त्रिखण्डी शिक्षालाई चुनौती दिने एउटा प्रयास जो आफैं बिलाउँदैछ !

त्रिखण्डी शिक्षाले दिने चिल्ला प्रमाणपत्रका अगाडि त्यस्ता अनुभवजनित प्रमाणपत्रको मूल्य बजारले बुझन सकेन। फलस्वरुप पूर्ण–शिक्षाको एउटा शक्तिशाली विकल्पका रूपमा उभिंदै गरेको नयराज पाठशालालाई उही तदर्थवादी त्रिखण्डी शिक्षाको भुङ्ग्रोले खाइदियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको ‘नेपाली बृहत् शब्दकोश’ मा ‘त्रिखण्ड’ शब्दको अर्थ लेखिएको छ— कुनै वस्तु वा संख्याको समष्टिको तीन भागको एक भाग एक तृतीयांश ।

नेपालको चालु शिक्षा पद्धतिभित्र ‘अनौठो तर सजिलो’ व्यवस्था के छ भने तोकिएको सम्पूर्ण पाठ्यभारमध्ये तृतीयांश अर्थात् तीन भागको एक भाग मात्रै पढे–बुझेपछि एउटा कक्षागत तह पार गर्न सकिन्छ । विद्यालय तहदेखि उच्च शिक्षासम्मै ‘एकतिहाइ’ पढ्ने र बुझने अर्थात् १०० पूर्णाङ्कमा ३२–३३ अंक ल्याए सो कक्षा वा तह पार हुने तौरतरिका चल्दै आएको छ । अझ पछिल्लो शिक्षा व्यवस्थामा त यही एकतिहाइको गणना गर्न पनि छोडिएको छ । अहिले पास–फेलभन्दा फरक, परीक्षामा उपस्थित मात्रै भए पनि ग्रेडिङका आधारमा कुनै तहको शिक्षा सम्पन्न गरेको प्रमाणपत्र पाउन सकिन्छ ।

यो प्रसङ्गलाई यसरी पनि बुझन सकिन्छः सिङ्गो शरीरलाई चाहिने एकमुष्ट पौष्टिकता, पानी वा आहारविहारलाई तीन भाग लगाउँदा एक भाग मात्रै खान थालियो भने शरीरको हालत के हुन्छ ? त्यस्तै कसैले रु.१०० सापटी लिएर रु.३३ मात्रै फिर्ता गर्‍यो भने सापट दिनेको आर्थिक–स्वास्थ्य के होला ?

सिकाइ र बुझाइको सिङ्गो पद्धतिमा आधा वा एकतिहाइ ज्ञान र सीप हासिल गर्दै ‘कक्षा उत्तीर्ण भएको’ प्रमाणपत्र लिएर शिक्षक, प्राविधिक, डाक्टर, योजनाविद् वा प्रशासकहरू जन्मिरहेको अवस्था अहिलेको दारुण यथार्थ हो ।

यो एकतिहाइ सिकाइ र बुझाइ अर्थात् त्रिखण्डी शिक्षा पद्धति ठीक छैन, यसले हाम्रो सिङ्गो पद्धतिलाई अपुरो र अधुरो बनाउँछ भन्ने बुझइ राखेर यसको विरोधमा झण्डै ८० वर्षअघि एकल अभियान चलाउने अभियन्ता थिए— नयराज पन्त । शिक्षार्थीले तोकिएको पाठ्यवस्तुको १०० प्रतिशत नै पढेको हुनुपर्छ, सिकेको र बुझेकै हुनुपर्छ । यो तौरतरिकाको पढाइले मात्रै उपयोगी जनशक्ति तयार हुन सक्छ भन्ने मान्यतामा दृढ भएर संस्कृत शिक्षाका अनुयायी पन्तले निजी रूपमा आफ्नै शैलीमा पठनपाठन हुने पाठशाला खोलेका थिए । जागिर मात्रै खान सक्ने प्रमाणपत्रधारीहरूको सट्टा पूर्ण–शिक्षा प्राप्त सक्षम र स्वाभिमानी जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित खोलिएको सो पाठशालामा थोरै मात्र विद्यार्थी टिक्न सके । तर जति टिके, ती सबै नयराजले सोचे जस्तै नाम, काम र योगदानमा अब्बल भएर निस्किए । तैपनि त्यो पठनपाठन पद्धति भने हराएर गयो । व्यक्तिगत प्रयत्नमा जन्मेको पूर्ण–शिक्षाको त्यो पठन–पाठन पद्धति अहिले धुकधुकीमा मात्रै बाँकी छ ।

त्रिखण्डीका भरमा होइन, पूर्ण शिक्षा र पूर्ण ज्ञान नभईकन जीवन, समाज र पद्धति ‘पूर्ण’ हुन सक्दैन भन्ने मान्यतालाई नयराजले दृष्टान्त सहित पुष्टि गरेका थिए ।

पाठशालाको पृष्ठभूमि
विक्रम संवत् १९९५ मा भारतको बनारसस्थित काशिक राजकीय संस्कृत पाठशाला (क्वीन्स कलेज) बाट गणित ज्योतिषमा आचार्य गरेर घर फिरेपछि नयराज पन्तले काठमाडौंमा पढाइ र बुझाइको भिन्न पद्धति बसाल्ने प्रयत्न थालेका थिए । १९९७ देखि संस्कृत भाषाका आधारमा विद्या पढ्ने–पढाउने प्रयोगात्मक उद्योग थाल्नुका पछाडि गुरु नयराजसँग बनारस बस्दाको मन बिझाउने एउटा अनुभूतिले काम गरेको थियो ।

बनारसको गुरुकुल आचरणमा बस्ने विद्यार्थीले राम्ररी पढेनन् वा दिएको पाठ कण्ठ सुनाएनन् भने त्यहाँका गुरुहरू निकै झेक्किंदा रहेछन् । तीमध्येका एक गुरु गेनालाल चौधरीले सातो लिंदै भन्ने रहेछन्—‘दूर से आये हो, पढ्ना है तो अच्छी तरह से पढो, ग्रन्थ कण्ठ करो । परीक्षा ही पास करना हो तो क्वीन्स कलेज चले जाओ ।’

यसरी गुरुकुलीय पद्धतिको शिक्षा र क्वीन्स कलेजको तुलना किन गरिएको होला भनेर बुझन नयराजलाई धेरै समय लागेन । त्यसबखतसम्म बनारसमा एकातिर परम्परागत गुरुकुलीय शिक्षापद्धति जेनतेन चल्दै थियो भने अर्कातिर कथित अंग्रेजी–शिक्षा पद्धति लोकप्रिय बनेर जताततै फैलिंदो थियो । यी दुई पद्धतिमध्ये १०० पूर्णाङ्कको कुनै विषय, परीक्षामा ३३ अङ्क ल्याएर पास हुन सकिने (त्रिखण्डी) पद्धति एकातर्फ थियो भने १०० मा १०० पाठ्यसामग्री पढेर, बुझेर सम्पूर्ण पाठमा पारङ्गत हुनुपर्ने पद्धति अर्कोतर्फ थियो । “शायद बुबाले अंग्रेजी शिक्षाको आयातित शैली र त्रिखण्डी पढाइको विरोधमा आफूले खोलेको पाठशालाको नियम तथा विधिविधान बनाउनुभएको हुन सक्छ” नयराजका जेठा छोरा एवं नयराज–पाठशालाका पुराना विद्यार्थीमध्येका एक डा. महेशराज पन्त (७६) भन्छन्, “तैपनि यो सिकाइ र बुझाइ पद्धति पछि गएर संस्थागत बन्न भने सकेन, केही व्यक्तिगत तहमा मात्रै उपलब्धि हात पर्न सक्यो ।”

बनारसबाट फर्केको केही कालपछि नयराजले शुरूमा नेपाल भाषा प्रकाशिनी समितिमा जागिर खाए । त्यसपछि रानीपोखरी संस्कृत प्रधान पाठशालामा अध्यापन गर्न थाले । पाठशालाको नियमित कक्षा लिने बाहेकको समयमा आफ्नै छोरा, भाइभतिज र चिनारु राखेर लिन थालेको कक्षाले इतिहासमै ‘एउटा मानक नामकाम’ स्थापित गर्न सक्यो । २००४ सालमा काठमाडौंको मासंगल्लीस्थित दिव्यवज्र वज्राचार्यको घरमा नयराज गुरुको पाठशालाले आकार लियो । त्यहाँ देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शंकरमान राजवंशी, ज्ञानमणि नेपाल, धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल आदि उनका विद्यार्थी बने । ती सबै त्रिखण्डीको सनातनी शिक्षा पद्धतिबाट उम्किएर यता आएका थिए ।

त्रिखण्डीबाट अलग रूपमा पठनपाठन अघि बढेपछि अब अनुसन्धान गर्नुपर्छ; इतिहासका गल्ती–त्रुटि पहिल्याएर त्यसमा संशोधन गर्नुपर्छ, किताब निकाल्नुपर्छ भनेर नयराज गुरु थप उत्साहका साथ अध्ययन–अध्यापनमा लागिपरे । २००९ असोज ५ गतेदेखि त्रुटिपूर्ण इतिहासको संशोधनका खातिर उनले संशोधन–मण्डल नामको विज्ञ समूह जन्माए जसले विदेशी शोधकर्ताको भरथेगमा उभिएको नेपालको इतिहासका कतिपय ढाँचा र तथ्यलाई अवास्तविक साबित गर्दै गयो । त्यस क्रममा इतिहासका कति दफाहरू पाठ्यपुस्तकमै संशोधनमा गरिए, अरू कतिपय चाहिं चर्को बहसमा आउन थाले । विशेषतः बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रूपरेखा’, भैरवबहादुर प्रधानको ‘मल्लकालीन नेपाल’ र सूर्यविक्रम ज्ञवालीको ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ जस्ता स्थापित कृतिमाथिको संशोधन प्रस्ताव र अडानले नयराज पाठशालाको परिचय अलग बन्यो । यसबाहेक, लेखक ड्यानियल राइटको ‘हिष्ट्री अफ नेपाल’ पुस्तकमा नेपालको इतिहास छद्म रूपले लेखिएको प्रमाण पेश गर्दै नयराजले लिएको अडानकै कारण यसलाई विश्वविद्यालय पाठ्यक्रमबाट हटाइएको थियो । २०२३ सालदेखि संशोधन मण्डलका कृतिहरू पाठ्यक्रममा पनि राख्न थालिए ।

नेपालको इतिहासमा लिच्छविकालीन विवरणको भ्रमपूर्ण र गलत टिपोटलाई चिर्दै नयराजले सप्रमाण लेखेको ‘लिच्छवि संवत्को निर्णय’ (२०४३) मदन पुरस्कारबाट पुरस्कृत भएपछि संशोधन कार्य र संशोधन मण्डल आम नेपालीको समेत चासोको विषय बन्न पुगे ।

आफ्नो भिन्न शैलीको पठनपाठन र संहिताका बारेमा बोल्दा गुरु नयराज त्रिखण्डी र पूर्ण शिक्षण पद्धति बीचको अन्तरबारे बलिया तर्क थपिरहेका हुन्थे । अंग्रेजी शिक्षा–पद्धतिबारे ‘औंसीको रात’ (२०६०) पुस्तकमा नयराज गुरु भन्छन्, “त्रिखण्डी विद्या आर्जन गरेर उत्पादन भएकाहरूको त्रिशंकुको अवस्था छ । यिनीहरू न अनपढ नै हुन्, न त पठित । यिनीहरूको पढाइले न यिनीहरूलाई सुखशान्ति दिन्छ, न त राष्ट्रको आवश्यकतालाई नै पूरा गर्न सक्छ । हामी नेपालीले अंग्रेजी परीक्षा पद्धतिमा पढ्न थालेको पनि १०० वर्ष नाघिसक्यो । यस अवधिमा यो शिक्षा पाएका केही व्यक्तिले धन–मान कमाएर विलासिताको जिन्दगी बिताउनु बाहेक विद्याको क्षेत्रमा अरू केही पनि गर्न सकेका छैनन् । वृत्ति पाएर विदेश पढ्न गए पनि पढेर आएपछि न त्यताको विद्या परम्परालाई यता ल्याउन सकेका छन्, न त नयाँनयाँ वैज्ञानिक खोज तथा आविष्कारहरू यता गर्न सकेका छन् । खालि त्यताको देखासिकी गरेर यता नक्कल उतारेका मात्र छन् ।”

गुरुकुल हो, गुरुकुल होइन
त्रिभुवन विश्वविद्यालयले २०५७ मंसीर ७ मा प्राध्यापक नयराज पन्तलाई महाविद्यावारिधि (डक्टर अफ लेटर्स) प्रदान गर्ने क्रममा प्रमाणपत्रमै ‘गुरुकुल परम्परालाई जीवित राख्न क्रियाशील’ भन्ने विशेषण प्रयोग गरेको छ । तर, गुरु नयराजले निकालेको ‘हाम्रो उद्देश्य र कार्यप्रणाली’ (२०१४) पुस्तकमा यो पठनपाठनको पद्धतिलाई कहींकतै पनि ‘गुरुकुलीय’ भनिएको छैन । नयराज पाठशालाका एक जना अब्बल विद्यार्थी ज्ञानमणि नेपालले लेखेको ‘मेरो गुरुकुलीय शिक्षा र सहपाठी’ (२०५४) पुस्तकमा चाहिं गुरुकुल शब्दको उपयोग राम्रैसँग गरिएको छ ।

यो पद्धतिका पक्षधर गुहनाथ पौडेलले लेखेको ‘औंसीको रात’ कृतिको समीक्षात्मक टिपोट गर्ने क्रममा महेशराज पन्त लेख्छन्— ‘बुबा र उहाँका चेलाछोराहरूको विषयमा लेख्दा आजभोलि गुरुकुल शब्दको निकै प्रयोग भएको देखिन्छ । गुरुकुल भन्नेबित्तिकै त्यस्तो पाठशालामा पढ्ने पढाउनेले अवश्य नै त्यहाँ धर्म सम्बन्धी विधिविधान गर्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ । तर हाम्रो पाठशालामा भने त्यस्तो विधिविधानको दुम्सो पनि थिएन । बिहान भात खाई १० बजे पढ्न गयो, ४ बजे घर फक्र्यो, बस् । यसकारण गुरुकुल शब्दले हाम्रो पाठशालाको स्वरुपलाई बुझाउन सक्दैन जस्तो लाग्छ ।’

अर्कातिर, नियम र अनुशासनका आधारमा नयराज पाठशालाको पढाइलाई ‘गुरुकुलीय’ भन्न रुचाउने विद्वान्मा पर्छन्— त्यहींका शिष्य ज्ञानमणि नेपाल (८६)  । “जुनसुकै भाषामा रहेको ज्ञान प्राप्त गर्नलाई पनि पहिले त्यो भाषा राम्ररी जान्नुपर्छ । त्यसैले संस्कृत भाषामा राम्ररी दक्खल जमाउनका लागि रघुवंश, अष्टाध्यायी, अमरकोश, भट्टीकाव्य तथा हर्षचरित्र कृतिलाई नयराज गुरुले मूल पाठ्यपुस्तक बनाउनुभएको थियो” ज्ञानमणि सम्झन्छन्, “यस आधारमा यी कृति कण्ठस्थ पार्नैपर्ने, टीका र अर्थ पहिल्याउनुपर्ने, संस्कृत भाषामा पारङ्गत र विभिन्न पुराना लिपिहरू पढ्न सक्ने हुनैपर्ने अनिवार्य नियमहरू के गुरुकुलीय पद्धति अन्तर्गत होइनन् र ?”

नयराज पाठशालाको प्रमुख नियम थियो— पहिलो चार वर्ष मूलग्रन्थका रूपमा ‘रघुवंश’ का १९ सर्ग पढ्ने, कण्ठस्थ पार्ने, अर्थ र व्याख्यानमा पनि पोख्त हुने । अरू विभिन्न १०० वटा किताब (संस्कृतका काव्य, नाटक र इतिहास, संस्कृति) पढ्ने । (ती १०० किताब भने कण्ठस्थ गर्नुपर्दैनथ्यो । सोधेको खण्डमा त्यहाँको विषय सुनाउन सक्ने चाहिं हुनुपथ्र्यो ।) अर्को चार वर्ष पाणिनीको अष्टाध्यायी, अमरसिंहको अमरकोश र भट्टीको भट्टीकाव्य ग्रन्थहरू पढेर कण्ठस्थ सुनाउने, त्यो पनि अर्थ र व्याख्या सहित । सँगसँगै गद्यमा बाणभट्टको ‘हर्षचरित्र’ पढेर तयारी अवस्थामा बस्ने । यो चरणमा पनि अघिल्लो चार वर्षमा जस्तै १०० ग्रन्थ यथावत् रूपमा पढ्नुपर्ने । साथमा प्राचीन लिपिहरू पनि पढ्दै र सिक्दै जाने ।

ज्ञानमणि नेपालका अनुसार, नयराज गुरुको पाठशालाका विद्यार्थीहरू बिदाको दिन शिलालेख पढ्ने काममा जुटेका हुन्थे । नेपाल भन्छन्, “हामी सबैभन्दा बढी पशुपति क्षेत्रमा गएर पढ्थ्यौं । पहाडे कागज शिलालेखमाथि राख्यो, अनि मसी भरिएको रोलर कागजमाथि दौडायो भने शिलालेख उत्रन्थ्यो । त्यही ल्यायो, अनि पढेर अर्थ खुट्याउने काम ग¥यो ।” यसो गर्नुका पछाडि एउटै कारण थियो– मूल अभिलेख आफैंले बुझ्ेर सुनिश्चित गर्नु । गुरुजी सधैंजसो भन्नुहुन्थ्यो– ‘हाम्रो अभिलेख विदेशीले गलत पढेका छन् र हामीलाई पनि गलत पढाएका छन् ’।

त्रिखण्डीको विकल्प किन ?
गुरु नयराजको भनाइ हुन्थ्यो— ‘यदि पाश्चात्य शिक्षाप्राप्त स्नातकहरूमा कार्यक्षम ज्ञान आउँदो हो त, उनीहरूले पढेका विषयमा काम भएको देखिने थियो । डाक्टरी पढेकाले यहीं औषधि निर्माण गर्दै नयाँनयाँ औषधि बनाउँथे, विदेशीको दलाल बन्ने थिएनन् । इतिहास पढेकाले पनि आफ्नो देशको ऐतिहासिक साधनको अन्वेषण र अध्ययन गरी शुद्धसँग सम्पूर्ण इतिहास तयार पार्ने थिए, विदेशीले लेखेको पुस्तकलाई ब्रह्मवाक्य मानी बस्तैनथे । यी कुरा देख्ता अंग्रेजी पढेका मानिसमा कार्यक्षमता नभएको स्पष्टै देखिन्छ । यदि ठूल्ठूलो पदमा बस्नु नै कार्यक्षमता भएको लक्षण हो भने राणाजीका प्यारा चाकडीबाज अपढ भए पनि ठूलै पदमा बसेका हुन्थे । तर तिनीहरू आफैं उन्नति गर्ने क्षमता नभएर नै चाकडीबाज बनेका थिए । त्यसकारण अंग्रेजी त्रिखण्डी पढाइमा कार्यक्षम ज्ञान आएको छैन । यसो हुनाले हामीले वर्तमान त्रिखण्डी शिक्षा पद्धतिलाई छोडी ग्रन्थ कण्ठस्थ पारी कार्यक्षमता पैदा गर्ने पाठ्यक्रम चलाउनु परेको हो ।’

कुरा विद्या र पढाइको मात्रै थिएन । नक्कलका लागि नक्कल गर्ने प्रवृत्तिका कारण पनि नेपाली समाज र कार्यपद्धतिमा पछौटेपना आइरहेको देखेका गुरु नयराज आफ्ना शिष्यहरूमाझ् भन्ने गर्थे— ‘हामीले हाम्रो परम्परागत वास्तुविद्यालाई तिरस्कार गर्दा वि.सं. १९९० को भूकम्पले युरोपेली वास्तुकलालाई ध्वस्त पारेको थियो । युरोपको ढाँचा नक्कल गर्दै संवत् १९५१ मा तत्कालीन श्री ३ वीरशमशेरले घण्टाघर बनाएका थिए, त्यो वास्तुकला समेत भूकम्पका कारण एकै निमेषमा ढल्यो । युरोपेली हावापानी, माटो र संरचना हाम्रो माटो सुहाउँदो हुन सक्दैन भनेर बुझन–बुझाउन नसक्दा त्यो हविगत आइपरेको थियो ।’

पाठशालाको उपलब्धिः इतिहास शुद्धि
त्रिखण्डी पठन पद्धतिलाई नकार्दै शुरू गरिएको नयराज–पाठशालामा पूर्ण शिक्षादीक्षाको अभ्यासबाट तयार भएका विज्ञहरूको सामथ्र्य दर्शाउने मञ्च थियो संशोधन मण्डल । त्यसका एक सदस्य डा. महेशराज पन्तका अनुसार अरूले भने जस्तो इतिहासको शुद्धीकरणमा मात्र नभई गहन अनुसन्धानमा समेत मण्डल केन्द्रित रहँदै आयो ।

नयराज गुरु सधैं भनिरहेका हुन्थे— ‘हाम्रो देशमा इतिहासको पढाइ चलेको छ तर इतिहास बनाउने पढाइ चलेको छैन । हामीकहाँ इतिहास पढ्नु भनेको बेलायत र भारतको इतिहास पढ्नु मात्रै थियो । बल्ल श्री ३ जुद्धको पालादेखि नेपालमा प्रवेशिका परीक्षा दिनेहरूले नेपालको इतिहास पनि पढ्नुपर्ने भयो ।’

त्यसबेलासम्म नेपालको इतिहासको कुनै पाठ्यपुस्तक थिएन । टाकटुक पारी जोडिएको, जङ्गबहादुरलाई कतै थापा, कतै पाँडे, कतै कुँवर भनी लेखिएको इतिहास पढ्नुपर्ने अवस्था थियो । तोत्रराज पाँडेसँग मिलेर नयराजले २००४ सालमा ‘नेपालको संक्षिप्त इतिहास’ प्रकाशित गरेका थिए । यसले धेरै कोणबाट नेपालको इतिहास लेखन तथा पठनमा केही शुद्धता र प्रामाणिकता ल्याउन सक्यो । त्यसै सिलसिलामा नयराज गुरु र संशोधन मण्डलले इतिहास संशोधन, पञ्चाङ्ग संशोधन, व्याकरण संशोधन, विद्या रक्षा, सावधान पत्र आदि प्रकाशित गरे ।

यो पाठशालाका सबैभन्दा पछिल्लो समूहका शिष्य दिनेशराज पन्तका अनुसार संशोधन मण्डलबाट इतिहास संशोधन भनेर ६८ वटा र सावधान पत्र ३१ वटा प्रकाशित भएका छन् । यस्तै, विद्या रक्षा का १५, पञ्चाङ्ग संशोधन १८, व्याकरण संशोधन १० वटा र अभिलेख संग्रह १२ वटा प्रकाशित छन् । पाठशालाका शिष्यहरू ‘त्रिखण्डी’ शिक्षामै सीमित हुन्थे भने सत्यापनका ती दस्तावेज इतिहासकै गर्भमा तुहिएर जान्थे र हामी भ्रमको इतिहास घोकेर बस्न बाध्य हुनेथियौं ।
पछि २०४३ सालमा प्रकाशित ‘लिच्छवि संवत्को निर्णय’ पुस्तकमा लिच्छवि राजाहरूले चलाएको संवत्मध्ये ‘मानदेवले चलाएको संवत् वि.सं. १३५ देखि चलेको शकसंवत् र अंशुवर्माहरूले चलाएको संवत् वि.सं. ६३३ देखि प्रारम्भ भएको मानदेवसम्मत हो’ भन्ने कुरा आजसम्म प्राप्त शिलालेख र प्राचीन ग्रन्थ ‘सुमतितन्त्र’ को आधारमा प्रमाणित गर्नु नयराज पाठशालाको दह्रो देन मानिन्छ । संशोधन मण्डलले भक्तपुरको सूर्यविनायक नजिकै रहेको अनन्तलिङ्गेश्वरको अभिलेखका आधारमा लिच्छविकालमा चलेको संवत्को प्रमाण पहिल्याएको थियो । ‘लिच्छवि संवत्को निर्णय’ पुस्तकले मदन पुरस्कार पाएपछि २०४४ असोज १० मा आयोजित पुरस्कार अर्पण समारोहमा गुरु पन्तले पहिले लेखिएको त्यस सम्बन्धी इतिहासमा नाम चलेका ६ इतिहासकारका पाँच थरी दाबीलाई एउटै तथ्यले असत्य साबित गरिदिएका थिए । त्यसबेला उनले भनेका थिए—

“१. अंशुवर्माहरूका अभिलेखमा देखिएको संवत् भारतका सम्राट हर्षवद्र्धनले चलाएको हर्षसंवत् हो भनी भगवानलाल भन्छन्,
२. अंशुवर्माहरूका अभिलेखमा देखिएको संवत् भारतका गुप्त सम्राटहरूले चलाएको गुप्तसंवत् हो भनी काशीप्रसाद जायसवाल भन्छन्,
३. अंशुवर्माहरूको अभिलेखमा हर्ष तथा गुप्त दुवै संवत् पाइन्छन् भनी फ्लीट र राधागोविन्द भन्छन्,
४. अंशुवर्माहरूका अभिलेखमा देखिएको संवत् भारतका सम्राट यशोधर्माले चलाएको यशोधर्मसंवत् हो भनी के.जी. शंकर भन्छन् । उपर्युक्त पाँच जना विद्वान्ले ती संवत्लाई प्रमाण मानी भारतीय साम्राज्यभित्र नेपाल पथ्र्यो भन्ने भाव देखाएका छन् ।

५. अंशुवर्माहरूका अभिलेखमा देखिएको संवत् भोटे सम्राटले चलाएको भोटे संवत् हो, त्यसकारण भोट साम्राज्यभित्र नेपाल पथ्र्यो भनी लेभी लेख्छन् ।

यसरी भगवानलाल, फ्लीट, लेभी, जायसवाल, राधागोविन्द, केजी शंकरले जुनजुन संवत् अंशुवर्माहरूले व्यवहार गरेका भनी बोलेका छन्, ती–ती संवत् लिई गणना गर्दा नेपालमा पाइएका अभिलेखका तिथिमिति मिल्दैनन् । नेपालमै बनेको ‘सुमतितन्त्र’ ले बताएको संवत् लिई गणना गर्दा नेपालमा पाइएका अभिलेखका तिथिमिति ट्वाक्क मिल्छन् । यसकारण उपर्युक्त ६ वटै विद्वान्का विचार भ्रमपूर्ण छन् भन्ने स्पष्ट हुन्छ ।”

यसरी भारतीय तथा युरोपेली विद्वान्हरूले ‘तिमीहरू कहिल्यै स्वतन्त्र थिएनौ’ भन्ने कुरा प्रमाणित गर्न कसरत गरिरहेका वेला नयराजले सप्रमाण सिद्ध गरिदिएको लिच्छवि संवत्को निर्णयलाई संशोधन पद्धतिको सबैभन्दा अहं प्रतिउत्तर मानिने गरेको छ जसको जग त्रिखण्डी शिक्षा नभई नयराज गुरुको पूर्ण–शिक्षा पाठशाला थियो ।

त्रिखण्डीः हल्ला र यथार्थ
नेपाली समाजमा ‘त्रिखण्डी शिक्षा’ को प्रभाव र सिकाइको नतिजा अझै देखिने गरेको छ, स्पष्ट रूपमा । हालै पनि त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर तहका एक विद्यार्थीले पैसाको बलमा परीक्षाको प्राप्ताङ्क बढी देखाएर स्वर्ण पदक पाएको र अनियमितता प्रमाणित भएपछि उनको पदक खोसिएको समाचार त्यति पुरानो भइसकेको छैन । तर नयराजले चलाएको पाठशाला उच्च नैतिक बलको पनि अजस्र स्रोत थियो । उक्त पाठशालाका शिष्य दिनेशराज पन्त (७०) त्रिभुवन विश्वविद्यालयको एउटा घटना सम्झिरहेका छन्, २०२३ सालको । त्यसवेला सरदार रुद्रराज पाण्डे उपकुलपति र त्रैलोक्यनाथ उप्रेती रजिष्टार थिए । नयराज पन्त भने ज्योतिष विषयको प्राश्निक (प्रश्न तयारकर्ता) तथा परीक्षक थिए । ज्योतिष विषयमा आचार्य तृतीय वर्षमा निकै कम अंक ल्याएर दुई विद्यार्थी फेल भएका थिए । तर, लगत्तै ती दुवैको नाम प्रथम र द्वितीय श्रेणीमा उत्तीर्ण भएको भनी नतिजा प्रकाशित भयो । पछि गएर नेपालकै चर्चित ज्योतिषी गुरु बनेका ती विद्यार्थी थिए— मङ्गलराज जोशी र दामोदरनाथ लोहनी ।

त्यो अनैतिक काण्डले गुरु नयराजलाई नराम्ररी हल्लायो । अनि उनले त्यस्तो नतिजा निकालिएको परीक्षाको परीक्षक रहेकोमा आफू कलङ्कित भएको ठान्दै उत्तरपत्र परीक्षण बापत लिएको पारिश्रमिक पनि तत्कालै फिर्ता गरेका थिए । त्यसवेला नयराजले विश्वविद्यालयलाई लेखेको पत्रको सार थियो— ‘उत्तरपत्रमा रहेका अशुद्धिमा मैले चिह्न लगाइदिएको छु । विशेषज्ञ बोलाई जाँच होस् । ती अशुद्ध होइनन् भनी कसैले सिद्ध गरिदिन्छ भने म कडासे कडा सजाय भोग्न तयार छु । त्यस्ता अशुद्ध उत्तर लेख्ने मनुष्य पनि आचार्यमा उत्तीर्ण हुन लागेपछि केही कालमा नेपालमा शुद्ध संस्कृत लेख्न सक्ने तथा पाठ्यग्रन्थको अर्थ गर्न सक्ने मनुष्यको अभाव हुनेछ भन्ने कुरामा केही पनि शङ्का छैन । जानाजान यसरी विद्याको नाश गर्ने कुरामा म मुछिन चाहन्नँ । त्रिभुवन विश्वविद्यालयको परीक्षक हुँदा आफू कलङ्कित भएको सम्झन्छु । यसकारण यो दुर्घटना भएपछि विश्वविद्यालयले परीक्षा बापत भनी पठाएको रुपैयाँ लिन म असमर्थ छु । त्यस विश्वविद्यालयले मलाई दिएको रु.१५० को चेक थान दुई फिर्ता पठाएको छु ।’

“संशोधन मण्डल राम्ररी चल्न सकेको भए नेपालको विद्या प्रणाली निकै माथि जाने थियो” मण्डलका सदस्य दिनेशराज भन्छन्, “थोरै शिक्षा लिनेलाई पनि सम्बन्धित विषयको आधिकारिक ज्ञानले युक्त बनाउने हाम्रो पद्धति आफैंमा एउटा क्रान्ति थियो । तर अहिलेको शिक्षाले अरू कसैले तयार पारिदिएको दोस्रो तहको ज्ञान मात्रै दिन सकेको छ ।” उनको बुझाइमा, ‘विद्याबाट पनि हुन्छ भन्थे’ अरूहरू, तर ‘विद्याबाट मात्रै हुन्छ’ भन्नुहुन्थ्यो नयराज गुरुबुबा ।

अर्का शिष्य ज्ञानमणि नेपाल पनि नयराज गुरुको पाठशाला पद्धतिलाई स्वीकृत गराउन नसकेको आत्मबोध गरिरहेका छन् । उनी भन्छन्, “अहिले सबैजसो पैसामुखी भए । जागिरका लागि पढ्नेहरू मात्रै छन् । पढ्नैका लागि पढ्ने विद्यार्थी कहाँ छन् र !”

२००४ सालमा भोजपुरबाट आएर नयराज पाठशालामा भर्ना भएका ज्ञानमणिले मात्रै नयराज गुरु आफैंले लेखेको शिक्षा–पूर्णताको प्रमाणपत्र पाएका छन् । “तिमीले तोकिएका सबै नियम मान्यौ, लेख्न पढ्न सक्ने भयौ”– नयराज गुरुले २०१२ सालमा दिएको हस्तलिखित प्रमाणपत्रमा उल्लेख छ । तर त्रिखण्डी शिक्षाले दिने चिल्ला प्रमाणपत्रका अगाडि त्यस्ता अनुभवजनित प्रमाणपत्रको मूल्य बजारले बुझन सकेन । फलस्वरुप पूर्ण–शिक्षाको एउटा शक्तिशाली विकल्पका रूपमा उभिंदै गरेको नयराज पाठशालालाई उही तदर्थवादी त्रिखण्डी शिक्षाको भुङ्ग्रोले खाइदियो ।   

बजारको प्रवाह विपरीत विद्याको धारमा उभिएकै कारण जीविकोपार्जनमा समेत कठिनाइ महसूस भएपछि नयराज पाठशाला र उनको शिक्षा पद्धतिबाट परिपाक शिष्यहरू बाहिरिंदै गए । पाठशालामा झ्ण्डै चार वर्ष अध्ययन गरेका विद्यार्थी नयनाथ पौडेल तिनैमध्येका एक हुन् । “विना सरकारी सर्टिफिकेट जागिर खान मुश्किल पर्‍यो, पेट पाल्नै गाह्रो भएपछि मैले पाठशाला र संशोधन मण्डल दुवै छाडेको हुँ”, उनी भन्छन् । त्रिखण्डी छाडेपछि पाठशाला पद्धतिमा पढेका विद्यार्थीमाझ् उत्पन्न दम्भ र अहङ्कारको खियाले पनि यो पद्धतिलाई धराशायी बनाउन बल पुर्‍याएको पौडेलको बुझाइ छ । २०१८ सालदेखि झ्ण्डै पाँच वर्ष नयराज पाठशालामा पढेर संशोधन मण्डलमा जोडिएका नयनाथले भने, “त्यो संस्था रहिरहेको भए स्वाभिमान र विद्या दुवै फैलिने थियो ।”

नयराजको पाठशालामा जम्माजम्मी ४० जनाले पढेका थिए । तीमध्ये २१ जना कुनै वेला संशोधन मण्डलका सदस्य थिए । पाठशाला बन्द भएपछि पनि संशोधन मण्डल चलिरहेको छ तर निकै कष्टका साथ । अहिले त्यसमा नयराज गुरुका दुई छोराहरू डा. महेशराज र दिनेशराज पन्त मात्र छन् ।


पाठशालाको आचरण
१. हात, खुट्टा, मुख धोएर सफा राख्ने,
२. हातगोडाका नङ काट्ने, लामालामा नराख्ने,
३. दाँत माझेर सफा राख्ने,
४. देवताको प्रसाद चन्दन, सिन्दूर, अवीरहरू बाहेक अरू फा, पाउडर आदि शृङ्गारका पदार्थ नलाउने,
५. सूट, पाइन्ट, टोप आदि नलगाउने,
६. कपाल खौरने वा एकनाश गरी काट्ने,
७. जुँगा खौरनेले कपाल पनि खौरने,
८. ब्रतवन्ध गरेकाले पाठशालामा टोपी लाएर आउने,
९. बिंडी, गाँजा, अफिम, चुरोट, तमाखु, कक्कड, जाँड, रक्सी आदि नखाने,
१०. धार्मिक काममा जाँडरक्सी खानुपर्नेले खाएको दिन पाठशालामा नआउने,
११. लिपि राम्रो नबसिसकेकाले बाँसको कलमले लेख्ने अभ्यास गर्ने,
१२. नियमविरुद्ध गर्नेलाई चार/पाँच पटक सम्झउने, बुझाउने । त्यति गर्दा पनि नमानेमा पाठशालाबाट निकालिदिने ।

साभारः हाम्रो उद्देश्य र कार्यप्रणाली

स्नातक (पढिसकेका) हरूले प्रतिपालन गर्नुपर्ने नियम
१. विदेशी भाषाको परित्याग,
२. असत्य प्रख्यापनको त्याग,
३. शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि उक्तिको पालन,
४. गुण्ड्याइँको उद्देश्यले गरेको शृङ्गारको अन्त्य,
५. व्यभिचारको परित्याग


मृत्युवरणको एक वर्षअघि इतिहासविद् डा.सुरेन्द्र केसीसँगको कुराकानीमा गुरुबुबा नयराजले भन्नुभएको रहेछ— “जहाँसम्म हाम्रो अभियानको सफलता–असफलताको प्रश्न छ, जबसम्म त्यो अभियान जारी रहन्छ, त्यस वेलासम्म यसको सफलता–असफलताको प्रश्नै उठ्दैन । हाम्रो अभियान जारी छ । म मेरो मूल्य–मान्यतामा अडिग छु । सही कुरा भनेर हिंड्छु । समाज र राष्ट्रले त्यसलाई अपनाउँदैन भने करबल गर्ने अधिकार र हैसियत त मसँग अवश्य पनि छैन, र त्यो मेरो कुरा पनि भएन । हाम्रो आन्दोलन रोकिन्छ भने मात्र हामी सफल–असफल के भएका छौं, त्यसबारे भन्न सकिन्छ ।”

तर पाश्चात्य शैलीको त्रिखण्डी शिक्षासँग तुलनै गर्न नमिल्ने गरी अब्बल उपलब्धि दिन सफल नयराज गुरुबुबाको पाठशाला पद्धति स्थापित हुन सकेन । तोकिएका कृतिको १०० मा १०० पढ्ने, १०० बुझने र १०० नै पाठ बुझउने यस्तो पद्धति किन चल्न नसकेको होला भनेर धेरैले प्रश्न गर्छन् । जवाफ स्पष्ट छ— अर्थ अर्थात् पैसा भएन । पछिसम्मको लक्ष्य र स्थायी स्रोत दुवै नहुँदा एउटा चरणमा राम्रैसँग चलेको पाठशाला हराएर गयो ।

आजको समाजको पद्धति नै अर्कै भएको छ । जन्मँदा आफ्नो हातमा केही हुन्न; धनीको छोरा भएर जन्मिन्छ कि गरीबको, के थाहा ? तर मर्दाखेरि भने धनीको बाबु भएर मर्ने मोहले प्रेरित संस्कार विकसित भएको छ । यथासम्भव पैसा बटुल्ने संस्कारले सबै कुरा ओझेलमा पर्‍यो । यही कुराले गाल्यो हाम्रो गुरु–चेला शिक्षा पद्धतिलाई ।

त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा प्राचीन इतिहास पढाउन थालेको ६० वर्ष भइसक्यो, अहिलेसम्म एउटै पनि अभिलेख पढ्ने वा प्रतिमाको व्याख्या गर्ने अब्बल विद्यार्थी निस्केका छैनन् । सबै ‘रेडिमेड’ प्रश्नका बनिबनाउ उत्तर जस्ता मात्रै छन् । यो कटु यथार्थ हो ।

२००७ सालअघि र त्यसपछिको इतिहासमै ठूलो अन्तर देखिने गरी स्थापित हाम्रो पढाइ र संशोधन मण्डलको उपलब्धि भने स्पष्टै छ । यति बलियो शिक्षा पद्धति सफल भइदिएको भए आज त्रिभुवन विश्वविद्यालयका मानविकी, संस्कृत, इतिहास संकाय वा सिनास र सेरिड जस्ता अनुसन्धानकारी निकाय चाहिंदैनथे होला । तर, भैदियो के भने हाम्रै टोलीका सबैजसो सदस्य जीविका नपाउञ्जेल यतातिर लागे, जीविकाको अरू बाटो पाएपछि संशोधन मण्डललाई छाडेर हिंडे । नयराज गुरु यस्तो अवस्थालाई भन्नुहुन्थ्यो— अर्थ संग्रह शास्त्री । उहाँले पनि जीविकोपार्जनका लागि अरूतिर काम त गर्नुभएकै थियो । हामीले पनि अन्त काम गर्दागर्दै यो पढाइ परम्परालाई जोगाउन सक्नुपथ्र्यो तर त्यसो गर्न सकेनौं ।

साँच्चै भन्ने हो भने हाम्रो समग्र पद्धति त्रिखण्डीबाट माथि उठ्न सकेको छैन । सिङ्गो मुलुकको पद्धति त्रिखण्डी बनेको छ । आज फोटोकपी गरिएको निवेदन बोकेर हिंडेका छन्, एमए पढेकाहरू । म यदाकदा आफैंलाई प्रश्न गर्छु– बुबा नयराजले चलाएको शिक्षण पद्धति अहिले भएको भए चल्थ्यो होला त ? अहँ, सम्भव हुँदैनथ्यो । किनभने अहिले त पैसाको चिन्ता छ, यत्रतत्र सर्वत्र ।

हाम्रो पहिचान नभएको भने होइन, भएको छ । यस पद्धतिबाट पढेपछि यसलाई अघि बढाउन हामीले केही न केही गर्नैपर्ने हो । तर सकिएन । यो तथ्य स्वीकार्नैपर्छ । ज्ञान, प्रज्ञाका नाममा यहाँ फड्के किनाराका साक्षी मात्रै छन् । म पनि एउटा साक्षी मात्रै हुँ ।

वार्तामा आधारित

शिक्षक  मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial