अनि प्रचलित विद्यार्थी–शिक्षक अनुपातका आधारमा काठमाडौं महानगरपालिकाका प्रावि तहमा ६३७, निमावि तहमा २७३ र मावि तहमा २६२ गरी करीब ११०० भन्दा बढी दरबन्दी देखिन्छ ।

यसरी पहिलेदेखि नै शिक्षक बढी भएको काठमाडौं महानगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा थप ११० जना नयाँ शिक्षक पदस्थापन हुँदैछन् । शिक्षक सेवा आयोगले लिएको पछिल्लो परीक्षामा पास भएका यी उम्मेदवारहरूमध्ये माविका ३२ र निमाविका २६ जना नयाँ शिक्षक विभिन्न स्कूलमा हाजिर भइसकेका छन् । प्राविमा ५२ जना हाजिर हुने प्रक्रियामा छन् । पूर्व सचिव महाश्रम शर्मा ‘शिक्षा मन्त्रालयले पहिले राष्ट्रिय रूपमा दरबन्दी मिलान गरेर शिक्षक पदस्थापना गरेको भए शिक्षक नभएका विद्यालयले शिक्षक पाउँथे । ती विद्यालयमाथि न्याय हुन्थ्यो’ भन्छन् ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागका अनुसार प्राथमिक तहमा दरबन्दी मिलानको शुरूआत भइसकेको छ । शिक्षा अधिकारी केसी भन्छिन्, “निमावि र माविमा पनि दरबन्दी मिलानका लागि हामी तयारी गर्दैछौं । शिक्षक दरबन्दी पुनर्वितरण सुझव कार्यदलको सुझाव अनुसार शिक्षा मन्त्रालयले ल्याउने दरबन्दी मिलान सम्बन्धी नीति कुरिरहेका छौं ।”

दरबन्दी मिलानः हाललाई नयाँ थप नहुने
माथिको प्रसंगले उब्जाएको अहिलेको एउटा नयाँ समस्या अंग्रेजी माध्यममा पढाउन नसक्ने शिक्षकको पदस्थापनामा देखिएको कठिनाइ हो । अब कि त शिक्षक सेवा आयोगले विज्ञापन गर्दा नै अंग्रेजी माध्यममा पढाउन सक्ने भनेर माग गर्नु पर्‍यो, या यस सम्बन्धमा सम्बोेधन हुने गरी शिक्षा मन्त्रालयको स्पष्ट नीति आउनु पर्‍यो । अर्को, मुख्य समस्या भनेको वैज्ञानिक रूपमा दरबन्दी मिलान गर्न नसक्दा शिक्षक व्यवस्थापनको दीर्घकालीन रोग जस्ताको तस्तै रहनु हो । यसले गर्दा विद्यार्थी कम भएका ठाउँमा शिक्षक बढी र विद्यार्थी भएका ठाउँमा शिक्षक अपुग छ । शिक्षक वितरण असमान ढंगबाट भएको छ । राज्यको स्रोत सही सदुपयोग हुनसकेको छैन ।

पूर्व सचिव महाश्रम शर्मा संयोजक रहेको शिक्षक दरबन्दी पुनर्वितरण सुझव कार्यदलका अनुसार एउटा पनि शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालयको संख्या देशभर ३ हजारभन्दा बढी छ । साढे सात हजार विद्यालयले शिक्षकको एउटा मात्र दरबन्दीमा चित्त बुझाएका छन् ।

समग्रमा, देशैभरि न्यायोचित रूपमा शिक्षक दरबन्दी वितरण हुनसकेको छैन । विषयगत शिक्षक पनि पर्याप्त छैनन् । पूर्व सचिव शर्मा भन्छन्, “पर्याप्त शिक्षक नै नभएपछि गुणस्तरीय शिक्षा सम्भव छैन । दरबन्दी मिलान र पुनर्वितरण गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयले छिटोभन्दा छिटो पूरा गर्नुपर्छ ।”


विद्यार्थी नभएर घाम तापिरहेका शिक्षक पनि छन् कति ठाउँमा। त्यसैले पहिले भएकै दरबन्दीको समानुपातिक वितरण गर्छौं। हाललाई नयाँ थप हुँदैन।

- बाबुराम पौडेल, महानिर्देशक, साविकको शिक्षा विभाग


कार्यदलले शिक्षा मन्त्रालयलाई प्रतिवेदन बुझाएको एक वर्ष भइसकेको छ । तर यस सम्बन्धमा शिक्षा मन्त्रालयले ठोस रूपमा काम शुरू गर्न सकेको छैन । विद्यालय तहको जिम्मेवारी स्थानीय तहमा आइसकेपछि आफ्नो विद्यालयको बढी दरबन्दी अन्त लैजान दिन र विद्यार्थी नै नभएका विद्यालय आफ्नोे पालामा अन्यत्र गाभेर अपजस लिन जनप्रतिनिधहरू तयार देखिंदैनन् । विशेषगरी काठमाडौं उपत्यका लगायत सुगम जिल्लामा पहुँचवाला नेतादेखि कर्मचारीका आफन्त रहेकाले पनि लामो समयदेखिको समस्या हो, यो । दरबन्दी नै बढी भएका ठाउँमा राहत दरबन्दी समेत पहिले बाँडियो । पहिलेदेखि नै शिक्षा मन्त्रालयको नेतृत्वले आँट गर्न नसक्दा दरबन्दी मिलानको काम प्रभावकारी रूपमा हुनसकेको छैन ।

कार्यदलले दिएको सुझावमा दरबन्दी समायोजन गरी पुनर्वितरण र नयाँ थप गर्नुपर्ने उल्लेख थियो । विद्यमान शिक्षा ऐन र नियमावलीमा उल्लेख गरिएको शिक्षक विद्यार्थी अनुपात घटाउन सुझाव दिइएको थियो । तर हाललाई दरबन्दी समायोजन गर्दा विद्यमान शिक्षक विद्यार्थीको अनुपातलाई नै आधार मानिने र नयाँ थप नगरिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल भन्छन्, “विद्यार्थी नभएर घाम तापिरहेका शिक्षक पनि छन् कति ठाउँमा । त्यसैले पहिले भएकै दरबन्दीको समानुपातिक वितरण गर्छौं । हाललाई नयाँ थप हुँदैन । पालिकागत रूपमा कहाँ बढी कहाँ कम छ, तयार गरी शिक्षा मन्त्रालयमा कात्तिक २४ गते बुझएका छौं अब छिट्टै दरबन्दी मिलानको काम अघि बढ्छ ।”




 

commercial commercial commercial commercial