स्थानीय पाठ्यसामग्रीमा प्रकृतिको पढाइ
स्थान विशेषका कुरालाई हामी स्थानीय विषय भन्दछौं । आफ्नो स्थान अथवा स्वस्थानको परिवेश र त्यहाँको वातावरणसँग विद्यार्थीलाई परिचित मात्र हैन विवेकशील पनि बनाउने काममा विद्यालयले कञ्जुस्याइँ गर्नुहुँदैन । स्थानीय वातावरणलाई स्वच्छ, सफा, हरियो र भरिलो गर्ने काममा विद्यालयका बालबालिकालाई संलग्न गराउनु राम्रो कुरा हो । वातावरण एवं अन्य अन्तर्राष्ट्रिय दिवसका कार्यक्रममा मात्र सहभागी तुल्याएर त्यो लक्ष्य पूरा हुँदैन । स्थानीय पाठ्यक्रम एवं पाठ्यसामग्री निर्माण गर्ने क्रममा नै स्थानीय प्रकृति, संस्कृति र वातावरणका विषयलाई विशेष महत्व दिनुपर्दछ । तिनको अध्ययन र अध्यापनमा स्थलगत भ्रमणलाई प्राथमिकता दिनु श्रेयस्कर हुन्छ किनभने प्रकृति आफैं विलक्षणको पाठशाला हो । एवं रीतले सांस्कृतिक स्थल तथा सांस्कृतिक रीतिरिवाज, चाडपर्व, जात्रा आदि पनि शिक्षाका सबल सामग्री हुन् । यस लेखमा चाहिं हामी प्रकृति अध्ययनमा केन्द्रित हुन्छौं ।
यसरी गर्न सकिन्छ प्रकृति अध्ययन
प्रकृति अध्ययन गर्न/गराउन हामी प्राकृतिक परिवेशमा नै जान्छौं । अझ संभव भएसम्म खुला ठाउँमा जान्छौं जहाँ माथितिर आकाश र तलतिर पैतालाले टेकेको धरती हुन्छ । तर त्यो ठाउँ आफैं प्रकृति भने हैन । त्यसको प्रकृति के हो भन्ने हामीले बुझन/बुझाउन सक्नुपर्छ, त्यो पनि अनुभव र अनुभूतिको आधारमा । कुनै ठाउँमा एउटा भकुण्डो थोरै बेर खेलायौं भने बालबालिकाले त्यस ठाउँको धरातल बुझछन् । त्यहाँको हावापानीको ज्ञान वा ऋतुको विचार आफैं खुल्छ । धरातल समथर छ, भिरालो छ वा सुक्खा छ, ओसिलो छ, सिम परेको छ आदि विभिन्न ज्ञान बालबालिकाले आफैं देखेर, भोगेर तथा अनुभव गरेर पाउँछन् । त्यस्तो ज्ञान पुस्तकबाट मात्र दिन सम्भव हुँदैन । अवलोकनको त्यो समय, परिस्थिति र त्यस धरातलले जे अनुभव दिन्छ त्यही प्रकृति–शिक्षा हो ।
हामी कुनै वनभित्र छौं भने विद्यार्थीलाई जङ्गली जनावर आदिको डर, भय र त्रासबाट मुक्त राख्नुपर्छ । सुरक्षाको जिम्मेवारी शिक्षक या अभिभावकसँग हुनुपर्छ । त्यसको पूर्व जानकारी र पूर्व तयारी साथमा जाने शिक्षक वा अभिभावकले गरेको हुनुपर्छ । वनमा ठूला–ठूला वृक्षहरू हुन्छन्, मझौला रूखबिरुवा, झडी हुन्छन् र जमीनमा घाँस, उन्यू, च्याउ, झयाउ, विभिन्न फूल, लहरा, काँडेझर आदि । बालबालिकाले ठूला–साना रूख आफैं छुट्ट्याउँछन् । रूखबिरुवाका विभिन्न पात देख्छन् । तिनका रङ–विरङ र बान्कीका विविधता देख्छन्, अनि हेर्छन् र छुट्ट्याउनपट्टि लाग्छन् । वनको हरियालीले बालबालिकाको मनमा नयाँ प्रभाव छोड्छ । कक्षा कोठामा थुनेर बिरुवाका नाम घोकाउने राम्रो काम हैन । प्रकृतिको अनुपम सृष्टिप्रति कौतूहल जगाउन सकियो भने मात्र हाम्रो प्रकृति अध्ययन–अध्यापन सफल भएको मान्नुपर्छ ।
विद्यार्थीलाई उनीहरूको पहुँचभित्र पर्ने विभिन्न प्राकृतिक परिवेशसँग प्रत्यक्ष गराउनुका दूरगामी प्रभाव तत्कालै आँक्न सकिंदैन। तर तिनले विद्यार्थी उमेरमा सहपाठी एवं शिक्षकसँग स्थलगत भ्रमणमा विताएका क्षणहरू तिनको स्मृतिपटलमा चिरकालसम्म जीवित रहन्छन्।
वनजङ्गलमा विभिन्न पशुपन्छी देखिन्छन् । कीराफट्याङ्ग्रा, पुतली, झ्ुसिले आदि भेटिन्छन् । कुनैका खुट्टा हुँदैनन् (गड्यौला, जुका, सर्प आदि), कुनैका जीउभरि सयौं खुट्टा (खजुरो, कन्सुत्लो, झ्ुसिले आदि), कुनै ६ खुट्टे (पुतली, लामखुट्टे, गाइनेकीरा, माहुरी, भमरा आदि), कुनै चारखुट्टे (बाँदर, बदेल, लोखर्के आदि) कुनै दुईखुट्टे (चराचुरुङ्गीहरू) हुन्छन् । यी सबै प्राणी चलायमान हुन्छन् । कोही उड्ने, कोही उफ्रने, कोही दौड्ने, कोही घस्रने आदि । आफूले देखेका प्राणी कसरी हिंड्छन्, कसरी उफ्रन्छन् वा उड्छन्, कुद्छन् वा रूख चढ्छन् त्यो हेर्ने वा देख्ने कुरा भयो । त्योसँगै तिनले गाउने गीत वा सुसेलीका विभिन्न आवाज पनि अनुभव गर्न सकिन्छ । हरेक प्राणी वा वनस्पतिको आफ्नै प्रकृति हुन्छ । त्यसलाई अनुभव गर्न सक्नु नै प्रकृति अध्ययन हो ।
वनजङ्गलभित्र केही समय विताएपछि त्यस वनले आफ्नो गाउँ–बस्ती, शहरलाई कस्तो वातावरणीय सेवा दिइरहेको छ भन्ने कुराको बोध हुनु अति राम्रो हुन्छ । पानीको स्रोतसँग त्यस वनको सम्बन्ध, भू–परिवेशको स्थायित्वसँग त्यसको सम्बन्ध, गाउँ–बस्तीका लागि वन्य पदार्थ स्याउला, मल, फलफूल, कन्दमूल, जडीबुटी, बाँस, निगालो, काठ–दाउरा आदिको आपूर्तिबारे कुराकानी गर्न सकिन्छ । पर्यटन विकासका बारे पनि छलफल गर्न सकिन्छ । राष्ट्रिय निकुञ्ज हो भने त्यसबारे विशेष छलफल गर्नुपर्छ । वनभित्र संरक्षित वन्यजन्तु पशुपन्छीबारे कुरा गर्न सकिन्छ ।
पर्यावरणीय हिसाबले प्रकृति अवलोकनका लागि उपयुक्त स्थान सिमसार क्षेत्र पनि हो । सिमसार भनेको पानी र जमीनको सङ्गमस्थल हो । जहाँ जमीन पानीभित्र डुब्दैन र जमीनमाथि पानी सुक्दैन । त्यस्तो ठाउँमा जलचर, स्थलचर, नभचर सबै जम्मा हुन्छन् । तिनको प्रकृति अध्ययन गर्न यस्ता ठाउँ उपयुक्त हुन्छन् । प्रकृति सन्तुलनमा कसले कसको शिकार गर्छ, कसले कसलाई सुरक्षा दिन्छ र प्रकृतिको चलामय चाल (Dynamism) त्यहाँ साकार हुन्छ ।
सिमसार निर्माण हुने स्थल भनेका नदी, नाला, ताल–तलैया, दह, कुण्ड र तिनको आसपासका क्षेत्रहरू हुन् । तसर्थ जलाशय सिमसार वातावरणका अभिन्न अङ्ग हुन्छन् । सुन्दर ताल र दहहरू (कैलालीको घोडाघोडी ताल, कास्कीको फेवाताल, काठमाडौंको टौदह, त्यस्तै मुगुको राराताल वा डोल्पाको फोक्सुण्डो आदि) आफैंमा मनोरम र रोमाञ्चकारी हुन्छन् । आफ्नो गाउँ, क्षेत्र वा जिल्लाको यस्तै प्रसिद्ध जलाशय वा नदीनालाको अवलोकन निकै फलदायी हुन्छ । यसैगरी झरना तथा तातोपानीका मूलहरू विशेष आकर्षणका स्थल हुन्छन् । त्यहाँ पुगेर आनन्दको अनुभूति मात्र हैन प्रकृतिको रोमाञ्चकारी भूमिकालाई पनि हेर्न र देख्न सकिन्छ ।
सिमसार एवं जलाशय वा नदीनालाहरू स्थानीय/राष्ट्रिय, धार्मिक एवं सांस्कृतिक महत्वका क्षेत्र पनि हुन सक्छन् । तसर्थ जात्रा मेलाको मौका छोपेर त्यहाँको अवलोकनमा जानु विशेष लाभदायी हुन्छ । जनैपूर्णिमाको दिन हिमाली ताल र दहहरू विशेष गरेर गोसाइँकुण्ड, पाँचपोखरी, दूधकुण्ड वा जटापोखरी आदिमा खुलेका हिमाली क्षेत्र, फुलेका लेक र पाटन, लेक लाग्दो शिथिल शरीर, उत्साही तीर्थालु तथा ढ्याङ्ग्रोको तालमा नाच्ने झाँक्री र धामीहरूले अविस्मरणीय छाप छोडिदिन्छन् । आफ्नो स्मृतिमा अविस्मरणीय छापका डोबहरू निर्माण गर्नु प्रकृति अध्ययनको मूल पाटो हो ।
वन–जङ्गल, जलाशय र सिमसारका अतिरिक्त घाँसे मैदान र चरिचरनका क्षेत्रको आफ्नै विशेषता हुन्छ । तराई–मधेशका घाँसे मैदानमा बाघ, हात्ती र गैंडा पनि लुक्न सक्छन् भने लेकाली बुकी पाटनतिर घोरल, झरल जस्ता चौपाया चर्दछन् । याक, चौंरी र च्याङ्ग्रा–भेडाको त्यहाँ पालनपोषण हुन्छ । घाँसलाई आहारा बनाउने प्राणीहरू आफैं मांसाहारी बाघ, चितुवा आदिका शिकार बनेर आहाराको बन्धनभित्र जेलिएको हामी अनुभव गर्दछौं । प्रकृतिको सन्तुलनमा आहाराको शृंखला बुझनु प्रकृति अध्ययनको महत्वपूर्ण पाटो हो ।
प्रकृति अध्ययनको सिलसिलामा झाडी (Shrul-land) क्षेत्र को पनि आफ्नै विशेषता हुन्छ । वन मासेर बचेको ठाउँमा झडी पलाउँछ । खुला चउर वा खेतीपातीको जमीन बाँझे छोडेमा पनि झडी पलाउँछ । प्रकृतिको क्रमिक विकास (Ecological succession) बुझनका निम्ति झडी क्षेत्रको अवलोकन जरूरी हुन्छ । हामीले वन मासेर त्यहाँ वनमाराले राज जमायो कि वनमारा झरले गर्दा वन मासियो भन्ने तथ्य भेटिन्छ ।
पारिस्थितिक प्रणालीको अध्ययनमा त्यस विषयका विद्यार्थीहरू पाँच वटा प्रणालीलाई मान्यता दिन्छन् । १. वन–जङ्गल (Forest Land), २. झाडी क्षेत्र (Shrul-land), ३. सिमसार र जलाशय (Wet-land), ४. घाँसे मैदान (Grass-Land) र ५. कृषि क्षेत्र (Agricultural Land) ।
प्रकृति अध्ययनको एउटा महत्वपूर्ण कडी कृषि क्षेत्र पनि हो । उक्त क्षेत्रलाई स्थानीय पाठ्यक्रम र पाठ्यसामग्रीले विशेष स्थान दिनुपर्छ । तर कृषि क्षेत्रको प्रकृति के हो भनेर बुझनु हाम्रो मनसाय हो । कृषिको दृष्टिबाट जल, स्थल, वायु, आकाश र तेजको बारेमा घोत्लिनु पर्दा आफ्नो भ्रमण स्थलको जमीन र भूस्वरुप, त्यहाँ प्राप्त पानीको प्रणाली, हावा, बतास, हुरीको अवस्था, घामको पारिलो अवस्था बारे अनुभव गर्न गाह्रो हुँदैन । त्यसका साथै स्थानीय किसानी प्रविधि एवं स्थानीय उब्जनी बारेको ज्ञान बटुल्नु पनि अनिवार्य हुन्छ ।
विद्यार्थीलाई उनीहरूको पहुँच भित्र पर्ने विभिन्न प्राकृतिक परिवेशसँग प्रत्यक्ष गराउनुका दूरगामी प्रभाव तत्कालै आँक्न सकिंदैन । तर तिनले विद्यार्थी उमेरमा आफ्ना सहपाठी एवं शिक्षकसँग स्थलगत भ्रमणमा विताएका क्षणहरू तिनको स्मृतिपटलमा चिरकालसम्म जीवित रहन्छन् । शिक्षकहरूका आ–आफ्नै अनुभवले पनि यो तथ्यलाई पुष्टि गरिरहेको हुन्छ ।